आधुनिक चीनका प्रमुख नेताहरु मध्ये माओत्से तुङले राष्ट्रलाई मुक्ति दिलाए, देङ स्याओ पीङले सम्पन्नता ल्याए, ज्याङजमीनले अन्तराष्ट्रिय प्रतिष्ठा दिलाए भने सी जिनपीङले करिब ३ सयवर्ष देखि पश्चिमाहरुले नेतृत्व गरेको विश्व व्यवस्थाको दावी गरे ।

यीनै चीनीया विश्व व्यवस्थाका दावेदार सी जीनपीङ जो चीनका वर्तमान राष्ट्रपति हुन । उनको चीन र विश्व राजनीति, अर्थानीति र कुटनीति सम्बन्धि नितिगत विचारहरुको संकलन “दि गभर्नेन्स अफ चाइना” को दोस्रो भागले वर्तमान चीन अर्थात सी को मस्तिष्क बुझ्न मद्धत गर्दछ ।

६०० पृष्ठको यो पुस्तक वर्तमान चीनको नीति र त्यसले दुरगामी पार्ने प्रभावका बारेमा बुझ्न सघाउँछ । समकालिन चीन के सोचिरहेको छ ? यसको शक्ति संचालन कसरी हुन्छ ?आर्थिक तथा राजनीतिक कार्यक्रमहरु के के छन ? अन्तराष्ट्रिय सम्बन्धलाई कसरी लिन्छ ? आदि प्रश्नहरुको उत्तर खोज्न यो पुस्तक पढनै पर्ने हुन्छ ।

विसौं शताब्दीमा आफुलाई विकाशसील देश ठान्ने चीन अहिले महाशक्ति भएको छ । कृषि प्रधान चीनमा व्यापक औद्योगीकीकरण भएको छ । विश्व अर्थ व्यवस्थाको दोस्रो खेलाडी भएको छ । विज्ञान प्रविधिमा तिब्र विकास गरिरहेछ ।

१.४ अरब जनसंख्या भएको यस राष्ट्रमा ५२ जातीहरु छन । ५ हजार वर्षको लीखित इतिहास भएको चीनको प्राचिन संस्कृति छ । जस्लाई राष्ट्रपति सीले प्राचिन कवि र दार्शनिकहरुलाई बारम्बार उद्रीत गरेका छन ।

पार्टीको १२औं कंग्रेसका नीति तथा कार्यक्रमहरुलाई ध्यानदिएर दिएका उनका सम्भाषणहरु पार्टी कार्यकर्तादेखि संयुक्त राष्ट्रसंघ सम्म तानीएका छन । राष्ट्रपती डोनाल्ड ट्रम्पको चीन भ्रमणदेखि अरब राष्ट्रहरुको सम्बन्धमा घोत्लिएका छन । अर्थतन्त्रदेखि साइबर सुरक्षा हुँदै मार्क्सवादको महत्व र सन्दर्भ सम्म चिन्तन गरिएको छ । वर्तमान चीनका चुनौति र सम्भावनाहरुलाई केलाइएको यो पुस्तकले चीनको डीएनए बुझ्न मद्धत गर्दछ ।

सन् १९४९ मा क्रान्ति गरेर आएको माओको नेतृत्वको चीनदेखि वर्तमानसम्म उनले कम्युनिष्ट पार्टीको उतार चढावहरुलाई देखेका छन । मार्क्सवादलाई सर्वोत्तम र वैज्ञानिक दर्शन मान्ने सी चीनीया चरीत्रको समाजवादमा जोड दिन्छन ।

यो चीनीया चरित्रको समाजवाद भने कम्युनिष्ट पार्टीको नेतृत्वमा उदार अर्थव्यवस्थाको अभ्यास हो । देङको विरालो कालो सेतो भन्दा मुसा समात्ने हुनुपर्छ भन्ने भनाईलाई ध्यानमा राख्दा चीनले १९७८ को सुधारदेखि अहिले सम्म मुसा समातेको निक्र्यौल छ ।

