नेपाली साहित्यमा वर्तमान समय कविता लेखीरहेकी युवा पुस्ताको आशलाग्दो सम्भावना भएकी प्रतिभाशाली कवि हुन् हिरादेवी लामा प्रस्तुत छ साताको तीन कविता ।

डियर स्ट्रेन्जर

कसैको निर्मम प्रहारहरुले कुल्चिएर
किचीमिची पारीरहेको होला तिमीलाई
मुर्झाइ रहेको होला तिमी भित्रको कोमलता
हिक्क हिक्क गरीरहेको होला तिम्रो आत्मसम्मान
र,
दुखाइहरुले चिथोरेर तिम्रो हृदयलाई
कुल्चेको होला पिडाको पहाडले
उठ्नै नसकुँला कि झैं लाग्ने गरि ।

तर पनि तिमी नआत्तिनु ल !

म यहि भूगोलको अर्को कुनामा
हाम्रो लागि सपनाहरू बुनिरहेको छु
तिम्रो प्रतीक्षामा आँशुलाई मोति मानेर
सुदुर भबिस्यसम्म हामीलाई जोड्ने
एउटा प्रेमको माला उनिरहेको छु।

हाइज्याक गर्न खोज्ला
तिम्रो प्रेमिल धड्कनलाई यो समयले
तिमी नहेर्नू अस्ताउँदो सुर्यलाइ
किनकी,
पृथ्वीको अर्को कुनामा कसैले भनी रहेछ यालम्बरलाई हरेक साँझ
तिमि निभाइरहनु आफ्नो धर्म
कुनैदिन त, हामी संगसंगै भेट्ने छौँ झुल्कीँदै गरेको तिमीलाई।

आँसुले सिंञ्चित गरेरअंकुराउँछ प्रेम
यस्तो कहिल्यै नसोच्नु
किनकि, आजभोली मैले सपना देखीरहेछु
तिमीभित्र उर्लिरहेको कोशी महाकालीमा तिमीलाई नै निरीह डुब्दै तैरिँदै गरेको !

बरु, धैर्यताको पटुकीले कम्मर कस्नु
लगाउनु घाउहरुमा मल्हम हिम्मतको
अनि,
आउँनु पछ्याउँदै मेरो जिन्दगीको साँघुरा गल्लीहरुमा
जहाँ पर्खिरहेको हुनेछु,
एक हरफ मुस्कान समर्पण लिएर !

ओ, प्रीय अपरिचित !
तिमी आउनु है म पर्खी रहेको हुनेछु तिमीलाई।

आप्पा

दुनियाँले मलाई तेरो को छ र ? भनेको दिन
म भन्दै छु मेरो आप्पा हुनुहुन्छ।

आप्पा, थाहा छ?
म तिमीलाइ कति बेस्सरी सम्झीरहेछु यतिबेला
नजिक हुन्थ्यौ त मेरो आँसुका ढिक्काहरु
लड्दै लड्दै तिमीसम्म आइपुग्नु भन्दा अघि नै
तिमी हत्केलामा थापेर आफ्नो शिरमा राख्थ्यौ होला नि !

म आत्तिएको देखेर
म हतास भएको देखेर
सुम्सुम्याउथ्यौ होला बिस्तारै मेरो हातहरुलाई तिम्रो स्नेहले
र नबोलेरै भन्थ्यौ होला धेरै कुरा।

आप्पा
तिमी दुखी भएको मलाई थाहा छ
तिमीलाई दुखेको मैले देखेको छु
तर पनि तिमीले मलाई नदुखोस् भनेर
खाली खुट्टा हिंडेर दिइरह्यौ आफ्नो काँध

तिमीले पखेटाहरु दियौ र मैले उडान भरेको हुँ
तिमीले हृदय टपक्कै उप्काएर दियौ
र,
मैले जिन्दगी बाँचेको छु,
आप्पा,
तिमी साहस बनेर उभियौ
र समयले मेरो खुशी हाइज्याक गर्न सकेन
तिमी पहाड बनेर उभिदियौ
र हुरिले मलाई लछार्न सकेन
अनि पो फुलेँ, फक्रिएँ
आप्पा,
तिम्रो पसिनाले सिँचाइ गरीरह्यो मेरो भबिस्य,
लुकाएर चुपचाप आशुले कोरिरह्यौ मेरो गोरेटो।

त्याही भएर त आप्पा,
म यसबेला बेस्सरी सम्झी रहेछु तिमीलाइ
कि,
तिमी नजिक भैदिएको भए म आफैं संग हार्ने थिइँन सायद।

म धर्ती

मलाई शंका लाग्न थालेको छ आजकाल
आफ्नै सामर्थ्य माथी
सहनशीलता माथी
अनि,
धैर्यता माथी म धर्ती बनीरहन सक्दिनँ होला।

धर्ती हुनु भनेको कुल्चिइनु रहेछ
अनेकौं निर्मम पैतालाहरुले छातीमा
उठाइरहनु रहेछ अनगिन्ती बोझहरु
अनि नगर्नु रहेछ गुनासो कहिल्यै
न धर्तीले भन्न सक्छ आफु दुखीरहेको कुरा
न ओकल्न सक्छ दुखाइका गाथाहरु
धर्ति हुनु भनेको सहनु मात्रै रहेछ
धर्ती न थाक्छ कहिले न सुसेल्छ बिरह !

धर्ती हुनु भनेको फुलहरु मात्रै फुलाउनु होईन
निरीह बनेर आफैंमा समाधिस्थ गराउनु रहेछ बिकारहरु
जस्तो, आउँछन् केही बिषालु मानसिकता लिएर
अनि जान्छन् छादेर घृणा र वैमनस्ययता
उसो त,
धर्ती हुनु भनेको आफैं भित्र एक्लो एक्लो हुनु रहेछ
बुझिनुको बदलामा बिझाइनु रहेछ

आउँछन् मानिसहरु बोकेर आबश्यकताको भारी
कोहि बास खोज्दै
कोहि गाँस खोज्दै
ठड्याउँछ्न् सपनाको गगन चुम्बी महलहरु
मारेर धर्तिको उर्बरशिलता
र एकदिन
थङ्गथिलो बनाएर
छोडि जान्छन् एक्लो मरुभूमिलाई जस्तै।

धर्ती हुनु भनेको बाँधी रहनु रहेछ धैर्यताको बाध
बन्द गर्नु रहेछ सपना देख्ने आँखाहरु
लगाम लगाउनु रहेछ इन्द्रिय र संबेदनाहरुमा
बोकेर
कहिँ उर्वरता
कहिँ उजाडपना
कहिँ तरलता
कहिँ प्यास
सबैसबै सन्तुलन मिलाइ राख्नु पर्ने रहेछ
र,
बाँचिरहनु रहेछ नियतीलाई देखाएर

धर्ती हुनु भनेको आवाज बिहिन हुनु रहेछ
धर्ती हुनु भनेको क्रूरता, दमन र शोषण सही रहनु रहेछ।

मलाई शंका लाग्न थालेको छ आजकाल
र त म प्रश्न प्रतिप्रश्न गरीरहन्छु
आफ्नै सामर्थ्यलाई सहनशीलतालाई धैर्यतालाई
कि, म धर्ती कहिलेसम्म बनीरहन सक्छु !

तपाईको प्रतिक्रिया