दौडिँदै घरभित्र पसेको नु(भाइ) भित्रपट्टि ढोकामै उभिएको थियो । म त्यहाँ पुग्नेबित्तिकै नुले भन्यो, ‘अइ तोलाई माग्ने मान्ठा (मान्छे) आको छ ।’ मेरा लागि त्यो रात निकै डरलाग्दो रात थियो । पुस सकेर माघ लाग्दा पनि खाह (हिउँ) परया थिएन । जाडो भने निकै बढ्या थियो । त्यतिवेला म भर्खरै तीन कक्षा पास गरेर चार कक्षामा उक्लिएको थिएँ । स्कुलमा हिउँदे बिदा थियो । कहिले फागुन आउला र नयाँ किताब हेरौँला भन्ने कौतूहलता मनमा थियो ।