गोर्खा । गोर्खा क्षेत्र नम्बर १ बाट कविता भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। कुनै पनि राजनीतिक दलको दबाबबिना संविधानले दिएको अधिकार प्रयोग गर्दै जनताको वास्तविक आवाज बन्न उम्मेदवारी दिएको भट्टराईले बताइन्।
सनातन हिन्दु धर्म, संस्कार र परम्पराको संरक्षण, मन्दिर, तीर्थ तथा धार्मिक सम्पदाको रक्षा, धर्ममाथि हुने अपमानको विरोध, राष्ट्रवाद, राष्ट्रिय एकता, नेपालको सार्वभौमिकता र अस्मिताको संरक्षणलाई आफ्नो प्रमुख आधार रहेको उनको भनाइ छ। विदेशी हस्तक्षेप र राष्ट्रघाती नीतिको विरोध गर्दै राष्ट्रिय झण्डा र गानको सम्मान कायम गर्न आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरिन्।
राजनीतिक दलहरूले पटक–पटक गरेका वाचा र प्रतिबद्धताअनुसार जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन नआएको उल्लेख गर्दै भट्टराईले यही अवस्था बदल्न स्वतन्त्र उम्मेदवारी दिएको बताइन्। “राजनीति सेवा हो, व्यापार होइन भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न चाहन्छु,” उनले भनिन्।
उनले गोर्खा जिल्लाको साझा हितलाई दलभन्दा माथि राखेर प्रतिनिधित्व गर्ने, संसदमा जनताको आवाज निर्भीक रूपमा उठाउने तथा पारदर्शी, जवाफदेही र इमान्दार कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरिन्।
भट्टराईका प्रमुख एजेन्डामा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र सुशासन रहेका छन्। दुर्गम बस्तीका सामुदायिक विद्यालय सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति व्यवस्था गर्ने योजना रहेको उनले बताइन्। स्वास्थ्यतर्फ प्रत्येक स्थानीय तहमा आधारभूत सेवा सुनिश्चित गर्ने, गोर्खा अस्पतालको स्तरोन्नति गर्ने र विपन्न नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउने उनको भनाइ छ।
यस्तै, गोर्खाका युवालाई लक्षित सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारमा जानेका लागि सुरक्षित अभिमुखीकरण तालिम, कृषि–आधारित उद्योग स्थापना गरी स्थानीय रोजगारी सिर्जना गर्ने योजना पनि उनले अघि सारेकी छन्। किसानलाई मल, बीउ र बजारको सुनिश्चितता गर्दै आधुनिक कृषि प्रविधि, पशुपालन र जडीबुटी खेती प्रवर्द्धन गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।
सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विकास बजेटको पारदर्शी प्रयोग, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र जनतासँग नियमित सार्वजनिक सुनुवाइ गर्ने उनको एजेन्डा छ। सधैं जनतामाझ रहने, महँगा सुविधा र अनावश्यक खर्च त्याग गर्ने तथा प्रत्येक वर्ष कार्यसम्पादन प्रतिवेदन सार्वजनिक गर्ने कार्यशैली अपनाउने उनले बताइन्।
अन्त्यमा भट्टराईले “अब दल होइन, काम हेर्ने समय आएको छ” भन्दै गोर्खाबासीलाई स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेकी छन्।