कम्युनिष्ट पार्टीलाई जनता संग जोडन, गाउँमा जानु र जनतालाई सम्पन्न बनाउन दृढ संकल्पित भई काम गर्न कार्यकर्तालाई सुझाव दिन्छन । तथ्यबाट सत्य खोज्नुपर्ने देङको वाणीलाई बारम्बार दोहरयाउछन ।

उनले कानुनको शासनमा जोड दिएका छन । सुशासनमा राष्ट्रको विकास हुने तर्क गरेका छन । अनुशासन र संगती मीलेको समाजमा ध्यान दिन आग्रह गरेका छन । चीनको भव्य प्राचिनताको वकालत गरेका छन ।

कम्युनिष्ट पार्टीको ऐतिहासिक दायित्व सम्झाउदै मार्क्सवाद माओ विचारधारा, देङ विचारधाराको पालना गर्नुपर्ने दायित्व बुझाँउछन । उनको विचारलाई नयाँ युगको चीनीया चरित्रको समाजवाद सहितको विचारधारा मानिन्छ ।

पार्टीबाट आजीवन नेतृत्वमा रहने प्राधिकार पाएका सी समकालिन चीनका सम्राट हुन । जुन अधिकार असाधारण छ । यसर्थ यस्ता नेताको राष्ट्रिय नीतिहरुले भरिएको यस पुस्तकलाई सी विचारधाराको ग्रन्थ भनेपनि हुन्छ ।

कुटनीतिज्ञ हेनरी किसिन्जर चीन आफुलाई विशेष ठान्ने गरेको बताउँछन । मध्यअधिराज्यको ग्रन्थी बोकेको चीनको मनोविज्ञान आफुलाई विश्वको केन्द्र ठान्ने गर्छ । यहि विश्वको केन्द्र ठान्ने राष्ट्रका राष्ट्रपति सी को चीनीया राष्ट्रको पुनर्ताजगी र पुनर्जागरण सम्बन्धी अवधारणाहरुले कत्तिको मूर्त रुप लिन्छन त्यो हेर्न बाँकी नै छ ।

सन २०१३ मा कजाकस्तानमा शुरु गरिएको रेशम मार्ग जो पछिबाट बेल्ट र रोड अभियानमा परिणत भयो । जसको बारेमा सीले पर्याप्त बोलेका छन । ३० राष्ट्रहरुलाई छुने बेल्ट एण्ड रोड अभियान सी को कार्यकालको विशेष उपलब्धी हो ।

एसिया, यूरोप र अफ्रिका सम्म पुग्ने यो अभियान मार्फत चीनले विश्वमा पुर्वाधार र व्यापारको क्षेत्रमा क्रान्ति ल्याउने छ । सामुहिक स्वार्थ र सपना बोकेको यो अभियान सम्पूर्ण मानव जातीको लागि भएको उनको दावी छ । जसकालागि चीनले ४० विलीयन डलरको प्रतिवद्धता जनाएको छ । २० हजार सञ्जाल विशेषज्ञहरु तयार पारिने छ ।

प्राचीन रेशम मार्गद्वारा बौद्ध धर्मको प्रचार प्रसार भएको थियो । कन्फुसीयसका शिक्षाहरु यूरोप सम्म पुगेको थियो । जसलाई भोल्टेयर र लिवीनीज जस्ता यूरोपेली दार्शनिकहरुले प्रशंसा गरेको कुरा सी ले उल्लेख गरेका छन । यस अभियान अन्तर्गत चीनीया कम्यूनीष्टहरुले ५६ अर्थ र व्यापार सम्बन्धि सहयोग क्षेत्रहरु खोलेका छन । जसले १०१ बिलीयन डलरको कर संकलन र १ लाख ८० हजार रोजगारी दिएका छन ।

