जीवनप्रकाश शेर्मा व्यवसायी , चलत्रित्रकर्मी र किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य हुन् । पाँचथरको माङजाबुङमा जन्मेका शेर्मा एसएलसी पछि अध्ययनको लागि इटहरी आए । त्यसपछि इटहरी नै कर्मथलो बनाएका जाजरकोट नबराज बिक हत्याकान्डमा आधारित ‘अ स्याड सङ अफ लभ’ वृत्तचित्रका कार्यकारी निर्माता हुन् । जुन १५ मा हङकङमा प्रदर्शन हुन लागेको सो वृत्तचित्र वरिपरी रहेर जीवनप्रकाश शेर्मासंग गरिएको कुराकानी ।

वृत्तचित्रको प्रतिकृया कस्तो पाउनु भएको छ ?

वास्तवममा भन्दा यो वृत्तचित्र धेरैले हेर्ने मौका पाउनु भएको छैन । विशेषगरी नेपालमा बस्नेले हेर्न पाउनु भएको छैन । यसको प्रदर्शन यो भन्दा अगाडि युकेको केही ठाउँमा भयो जसको लागि म स्वयं उपस्थित भएर दर्शकको प्रतिकृया बुझ्ने मौका पाएँ । हेर्ने सबैले सकरात्मक प्रतिकृया दिनु भएको छ । जुन १५ मा हङकङमा यसको प्रदर्शन हुदैछ । म आशावादी छु कि हङकङवासीले पनि यो वृत्तचित्र मन पराउनु हुनेछ ।

यो वृत्तचित्र किन हेर्ने नि ?

यो वृत्तचित्र हाम्रो समाजमा व्याप्त जातिय विभेदलाई गहिराईमा बुझ्ने प्रयास हो । यसको आयाम र असरलाई महसुस गर्ने माध्यम हो । यसको बिषयवस्तु २०७७ सालमा जाजरकोट र रुकमपश्चिममा घटित नबराज विक हत्याकान्ड हो । तर यसमा नबराज बिक लगायत अन्य ६ जना युवाले ज्यान गुमाएकोले धेरै चर्चा भयो । धेरै चर्चा भएकै कारण देश, विदेशमा बस्नेले थाहा पाए । तर दु:खको कुरा जातिय विभेदसंग जोडिएका घटनाहरु यो वा त्यो रुपमा हाम्रो समाजमा प्राय दैनिक रुपमै घटिरहेका हुन्छन्  । र त्यसको कारण र असर पनि यो डकुमेन्ट्रीले देखाएको छ । अनि अर्को कुरा जातिय विभेदको असर हाम्रो समाजले देख्ने सानो जातले बढी भोग्ला तर यसको दुश्परिणाम समाजमा बस्ने जोकोही जाती समुदायले भोग्नु पर्ने हुन्छ । त्यसैले जातिय विभेद भनेको सबभन्दा पहिले कुनै जातिले भोग्ने समस्या मात्र नभएर सिंगो समस्या बुझ्न जरुरी छ । त्यो कुरा बुझ्नको लागि यो वृत्तचित्र सहयोगी हुन्छ ।

वित्तचित्रको शिर्षकसंग के तादम्यता छ ?

यो घटना प्रेमसंग जोडिएको छ । दलित समुदायको युवा एक उच्च जातीको युवतीसंग प्रेममा परेपछि विवाह गर्ने प्रयास गर्छ । अक्सर प्रेमको उदेश्य खुशी र प्राप्ती हो । प्रेम जीवनको लागि हो, मृत्युको लागि हैन । तर यो घटनामा प्रेम गरेकै कारण एक युवाको ज्यान गएको छ  । उनलाई साथ दिने अन्य युवापनि मारिएका छन् । यो घटनामा खुशी खोज्दै वा खुशीको लागि गरेको प्रेमले पीडा निम्त्याएको छ । आफन्तको मनमा विरह र आँखामा उदाषी छोडेर गएको छ । प्रेमले त खुशी दिनु पर्थ्यो तर उदासी नै उदासीले भरियो । त्यसैले वृत्तचित्रको शिर्षक ‘अ स्याड सङ अफ लभ’ राखेका हौँ ।

तपाई त किरात याक्थुङ चुम्लुङको केन्द्रिय सदस्य । लिम्वूको वा तपाइको आफ्नै समुदायको धेरै बिपय छन् तर किन यो बिषयलाई वृत्तचित्रको लागि छनौट गर्नु भयो ?

