चालिसको दशकलेखि सक्रिय  कवि प्रकाशचन्द्र खतिवडा
लेखनमा बिशेषगरि सामाजिक असमानताका मुद्वाहरु उठान भएका हुन्छन् । शिक्षण पेशाबाट निवृत उहाँको
प हराएका टाउकाहरु (छेस्के कविता सङ्ग्रह)  संग्रह प्रकाशित छ ।  निवृत्त राष्ट्र सेवक समाज नेपाल कोशी प्रदेश समितिको सचिवको रुपमा क्रियनशिल हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।

प्रायश्चित
हो
म मरि सकें
मेरो पार्थिव शरीरमा
फूल नचढाउ
श्रद्धाञ्जली नदेउ
व्यक्त नगर समवेदना
म लायक छैन
फूलले पुज्न
मैले पिएको छु
निहत्था मान्छेको सपना ।

मैले दम्भले
लत्याएको थिएँ मानवता
मान्छेहरुको आर्तनाद सुनेर पनि
म जीवनको उत्सव मनाई रहेको थिएँ
मलाई लाग्थ्यो
म अजम्बरी छु
अपराजेय छु
म दिवास्वप्न देख्थें
एक अदभूत सम्राटको
र कठपुतली नचाएको ।

मान्छेहरु
एकथान जिन्दगी जिउँन
जिजीविषा छामि रहेका हुन्थे
म अहंकारले
जिजीविषा कुल्चि रहेको हुन्थें
सुनसान बस्तीको बिचमा
गुञ्जि रहेका हुन्थे जीवनका गीत
म ठान्थें
गीत गाउनु
राज्य विप्लवको अपराध हो
र आदेश दिन्थें म
जीवनका गीतहरुलाई मृत्युदण्डको ।

म माफी योग्य नभएरै
फूल नचढाउ भनेको हो
मेरो पार्थिव शरीरलाई
निर्घात चुट
चक्कुले चिर
मुखमा थुक
र खान देउ
जङ्गली व्वाँसोलाई ।

मृत्युदण्डको विकल्प

तिमीले मञ्चबाट
चर्को भाषण ग¥यौ
अस्मिता लुट्नेलाई
मृत्युदण्डको सजाय देउ
मैले संविधान पल्टाएँ
कुनै पनि धारामा
लेखिएको थिएन मृत्युदण्ड ।

हामी संवैधानिक
संविधान बोकेर
दिन सक्दैनौ मृत्युदण्ड
म आफूलाई
असंवैधानिक घोषणा गर्छु
र च्याति दिन्छु
संवैधानिक मानिएको
असंवैधानिक संविधान ।

राज्यले मलाई
अराजक भन्ला
देशद्रोहीको अभियोग लगाएर
सर्वस्वहरण गर्ला
म प्रतिकार गर्छु
मलाई अराजक बन्ने छुट
तिम्रै संविधानले दिएको छ ।
तिम्रो भाषणलाई
गैर संवैधानिक घोषणा गरिन्छ
र तिमीलाई पेश गरिन्छ अदालतमा
तिम्रो बचाउमा
बोल्दैनन वकिलहरु
तिम्रो आवाजलाई
दमित बनाउँछन श्रीमानहरु
किनकि
तिनीहरुले
सरकारी नुन खाएका छन
र पढेका छन अन्धो कानुन ।

तिम्रो भाषण
अलि चर्को भयो कि ?
मध्यमार्गी बाटो खोजौ
विद्रोह त गर्नै पर्छ
अस्मिता लुटिएको बेला
न मृत्युदण्ड
न आजीवन कारावास
ओ विधायक !
कानुन संसोधन गर
र थप लिङ्ग छेदनको कानुनी प्रावधान ।

जीवनका विद्रोही आवाज
अभ्यस्त छु
जिन्दगी संग लडाइ लड्न
कयौ चोटि खोशिएका छन आस्था
कयौ चोटि गुमेका छन सपना
म जिन्दगीलाई भिरमा उभ्याएर
परिवर्तनको मूल बाटो खनिरहेको छु ।

एकाध घटना मात्रै सुखद छन
बाँकी जीवन दुःखले थिचेको छ
म दुःख झेलेर
स्वाभिमान बचाइ रहेको छु
स्वाभिमान रक्षार्थ
लडिएका छन थुप्रै लडाइ
बहेका छन रगतका नदी
र बलिदान भएको छ जीवन ।

मानिसको लास कुल्चिएर

ईश्वर नामको अपराधि
जिन्दगीलाई तौली तौली
भाग्यवादको भ्रम छर्छ
मानिसहरु अवचेतन मन लिएर
पूर्व जन्मको फल ठान्छन जिन्दगीको दुःखलाई
अहो ईश्वरवाद !
ईश्वरको नाममा
म गर्दिनँ प्रार्थना
प्रार्थना गर्छु आमाहरुको दीर्घायूको ।

जीवनलाई रित्तो भाँडो ठान्नेहरु
जीवनको परिभाषा बुझ्दै नबुझि
हारि रहेछन जीवन संग
म लगातार पढाइ रहेछु जीवन संघर्ष
जीवनको युद्ध मोर्चा सम्हाल्दै
सैतानहरु तर्सने छन
जीवनको विद्रोही आवाज सुनेर ।

 

तपाईको प्रतिक्रिया