संयुक्त राष्ट्रसंघको जेनेभा स्थित कार्यलयमा बोल्दै ७० वर्ष अघि गठन भएको संयुक्त राष्ट्रसंघप्रति चीन प्रतिबद्ध रहेको र यसका संगठनका मातहतमा रहेर सक्रिय भुमिका खेलेको उल्लेख गर्दै विश्वका जल्दाबल्दा समस्याहरु समाधान गर्न वर्तमान विश्वलाई ध्यान दिनु पर्ने बताउँछन । शान्ती पूर्ण सहअस्तित्व र वार्ताबाट नै समस्याको समाधान हुने कुरामा चीनले जोड दिएको बताउँछन ।

चिनीया उखान “समुद्र अथाह छ किनभने यसले सम्पूर्ण नदीहरुलाई समाहित गर्छ” भन्दछन । ४० वर्षसम्म चलेको शीतयुद्धको संस्मरण गर्दै यसबाट गहिरो पाठ सीक्नु पर्छ भन्छन । आतंकवाद आतंकवाद नै रहेकोले यो राम्रो नराम्रो नहुने उनको निचोड छ ।

कुनै पनि द्वन्द समाधान हुन ठुलो नभएको र कुनै पनि बरफ फुटनलाई ठुलो नभएको तर्क गर्छन । अन्तराष्ट्रिय कानून सबैलाई लागु हुनपर्ने बताउँदै विश्वमा अन्तराष्ट्रिय कानून छनोट गरी लागु हुन नसक्ने उनको तर्क छ ।

सी विश्वभर चीनको बढदो महत्व र उपस्थितीका कर्ता हुन । यसर्थ अन्तराष्ट्रिय मञ्चहरुमा उनी चीनको धारणा सन्तुलित र स्पष्टरुपमा राख्दछन । चीनको राजनीतिक प्रणालीलाई जनताको सल्लाह सुझावमा चल्ने राजनीतिक प्रणाली मान्ने सीले आफुले पढेका पुस्तकहरुको विवरणपनि दिएका छन ।

जसमा एरीष्टोटलको पोलिटीक्स हुदै जनलक, मोन्टेस्क्यु र क्लाउवित्जको अन वार सम्म छन । यस क्रममा उनले एडम स्मिथ देखि पल स्यामुएल्सनका अर्थशास्त्र छन ।

प्राचीन चीनीया साहित्यको उल्लेख गर्ने उनी पश्चिमी मस्तिष्कलाई बुझ्ने तर विशुद्ध चीनीया कन्फुसीयाली चीन्तक प्रतित हुन्छन । साहित्यले जनताको सेवा गर्नुपर्छ भन्ने मार्क्सवादी अवधारणालाई पनि ऊनी मान्दछन ।

चीनले कसैको आन्तरीक मामलामा हस्तक्षेप नगर्ने र आफ्नो कुरा नथोपर्ने बताउँदै विश्वको साझा भविष्यका लागि कामगर्ने उनको दावी छ । चीनले आफ्नो कुटनीतिमा विश्वकै प्रमुख राष्ट्रको हैसियतमा स्थान खोजेको बताउँछन ।

देङले भन्थे क्षमता र शक्ति लुकाउ तर सी सम्म आईपुग्दा चीन विश्व मामलामा प्रत्यक्ष रुपमा आफ्नो क्षमताको प्रदर्शन गर्ने र हैसियत खोज्ने सम्म अवस्थामा पुगेको देखाउँछ ।

अरब लीगको मुख्यालयमा बोल्दै अरब राष्ट्रहरु बेल्ट र रोड अभियानको महत्वपूर्व साझेदारको रुपमा रहेकोले दुवै बीच सहकार्य गर्ने बताउँछन । अरब सभ्यताको प्रशंसागर्दै दुवै बिच साँस्कृतिक र बौद्धिक आदान प्रदान गर्ने योजना अघि सार्छन ।

यी सबै पढदा लाग्छ, सी चीनलाई पश्चिमी अवधारणाको राष्ट्र राज्यभन्दा सभ्यतागत राष्ट्रको रुपमा अघि सार्छन किनकी चीन भिन्न छ । यो सभ्यतागत राष्ट्रको अवधारणा पश्चिमीकरणको विरुद्ध देखिन्छ ।