कला तथा सृजनात्मक काममा यो मेरो पहिलो प्रयास हो । र तपाइले सोधे झै हाम्रा आफ्नै धेरै बिषयहरु छन् । तर मैले जहिले उठाउने भनेको सिमान्तकृत र उत्पिडितको आवाज हो । साथै सिमान्तकृत र उत्पिडित पनि भुगोल र समुदाय हेरी फरक फरक छन् र उनीहरु बिच हातेमालो हुन जरुरी छ । एकअर्काको दु:ख पीडा बुझ्न र त्यसको विरुद्ध आवाज उठाउन साथ दिनु पनि सहकार्यको एक विधी र शैली हो । मैलै यसरी आफ्नो समुदायको भन्दा फरक बिषय रोज्नु भनेको सिमान्तकृत र उत्पिडित समुदायबिच सहकार्यको प्रयास पनि हो । अन्य उत्पिडितको आवाज मैले उठाउनु भनेको मेरो समुदायको उत्पिडन बारे अन्य समुदायले आवाज उठाउने आधार तयार गर्नु पनि हो । तर आगामी दिन म निश्चय नै आफ्नै समुदायको  बिषयवस्तुमा कला र सृजनात्मक काममा जोडिने छु । किनभने हाम्रै समुदायको सँस्कृति, इतिहार र दर्शनसंग जोडिएका धेरै काम गर्न बाँकी छन् ।

यही शन्दर्भमा पहिचानको बारेमा पनि कुरा गरिहालौ । तपाइ त पहिचानवादी आन्दोलनको समर्थक । पहिचानको आन्दोलन किन जरुरी छ र यो आन्दोलनसंग तपाइको डकुमेन्ट्रीको बिषय कसरी जोडिन्छ ?

पहिचानको समर्थक मात्र हैन, मैले कतिपय आन्दोलनमा सक्रिय सहभागीता पनि जनाएको छु । कतिले पहिचानको बिषयलाई जातीवादी ट्याग लगाउँछन् । तर पहिचान जातिवादी कुरा हैन । मेरै जाती उच्च नश्लको छ । यसले नै समाजको नेतृत्व गर्नुपर्छ । अन्यले हाम्रो अरनखटन मान्नुपर्छ भन्ने खालको वर्चश्वादी सोच राख्नु जातियता हो । तर पहिचानवादी आन्दोलनले त्यस्तो भनेको छैन । मात्र वर्चश्वादी चिन्तनको विरोध गरेको छ । पहिचानको खोजी समानता र मानवतामा आधारित आन्दोलन हो । पहिचानले वर्चश्वादी चिन्तनको विरोध गर्छ र समानताको वकालत गर्छ । मानवताको खोजी गर्छ । त्यसैले वृत्तचित्र पनि पहिचानको मर्मसंग जोडिएको छ किनभने यसले सबै समान हुनुपर्छ भन्ने वकालत गर्छ । यसले मानव अधिकारको खोजी गर्छ । जातको आधारमा कोही उँचनिच हुदैन भन्ने वकालत गर्छ ।

अब नेपालमा चाहि यसको प्रदर्शन कहिले हुन्छ ?

पहिले नै गर्ने भनेको हो तर केही तारतम्य मिलेको छैन । पछिल्लो पटक हङकङमा प्रदशर्न गर्नु अघि नै नेपालमा प्रदर्शन गर्ने योजना बनाएका थियौँ । केही तयारी पनि थालेको हो तर केही प्राविधिक कारण गर्न सकिएन । तर हङहङबाट फर्केपछि लगत्तै नेपालमा पनि यसको प्रदर्शन गर्ने योजना छ । सायद, यसपाली सफल भइन्छ होला ।

तपाईको प्रतिक्रिया