बालिका बान्तावा-
सानो छदा विद्यालयको कक्षाकोठामा ‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ’ गीतलाई स्वर मिलाइमिलाई गाउने गर्थ्यौ हामी । महेन्द्रमाला नाम गरेको पुस्तकमा छापिएको थियो उक्त गीत । राष्ट्रिय भावनाले भरिभराउ गीतलाई हामीले कण्ठस्थ बनाएका थियौँ त्यसबेला । त्यहीँबेला लागेको थियो, –‘यो गीत लेख्ने मान्छे नजिकबाट कस्तो होला ? कस्तो दिमाग भएको मान्छेले गीत लेख्छ होला ?’ मनमा यस्तै यस्तै कुराहरु खेलिरहन्थ्यो । गीत लेख्ने, गीत गाउने मान्छेहरुलाई भेट्न पाए कस्तो हुन्थ्यो होला भन्ने उत्सुक जागिरहन्थ्यो । तर मेरो लागि यो सम्भव हुने कुरै थिएन ।
सुदुर पूर्वको एउटा गाउँमा बस्ने मजस्तो अती साधारण बच्चाका लागि दिवासपना मात्रै थियो । तर गणेश रसिकलाई रेडियो नेपालबाट नियमीत जसो सुनिरहन्थ्यौँ हामी । ‘मलाई प्यारो लाग्छ, लहरा पहराको गीत’ ‘यो नेपाली ठिटो, खान्छ सिटोपिठो’ लगायतका कैयौँ गीतहरु आपाले बजाउने रेडियोबाट सुन्ने गर्थेँ म । त्यसबोलाको एकमात्रै रेडियो भन्नु, रेडियो नेपाल मात्रै थियो । त्यही रेडियो नेपालबाट गणेश रसिक, हिरण्य भोजपुरे, गोपाल योञ्जन, अम्बर गुरुङहरु बज्थे ।
समय वित्दै गयो । परिस्थितिले मलाई देशबाट लखेट्यो । म हङकङ आएँ । लामो समयदेखि हङकङमा काम गरेँ । आज पनि म यहीँ छु । काम सङ्गै गीत सुन्ने, कविताहरु पढ्ने, आफै पनि केही लेखेजस्तो गर्न थालेँ । साहित्य सानैदेखिको मेरो रुचिको विषय छदैथियो । कामबाट बचेको समयमा लेखपढमा लगाउथे म । एकदिन , २०१३ को मार्च ३ मा , हङकङमा कार्यरत भोजपुरेहरुले ‘भोजपुरे साँझ’ गर्ने कार्यक्रम तय भयो । भोजपुर मेरो जन्म नभए पनि मेरो जरा भोजपुरै हो । म आफैलाई झापाली भन्दा भोजपुरे हुँ भन्नुमा गर्व लाग्छ । आमा–आपा, दाजुहरु सबै भोजपुरमा जन्मिए पनि म भने झापामा जन्मेकी हुँ । भोजपुरबाट हाम्रो परिवार बसाई सरेर झापा झरेपछि म झपामै जन्मिएकी हुँ । तर बर्सेनी आमाआपाको पछि लागेर पहाड भोजपुर निस्कन्थे म । त्यसकारण पनि भोजपुर मेरा लागि विशेष हुने गर्छ । उक्त भोजपुरे साँझमा भोजपुरे गायकहरुको विशेष कार्यक्रम राखिएको थियो । भोजपुरे साँझमा नेपालबाट आउने कलाकारहरुको लिस्टको पहिलो नम्बरमै आदरणीय गणेश रसिकको नाम समावेस थियो । रसिक दाजु सँगै आभा मुकारूङ , भिषण मुकारूङ र श्याम साम्सोङ समेत हुनुहुन्थ्यो ।
महेन्द्र माला पुस्तकमा पढेको गणेश रसिक, रेडियोमा सुनेको गणेश रसिक अब भने बल्ल नजिकबाट देख्ने, भेट्ने अवसर मिलिरहेको थियो । बाल्यकालको मेरो कौतुहलता, रहर पुरा हुने भएपछि मनमनै दङ्ग परिरहेकी थिएँ म । अन्ततः भोजपुर साँझमा रसिक दाजुसँग भेट भयो । दाजुलाई नजिकबाट देखेँ । शिरमा भादगाउँले टोपी, आँखामा चश्मा । दौरा सुरुवाल माथि कोट । रातो रङको गलबन्दी । नजिकबाट रसिक दाजुलाई देखेपछि फेरि एकपटक उही पुरानो दिनको याद ताजा भएर आयो । महेन्द्र मालाको ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’ भन्ने गीतको सम्झना भएर आयो । त्यसयता गणेश रसिक दाजुसँग निकट रहँदै आइरहेँ । भोजपुर साँझ पछि, इलाम समाज हङकङले समेत रसिक दाजुको एकल साङ्गीतिक साँझ कार्यक्रम गरयो। उक्त कार्यक्रममा समेत दाजुसँग भेट भयो । सो