कथा

चौतरामाथिको बुढो वरको फेदमा तिमी तपस्वी झैँ घोत्लिरहेका थियौ । ढुङ्गैढुङ्गाका सिढीँ चढेर उक्लिएपछि तिम्रो मधुरो लालटिनको छेउमा पुगेँ म। तिम्रा चिम्सा आँखा केही थाहा नभएझैं स्थिर निहुरिरहेका थिए । त्यहीँ नजिकैको जरुवा धाराको पानी तपतप गर्दै तिम्रो एकान्तसँग अझै नजिकिरहेको थियो। म आफ्नो हातको अगुल्टोलाई अलि परको अगेनोमा राखेर तिमीलाई नियालिरहेँ। तिम्रा मोटा चस्मा र चाउरिएका आँखाका डिलहरुले तिम्रो उमेरको उत्तरार्ध सङ्केत गर्थ्यो । तिम्रो दैनिकीमा अभ्यस्त म तिम्रै समिपमा तर नछोइकनै बसिदिएँ। लालटिनको उज्यालोमा तिम्रो अनुहार झर्झर हुँदै गयो । तिमी बिस्तारै बाईस चौबीसको जस्तो देखिन थाल्यौ। मैले तिमीलाई मेरै उमेरको समान मानेँ । कस्तो अलौकिक शक्ति थियो तिमीमा ।

कलम र डायरीमा ब्यस्त तिम्रा औंलाहरु शब्द शब्दका सिर्काहरु केलाउदै कविता बुन्दै थिए। म अनवरत यो सम्पूर्णमा सामेल थिएँ । साँझको बेला सबैलाई बास बस्ने हतारो थियो। चराहरु चिर्बिराउदै गुड्तिर उड्दै थिए। किराहरु आफ्नै आवाजमा कराउँदै थिए। मलाई अझै तिमीले नदेखेकोमा दिक्दार लाग्दै थियो। तर पनि तिमीलाई छोडेर हिँडन मन थिएन। एक मन त लाग्थ्यो कि पछाडीबाट जोड्ले अङ्गालो हालीदिउँ र तिमीलाई तर्साइदिउँ। तर तिम्रो एकाग्रता भङ्ग गरिहाल्न आँट आएन। तिम्रो नजिकै रहेका पुस्तकहरुका ठेलीलाई माकुराको जालोले पुरै घेरेको थियोे । ती निकै पुराना र धेरै समय अगाडिदेखि नपढिएका जस्ता देखिन्थे ।मैले तिनीहरुको धुलो आफ्नो रुमालले पुछेँ र त्यसैमा घोत्लिएँ । त्यो सबै त तिमीले जिन्दगीभरी लेखेका किताबहरुको संग्रह पो रहेछ । त्यतिबेलै तिमीले डायरीको पाना पल्टाएछौ । म तर्सिएर तिमीतिर फर्किएँ । बिस्तारै तिमीले शिर उठायौ। प्रेमले भरिएका तिम्रा आँखाले मलाई एकनास हेरिरहे। र, ती एक्कासि भरिएर आए। कुनै तलाउ झैँ छल्किन लागेको भान भयो मलाई । म स्थिर अचल भएर अडिएँ । लाग्थ्यो म चल्न चाहन्छु र कुनै यस्तो शक्ति छ जसले मलाई त्यहाँबाट एक इन्च पनि हल्लिन दिइरहेको छैन । तिम्रा आँखा भरिएर झरेका आँसु पुछ्नसम्म पनि मेरा हात उठेका छैनन् । न त बोल्नलाई कुनै शब्द निस्कन्छ ।

सुनसान त्यो साँझमा तिमी बिस्तारै हल्लियौ। यस्तो लागिरहेको थियो कि धमिराको देवल नै हल्लिरहेको छ। बाक्लो भूँइकुहिरो लागेको थियो । तिमीले निकै मोटो कोट लगाएका थियौ । शितले त्यसलाई बाहिरबाट छ्पक्कै भिजाएको थियो। म तिमीबाट त्यति टाढा थिइँन तर तिमी अझै नजिक सर्यौ । अब हामी टाँसिएर बसेका झैँ देखिन्थ्यौं। म आफुलाई तिमीबाट पर सार्न चाहन्थेँ तर कुनै अदृश्य शक्तिले मेरो शरीर अचल बनाइदिएको थियो।तिमीले बिस्तारै आफ्ना हातहरु मेरो काँधमा राख्यौ। बढो हार्दिकतासँग मेरो दाहिने हात उठायौ र चुम्बन गर्‍यौ । त्यसपछि मेरै हातले तिम्रा आँसु पुछ्यौ । अब पालो मेरो थियो। मेरा आँँखाबाट आँसु झरे । सायद त्यहाँ हाम्रो प्रेम पालैसँग पोखिएको थियो । तिमीले मेरो निधारलाई आफ्नो छातिमा टास्यौ र ढाड्मा थप्थपायौ । म बच्चाझैँ सुक्सुकाउदै तिम्रो छातिमा निकैबेर रोइदिएँ । समय निकै छिप्पिसकेको थियो

सुकेका मुढाहरुको धुवाँसँगैको आगोले हामीलाई न्यानो दिइरहेको थियो । मलाई निन्द्रा लागेजस्तो लठ्ठीएको भान भैरहेको थियोे । सायद हाम्रो हार्मोनको मिलनको उत्सर्ग थियो।तिमीले मलाई पूर्ण रुपमा न्यानो दिइरहेका थियौ । म बिस्तारै तिम्रा काखमा निदाउन लागेँ तर म न त पुरै निदाएको थिएँ । न त फ्रेश भएर झट्पट तिमीबाट अलगिन नै सक्थेँ। तिम्रा औंलाहरुले मेरा केसहरु खेलाउन थाले र बिस्तारै ती हत्केलाहरु मेरा शरीरको दक्षिणी भुगोलतिर ओरालो लागे । तिम्रा सबै स्पर्सहरु प्रेमिल थिए । म अनौठो तर विछ्ट्ट रमाइलो मान्दै थिएँ। तिमीले मेरो शरीरलाई एक एक गर्दै निर्बस्त्र बनायौ ।म फलेदोको रुख भएँँ । पर कुनामा दियालो बलिरहेको थियो । मेरा आँखामा तिमीलाई पूरा नियाल्न सक्ने शक्ति पनि थिएन । यी सबै कुराहरु शुन्यतामै भइरहेका थिए । न तिमी बोल्यौ नत मेरै कुनै आवाज नै निस्कियो ।म पुरै बेहोस पनि थिइँन तर खै किन अलमलमा थिएँ । तिमीले मलाई तिमीभित्रै लिन हुनेगरी आफुमा बेर्यौ । मलाई सकस भैरहेको थियो । बिस्तारै म छट्पटाएछु । त्यसपछि तिमीले सम्पूर्ण मेरो शरीरभरि एक एक गर्दै चुम्बन गर्यौ र अन्तमा मेरा ओठमाथि तिम्रा ओठ राख्यौ । त्यो चुम्बन साँच्चै नै गहिरो थियो । हामीले सारा शरीरको सामर्थ्य लगाएर एक अर्कालाई चुमिरह्यौं । यतिकैमा तिमीले मेरो आँखामा हेर्यौ र अलिकति मुस्कायौ । म लाजले भुत्तुक्कै भएँ। त्यसपछि तिमीले आफ्नो सम्पूर्ण शरीर ममाथि राखिदियौ । हाम्रो नग्न शरीर एक अर्कामा निकैबेर संघर्ष गरिरहे । तिम्रो मेटाफिजिकल सौर्ययुक्त यौनशक्ति उमेरलाई बेपर्वाह गर्दै ममाथि बर्सिरहेको थियो । निकैबेरमा हामी रोकियौं ।

घडीमा कति बजेको थियोे हामीलाई पत्तै भएन । समयसँग हामीलाई कुनै मतलब पनि थिएन । हामी दुवै थाकेका थियौंं । म कोल्टे फर्किएर एक प्रहर वरिपरि हेरेँँ। कुहिरोले ढाकेको सेरोफेरो र आगोको धिपधिप बाहेक अरु केहि हल्लिएको सम्म थिएन । हामी दुवै थाकेका थियौंं । मलाई निदाउन हतार थियोे । तिमीले मलाई आफुतिर तान्यौ र छेउमा सुतायौ । मेरो जिउभरी तातो हुनेगरी तिम्रो कम्बल ओढाइदियौ । हामी एकैठाउँ टाँसिएर सुत्यौंं ।अहिले हामी एक थियौं । मैले तिम्रो हातलाई आफ्नो सिरानी बनाएँ । तिमीले लामो लामो श्वास तान्दै निकैबेर मेरो हातहरु आफ्ना हातले खेलाइरह्यौ । त्यतिबेला तिमिले लिएको श्वास सँगै तिम्रो मुटुसम्मै पुगुँ र त्यही बसिरहुँ जस्तै लाग्यो । तिम्रो शरीरको तापले मलाई न्यानो बनाइदियो । म एकैछिनमा निदाएँ । तिमी कतिबेला निदायौ मैले थाहै पाइँन ।

जब मिर्मिरेको ठन्डी हावाले मलाई बिउँझायो मेरो शरीर जाडोले काम्दै थियो । मैले ओडेको कम्बल मिलाएँ र तिमीलाई ओढाउन खोज्दै तिमितिर सरेँँ तर त्यहाँ त कोही पनि थिएन । मैले आँखा नखोली यताउता छामेँ तिमी कतै थिएनौ । म आत्तिएर उठेँ मेरो शरीर नाङ्गै रहेछ । अलिपर दियालो मधुरो बलिरहेरकै थियो । त्यही चकमन्न अध्याँरोमा आगो पनि धिपधिपाउदै थियो । त्यही धीमा आगोको सहायतामा छामछुम पार्दै फर्किएर हामी सुतेको ठाँउमा हेरेँ । त्यहाँ त चिहानहरु मात्रै थिए । त्यो कब्रस्थानमा एउटा सिमेन्टेड छुट्टै र बिशेष कपुर थियोे । त्यो कपुरमा तिम्रो बैंसको तस्बिर रहेछ । त्यो अगेट पछाडिबाट एउटा आवाज आयो । मुजिङना खेयोङना तिम्रो प्रेमीलाई अधिभुत रुपमा प्राप्त गर्नु तिम्रो अथाह प्रेमको अलौकिक शक्ति हो । तिम्रो निराकार प्रेमको आदिम चेतना सृष्टिमा जारी रहनेछ । म चुपचाप उभिरहेँ । हावा जोडसँग चल्यो ।पातहरु मेेेरो शरीरमा टाँँसिए ।लहराहरुलेे बेरेे मलाई फनफनि । म हावामा उन्मत्त थिएँ । मच्ची रहेको थिएँँ म बतासमा ।

तपाईको प्रतिक्रिया