नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा मोहराज शर्मा एक स्थापित नाम हो । २०६१ सालमा बागलुङमा स्थापना भएको धौलागिरी एफएमबाट शुरु भएको उहाँको सञ्चार यात्रा एभिन्युज टेलिभिजन हुँदै अहिले ए पी वान टेलिभिजनमा समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । दुई दशकदेखि रेडियो, टेलिभिजन पत्रकारितामार्फत भाषा साहित्य, संस्कृतिमा केन्द्रित भएर निरन्तर रिपोर्टिङ गर्दै आउनु भएका शर्माराम्रो कविको रुपमा पनि स्थापित हुनुहुन्छ । विशेषगरि पूर्वीय दर्शनप्रति गहिरो रुचि राख्ने शर्मासँग नेपाली भाषाको उद्धवस्थल जुम्लाको सिंजादेखि विश्वविख्यात अक्सफोर्ड विश्व विद्यालयसम्म पुगेर त्यहाँ अध्यापन हुने संस्कृत भाषा र पश्चिमा मुलुकको यसप्रतिको आकर्षणबारे रिपोर्टिङ गरेको अनुभव छ । प्रस्तुत छ, कविता लेखनमा पनि आफ्नो अलग्गै पहिचान बनाउनु भएका शर्मासँग नेपाली साहित्यमा केन्द्रित रहेर गरिएको कुराकानी ।
पत्रकारितासँगैतपाई एक लेखकको रुपमा पनि स्थापित हुनुहुन्छ र दुई दशकदेखि साहित्य र पत्रकारितालाई सँगै ल्याउनु भएको छ, यो पुस्ताको उपलब्धि र लेखकीय चुनौती के हो ?
हाम्रो पुस्ताले राजनीतिक, प्राकृतिक र सामाजिक रुपमा ठुलो बिपत्ती भोग्यो। हरेक आन्दोलनमा कवि लेखकहरू सडकमा छन् । त्यसपछिको उपलब्धिनै भन्नुपर्छ,हामीले संसारकै सुन्दर संविधान पायौँ तर त्यसलाई नेतृत्व गर्ने नेताहरू ठीक भएनन् । हरेक आन्दोलनमा सक्रिय नागरिकले परिवर्तनको जुन अपेक्षा गरेका थिए, त्यो भएन । निहित स्वार्थको कारण यो देश पीडित भयो र हामीले पटक पटक राम्रो व्यवस्थाको खातिर लेखिरहनुपर्यो । मेरो अनुभवको हिसाबले भन्नुपर्दा पत्रकारिताले अझ बुझाईको आयतनलाई व्यापक बनाएको छ । समाजको समस्यालाई मिहिनरूपमा बुझ्ने मौका पाएको छु । समग्रमा भन्नुपर्दा दुबै विषयको सार एकै हो ।
समकालीन नेपाली लेखनमा मानवीय संवेदनशीलताकोविषयकसरी उठान भैरहेछ ? समाजमा लेखनको कस्तो प्रभाव परेको छ ?
नेपाली समाजको अवस्थालाई नजिकबाट बुझ्ने हो भने हरेक दिनहजारौको सङ्ख्यामा देशको आशालाग्दो जनशक्ति बाहिरिएको अवस्था छ । उनीहरु फर्किएर आउने कुनै ग्यारेन्टी छैन। यो त सानो उदाहरण मात्रै हो । यस्ता कयौँ विषयहरू छन् समाजमा, जसलाई हाम्रो साहित्यले सम्बोधन गर्न सकेकै छैन । हरेक बर्ष हाम्रो देशमा ठुला ठुलासाहित्यिकउत्सवहरु हुन्छन् तर त्यहाँ नागरिकको सरोकारका विषय कति उठान भएका छन ? हाम्रो साहित्यमा कति जवाफदेहिता छ ? हाम्रो साहित्यले आशा र प्रेरणालाई कसरी लेखीरहेछ यो प्रमुख विषय हो की जस्तो लाग्छ ।
नेपाली समाज एक बहुल समाज हो तर नेपाली लेखनले बहुलवादको चिन्तनलाई कसरी बुझेको छ ?
संसारमा त्यस्ता धेरै देश छन्, जहाँ युद्धकै मात्र कथा छन् तर नेपाल त्यस्तो छैन । हाम्रो समाज बहुलवाद, बहुलजात,बहुल बैचारिक मत राखेता पनि मिलेर बसेको छ। सहिष्णुता यहाँको सबैभन्दा सुन्दर पक्ष हो । साना साना घटना भएता पनि विश्व परिवेशमा नेपाल एक शान्त देशको रुपमा परिचित छ । राजनीतिक समिकरण र धुव्रिकरणलाई हेर्ने हो भने केही जटिल होला तर यो देशको साहित्यले अभाव लेखेपनि पनि अझै प्रेम र अनुरागको साहित्य पनि लेखीरहेको छ। लेखकको दिमाग त्यही अड्कीरहनु भनेको समाज अझै शान्त छ भन्ने बुझ्नु पनि हो ।
पत्रकारिताको सुरुवाती समयदेखि अहिलेसम्म साहित्यिक पत्रकारिता नै गरेर आउनुभयो । के महसुस गर्नुभयो ?
पहिलो कुरा हाम्रो साहित्य हाम्रो समाजसँग आमनागरिकसँग गहिरो गरि जोडीन जरुरी छ । नेपाल र नेपाली समाज भौगोलिक र सामाजिक रुपमा सुन्दर छ । त्यो साहित्यमा पनि आउनुपर्यो । हाम्रो पाठ्यक्रमहरुमा हाम्रा लेखकहरुले लेखेको कुरा बढी भन्दा बढि समावेश गरिनुपर्छ । अग्रेजी साहित्य अथवा त्यही भारतको अवस्थालाई हेर्ने हो भने पनि उनिहरुले आफ्नो देशको लेखक र साहित्यको विविधतालाई महत्व र संरक्षण दुवै गरिरहेको अवस्था हो । अर्को चाहि हामी आत्मरतीबाट माथि उठ्न पनि जरुरी छ। समग्रमा भन्नुपर्दा नेपाली साहित्य लेखनप्रति पछिल्लो पुस्ताको राम्रो रुझान छ। यो राम्रो पक्ष हो ।
राम्रो लेखनमा हुनुपर्ने गुण के हो जस्तो लाग्छ ? तपाईको लेखनमा प्रश्नहरु धेरै छ कीन ?
राम्रो लेखनले जहित्यै सत्ता पक्षलाई झकझकाई रहन्छ । सरकारको जहित्यै विपक्षी हुन्छ । खासगरि समाजको असमानताहरुलाई लेखकले नै हो बिरोध गर्ने र समाजलाई सही दिशामा हिड्न प्रेरित गर्ने । अर्को चाहि प्रतिकुल अवस्थामै हो साहित्य बलियोगरि आउने । मेरो लेखनमा प्रश्नहरु आउनु स्वाभाविक हो ।
लेखन र मानवीय संवेग अनि यसको अन्तर सम्बन्ध कस्तो हुन जरुरी छ ?
पठन सँस्कृतिलाई बलियो र प्रेरणादायी बनाउन अबको साहित्यमा आशा र प्रेम लेख्न जरुरी छ । हामी कहाँ पछिल्लो समय साहित्यमैकेन्द्रित रहेरसाहित्यिकउत्सव गोष्ठि सङ्गगोष्ठिहरु हुने गर्छन तर ती फोरमहरुमा हुने बहस के माकेन्द्रितछ त भन्दा गैर साहित्यको बिषयहरुमाकेन्द्रितछ । नयाँ पुस्तामा गहीरो अध्ययनको अभाव जस्तो देखिन्छ । सेलीब्रटी साहित्यमा नयाँ पुस्ता रमाईरहेका छ की जस्तो लाग्छ । यसले आउने दिनहरुमा नेपाली साहित्यमाथि निक्कै ठुलो असर पर्नेछ । नेपाली लेखक रपाठक दुवैलाई टेक्नोजोलीको बिकासले ठुलो प्रभाव पारेको छ ।
नेपाली साहित्य सम्बन्धी रिर्पोटिङ्ग गर्दाको अनुभवहरु कस्तो छ ?
रेडियो र टेलिभिजनको दुइ दशक लामो सन्चारकर्ममा नेपाली भाषा, साहित्य, संस्कृतिबारे देश विदेशमा पुगेर रिपोर्टिङ गर्ने अवसर मिलेको छ । नेपाली भाषाको उदभवस्थल जुम्लाकोसिंजादेखि वेलयतमा रहेको विश्वविख्यात अक्सफोर्डविश्व विद्यालयसम्मपुगेर त्यहाँ अध्यापन हुने संस्कृत भाषा र पश्चिमा मुलुकको यसप्रतिको आकर्षणबारे रिपोर्टिङ गर्दाको समय मेरो साहित्य कर्मको महत्वपूर्ण क्षण हो । त्यसैगरि नेपाली भाषीको बाहुल्य रहेको भारतको आसाम,गुवाहाटी,भाषा संस्कृतिकै कारण देशबाट निकालिएर शरणार्थी बन्दै अहिले विभिन्न मुलुकमा पुनर्वास भएका नेपाली भाषी भूटानी समुदायमा पुगी नेपाली भाषा संस्कृतिबारे खोजमुलक डकुमेन्ट्री निर्माणले पहिचान कति महत्वपूर्ण कुरा हो भन्ने सिकाएको छ । त्यस्तै इन्डोनेशियामा मौलाएको हिन्दु संस्कृति होस वा अमेरिका,वेलायत तथा दक्षिण कोरियामा पुगी प्रवासमा नेपाली भाषा साहित्यको फैलावटबारे रिपोर्टिङ गरेको अनुभव छ । नेपालमा मौलिक संस्कृति हराउन थालेको चर्चा भैरहदा विदेशमा रहेका नेपालीले भाषा साहित्य र संरक्षणका लागि गरेका प्रयासबाट हाम्रो भाषा हाम्रो संस्कृति विश्वब्यापीकरण पनि भैरहेको बुझेको छु मैले ।
प्रेम के हो एक कविको दृष्टिमा ?
प्रेम शक्ती हो । प्रेमले जीवनलाई सहज बनाउछ । प्रेमलाई व्याख्या होइन त्यसलाई मनन गर्नुहोस । प्रेम त अध्यारोमा बलीरहेको दियो हो । प्रेमले कविताको माध्यमबाट हृदयको अवयवहरुलाई जोड्ने गर्छ । प्रेम बिनाको साहित्य र समाज परिकल्पना गर्नुहोस त कति जर्जर हुनेछ ।।