रमेश के.सी.
नेपालमा २०४६ सालको परिवर्तन पश्चात निर्वाचित प्रधानमन्त्रीको हैसियतले भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको भारतीय प्रधानमन्त्री पी.वी. नरसिंह राव संगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्न सोधियो, प्रश्न थियो “विश्वमा शितयुद्धको अन्त्य भयो ? व्यापक परिवर्तन विश्वव्यापी रुपमा देखियो । के छिमेकी नेपाल संगको सम्बन्धमा परिवर्तन हुन्छ ?”

जवाफमा रावले भनेका थिए “हो, विश्वमा परिवर्तन भएको छ । तर छिमेकी जस्ताको तस्तै रहन्छ।” यो कथनले भारत नेपाल सम्बन्ध सन् ५० को सन्धिकै आधारमा वरीपरी घुम्छ भन्ने हो ।

यसको उदाहरण सन २०१५ मा गठित दुवै राष्ट्रका प्रबुद्ध व्यक्तिहरुले द्विपक्षिय सम्बन्ध अध्यावधिक गर्न बनेको समुहले तयार पारेको प्रतिवेदन भारतले २ वर्षसम्म नबुझ्नुले रावको छिमेकी जस्ताको तस्तै रहन्छ भन्ने कथनकै निरन्तरता हो भनेर बुझ्न सकिन्छ ।

२००७ सालको परिवर्तन पश्चात नेपालले बाह्य संसारसँग सम्बन्धको विकास गरेसंगै अहिलेसम्म विश्व राजनीतिमा आमूल परिवर्तन भएको छ । भारत बेलायती उपनिवेश जस्तो छैन भने चीन नेपोलीयनले भने जस्तो सुतेको छैन ।

भारत र चीन दुवै नयाँ विश्व व्यवस्थाका निर्माणकर्ता र दावेदारको रुपमा देखा परेका छन् । एक्काईसौ शताब्दी एसियाको हुने भनिरहेका बेला चीन र भारतको आर्थिक र सैन्य क्षमता र व्यवहारमा परिवर्तनहरु देखापरेका छन् । यी दुई ठुला राष्ट्रहरुका बीच रहेको नेपालले बदलिदो विश्व संरचना अनुसार व्यवहार गर्नु पर्छ ।

हुन त यसो भन्नेहरु पनि छ्न कि नेपालको गन्तव्य भूगोलले तय गरिदिएको छ । तिन तिरबाट भारत र उत्तरतर्फ चीनको भौगोलीकतासंग नेपाल भूपरिवेष्ठीत भए पनि सन् २०१९ मा नेपाल भ्रमणमा रहेका चीनीया राष्ट्रपति सी जिङपीङले नेपाल अब भूजडीत भयो भनेर भन्नु पक्कै पनि महत्वपूर्ण छ ।

करिब २५० वर्ष अघि राष्ट्रको रुपमा बनेको नेपाल दक्षिण एसिया कै सबै भन्दा पुरानो राष्ट्र हो । बेलायती साम्राज्यसंग कुटनीतिक सम्बन्ध राख्ने यस भेगको पहिलो राष्ट्र हो नेपाल । नेपालको कुटनीतिको सार उत्तर र दक्षिण छिमेकीसंगको सन्तुलनमा रहेको तथ्य ऐतिहासिक कालदेखिनै स्पष्ट छ ।

सन् १९५० सम्म यस हिमाली अधिराज्यमा ५ स्वतन्त्र राष्ट्रहरु थिए। ति हुन तिब्बत, सिक्किम, भुटान, कश्मिर र नेपाल । सिक्किम १९७५ मा भारतमा विलय भयो । तिब्बतमा १९५९ मा चीनको अधिनमा गयो, कश्मिर भारतमा विलय भयो भने सन् १९४९ को सन्धि अनुसार भुटान पराराष्ट्र र सुरक्षा मामला भारतलाई बुझाउदै संरक्षीत राज्य बन्यो ।

नेपालको समकालिन कुटनीति संचालन गर्दा हिमालयका यी राष्ट्रहरुको इतिहास विर्सनु हुदैन । बचावको संकटले ति राष्ट्रहरु विलोप भएका थिए । हिमालीय अध्ययनका प्रसिद्ध विद्वान लीयो रोजले नेपालको कुटनीतिक इतिहास र हिमालय क्षेत्रको राजनीतिको अध्ययन गर्दै नेपालको कुटनीतिको सार बाच्नुको रणनीति हो भनी “नेपालः स्ट्राटेजी फर सर्भाइबल” पुस्तकमा सविस्तार उल्लेख गरेका छन । नेपालको तटस्थ नीतिले हामीलाई दुवै राष्ट्रको सन्तुलनबाट सार्वभौमिकता कायम राख्न मद्धत पुगेको कुटनीतिज्ञ हेनरी किसीन्जरले “वर्ल्ड अर्डर” पुस्तकमा उल्लेख गरेका छ ।

भुगोल अहिले विश्व राजनीतिमा फर्किएको छ । अहिले युक्रेनको क्रिमीयालाई रुसमा गाभ्ने,दक्षिणी चीन समुद्र तनाव र भारत चीन सीमाना झडपहरु भएका छन् । यी घटना क्रमहरुलाई नेपालले नियाल्नु पर्दछ । २०औ शताब्दीको शीतयुद्ध युरोपबाट एक्काइसौं शताब्दीमा एसियामा सरेको टिप्पणी गरिदैछ । जसमा मुख्य कारण चीन र भारतको उदय रहेको छ ।

सन १९७८ मा आर्थिक सुधार र चीनीया चरित्रको समाजवाद अविष्कार गर्न सफल चीन ४० वर्षको अन्तरालमा विश्वको दोस्रो आर्थिक शक्ति बनेको छ भने तेस्रो सैनिक शक्ति बनेको छ । भारत सन १९९१ को आर्थिक उदारवादीकरण पछि आर्थिक र सैन्य रुपमा उदाएको छ । आज भारत विश्वमा साउदी अरेविया पश्चात सबै भन्दा धेरै सैन्य समाग्री खरिद गर्ने चौथो विश्व सैन्य शक्ति बनेको छ ।

यस परिप्रेक्ष्यमा हामीले भारत र चीनको शक्ति आकलन गरेर दुवै राष्ट्रको विश्वास जित्नु पर्ने आवश्यकता छ । चीन र भारत दुवैको सुरक्षा स्वार्थलाई रक्षा गर्ने र एकअर्कालाई विरुद्धमा प्रयोग गर्ने चालबाट हामी बच्नु नै उपयुक्त हुन्छ ।

अमेरिका महत्वपूर्ण भएपनि उ नेपालको मीत्र महाशक्ति राष्ट्र हो, छिमेकी होइन । चीन र अमेरिका बिच दुई ध्रुवीय विश्वको संकेत पनि देखापर्दै जाँदा शीतयुद्धका बेला नेपालको पराष्ट्रनीतिका संचालक नेपाली चाणक्य यदुनाथ खनालका विचार र व्यवहारको हेक्का राख्न वर्तमान नेपाली मंडारीनहरुले जरुरी छ ।

भारतका प्रबुद्ध पत्रकार जो पछि सहायक विदेश मन्त्री पनि बने एम जे अकबरले लेखेका छनकि नेपालको प्रधानमन्त्री परवेज मुसरफ भएपनि उ प्रो भारत हुनुपर्छ । भारतीयहरुको अवधारण यस्तो छ । यसको अर्थ हामीलाई भूगोलले चेपेको भए पनि लिपुलेकको प्रश्नमा नक्शा जारी गर्न हुदैनथ्यो भन्ने प्रश्न नै उठदैन ।

नेपाल करिब १४० राष्ट्रहरुसंग कुटनीतिक सम्बन्ध भएको स्वतन्त्र मुलुक हो । २०३० र ४० को दशकमा राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषीत गरियोस भन्ने प्रस्ताव ल्याएका थिए । जसलाई १ सय भन्दा बढी राष्ट्रहरुले समर्थन गरेका थिए । तनावपूर्ण समयमा सो प्रस्तावको औचित्य रहेको कुरा बेलायतमा रहेका नेपाली प्राज्ञ डा. सुर्य सुवेदीले गरेका छन ।

विश्व बहुध्रुवीय हुने सैद्धान्तिक खाकाहरु तयार भईरहेको वर्तमानमा नेपालले विश्व राजनीतिको सहि आकलन गर्दै भारत र चीन सम्बन्धको उचित व्यवस्थापन गर्न जरुरी छ । सन १९६२ मा भारत चीन सिमाना युद्ध हुँदा नेपालले तटस्थता अपनाएको थियो । वर्तमान कालखण्डको अवस्थामा नेपालले आफ्नो पारम्परीक कुटनीतिक उपायहरु असंलग्नता, पंचशिल र संयुक्त राष्ट्रसंघको वडापत्रमा आधारित आदर्शहरुलाईनै समकालीन कुटनीतिकको अस्त्र बनाउनु पर्ने हुन्छ ।

वर्तमान सरकार संचालकहरुले वक्तव्य जारी गरेर मात्र कुटनीति संचालन हुदैन । वास्तवमा नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध एक अर्कामा स्वतन्त्र भएपनि त्यसको प्रभाव र तरङ्गहरुबाट भने नेपाल मुक्त हुन सक्दैन ।

चीनसंगको सम्बन्धलाई भारतले शंकाको दृष्टिकोणले हेर्नु पर्ने कारण छैन । तर भारत चीन संगको सम्बन्धमा दुवै देश नेपालमा प्रतिस्पर्धा गर्न थालेको धटना क्रमहरुले देखाएको छ ।

केहि समय यता चीन नेपालमा सुक्ष्म व्यवस्थापन गर्न लागेको हो कि भन्ने आशंका जन्मिएको छ । ओली सरकार आए पश्चात भारत सुक्ष्म व्यवस्थापनमा निस्क्रिय बनेको हो । तर कुटनीतिज्ञ दिनेश भट्टराईका अनुसार अहिले नेपालमा महाखेल जारी छ । यो महाखेल विश्व राजनीतिकै प्रतिस्पर्धा र संघर्षको चरित्र हो ।

यदि भट्टराई सहि हुन भने नेपालले यो महाखेलको व्यवस्थापन गर्नु पर्छ । नेपालले चीनको बेल्ट र रोड अभियानमा सहमती भएर जसरी चीनको विश्वास जित्न सफल भयो त्यसरीनै एमसीसीको पनि उचित समायोजन गर्नुपर्ने देखिन्छ ।

भारत बेल्ट र रोड अभियानमा संलग्न छैन । यसलाई उसले आफ्नो सामरिक स्वार्थ विपरीत देखेको छ । हामीले भने हरेक मीत्रसंगको सम्बन्धलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने हुन्छ ।

उदाहरणको लागी जसरी वंगलादेशले चीन र भारतसंग सन्तुलीत सम्बन्धको व्यवस्थापन गरेकोबाट पाठ सिक्न सकिन्छ । त्यस्तै सीङ्गापुर नेपाल भन्दा सानो राष्ट्र भएपनि उसले चीन अमेरिका सम्बन्धलाई व्यवस्थापन गरेको छ । संसारमा सक्षम राष्ट्रहरुले बहुपक्षिय कुटनीति गर्छन । त्यस्तै नेपालले पनि बहुपक्षिय कुटनीतिमा दक्षता देखाउनु पर्छ । भारत र चीन नेपालको भुगोलको बाध्यता हो । यस बाध्यताबाट हामी भाग्न सक्दैनौ ।

तपाईको प्रतिक्रिया