भेटमा दाजुले मेरा लागि उहाँद्धारा लेखिएको संस्मणहरुले सजिएको पुस्तक दशगजामा उभिएर पुस्तक उपहार दिनुभयो । गणेश रशिक दाजुको ‘दसगजामा उभिएर’ पढेपछी त यस्तो लाग्यो, हामीले के दुःख भोगेका रहेछौँ र ? रसिक दाजुको दुःखको अघि हामीले पाएको सानोतिनु दुःख केही रहेनछ भन्ने महसुस भयो । उहाँले आफुले हुर्काउनु भएका आफ्नै भाइहरू शम्मी , श्यामा र प्रजुलाई गुमाइसक्नु भएको रहेछ । दशगजामा उभिएर पुस्तक उनी भाइहरुलाई समर्पण गरिएको पढेपछि मन कुडीएर आएको थियो ।
दसगजामा उभिएर पुस्तकको चौथो संस्करण आउँदा सम्म, एउटै मात्रै भएको छोरा निमेश समेत गुमाइसक्नु भएको थियो । रसिक दाजुले गुमाइसकेको छोराको लागि त्यहीँ चौथो संस्करणमा लेख्नुभएको छ – ‘छोरा मलाई थाहा छ, तैंले दोहोरयाएर पढेको धेरै पुस्तकहरू मध्ये ‘दसगजामा उभिएर’ पनि हो । हाम्रो पारिवारिक जीवनको ईतिवृत्त त्यो पुस्तक भित्रको जिवन्त पात्रहरूमा तँ पनि साक्षी थिइस् । तेरा तिनजना काकाहरू पनि थिए र तीनै जना काकाहरू एकएक गर्दै असमयमा नै यो धर्ती छाडेर गएपछि मैले दसगजामा उभिएर तेरो काकाहरूको नाममा समर्पण गरेको थिएँ । र थप यो पनि लेखेको थिए – अब मेरो पालो । तर निमेश ! छोरा भएर पनि तैले कहाँ दिइस् र म बाबुलाई आफ्नो पालो पुर्याउन । तेरो जिद्दी र ढिपी गर्ने बानीले जबरजस्ती नै मेरो पालो मिचिस् मिचाहा…..’
यसरी दुःख र पिडाहरुका ढाकरले थिचिदै बाँचिरहनुभएका रसिक दाजुलाई, भाउजु निराले समेत कोभिडको समयमा सधैँका लागि छाडेर जानुभयो । भाइहरु गए, एउटै भएको छोरा गए । श्रीमति थिइन् । उनी समेत गएपछि रसिक दाजु साँच्चिकै एक्लो हुनुभयो । उहाँको एक्लापन देखेर नियतीले समेत उहाँलाई एक्लै राखिरहन सकेन सायद । श्रीमति गुमाएको केही समयपछि रसिक दाजु आफैलाई क्यानसर जस्तो घातक रोगले अक्रमण गर्यो ।
दाजुसँग २०१३ मा परिचित भएबाट म प्रत्येक पटक नेपाल जाँदा गणेश रसिक दाजुलाई भेट्ने गर्थेँ । काठमाण्डौको गहनापोखरीमा धेरैपटक पुगेको छु । भाउजुको हातको मिठामिठा परिकारहरू खाएकोछु । थकाली समुदायकी भाउजुले बनाउने परिकार विशेष हुन्थ्यो । भाउजुको मृत्युपछि सायद उहाँको झल्झल्को मात्र आइरहने भएर गहनापोखरीको घर छाडेर भक्तपुर सर्नुभयो । ढेडबर्ष अघि काम विशेषले नेपाल जाँदा पनि उहालाई भक्तपुरको सोही घरमा भेट्न पुगेकी थिएँ । दाजुलाई रोगले च्यापीसके पनि सधैँजस्तै स्वास्थ्य देखिनुभएको थियो । अस्ति भर्खरै मात्र फाल्गुण ३ कान्तिपुरमा ’गणेश रसिकको बियोगान्त जिवनी’ दीपक सापकोटा भाइले रसिक दाजुमाथि लेख्नुभएको लेख पढिरहँदा, लेखसंगै छापिएका दाजुको तस्वीरहरू मैले हेर्नै सकिन । एकबर्ष अगाडी स्वास्थ्य देखिनुभएको रसिक दाजुलाई क्यान्सरले जित्न थालेछ सोचेर मन भाँचिएको थियो मेरो । पत्रिकामा छापीएको तस्वीरुहरुले आँखा भरिएका थिए मेरा ।
यसपटक मेरो पुस्तक ‘प्याउली’ बिमोचन साथै केही काम विशेषले भर्खरै गएको फाल्गुण २१ मा नेपाल पुगेको भोलीपल्ट भाइ हेमनलाई लिएर दाजुलाई भेट्न भक्तपुर पुगेँ । अहो! २०१३ मा पहिलोपटक देखेको कहाँको भव्य रसिक दाजु, अहिले आफै हलचल गर्न नसक्ने, आगोले डढेर बँचेको कालो मुडाजस्तो रसिक दाजु….. एकैछिन त दाजुलाई हेर्नै सकिन मैले । सुरुमा त दाजुलाई बोलाउन बाक्के समेत फुटेन मेरो । घाँटीमा शब्दहरु अड्कीए । दाजुको त्यो हालत देखेर उहाँको अघि बस्नै सकिन म । कस्तो निस्सासिएजस्तै भयो । म कोठाबाट चुपचाप बाहिर निस्किएँ । बाहिरको चिसो हावामा एकैछिन फ्रेस भएँ । आँखामा भरिएको आँसु पुछे र फेरि भित्र छिरेँ । हेमन भाइ रसिक दाजुको छेवैमा बसेर केही कुरा गरिरहनुभएको थियो । चिकित्सकले दाजुलाई धेरै बोल्ने अनुमति नभएको कुरा उहाँका सहयोगीहरुबाट थाहा पायौँ हामीले ।
एकैछिन् बसेपछि हामी दाजुलाई छोडेर निस्कियौँ । निस्कनुअघि भर्खरै प्रेसबाट ल्याएको मेरो पुस्तक ‘प्याउली’ उहाँलाई थमाएँ । बोलिहरू लरबराउदै मलाई बधाई र शुभकामना दिनु भयो। उहाँले पनि भरखरै प्रकाशित ‘गणेश रसिक : अभ्यर्थना ग्रन्थ’ थरथर कामीरहेको हातले हस्ताक्षर गरेर मलाई र हेमन भाईलाई दिनु भयो । र निकटमै विमोचन हुँदै गरेको मेरो पुस्तकका लागि आशीर्वाद र शुभकामना दिनुभयो । रसिक दाजुको घरबाट निस्कँदा हामी दिदीभाइ चुपचाप हिँडिरह्यौँ । केहीछिन् हिँडेपछि हेमन भाइले भन्नुभयो – ‘नाना ! रसिक दाजु फर्किनुहुन्न अब ।’ हेमन भाइको कुराले मेरो मनमा हुरी चल्यो । अघि मैले उहाँका हातहरू समाएको थिएँ । त्यसबेला दाजुले आँखाभरि आँसु बनाउनुभएको दृश्य फेरी आँखामा आयो । हेमन भाइको कुरा सुनेपछि यस्तो लाग्यो, ‘के गणेश दाजुलाई अन्तिम पटक छोएँ मैले ?
खासमा त्यसदिन दाजुको अघि धेरै बेर बस्न नसकेरै चाँडो गरेर निस्किएका थियौँ हामी । भक्तपुरबाट ललितपुर पुग्दासम्म बाटोभरि दाइका गीत, कविता, सस्मरण, उपन्यास र पछिल्ला दिनहरुमा क्यान्सरले दाजुलाई बिस्तारै मार्दै लगिरहेको कारुणीक क्षणहरुका कुरा गरिरह्यौँ । नेपाल बसाई बिट मारेर म आफ्नो कर्मक्षेत्र हङकङ फर्किएँ । यता आएर काममा ब्यस्त भइगएँ । बेलाबेला सामाजिक सन्जालमा दाजुका बारे अरु स्रस्टाहरुले भेटघाट गरेका खबरहरु आइरहेकै थिए । भर्खरै मात्र गीतकार संघ नेपालले उहाँलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ ले सम्मानित गरेको फेसबुकबाटै थाहा पाएकी थिएँ । अस्पताल पुगेरै सम्मान गरिएको उक्त सम्मानपछि रसिक दाजुले उज्यालो अनुहार बनाएर केही मन्तव्य राखिरहेको दृश्यले मेरो मन त्यसैत्यसै खुसी भएको थियो ।
उहा बित्नु दुई दिन अगाडी मात्र एउटा पार्टीमा ईलामकै गायक दाजु गणेश पराजुलीले एउटा भिडियो देखाउनु भयो । सुनाउनु भयो अस्पतालको बेडबाटै उहाँले ‘वसन्त भाइ र बालिका बहिनीलाई पनि सम्झेको छु । तपाइँहरुले सुनाइदिनू है….’ भनिरहनुभएको थियो । दाजुले हामीलाई दिनुभएको स्नेहले होला सायद, उक्त भिडियो हेरेर मेरो गला अवरुद्ध भएको थियो । भोलिपल्ट आईतबारको दिन, यहाका रेष्टुरेण्डहरूको काममा ब्यस्त थिएँ म । नेपालबाट आउनुभएका गुरूङ फिल्मका कलाकारहरूको पार्टी चलिरहेको थियो । त्यहीँ ग्रुपबाट एक जनाले नेपालमा कस्लाई के भएछ आज ? कालोदिन भनेर फेशबुकमा लेखिरहेका छन् त भन्नुभयो .. ला… कस्लाई के भएछ नि सोचेँ । ठिक त्यसैबेला, कहिले म्यासेज नगर्ने गीतकार अन्जन किरातीले युकेबाट मेरो मेसेज बक्समा लेख्नुभयो ‘रिप गणेश रसिक दाजु’ … सायद म गणेश दाजुको नजिक भएर उसले मलाई थाहा दिएको हुन सक्छ । अनि त थाहा भयो, गणेश दाजु पनि जानुभो ।