एजेन्सी । म्यानमारको सेनाले सत्ता हत्याएपछि त्यहाँ दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि चरम दमन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन ।

सैनिक जवानहरुलाई गोली चलाउन छुट दिएपछि दैनिकजसो सर्वसाधरणहरु मारिने क्रम चलिरहेको छ । सैनिक सरकारको विरोधमा उत्रिएकाहरुलाई घरभित्रै पसेर सेनाले नियन्त्रणमा लिइरहेको छ।

अमेरिकालगायत विभिन्न मुलुकहरुले चर्को आलोचना गरिरहेको जुन्ता सरकारले नागरिकमाथि हवाई आक्रमण समेत गरेको छ। थाइल्यान्डसँग सीमा जोडिएको क्षेत्रमा सेनाले गत शनिवारदेखि हवाई आक्रमण गर्दा हजारौं मानिसहरु शरण लिन थाइल्यान्ड पुगेका छन् ।

आदिवासी करेन समुदायको बसोबास रहेको स्थानमा सेनाले आक्रमण गरेको हो । आक्रमणबाट जोगिन भन्दै करिब ३ हजार मानिसहरु सालविन नदी हुँदै थाइल्यान्ड पुगेका छन भने सयौं मानिसहरु म्यानमारको जंगलमा लुकेरको बस्न बाध्य भएका छन् ।

सेनाको आक्रमणका कारण त्यस क्षेत्रमा कयौं घरहरु ध्वस्त भएका छन् भने बालबालिकासहित केहीको मृत्यु भएको छ ।

करेन लडाकू समूहले स्वतन्त्रताको माग गर्दै आइरहेका छन्। अहिले सेनाले सत्ता आफ्नो हातमा लिएको बेला समुदायलाई नै विस्थापित गर्ने गरि आक्रमण गरिएको द गार्जियनले जनाएको छ । यसअघि म्यानमार सेनाले रोहिङ्गा समुदायमाथि पनि दमन गरेको थियो ।

तपाईको प्रतिक्रिया