हाल नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको अध्यक्ष पत्रकार शोभा अर्याल नेपाली पत्रकारिताको नेतृत्व तहमा आउन चाहने पछिल्लो पुस्ताको निम्ति एक आशा र भरोसाले भरिएको नाम हो । बिशेषगरि पत्रकिताको संस्थागत बिकासको निम्ति महिला पत्रकारहरुको पहुँच बढाउनको निम्ति पछिल्लो समय देशैभरिबाट आवाज उठीरहदा अर्याल नेतृत्वमा आउनुलाई वास्तवमै सकारात्मक रुपमा लिन सकिन्छ । वर्तमान समयमा सञ्चारगृह र सञ्चार माध्यममा महिला सहभागिता र उपस्थितिको अवस्थालाई हेर्ने हो भने अझै ठुलो अन्तर छ  र सुधार गर्नुृपर्ने थुप्रै ठाउँहरु छन् । यो अवस्थामा सन्तोषजनक अवस्थामा पुग्न अझै धेरै सुधार गर्नुपर्ने अवस्था छ । यही खाडललाई पुर्नको निम्ति नेपाली पत्रकारिता क्षेत्रको नेतृत्व तहमा पछिल्लो पुस्ताका महिलाहरु हस्तक्षेपकारी रुपमा आईरहेको कयौं नामहरु मध्ये शोभा अर्याल पनि एक हो ।

नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाको  नेतृत्वमा महिला आउनु निकै गाह्रो बिषय हो भन्ने मानकलाई चिरेर यो पल्ट केन्द्रमा महिला अध्यक्ष आउनु र देशभरिको जिल्ला मध्ये काठमाडौ शाखा जसले महासंघको हरेक अधिवेशनमा निर्णायक मत राख्छ। त्यसैले पनि त्यो ठाँउमा शोभा अर्यालले अध्यक्ष पदमा चुनाव जित्नु दुवै कोणलाई महत्त्वको साथ हेरिएको छ । अझ विशेष गरी महिलाहरूका लागि त गोरेटो बाटो नै बनाउन सफल  छन् यी नामहरु  ।

अर्यालसँग निरन्तर डेढ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो उपस्थिति टिकाइ राख्न गरिएको विभिन्न खाले सङ्घर्षका अनुभूतिहरू छन् । प्रिन्ट मिडियाबाट पत्रकारिता पेशा सुरु गर्नुभएको उहाले विभिन्न साप्ताहिक तथा दैनिक पत्रिका, टिभी हुँदै अनलाइनमा काम गर्दा  समाचार संकलन ताका 

फोटो फिचर, फोटो स्टोरी बनाउन क्यामेरा र ल्यापटप बोकेर नेपालका दुर्गम, सुगम स्थानमा रिपोर्टिङको लागि गएको रमाइलो अनुभव छन् । यसरी गाउँ बस्तीहरुमा पुग्दा नेपालको सामाजीक परिवेशलाई उहाँले नजिकबाट बुझ्ने मौका पाउनु भएको छ । विभिन्न फरक परिवेशका मानिसहरूसँग घुलमिल हुन पाउँदा नेपाली समाजको बिबिधतालाई नजीकबाट बुझ्ने अवसर पाउनको साथै आफ्नो समाज र कुनैपनि बिषयबस्तुलाई नजिकबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उहाँले बिचार व्यक्त गर्नुभयो ।

एक दशककै अन्तरमा नेपाली पत्रकारितामा आएको परिवर्तन वास्तवमै सपनाझैँ लाग्छ भने हस्तलिखित समाचारहरूलाई टाइपिङको माध्यमबाट छापिन्थ्यो भन्ने दशक अगाडीको अवस्था अहिले किस्साझै लाग्छ उहाँलाई । यसरी छापीएको समाचार अब आउने केही दशकपछि किम्बदन्ती हुनेछ भन्ने उहाँको ठम्याइ छ।  गफैगफको शिलशिलामा उहाँ भन्नु हुन्छ – “५७ सालतिरको कुरा हुनुपर्छ टाइप राइटरबाट सिफ्ट भएर भर्खरै कम्प्युटरमा टाइप गर्ने समय आएको थियो । त्यो समयको एउटा किस्सा छ, उहाँसँग जुत्ता लगाएर र धुलो मैलो भएर कम्प्युटर भएको कोठामा जाँदा कम्प्युटरमा भाइरस छिर्छ भनी जुत्ता खोली वरी हातमुख धोएर सुक्खा बनाएर मात्र डेस्कमा बसेको ।” यो आफैमा अहिले सुन्दा आजको पुस्ताको निम्ति रमाइलो जोक हुन्छ । तर यो समय अर्यालको समयमा पत्रकारितामा  गरीरहेका सबै पत्रकारहरुले भोगेर आएको सस्मरण हो । अहिले समय फेरिएको छ, पत्रकारिताको माध्यम फेरिएको छ। उहाँ अहिले मोजो अर्थात मोबाइल जर्नलिजम गर्नुहुन्छ।

आफ्नै स्वरोजगार redvoicenepal.com मिडियाको सम्पादक हुनुहुन्छ। एउटा मोबाइल नै काफी छ समाचार उत्पादनदेखि सम्प्रेषण गर्नको निम्ति । नयाँ नयाँ प्रविधिहरू पत्रकारिता क्षेत्रमा भित्रिदै गर्दा उहाँले आफ्नो विकासका लागि आवश्यक सबै खाले सीपहरू सिक्दै निरन्तर पत्रकारिता क्षेत्रमा आफ्नो उपस्थितिलाई दर्बिलो बनाउँनु भएको छ । सबैभन्दा ठुलो कुरा काठमाण्डौ शाखा जो पत्रकार महासंघको हरेक निर्वाचनमा महत्वपुर्ण महत्व राख्छ र अहिले आएर त्यही शाखा अन्तर्गतको हजारौं पत्रकारको नेता हुनुभएको छ ।

काभ्रेमा जन्मिनु भएकी अर्यालको परिवार ४५ सालमा रौतहट स्थानान्तरण भएपछि  उहाँले   स्कुले जीवन रौतहटमै पूरा गर्नुभयो। बाल्यकाल र अधिकांश अवधि भने काठमाडौंमै बित्यो। प्रारम्भिक शिक्षा अंग्रेजी माध्यम स्कूलबाट लिँदै गर्दा पढाइमा अब्बल एसएलसी सकेपछि काठमाडौंमा नै विश्वविद्यालय शिक्षा लिनुभएकी उहाँले आमसञ्चार तथा पत्रकारितामा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुको साथै काठमाडौं विश्वविद्यालय अन्तर्गत डेभलपमेन्ट स्टडिजमा एमफिल गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत आर आर क्याम्पसमा स्नातक गर्दा गर्दै वैवाहिक जीवनमा बाँधिनु भएको उहाँले दुई सन्तानलाई जन्म दिदै घर परिवारको दायित्वलाई वहन गर्दै पत्रकारिता पेशालाई निरन्तरता दिन सक्नु वास्तवमै सुन्दर पक्ष हो। पछिल्लो पुस्ताको महिलाहरुको निम्ति एक आशाको प्रतिक हो ।

दोहोरो भूमिका निर्वाह गर्न कत्तिको जटिल भयो भन्ने प्रश्नमा मुस्कुराउँदै भन्नुहुन्छ-मैले जीवनलाई जहिले पनि सहजतापूर्वक स्वीकार गरेँ। परिवार, पढाइ, र पेशा – जीवनका यी तीनै पाटोलाई प्राथमिकताका आधारमा कहिले प्यासिभली एक्टिभ त कहिले एक्टिभली प्यासिभ भएर ब्यालेन्स गरेँ। परिस्थिति अनुसार कहिले प्राथमिकतामा परिवार पर्यो, कहिले प्राथमिकतामा पढाइ पर्यो त कहिले प्राथमिकतामा पेशा। संघर्ष भन्ने कुरा कुनै भयंकर कुरा होइन। निरन्तर इमानदारितापूर्वक आफ्नो काम, कर्तव्य र उत्तरदायित्वलाई पूरा गर्नु महत्वपुर्ण कुरा रहेछ । बच्चा हुर्काउँदै गर्दा आफुले पनि बच्चासँगै नयाँ कुरा सिक्दै आफुलाई विकास गरेको र आफ्ना अभिभावक बुढ्यौलीमा प्रवेश गर्दै गर्दा उहाँहरूको अनुभवबाट सानोले सिक्ने र नयाँ पुस्ताले पनि उहाँहरूको बुढ्यौली सहज बनाउन मद्दत गर्ने पारिवारिक वातावरणले नै आफूलाई सफल बन्न मद्दत पुगेको बताउनुहुन्छ।

नेपाल पत्रकार महासंघको इतिहासमा काठमाडौं शाखाले स्थापनाको ३२औं वर्षमा पहिलो पटक महिला नेतृत्व प्राप्त गरेको छ। शोभा अर्याल प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत काठमाडौं जिल्ला अध्यक्ष बन्नु भएको हो। लामो समयदेखि पुरुष वर्चस्व भएको स्थानमा महिला नेतृत्व आउनुमा परिवार, समाज र आफ्ना वृत्तका साथीहरूको प्रेरणा, हौसला, अग्रजहरूको मार्गदर्शन र आफ्नो निरन्तरको मेहनत नै कारक रहेको उहाँको भनाइ छ।

अघिल्लो कार्यकालमा पत्रकार महासंघले पोखरा र धनुषा गरी दुई स्थानमा महिला नेतृत्व प्राप्त गरेको थियो भने यसपटकको कार्यकालमा केन्द्रसहित काठमाडौं, रोल्पा, मोरङ र मुस्ताङ गरी ५ जना महिला नेतृत्व संघले प्राप्त गरेको छ । अहिले धेरै महिलामा नेतृत्वमा पुग्न सकिने विश्वास स्थापना भएको छ र उत्साह बढेको छ। यो वास्तवमै एक सुन्दर यात्राको सुरुवात हो र पत्रकारितामा भविष्य खोज्नेहरुको निम्ति सफलताको उदाहरण  हो ।

समाजका अवरोधहरूलाई तोड्दै महिला नेतृत्वमा पुगिहाले पनि यसको पुस्ता हस्तान्तरणको अवस्था भने अझै कमजोर छ। त्यसो त नेपाल पत्रकार महासंघले  पहिलो महिला नेतृत्व प्राप्त गरेको छ यो नेपाली पत्रकारिताको इतिहासमा ठुलो परिवर्तन हो । कसरी महासंघको नेतृव्वमा आउने बिचार आयो भन्ने प्रश्नको जवाफमा उहँ भन्नु हुन्छ- महासंघमा रहेका विभिन्न समस्याहरूको समाधानका साथै श्रमजीवी पत्रकारको हक, हित र सुरक्षा, साना तथा स्वरोजगार मिडियाको संरक्षण र महासंघ नागरिक अगुवा संस्था भएको कारण नागरिकका आवाजलाई राज्यसम्म पुर्याउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नेतृत्वदायी भूमिकामा पुग्नु पर्छ भन्ने सोचले नै मेरो आकर्षण पत्रकार महासंघ तर्फ बढेको हो। साथै मानिसको सबै खाले व्यक्तित्व भन्दा पनि आफ्नो व्यक्तिगत व्यक्तित्व इमानदार भए सबैका लागि राम्रो गर्न सकिने तर्क गर्दै आफ्नो नेतृत्वमा महासंघमा राम्रा कामहरूले गति लिने कुरामा विश्वस्त रहन आग्रह गर्नुहुन्छ।

तपाईको प्रतिक्रिया