काठमाडौं । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने धनकुटा–६ का शिक्षक मदन अधिकारी, स्थानीय गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई अदालतले दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना कैद तथा अत्री, श्रेष्ठ र मगरलाई १८ वर्ष कैद सजाय तोकेको छ । त्यस्तै चारै जनालाई जनही १ लाख ५० हजार क्षतिपूर्ति र २५ हजार जरिवाना तोकिएको छ ।

बलात्कृत बालिकालाई पढाउने शिक्षकसमेत भएकाले अधिकारीलाई संरक्षकका हिसावले अन्य व्यक्तिको तुलनामा थप ६ महिना कैद सजाय तोकिएको जिल्ला अदालतका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिए । यो घटना गत जेठ पहिलो साता सार्वजनिक भएको थियो ।

शिक्षक अधिकारीसहित स्थानीय चार जनाबाट पटक पटक यौन शोषणको सिकार भएकी बालिकाको पेटमा गर्भ रहेर पेट बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको थियो । बालिकाले आफूलाई ललाई फकाई ६ महिनायता विभिन्न ठाउँमा लगेर चार जनाले फरक फरक समयमा पटक पटक शारीरिक सम्पर्क राखेको बयान दिएकी थिइन् ।

त्यसपछि पीडित बालिकाका परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो । १८ वर्ष मुनिका बालिकासँग सहमतिमै शारीरिक सम्पर्क गरे पनि सम्पर्क गर्ने व्यक्तिविरुद्ध जबरजस्ती करणी (बलात्कार) कसुर अन्तर्गत कारबाही हुने कानूनी व्यवस्था भएकाले प्रहरीले उनीहरु बिरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको थियो ।

यौन शोषणमा परेकी बालिकाले करिब तीन महिना पहिले नै बच्चासमेत जन्माएकी छन् । उनी अहिले बच्चासहित महिला पुनस्र्थापना सेवा केन्द्रको संरक्षणमा बस्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया