काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट चुनावका लागि घोषणापत्र लेख्ने कार्य शुरु गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली चुनावी घोषणा–पत्र लेख्ने तयारीमा लागेका हुन् ।

ओलीले घोषणा–पत्रमा समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन देशभरका नेता कार्यकर्तालाई परिपत्र गरेका छन् । गत बिहीवार देशभर पठाइएको विशेष परिपत्रमा लेखिएको छ, ‘आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणा–पत्रमा समेट्नुपर्ने विषयहरूका सम्बन्धमा सबै तहका पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन, शुभेच्छुकहरू तथा आम जनसमुदायसँग छलफल गरी फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत केन्द्रीय कमिटीलाई सुझाव पठाउनसमेत निर्देशन गरिएको छ ।’

परिपत्रमार्फत प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन् । निर्वाचन आयोगले माघ १६, १७ र १८ गते मतदाता नामावली सच्याउन सकिने मिति तय गरेकाले यसमा सक्रिय रहन ओलीले भनेका छन् । ‘सो अवधिभित्र आ–आफ्नो कार्यक्षेत्रका मतदातालाई सुसूचित गर्न, मतदाता नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, झूटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यस्तो नामावली हटाउन र दोहोरो नाम हटाउनका लागि निवेदन वा उजुरी दिन र निर्वाचन प्रक्रियामा आमजनतामा जागरण र सहभागिता अभिवृद्धि गर्न जरुरी छ,’ परिपत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया