प्रेस काउन्सिल नेपालको सदस्य,नेपाली पत्रकारिता क्षेत्रमा  पत्रकार निमा काफ्ले एक बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ । अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील काफ्लेले सञ्चार माध्यममा अखबारी लेखन र टिभीमा राजनिती , महिला र समसामयिक बिषयमाथि निरन्तर रुपमा कलम चलाउदै आउनु भएको छ । प्रस्तुत छ उहाँको अनुभव र  सञ्चार क्षेत्रमा रहेका अवसर र चुनौतीको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।

पत्रकारिता पेशामा तपाई कसरी आउनु भयो ?

म पत्रकारिता पेशामा कुनै तालीम वा पढेर आएको हैन, कञ्चनपुर महेन्द्रनगरमा विद्यालय अध्ययन सकेर बसेको थिएँ । संयोगले एक स्थानीय पत्रिका चुरे टाइम्ससँग आबद्ध भएँ र त्यहींबाट मेरो पत्रकारिताको यात्रा सुरु भएको हो ।

महिला पत्रकारको निम्ति कस्तो वातावरण थियो ?

सामाजिक स्विकारोक्ती थिएन, यो फिल्डमा आउने पत्रकार महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक भइसकेको थिएन् । मुश्किलले हामी एक दुइजना थियौं यस क्षेत्रमा। केही गर्नु पर्छ भनेर अघि सर्ने तर दिनहु फलामको चिउरा चपाए सरहका कठिनाइ थिए ।सकारात्मक कामको सुरुवात आफैवाट गर्ने हो भन्ने दृढ संकल्पका कारण अहिले सम्म टिकिरहेको छु जस्तो लाग्छ । सँगै काम गर्ने साथीहरु  कति त यो क्षेत्रबाट पलायन नै भइसक्नु भयो तर लक्ष्य र भविष्य मैले चाहि सधैं यसैमा देखें , जस्तो सुकै अप्ठयारोले पनि पाइला डगमगाएन । नत्र तत्कालिन समयमा सामाजिक दृष्टि सकारात्मक  नहनु, पेशा पुर्ण व्यवसायीक भइ नसेको तत्कालिन समयमा  पत्रकारितावाट सस्टेन् हुन समस्या साथै चुनौती त्यसमा पनि महिला नै भएको कारण भोगेका अनेकन समस्याहरुका कारण आज विस्थापित भइ सकिन्थ्यो होला । तर कहिले हार नमान्ने बानीले आज सम्म टिकिरहेको जस्तो लाग्छ ।

महिलाको सरोकारका विषयहरुप्रति सञ्चार माध्यमहरु कति सकारात्मक छ जस्तो लाग्छ  र योबीचमा महिलाप्रति सञ्चार माध्यममा आएको परिवर्तनहरु के के हुन् ?

मैले पत्रकारिता सुरु गरेको दुइ दशकभन्दा बढी भयो । सुरुवाती दिनमा पत्रकारिताका आफनै समस्या तथा चुनौती थिए । त्यसमा अझ महिलाका लागि त अनेकौ चुनौती थियो । महिला मैत्री सञ्चारमाध्यमको अभाव, कामप्रतिको विश्वसनीय माथि जहिले प्रश्नचिन्ह, तत्कालीन समयमा मेन स्ट्रिम समाचार महिलाको भागमा कमै पर्ने परे पनि, सक्छ र भन्ने शंकाका बीचमा काम गर्नु पर्ने, एकै चोटीको गल्तीमा महिला भएकै कारण गर्न नसकेको आरोप लाग्ने, अझ आमा पत्रकार महिलालाई त कति हो कति चुनौती थिए । तर विस्तारै महिला पत्रकारहरुको दर्विलो उपस्थिति, कामप्रतिको लगावका कारण यी समस्याहरु मथ्थर हुदै गए। त्यसमा पनि पत्रकार महिला हकहितका लागि काम गर्ने संस्थाहरुले जेण्डर इक्वालीटीमा काम गर्याे जसले विस्तारै सञ्चार माध्यमलाई पत्रकार महिलामैत्री बनाउनमा परिवर्तन ल्याउने काम गरेको छ । फलस्वरुप आज माथिको जस्ता चुनौतीहरु आजका पत्रकार महिलाहरुले कम फेश गर्नु परेको छ जस्तो मलाइ लाग्छ । त्यसमा पनि समय, व्यवस्था परिवर्तन भएको छ जसमा सबै भन्दा ठूलो सोच पनि परवर्तन भएको छ । समस्या अझै पूर्ण रुपमा समाधान भएको त होइन, तर अहिले प्रतिस्पर्धा कामको मात्रै छ, जसले वेस्ट गर्न सक्यो उसले अवसर पाउछ जस्तो लाग्छ, समग्रमा जेण्डर इक्वालीटीमा राम्रो काम भएको छ भन्ने मलाइ लाग्छ ।

प्रेस काउन्सिल नेपालको बोर्डमा हुनुहुन्छ, पत्रिका बर्गीकरणमा महिलालाई कस्ता खालको सुविधा छ ?

महिला, दलित वा शारिरिक अपाङगता भएका लागि विशेष व्यवस्था रहेको छ ।महिला, दलीत वा शारिरिक अपाङगता भएका व्यक्ति सम्पादक रहेर  प्रकाशन भएको पत्रपत्रिकालाई विषयवस्तु वापत सम्बन्धित पत्रिकाले प्राप्त गरेको अङकलाई २ ले गुणन गरी अङकदिइने गरेको छ । यस्तै पत्रपत्रिका वर्गीकरणमा पत्रिकाको महिला सम्पादक रहेको अवस्थामा वर्गीकरणको मापदण्ड २०६६ को व्यवस्था बमोजिम विषयवस्तु बापतको पूर्णाङ्कमा जति अंक प्राप्त हुन्छ त्यसको दोब्बर अंक प्राप्त गर्छन् । जस्तै विषयवस्तुमा ५ अंक प्राप्त भएको छ भने त्यसलाई २ ले गुणा गर्दा १० अकं प्राप्त हुन्छ, त्यसरी उक्त पत्रिकाले १० अंक प्राप्त गर्छ । अन्य विस्तृत विवरण बुझ्न  प्रेस काउन्सिलको वेबसाइट वा कार्यलयमा बुझ्न सकिने छ । यसरी पत्रकार महिलाको प्रोत्साहनका लागि भनेर काउन्सिलले यो व्यवस्था गरेको छ ।

 

तपाईको प्रतिक्रिया