मुन्धुमको मिठो हरफ जस्तो लाग्छ उनको कविता यात्रा र जीवन । यसो हेर्दा अक्करे भीरजस्तो यो यात्रामा यति लामो बाटो हिँडेर यहाँसम्म आइपुग्दा नेपाली कविताको क्षेत्रमा तीर्थस्थलझै श्रद्वालु बैरागी काईला नेपालमा मात्र नभएर संसारै भरिको नेपाली कविताका पाठकहरुमाझ एउटा ब्रान्डको रूपमा चिनिन्छ अर्थात् बैरागी काइँला ।

घर पुग्दा भने ज्यानलाई अलिक बिसन्चो भएको बताए मलाई देखेपछि । चाबहिलबाट जाँदा चक्रपथको सुकेधारा चोकबाट पश्चिम फर्केर धुम्बाराही मार्ग उकालो लागेपछि महाकाली मार्गतिर लाग्दा अढाई तल्ले घर देखिन्छ । यही घरमा बस्छन् काइँला, उनकी श्रीमती देबकुमारी नेम्वाङ र छोरी नामोती नेम्बाङ । उमेर अलिक ढल्किएरै जन्मिएकी छोरी अहिले काइँलाको पर्सनल सल्लाहकार झैँ छिन् । बुबाले लेख्दै गरेको लिम्बू मिथक कथाहरू अङ्ग्रेजीमा अनुवाद गर्ने र साहित्यिक गोष्ठीहरूमा बाबुलाई बोलाएको कार्यक्रमहरूमा जानैपर्ने जस्ता कामका समय म्यानेज गर्ने छोरीको काम । त्यसो त छोरी नामोती पनि कुनै समय द काठमान्डू पोस्टमा रिपोर्टर र द हिमालयन टाइम्समा न्युज डेक्स हेर्थिन् । इसीएस् प्रकाशन संस्थामा पनि केही म्यागेजिन द बिल्डको सम्पादनको काम गरिन् । अचेल भने बुबाले आफ्ना पुराना र अधुरा रहेका कामहरू सिध्याउन प्रयत्न गरिरहेकामा सबै काम र समयलाई व्यवस्थित गर्नतिर लागेको छिन् । त्यो दिन म पुग्दा पनि उनैले टेबलमा चिसो पानी सहित मीठो मुस्कानले स्वागत गरेकी थिइन । यो संजोग कोभिड १९ अघिको समयको हो ।

पाँचथरको पौवासारतापको पौवा गाउँमा पिता खड्गबहादुर नेम्बाङ र माता सरस्वती देवीका चौथो सन्तानको रूपमा विक्रम सम्बत १९९६ साउन २५ गते जन्मेका काइँलाको खास न्वारानको नाम तिलबिक्रम नेम्वाङ हो । तर पछि बैरागी काईला नामले प्रसिद्व भएका काईलाका “अन्धा मान्छेहरू र हात्ती” तथा “ बैरागी काइँलाका कविताहरु ” प्रकाशित छन् । तर लिम्बु मुन्धुमसम्बन्धी किताब चाहिँ दर्जन भन्दा बढि नै प्रकाशित छन् । खान लाउन पुग्ने बाबुको छोरा उनी हक्की स्वभावका अर्थात् लिम्बु पाराका उनका कवितामा पनि यो निडरपना देखिन्छ । नयाँ लेख्नेहरू समेत उनको यही स्टाइलदेखि अप्रभावित रहन सकेका छैनन् । खासगरि अहिले लेखीरहेका कविहरुलाई पनि ठुलो चुनौती र सकस भएको छ उनले नेपाली कवितामा भित्राएको बैचारिक धार ।

तात्कालिन नेपाली साहित्यमा चलिरहेको ट्रेन्ड भन्दा फरक धारको आयामेली लेखनको अभियानका प्रवर्तकहरूमा इन्द्रबाहादुर राई र ईश्वरबल्लभको निधनपछि एक्लो धरोहर रहेका छन्, काइँला । सन् १९६३ विक्रम सम्वत २०२०, जेठ मा पहिलोपल्ट “ तेस्रो आयाम ” पत्रिका तीनजना मिलेर निकालेका थिए ।”

त्यसपछि नेपाली साहित्य र सर्जकहरूका बीच साहित्य र साहित्यलेखन माथी नयाँ ढङ्गले चर्चा र बहसको थालनी भएको थियो । त्यस अघि सन् १९६१ मा ईश्वर बल्लभ सम्पादक र काइँला प्रकाशक भएर “ फूल पात पतकर” पाक्षिक पत्रिका दुई अङ्क निकालेका थिए। तर “तेस्रो आयाम”को प्रकाशनपछि नै कविका रूपमा परिचित भएको भन्दै म त लोसे मान्छे “ उनीहरुसँग भेट नभएको भए कहाँ कवि हुनेथिएँ होला र म ” भन्छन् । राष्ट्र र समसामयिक राजनीतिबारे काइँला भन्छन् नेपाली राष्ट्रियता बलियो बनाउनको लागी सबै एक हुनुपर्छ । यो देशमा कोही जन्मदै शासक हुने, कोही जन्मदैदेखि शाषित र शोषित हुनुपर्ने विभेदपूर्ण अवस्था र व्यवहार राज्यसत्ताको नीति रहेको थियो । आज पनि आफ्नो सत्ताको स्वार्थसँग जोडेर मात्र राष्ट्रियता र एकताका कुरा गर्दछन् उनीहरू । राष्ट्रियता भनेको तिनकै समूह वा सीमित समुदायका चिन्तन मात्र हो । जब कि राष्ट्रियता भनेको त मुलुकको साझा चिन्तन, अनुभव एवम अनुभूति हुनुपर्ने हो ।

सानै भए पनि भौगोलक, जैविक, जातीय, भाषिक, सांस्कृतिक एवम धार्मिक विविधताले सुन्दर देश हो हाम्रो। सबै जातजाति, भाषाभाषी, धर्म, सस्कृति, सभ्यताका साथै सबै विचार र भावनालाई सम्मानपूर्वक स्वीकार गर्दै साझा भावनाको विकास नहुँदा नै हाम्रो देश र समाज अनेकताको द्वन्दमा फँसेको हो । द्वन्दले असन्तोषलाई जन्म दिन्छ र असन्तु्ष्टीले विद्रोहलाई । राष्ट्रिय एकता सबल र सुदृढ बनाउँन सामाजिक सद्भाव र सहिष्णुताको संस्कृति विकास गर्दै मुलुकको विविधतालाई सम्मान गर्नुपर्छ । विविधतालाई कमजोरी नभएर हामीले शक्तिको स्रोत मान्नुपर्छ ।

साहित्यको सन्दर्भमा पनि हामी तीन जनाले यही कुरा अघि सारेका थियौँ । तेस्रो आयाम विक्रम सम्मत २०२० को सम्पादकीयमा लेखिएको धारणा अनुसार अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्छ । हामी आजको समयमा बिश्वकै मानिस एक्लै वा थोरैमा अथवा आफू मात्र रमाउन थालेकाले हामीले हरायौँ समग्रता वा सम्पूर्णता । आजको समयमा हाम्रो हराएको सम्पदा हो हाम्रो सम्पूर्णता हाम्रो स्वाभिमान । अबको लेखनको उदेश्य अथवा त्यो बिलाउदै गएको दर्शन र त्यो सम्पूर्णतालाई पुन प्राप्त गर्न सक्ने हुनुपर्छ ।

अझ थप्दै काइँला भन्दछन् सम्पूर्णता भनेको कसैलाई बाहेक नगरिएको अवस्था हो समग्रमा लोकतन्त्रको सही अर्थको सौर्न्दर्य हो । सबै समावेशित अवस्था नै सम्पूर्णता हो र आम नागरिकले चाहने पनि त्यही अवस्था हो। नेपालमा राजनैतिक धरातलमा चलिरहेको समावेसिताको आन्दोलन र नेपालको संविधानले आंशिकरूपमा भए पनि अंगिकार गरेको समावेसिताको दर्शनको ईमान्दारिता पूर्वकको पालना राज्य, सरकार, बुद्विजीवी, स्रष्टा, साधक र आम नागरिकले पालन गरेमा महाकवि देवकोटाले भनेझैँ हाम्रो देश “ सुन्दर शान्त र बिशाल नेपाल ” हुनेछ ।

खुशीको कुरा, आजका नयाँ पुस्ताका साहित्यकार तथा लेखकहरू यस दिशामा अघि बढ्न थालेका छन् । नेपाली समाजको समाजिक संरचनालाई अध्ययन गरेर, बुझेर तिनले साहित्य लेखन गरिरहेका छन् । सबैका भावना समेटिएको, सबैका आवाज सुनिने, सीमान्तकृत सबैको पहुँच जुनै प्रकारको सत्तामा समान रूपमा पुग्नुपर्छ भन्ने लेखनको थालनी भइसकेको छ, भन्छन् काइँला । कम कविता लेखेर लामो समयसम्म हिरो बन्ने कम नेपाली भाग्यमानी मध्ये उनको नाम अग्रस्थानमा आउछ । नेपाली कविताप्रेमी र कविहरूमा सधैँ सद्भा र प्रेमले लिइने नाम हो खासमा नेपाली कविहरुबीच बैरागी काइँला एउटा त्यो दुर्गम उचाई जसलाई हर कोही छुन चाहान्छ । राम्रो कुरा खतरनाक हुन्छ तर सूक्ष्म रहन्छ भने जस्तै उनको “मातेको मान्छेको भाषण मध्यरात पछिको सडकसित” कविता कति पाठकहरूका निम्ति एउटा एडिक्सन नै हो भन्दा फरक नपर्ला यति ठूलो उचाई र पाठकहरूबाट प्रेम पाएका काइँला भने आफूलाई बित्थामा अरूले कवि मानेकोमा गुनासो गर्छन् । उनी त ख्याल ख्यालमै अरूले भनिदिएर कवि बनेको रे ।

राज्यले के दियो तपाईँलाई राज्यले प्रदान गरेको सम्मानप्रति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको उत्तरमा आफूले गरेको भन्दा खासमा धेरै नै पाठक र राज्यले दिएको ठान्छन् । मैले कति नै लेखेँ र कविता ! यति भनेर त्यो दिन उनले मन्द मुस्कान छाडेका थिए । नेपाली साहित्यका मर्मज्ञहरूले पनि बढी नै माया र स्नेह दिए जस्तो लाग्छ मलाई, यसो भनिरहदा उनको अनुहार एकाक्सी उज्यालिएर आयो । फेरि हिजोआज साहित्यिक कृतिहरू आउँदैनन् नि भन्ने प्रश्नमा अब लेखिहाले भने थोरै भएपनि अझै कविता लेख्छु जस्तो लाग्छ भन्ने जवाफ दिए ।

आफैंलाई फर्केर हेर्दा कस्तो लाग्छ ? भन्ने जिज्ञासामा जीवनसगँ गुनासो नभएको , काव्यक्षेत्रमा लागेर ठिक काम गरेको , पाठक र समालोचकहरूबाट माया र प्रोत्साहन प्रशस्त पाएको अनि जीवन छोटो भएको र यति छोटो समयमा आफु राज्य र पाठकसंग सन्तुष्ट रहेको बताए । “अखिर मरिजादा यो सबै चीज छोडेरै जाने हो “- उनी लामो हासो हास्छन् र भन्छन् तर पछिबाट भने आफुले लेखेको कविता पहिला लेखेजस्तो राम्रो नलागेकाले कविता लेख्नै छोडेको हुँ तर पनि आफू भित्रको सृजनात्मक उर्जा किन खेर फाल्ने अन्य क्षेत्रमा सदुपयोग गरौँ भनेर लिम्बुजातिको मुन्धुम लोकसाहित्यको संकलन, सम्पादन र अनुवादतिर लागेको हुँ । लामो समयसम्म कोही हिरो हुन सक्दैन यति भनिसकेपछि एकछिन सोचमग्न भएर पुन फेरि भन्छन् जसरी एकजना राजनीतिक नेताले पहिलो निर्वाचन क्षेत्रमा दोस्रो पटक उठ्दा हार्छु भन्ने लागेर अर्कै निर्वाचन क्षेत्र खोजेर चुनाव लड्छ, त्यस्तै म पनि नयाँ निर्वाचन क्षेत्र अर्थात् लिम्बु लोकसाहित्यको क्षेत्र तथा सीमान्तकृत भाषा र संस्कृतिका संरक्षण र सम्बर्द्धनको सक्रियतातिर लागेको हुँ ।

त्यसो त काईलालाई विक्रम सम्मत २०४७ पछि त तपाई मातृभाषाहरू र जातिवादी कुरामा लागेर नेपाली साहित्यबाट टाढा भएको आरोप लाग्ने गर्छ । मूलधारको साहित्यमा तपाईंले जे गर्न सक्नुहुन्थ्यो, त्यो गर्नुभएन भन्नेहरू पनि छन् भन्ने प्रश्नको जवाफमा सीमान्तकृत जातजाति र मातृभाषाको संरक्षण र हकहितका कुरा गर्दा मूलधारको नेपाली लेखक र पाठकहरू, कतिपयले मलाई जनजाति कवि भनेर व्यंग्य पनि गरे । अर्कोतिर जनजातिका कतिपय व्यक्तिहरूले पनि उनलाई नेपालीमा लेख्ने हुनाले बाहुन कवि भनेर आलोचना नै गरे । यो बिषयमा आफू दोहोरो मारमा परेको गुनासो गरे । अब के छ त योजनाहरू भन्ने प्रश्नमा काइँलाले उदास स्वरमा भने “आफूले थालेका धेरै कामहरू अधुरा छन् । कसरी सिध्याउने चिन्ता लागेको छ । उमेरले नेटो काट्यो । यसो नगर भनेर कसैले हातखुट्टा बाँधिदिएका थिएनन् तर आफ्नै लोसेपनाले अधुरो रहेका हुन् । हे ईश्वर, थालेका कामहरू सक्न पाएँ भने केही चाहिँदैन मलाई भन्दछु मनमनमा यति भनेर एकछीन मौन रहे । ठूलो कुरा लेख्नु भन्दा साना साना कुरा तर आफ्नो कुरा लेख्दै जानु चाहिँ ठिक रहेछ यो बिषयमा अहिलेका पुस्ता सचेत छन् म खुशी छु । प्रविधिको विकासका साथै सामाजिक सन्जालले एकापसमा जोडिएर घनिष्ट छन् । हाम्रो पालामा त प्रत्येक लेखक आफैमा एउटा टापु थियो । अहिलेजस्तो फेसबुक ईमेल थिएन । ढिलो पुग्ने चिठ्ठीपत्रद्वारा जोडिएका हुन्थे । तर त्यही परिस्थितिले हामीलाई समर्पण भावसहितको चिन्तनशिल लेखक बनायो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्यदेखि कुलपतिसम्म भएका काइँला प्रविधितिर उति कुशल छैनन् । तर फेसबुकमा भने बिन्दास फोटो पोष्ट गर्नुदेखि स्टाटस अवलोकन गर्न भने भ्याउँछन् । दिनको एक दुई घन्टा महंगो समय खाइदिने सामाजिक संजाल अब बेकार लाग्न थालेको छ उनलाई । वैवाहिक जीवनले ५० वर्ष नाघेको पनि निकै भयो । पारिवारिक जीवन सहजरूपमा बढिरहेको छ पारस्परिक समझदारीले । घर थामिदिने श्रीमतीकै कारण आफूले साहित्य र समाजका गतिविधिमा लागेर सम्मान र प्रतिष्ठा पाएको स्वीकार्दै काइँला यसको श्रेय श्रीमतीले पाउनुपर्ने भन्दछन् । त्यसो त उमेरमा अत्यन्तै कोमल र प्रेमिल कविता लेख्ने काइँलाको प्रेमिल कविता “माया र मफलर” पाठकहरुलाई कण्ठस्थ छ । उनीबारेका किस्साहरू पनि मिथक र उखानजस्तै भैसकेका छन् त्यसो त अब आउने पुस्ताकै निम्ति उनको नाम किथक जस्तै हो अनि उनले बाचीदिएको जीवन र उमेरका ति प्रेमील दिनहरु जुन बेला काइँला दार्जिलिङमा पढ्थे ।

त्यी दिनहरुमा दार्जिलिङमा पढ्दाताका कुनै अनाम युवतीको प्रेममा चुलुम्बै डुबेका थिए रे । यो किस्सा यथार्थ हो कि होइन भन्ने प्रश्न काइँलाले हाँसेरै टारिदिए तर आँखामा देखिएको चमकले केही कुरा बोलीरहेको थियो । तर आफ्नो उमेरमा कहिल्यै दोहोरो प्रेममा नपरेको बताउने काइँला भन्छन् म त केटीमान्छेहरूसँग बोल्न पनि धक मान्ने खालको थिएँ । भावुक पनि कहिले भइनँ । जस्तो कि कोही आफन्त वा नजिकका मान्छेको मृत्युमा समेत न रुन जानेँ, न भावुक हुन । यस हिसाबले त आफूलाई असम्वेदनशील मान्छे जस्तो लाग्छ । त्यस्ता कुरामा घोत्लिँदा अचेल बरु भावुक हुन पुग्छु । पाठकहरुमाझ त्यो बूढो शरीर पनि यति सुन्दर र प्रेमिल लाग्नुको कारण भने उनको हुरुक्कै पार्ने जिवन्त कविताहरु नै हुन जसले गर्दा अझै कति सताब्दी वा कालसम्म नेपाली पाठकहरुमाझ हिरो नै भएर रहनेछन् जस्तोकी एक्लै माथी निकै माथी पहाडको टुप्पोमा उभिरहेको बरको रुखजस्तै । अन्तमा काईलाको कविताको केही हरफहरु

धेरै नानीहरुलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरुलाई सीमान्तको मोर्चामा पुर्याएर
धेरै बाबुहरुलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकीसकेका बाटाहरु
अब त दुर्घटनामा टुक्रिएका सडकहरु
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काधँमाथि जिन्दगीको लास बोकेको छु ।

पर्वत कविता शिर्षकबाट ।

तपाईको प्रतिक्रिया