काठमाडौं । नेपाली कांग्रेसले नेकपाको समूहसँग सहकार्य गर्ने नयाँ रणनीति लिएको छ । प्रदेश सरकारमा आफूलाई जसले मुख्यमन्त्री दिन्छ, त्यही समूहसंग सहकार्य गर्ने रणनीतिमा कांग्रेस लागेको हो ।

प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेपछि नयाँ सत्ता समीकरणको पहल सुरु भएको हो । दुवै प्रदेशमा सरकार गठन गर्न कांग्रेसको समर्थन अनिवार्य देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार शीर्ष नेतासहित बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूबीच अनौपचारिक छलफल भएको थियो । त्यस क्रममा सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेसको साथ खोजे पनि कांग्रेसले भने आफूलाई फाइदा हुने गरी निर्णय लिने बताएका हुन् ।

देउवाले कांग्रेसले दुवै प्रदेशमा मुख्यमन्त्री पाउने अवस्था रहेको धारणा राखेको एक केन्द्रीय सदस्यले बताए । कांग्रेसलाई मुख्यमन्त्रीमा जसले सहयोग गर्छ उसलाई नै समर्थन गर्नुपर्दछ भन्ने कुरा देउवाले गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई सहयोग गर्न नहुने बताएका थिए ।

कांग्रेसको समर्थनबिना बहुमत नपुग्ने भएपछि नेकपाका दुवै समूह कांग्रेसको सहयोग खोजिरहेका छन् । उनीहरूले कांग्रेसका विभिन्न तहका नेताहरूमार्फत आफ्नो पक्षलाई समर्थनका लागि लबिङ गर्दै आएका छन् । प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री ओलीनिकट हुन् । दुवै मुख्यमन्त्रीविरुद्ध दाहाल–नेपाल समूहका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । उक्त समूहले प्रदेश १ मा भीम आचार्य र बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

तपाईको प्रतिक्रिया