मौलिक सभ्यता र राजनीतिक संरचना भएकाले चीनले आफ्नो असाधारणपन जोगाई राख्न प्रयत्न गरि रहेको छ । यहि असाधारणपनलाई उनी बारम्बार उल्लेख गर्दछन । लण्डन स्कुल अफ इकोनोमिक्सका प्रध्यापक मार्टीन ज्याक्सले विश्वमा चीनीयाँकरण हुने बताएका थिए । तर सी चीनले आफ्नो मौलिकतामा जोड दिने र अरुको मौलिक धारणाहरुलाई सम्मान गर्ने बताउँछन ।

उनले बारम्बार चीनीया सँस्कृतिको विशिष्टतामा जोड दिएका छन । संसार मै सबैभन्दा धेरै सदस्य संख्या भएको चीनीया कम्युनिष्ट पाटीको नेतृत्व गरिरहदा सी चीनको स्थायित्व र शुसासनप्रति चिन्तित देखिन्छन ।

निश्चय पनि १.४ अरब जनसंख्या भएको चीनलाई शासन गर्न सजिलो छैन । ताईवान सँगको सम्बन्ध, हङकङ एक राष्ट्र दुईप्रणलीको रक्षा र निरन्तर खुला आर्थिक प्रणाली र त्यसको वृद्धिमा उनले ध्यान दिएका छन । र निरन्तर ४७ वर्षको उदारीकरण र खुलापन नबिथोल्ने उनको वाचा छ ।

चीनका सामु तीब्बत, सीनजीयाङ, मानव अधिकार र धार्मिक स्वतन्त्रताका लागि पश्चिमी दवाव छ । तर यसलाई चीनले आफनै ढंङ्गले बुझेको छ । यहि बुझाईका संकेतहरु यत्रतत्र पाईन्छन।

विश्व मामलामा हैसियत बनाई सकेको चीनको नीति र कार्यक्रमहरुलाई पुस्तकले बुझन मद्धत गर्दछ । पुस्तक घटना र पात्रहरु भन्दा नीतिगत भएकोले दार्शनिक प्रकारको छ । जसको दर्शन नै सी जीनपीङको मस्तिस्क हो ।

सी जीङ पीङका नयाँ युगको समाजवादको चीनीया चरीत्र माथिका यी विचारहरु अगस्त २०१४ देखि सेप्टेम्बर २०१७ सम्मका ९९ लिखीत र मौखिक धारणाहरुको संकलन हो । जसको सार छ नयाँ युगमा चीन शास्त्रीय साम्यवादको अभ्यास गर्दैन । विश्व संगै हिडन चाहन्छ ।

राष्ट्रमा शान्ति स्थायित्व र प्रगतिसँगै विश्व शान्तिको लागि अन्तराष्ट्रिय जगतमा काम गर्ने प्रतिबद्धता जनाइएको छ पुस्तकमा । पश्चिमाहरुको एकाधिकारवादको आरोपलाई चीनले चीनीया जनताको उन्नति गरेर खण्डन गरीसकेको छ । यसर्थ सी बिचारधाराको आकर्षण बढदो रहेको कुरा पुस्तक पढने जो कोहीले थाहा पाउन सक्छन ।

“दि राइज एण्ड फल अफ ग्रेट पावरस” का लेखक पल केनेडी आर्थिक र सैन्य शक्तिको बृद्धिले राष्ट्र महाशक्ति हुने बताउँछन । आज चीनको आर्थिक तथा सैन्य क्षमतामा बृद्धि भएको छ । त्यसै अनुसारको हैसियत उसले खोज्ने हो । यहि हैसियत खोजाईको आकांक्षा पुस्तकमा व्यक्त भएको छ ।

समकालिन विश्व राजनीतिमा प्रचलित हार्ड पावर सैन्य र आर्थिकमा चीन दह्रो छ नै । सफ्ट पावर, संस्कृति र भाषामा पनि चीनको आसाधारण हैसियत छ । यी दुवै शक्तिको अभिव्यक्ति हो यो पुस्तक ।

तपाईको प्रतिक्रिया