काठमाडौं । विभाजनपूर्वको नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा भएको छ ।

आज बुधबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रममार्फत अभियानको घोषणा कार्यक्रम सुरु भएको हो ।

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएर छुट्टै समूह बनाई प्रचण्ड माधव पक्ष अघि बढिरहेका छन् । उपाध्यक्ष गौतमले भने अझै पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउँदै पार्टी एकताको घोषणा सञ्चालन गरेका हुन् ।

कार्यक्रममा सहभागी भएकलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र दिइएको छ ।

कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डलाई समेत आमन्त्रण गरिए पनि उपस्थित भएका छैनन् ।

को-को छन् अभियानमा ?

पार्टी एकता राष्ट्रिय अभियानमा साबिक केन्द्रीय कमिटीका एकजना बाहेक अन्य नेता सामेल नभए पनि केही जनप्रतिनिधि सहभागी भएका छन् ।

वामदेवको एकता अभियानमा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का सहितका विभिन्न जिल्लाका जनप्रतिनिधि सहभागी रहेको बताइएको छ ।

वामदेवको अभियानमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिरावहादुर महर्जन पनि जोडिएका छन् । अभियानको संयोजक गौतम र सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।

एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । वामदेवको एकता अभियान लामो जाने र उनी तत्काल दुवै नेकपामा सामेल नहुने देखिएको छ ।

अभियानको केन्द्रीय समन्वय समितिको बैठक ६ महिना र प्रदेश समन्वय समितिको बैठक ३ महिनामा बस्ने भनिएको छ । यसले पनि तत्काल गौतम समूह दुवै पक्षमा नखुल्ने देखिएको हो ।

अभियान घोषणासभालाई सम्बोधन गर्दै पराजुलीले यसैगरि दुवै पक्ष गएमा आउने चुनावमा दुवैलाई बहिस्कार गर्न मतदातालाई आह्वान गर्ने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया