कथा

तल्लो गाउँ झर्ने गोरेटो बाटोको छेवैको डिलमा रहेको मेलको रुखमुनि रविमान रोकियो । मझुवा गाउँका घरहरुका हरिया, नीला, राताहरु रंगिन देखिन्थे । त्यसकै सामुन्ने गैह्रोमा थियो तल्लो गाउँ । रमिते डाँडाले भने आकाशलाई छोएजस्तो आभाष हुन्थ्यो । पहिले पहिले मेला लाग्ने भोटेटार स्थायी बजार बनेको थियो ।

मायाको मौन मुहारमा हेरेसँगै रविमानले आफ्नो बारीबिच तेर्सिएको कच्ची ग्रामिण सडक तल्तिर हेरयो । ट्रयाक्टरको टायरले धसाएको सडकको ट्र्याकमाझ हरियो दुबो, धुलोले छपक्कै छोपिएको थियो । बारीमा दाहोरी गर्न बाँकी मकै हावाले फरफराईरहेको थियो । मायाको आँखाहरुले रविमानका आँखाहरुलाई पछ्याए ।

‘‘यो चैँ सबैभन्दा बढि आलु फल्ने बारी हो है ।’’ उसले गोरेटोको सानो ढुङ्गा टिप्यो । ‘‘ अनि हाम्रो बारी चैँ यहाँबाट… ।’’ फ्याल्दै उसले भन्यो । ‘‘… त्यो दुधिलोसम्म पर्छ ।त्यो दुधि लो चैँ म भन्दा दुइ वर्षको दाइ रे । …ऊ… त्यहाँ खोल्साबाट उता चैँ चासबारी छ ।’’ अलि पर, उत्तिसका बगानहरु माझबाट देखिएका गह्राहरुमाझ अम्लिसोका ठुटाबाट हरियो पालुवा पलाउँदै गरेको देखिए ।

कुनै बच्चाले भाँडाकुटी खेल्दा बनाएको सिमाजस्तै ठूलाहरुले बनाएका सीमाहरु थिए ती सायद । तर पलभरमै पारी डाँडाबाट आएको चिसो हुस्सुले तल बगिरहेको, खोला मझुवा बजार, टार हुँदै छेउछाउका डाँडा, भञ्ज्याङ्ग,गाउँ अनि उसको बारी हुँदै सम्पुर्ण वातावरणलाई छपक्क छोप्यो । बहिरहेको हावाले दुवैजनाका परेला, आखिभौँ, कपालमा पानीका मसिना थोपा राखिदिए । कुनै वाचा जस्तरी उनीहरुको आँखा मौनतामा बोलिरहे ।
¤ ¤ ¤
एघार सालअघि उसका औँलाले नापेको जमिन जस्तरी नै, रविमानका बुबाले धेरै पहिला उसलाई जग्गाजमिनका सीमा देखाएका थिए । उसको बुबा माझघरे कान्छाले दार्जिलिङ्गबाट ल्याएर रोपेको दुधिलो ठूलो भइसकेको थियो । धेरै अगाडी लैनो भैँसी र एक हल गोरुसँग माझघरे कान्छाले मधेश झरेको उनका मीत अन्तरे सुब्बासँग जमिन साटेका थिए अरे । र यहि सीमखेत सहितको बारी थियो अन्तरे खायल । अन्तरे खायल अर्थात उनीहरुको सबैभन्दा ठूलो कित्ता । कलकल बगेको खोल्सा बाह्रै महिना सदावहार बग्थ्यो । यहि खायलको बलमा उसलेमायासँग विवाह भए पश्चात विदेश जाने योजना त्यागेको थियो ।

छोरी जन्मिएको साल उनीहरुका बारीमा अदुवा भरिभराउ थियो ।

रातको समय आँगनको एक कुना रविमान हात बाँधेर माया चिच्याएको सुनेर एकोहोरो उभियो । नीलकाँडा छेउ धारा आफ्नै सुरमा बगिरहेको थियो । तार तानेर कटेरो छेउ बत्तिको व्यवस्था गरिएको थियो । जुनको थोरै उज्यालोमा पनि जिल्ला विद्युत प्राधिकरणबाट वितरण गरिएको ५ थान बिजुलीको पोल अलि पर कृषि सडकमा टल्किरहेको देखिन्थ्यो । थोरै पर, दाउरा राखिएको कटेरो छेउ शान्तिमा, विक्रमेमा, नेत्रकलाहरु लगायतका महिलाहरुको आवाजमा मायाको आवाज चर्को सुनिरहेको थियो ।उनी पीडाले घाँटी नै फाट्ला जस्तरी चिच्याइरहेकी थिइन् ।

रविमानले आफैँलाई सम्हाल्न बल जुटाउन खोजिरहेको थियो ।
दुइ बाँसमा तन्ना बाँधिएको स्ट्रेचर छेवैमा ठिक्क पारिएको थियो । तल्लो गाउँबाट राई माईला, भरतहरु आएका थिए । गाउँका धेरै सुत्केरी हेरिसकेको राई माईला भने महिलाहरुलाई परामर्श दिदैँ थिए ।

‘‘बच्चा जन्मे पनि बच्चाको साथी हुन्छ त्यो पनि झर्नुपर्छ तर कैलेकाईँ झर्देना । त्यसको टेक्टिस चैँ के छेन हुन्छ भने, सुत्केरीकै कपाल यस्तरी (हातको हाउभाउले देखाउँदै) उसको मुखभित्र हाल्दिने ।’’ धेरैजनाले व्यवहारमा नजाने पनि राई माईलाको यो टेक्टिस भने सुनेका थिए ।

माथिल्लो गाउँबाट विक्रम, भक्ति लगायतका युवाहरु आफ्ना हत्केला काखी मुनि घुसारेर हात बाँधेर तयारी अवस्थामा बसेका थिए । मधुरो टर्चलाइट बालेर माझघरे कान्छी कटेरोको एक कुनामा बसेर आफ्नी बुहारीलाई हेरिरहेकी थिइन् ।
केहि समयपछि आमा चिच्याउँदा चिच्याउदैँ नयाँ आवाजले वातावरण गुन्जन थाल्यो ।राई माइलाले हँसिलो मुद्रामा रविमानलाई हेरयो ।

‘‘लु ठुल्यो, घरमा लक्ष्मी आयो है ।नानाची लु बधाई है ।’!
रातको समय उसले पहिलोपल्ट छोरीको रोइरहेको मुहार टर्चलाइट लगाएर नियाल्यो ।

छोरीलाई पहिलोपल्ट बोकेको दिन रविमानले धेरै दिनदेखि सोचेको नाम राखिदियो । खुशी ।
¤ ¤ ¤
‘‘गाउँलाई मेन चाहिने भनेको बाटो हो ।अरु कुरा त्यसपछि आउने हो ।’’ देशको नयाँ पुनर्सरचना पश्चात बनेको आफ्नो नयाँ वडाको वीरसिं वडाअध्यक्ष बनेको थियो । भन्नेले ‘पहिलो’ भने पनि वडाध्यक्ष बनेको भने ऊ पहिलोपटक थिएन । र ऊसँगै, पार्टीका अरु उमेदवार पनि सो गाउँपालिका र उसको वडामा, प्यानल नै निर्वाचित भएका थिए ।

चुनावको अघिल्लो साल माझघरे कान्छी संसारबाट बिदा भएकी थिइन् । र, खुशीले कोमा गुमाएकै सालबाट भरतले वडा कार्यालय भएको भोटेनागी बजारमा आफ्नो होटल सुरु गरेको थियो ।

‘‘पहिलो साल चैँ वडा व्यवस्था गर्दा गर्दै सिद्धियो । अब यो साल चैँ बाटोमा जोड गर्नुपर्छ ।’’ वीरसिं आफ्नै पार्टीका मान्छेहरुसँग भरतको होटलमा थियो । भरतले उनीहरुको अगाडी चियाहरु राखिदियो ।

‘‘तेइ त, बाटो सप्पै खाल्टाखुल्टी भएर बाइकसम्म पनि हिँड्नु गाह्रो नी ।’’ राई माइलाले भरततिर हेर्दै आफ्नो चोरी औँलाले आफ्नो पातलो जुङ्गा कोट्यायो । वडासदस्य विक्रम अँध्यारो कुनातिर, काखीमुनि हात च्यापेर चिम्सो आँखा चिम्लदैँ टाउको हल्लाइरहेको थियो ।ठेकेदार विजय झ्याल बाहिर भलिबल खेलेको ध्यानपुर्वक हेरिरहेको थियो । उसको निधारको दहिनेपट्टि आएको मासुको डल्ला उज्यालोमा अझ टल्किरहेका थिए । वीरसिंले छेवैको चटपटे हाल्न राखिएको खबरपत्रिकाको टुक्राहरु नियाल्यो ।नयाँवर्षको शुभकामना दिएको पुरानो पत्रिका थियो ।

‘‘अब त्यो… अर्काको गाउँको गुराँस हेर्न जाने हैन के । बाटो बनाएपछि हाम्रो रमिते नागीमा कति मान्छे आउँछ त हामीलाई थाहा छ नी । अब माथी रमितेमा भ्यु टावर बनाउनुपर्छ । अनि पानी थुनेर पोखरी बनाएपछि त…। मान्छे र पैसा मुला त… ।’’

सानोतिनो सपनाको भ्युटावर र पोखरी कल्पनामै बनिहाल्यो । माइलाले त्यो कल्पनाको खुशी थाम्न सकेन । उसको मुहार मुस्कानले धप्धपी उजेलियो । विक्रमको आँखा अझै खुलेको थिएन तर सपनामाथिको असहमति उसको खुम्चेको निधारले प्रष्ट पार्थे । निधार खुम्चिँदा निधारको बाङ्गो खत झ्यालबाट आएको धमिलो प्रकाशमा अझ टल्कियो । विजय भलिबल हेर्न छाडेर वीरसिंतिर फर्कियो, इशारा बुझेर उसले भित्रि गोजिमा रहेको मडुवा खैनी झिकेर हात्केलामा केलाउन थाल्यो । वीरसिं र विजय दुवैले विक्रमलाई गहिरोगरि हेरे, जस्तो उभित्र केहि दुवैले खोजिरहेका छन् ।

‘‘हाम्रो बाटो पनि यो सालबाट बढ्दै छ । पालिकाबाट बजेट छुटेको छ । काम थाल्नुपर्ने ढिलो भैसक्यो ।’’ वीरसिंले माईलातिर हेरेर कुरा अघि बढाएपनि उसको भावमा अरुले सुनाउन खोजेजस्तो अनुभुत हुन्थ्यो । ‘‘बढेपछि हेर न केटा हो यो गाउँ कस्तरी बल्छ भने नी ।’’ विक्रमले लामो स्वास तानेर निधार कन्यायो । आँखा खोलेर हातको इशारामा उसले भरतसँग चुरोट माग्यो ।
‘‘काका, पिच नै गर्ने हो ?’’ भरत चुरोट दिन तन्किँदै बोल्यो । तर लाइटर दिन नपाउँदै, ग्यासमा बसाएको दुध चिया उम्लेको देखेपछि ऊ बिजुलीको गतिमा दौडियो । क्षणभरलाई सबैको आँखा भरततिर गए ।
विक्रमले आफ्नो गोजि छाम्यो । गोजिबाट लाइटर झिक्यो अनि चुरोट सल्कायो ।
‘‘यो चोटीचैँ बढ्छ मात्र । पुरानो साढे तीन मिटरको बाटो नौ मिटरको हुन्छ ।’’ राई माईला आत्तिएर अविश्वासमै हाँस्न थाल्यो । ‘‘आम्मामामा के चैँ गर्न लाग्यो हौ गाउँपालिकाले, नौ मिटरको बाटो है !?।’’
‘‘तर यसले फाइदा चैँ कृषककै छ है ।’’ लाग्थ्यो ऊ कसैलाई आश्वास्त पार्न बोलिरहेको छ ।‘‘बाटो भेटेपछि जग्गाको बैंक भेलुसन बढ्छ । कृषि उत्पादनले भाउ पाउँछ । सामानको भाउ घट्छ ….’’
‘‘भाउ त कसरी घट्छ होला र हौ काका ।’’ विक्रमले कुरा काट्यो ।‘‘अहिले पनि उतिसारो महंगो त के छ र? जम्मा राजमार्ग भन्दा पन्ध्र किलोमिटर टाढो न हो । सबै कुरा तलको भाउभन्दा केहि त फरक हो नी ।’’ विक्रमले असन्तुष्टिसँगै भुईँतिर धुँवा फ्याल्यो । बिस्तारै अँध्यारो हुँदै गएको जस्तो आभाष हुँदै थियो । ‘‘चामल तलको भन्दा जम्मा दश रुप्पे फरक । तेल नौ रुप्पे । ग्याँस तीस रुप्पे ।अनि ।’’

‘‘टिन उताको भन्दा जम्मा चालिस रुप्पे बढि, रड पनि केजिमा पाँच रुप्पे फरक, सिमेन्ट त्यहि बोराको बिस ।’’ उसले वीरसिंलाई गहिरोगरि हेरयो । ‘‘मलाई चैँ…विकासको नाममा ज्यादती लाग्यो ।’’
वीरसिंले विजयतिर खैनीको लागि हात लम्कायो । ‘‘घट्ने कुरा पो घटेन होला तर बढ्ने कुरा त बढ्यो नी । दुधको भाउ बाटो आएपछि बढेन । सब्जी सप्पै अहिले हाम्रो गाउँको भनेपछि ज्यान फ्याल्छन् ।’’
‘‘केन्द्र चैँ सुकायो हौ यो संघीयताले ।’’ विजयले माइलातिर हेरेर हाँस्दै बोल्यो । ‘‘सदरमुकाम त सुनसान पो छ त ।’’
‘‘पहिले भकै बाटोलाई बरु अलि सुधार्दा हुने । बजेट हुँदा नाली कटाएर ग्राभेल गर्दासम्म हुने । अब अहिलेलाई दुधको भाउ जति बढेको छ त्यो भन्दा कति बढाउला र । चल्ती कै भाउ हो । बजारको भन्दा धेरै त बनाउँदैन होला नी । अब नौ मिटरको बाटो हुँदा चैँ हिरा कै दाम हुन्छ भन्नु चैँ, झुक्याउनु जत्तिकै हो ।’’ चुरोटको धुँवा विक्रमले आकाशतिर फ्याल्यो । विजयले वीरसिंतिर गहिरोगरि हेरयो । ‘‘बरु कृषकको उत्पादन बढाउने, बजार खोज्ने, शिक्षामा, स्वास्थ्यमा विकास गर्ने काम चैँ गर्दा हुने हो ।’’
‘‘पालिकाबाट पास भैसकेको कुरा, अब हाम्ले कसरी रोक्ने ? अब नबनाम् नै भन्दा, विकास विरोधी, नेतृत्वकै कुरा नमान्ने, हुने कुरा पनि त आएन । जे भन तिमी, विकास भनेको बाटो नै हो । बाँकी कुराहरुको लागि फेरी फेरी सोचम्ला । गाउँपालिकामा आको उनन्चास प्रतिशत बजेट छुटाको । पहिले बजेटै नहुँदा त यत्रो भको, त्यतिमा त केहि हुन्छ नी । जति जे छ, त्यो अब अलि पछि नै … त थाहा हुने होला नी ।’’ उत्तिसका लकडी बोकेको वीरसिंको महिन्द्रा अल्ट्रा ट्रयाक्टर ढोकाबाट देखियो ।
¤ ¤ ¤
पानी मुसलधारे बनेको पनि दुइ दिन भइसकेको थियो । रविमानले आँखाअगाडी बगिरहेको धारालाई हेरयो । सदा खुल्ला धारा एकनासले बजिरहेको हुन्थ्यो तर त्यसदिन वर्षाको आवाजले धाराको आवाज दबाएको थियो । उसले अलि अगाडी आएर आकाशतिर हेरयो । पानी थामिने कुनै छाँटकाँट नै थिएन । टिनमा बर्सेको आवाज उस्तरी नै बजिरहेको थियो । टिनका साना खोल्साहरुबाट साना पानीका धाराहरु समानान्तर बगिरहेका थिए ।आँगनभरि पानी आहाल भएको थियो ।
नमान्दा नमान्दै पनि उसले छोरीलाई स्कुल जान हपारेको थियो ।

खुशी आफ्ना चिसा कपडालाई धुँवामा सेकेर आफ्ना साथीहरुसँग स्कुल गएकी थिइ । तर छोरीलाई स्कुल पठाएसँगै उसको मन भने चैनले बस्न सकेन । उसले एकपटक बाटोलाई परसम्म हेरयो । माया ट्वाइलेट आँगन हुँदै धारातिर जाँदै थिइन् । उसले लामो स्वास फालेर उत्तिस बगानलाई हेर्यो ।

छ वर्षअघि उनीहरुले कटाएको अलैँची बगानका उत्तिसहरुको ठाउँमा नयाँ उत्तिसहरु हलक्क बढिसकेका थिए । तर पहिलेजस्तो बाक्लो भने थिएन । त्यसो त त्यसकै अघिल्लो साल त्यहि बगानका अलैँचीहरु जुर्जुरे र डढुवाले सखाप पारेको थियो । गाउँभरि सबैको हालत उहि थियो । तर अघिल्लो साल भने उनीहरुले धारामुनिका बारीहरुमा सलकपुरे अलैँची लगाएका थिए । अन्तरे खायलको सीमखेतमा केहि बोट झार्लाङ्ग लगाएको थिए ।
‘‘बाबा नानीलाई नपठाको भा चैँ हुने ।’’
‘‘हँ ?!’’ छेउकै आवाज पनि सुन्न गाह्रो भइरहेको थियो ।
‘‘नानीलाई स्कुल नपठाको भाहुने भनेको । यस्तो पानी परिराछ ।’’ प्लाष्टिकको घुम सिकुवामा राख्दै छेउमा आए पनि ठूलो आवाजमा उनी बोलिन् ।‘‘यो बेला सानोतिनो खोल्साहरु पनि बढिहाल्छ ।’’
‘‘अहिलेसम्म केहि नभको आज चैँ के गरेर हुन्छ । अन्तिम परिक्षा आउन लागिसक्यो ।’’ आफ्नो गम्बुट समातेर ऊ मुडा तानेर बस्यो । ‘‘थुक्कै ! यो पनि यहाँबाट च्यात्येछ पो ।’’ उसले आफ्नो गम्बुटको चिरा परेको तलुवा नियाल्न थाल्यो । उसका पहेँलो गम्बुटमाथि नीला गम्बुटका टुक्राहरु टालिएका थिए। लाग्थ्यो आफ्नै विगत टालोहरुले कुनै वर्तमानलाई टालेर काम चल्ने जिन्दगी बनाएको छ ।
‘‘स्कुल चैँ फोन गर्नु पर्छ की ?’’ माया आकाशे डाँडातिर हेरेर चिन्ता गर्न थलिन् । पछाडी देब्रे नारीमा कसिएका रुखा औँलाहरु हेरेर पनि रविमानलेकेहि प्रतिक्रिया नगरी गम्बुट लगायो ।
अनायास मायाले छोरीको चिन्ता आँखाले नै वीरमानको आँखामा बिसाइन् ।
वीरमान आफ्नै सुरमा थियो । मायाले खुशीको पुरानो चप्पल उठाएर टेबलमुनि राखिदिइन् । ‘‘यो फाल्गुनमा पनि के दशा देखाको होला नी ।’’
‘‘लु लु लु, घाँसमा जाउँ । वस्तु भोकाइसक्यो होला ।’’ रविमानले आफ्नै सुरमा उभिएर टिनबाट बगिरहेको पानीमा आफ्नो औँलाहरु धोयो र कोठाभित्र पस्यो । मायाले ऊ गएतिर हेरिरहिन् ।

‘‘ए… यो पानी परेपछि छिनको छिन लाइन जानु चैँ के होला नी ।’’ उसले सानो रिस पोख्दै मोबाइल बोकेर बाहिर निस्कियो ।माया मुडामा बसेर गम्बुट टक्टकाउन थालिन् ।

‘‘हेलो । गौतम सर बोल्नु भा हो ।… नमस्कार सर ।… म रविमान ।’’ उनले रविमानको मुखमा हेरिरहिन् । उनको हेराईमा मातृत्व अनुभुत हुन्थ्यो । पानीले थर्काएको टिनले रविमानको आवाज सानो हुन्थ्यो तर पनि सुनिरहेको एकतर्फी संवादमा उनी छोरीको स्थिति बुझ्न खोजिरहेकी थिइन् । ‘‘हैन सर पानी परेर खोल्सा बढेको थियो । नानी स्कुल आइपुग्यो कि आइपुगेन भनेर नी सर ।… ए आइपुग्यो ?… हुन्छ सर ।… त्यै त सर (हाँस्दै) पानी त कान्छा बाउकै अनुहार भैराछ नी ।… हुन्छ सर ।ल… ।ल त सर ।… हस् सर ।’’ उसले मोबाइल आँखा अगाडी तेर्सायो । ‘‘… हुँ… पुग्यो अरे ।’’ उसले बुबा बनेर मायातिर हेरिदियो ।
‘‘बाउ, एउटा आइरन चैँ किन्न पर्छ होला ।’’ उसले गम्बुटलाई टक्टकाउन भुइमा हलुका बजारिन् । ‘‘त्यसको कपडा नी सबै ढुसीले टाटै टाटा परिसक्यो । समयमा कपडा पनि सुक्दैन । बिहान पनि धुँवा नै धुँवा गन्हाउँदै पनि थियो । भोली पनि उस्तै पानी परयो भने चैँ स्कुल नपठाम् होला ।’’ लगाएको गम्बुट केहि बेर भुइमा बजारेसँगै गम्बुटले मायाका खुट्टासँग सम्बन्ध बनायो । यसो भनेसँगै रविमानले एकपटक माया अनि उसका शरिरका कपडाहरुलाई मायालु नजरले हेरयो । उसले विवाह गरेको वर्ष लगाएको पुरानो सर्ट कताकता मायाको शरिरमा ठूला लाग्थे । तर पुराना भए नी, ढुसीले टाटा बनाएको भए नी, आफ्नो स्थितिसँग मायाका गुनासा थिएनन् ।
‘‘लु जुम् ।’’ मायाले उठेसँगै आफ्ना कपाल मुठा पारेर बाँधिन् ।
¤ ¤ ¤
चैतको महिनातिरको कुरा थियो । शनिवार दिउँसो वडा कार्यालयमा वीरसिंको अध्यक्षतामा सर्बदलीय बैठक डाकेर बाटोको उपभोक्ता समिति निर्माण गर्ने प्रक्रिया सारिएको थियो । तर अचानक मंगलबहादुर झोँकिएर बैठकबाट बाहिरीए ।वीरसिं छक्क परेर विक्रमतिर हेरयो । विक्रमले लगातार विजयलाई हेरिरहेको थियो । लगत्तै मंगलबहादुरका पार्टीका अन्य सदस्यहरु पनि बाहिरिए । राई माइला बैठकको उपस्थितिमा हस्ताक्षर मात्र गर्दै थियो जब यो भएको थियो । नेत्रकलाहरु लगायतका केहि महिलाहरु अलमलमा परिरहेका थिए । धेरैजना के भइरहेको छ भन्ने कुरा बुझ्न सकिरहेको थिएनन् ।
¤ ¤ ¤
साँझपख आफ्नै पार्टीको भुपालसँग मंगलबहादुर भरतको होटलमा बसेको थियो । भरतले केहि गाउँकै भिआइपीहरुको लागि बनाएको गोप्य कोठामा । ‘‘कमसेकम पोर्टफोलियो त बिगार्नु हुन्न नी ।’’ उसको ओठ लर्बराए पनि उसको बोलीमा आक्रोश स्पष्ट थाहा हुन्थ्यो । ‘‘गाउँमा जे जस्तो भए नी, त्यो…विजेभन्दा, राजनितिमा म्हँ.. पुरानो हुँ नी । प्रदेश सिन्ये हैय जिल्लाभन्दा ? अब… तिनेरको उपभोक्ता समितिको बैठक रे ! त्यस्तो माइनुट लेखेर नी हुन्छ ? हुन्छ ?’’ उसले हत्केलाले आफ्नो ओठ पुछ्यो ।‘‘… नियोजित हो । यो सब नियोजित हो ।… हामी बुझ्दैनौँ !? … सप्…पै तिनीहरुकै मान्छेहरु । त्यो वीरसिंए, विक्रमे… ।’’ उसले मातेको सुरमा आफ्नो चोरी औँला अगाडी तेर्सायो ।केहि सम्झे जसरी फेरी ओठ चुच्चो परेर उसले थप्यो, ‘‘म्हँ त, बस्न नी मन लागेन ।थु.. सर्वदलिय बैठक भनेर… । यस्तरी । बौमत… बौमतको… दादागिरी देखाउने ?’’ मंगलबहादुरले आफ्नो अगाडी राखिएको काँक्रा टिप्यो । भुपाल एकोहोरो सलादतिर हेरिरहेको थियो । भरतले भुटन टेबलमा राखिदियो । उसले आफ्नो दुवै चोरी औँला बढाएर बोलिरहेको थियो, ‘‘अब… बाटो बढाउने रे । कहाँ टरिङ्ग घुमाउने ? कसको जग्गा बचाउने ? कसको पचाउने? सब सेटिङ्ग ह्ओ । … राजनिति गरेरै केश फुलेका छन् के ।’’ उसले टेबलमा दुबै हातले मुड्की बजार्रो ।‘‘ अध्यायन अनुसन्धान केही छैन । सब्का सब् । चोरहरु ।’’ उसले आफ्नो अगाडी रहेको रहेको रक्सी एकै सासमा पियो ।
‘‘केहि अरु खाने हो काका ?’’
‘‘हुँ… ।’’ आफ्ना चिम्सा हुँदै गएका आँखा उसले बलपुर्वक तन्काउन खोज्यो ।
‘‘केहि खाने हो तपाईँ भनेको काका ?’’
‘‘तँ मुला… भर्ते हैन ?’’
‘‘अँ म भरत ।केहि खाने हो तपाईँ ?’’
‘‘मुला भर्ते । ओइ…, भुपाल ? भुपाल !’’ उसले झोक्राइरहेको भुपाललाई हल्लाएर जगायो । भुपालको गिलासमा अझै रक्सी थियो ।‘‘के भो । छिटो लि ।’’
‘‘दाजु !’’ उसको चिम्सा आँखा खोल्दै ऊ लर्बरिँदै हाँस्दै बोल्यो । ‘‘अब चैँ लागेस्तो छ ।’’
‘‘थेत ! मुला, ला… ।’’ मंगलबहादुरको मुखभित्र भुसुना छिरयो । औँला छिराएर निकाल्न खोज्दा घाँटी सम्म पुगेको औँलाले एकपटक उलुक्कै गरायो । ‘‘लाछि कुरा नर् । जाँ…! तेतिले लाछ् !’’ उसले भरततिर हेरयो । ‘‘अको एक बोदल ले न त ।’’ मंगलबहादुरले भुपालतिर हेरयो । भरत हिँड्नै लाग्दा भुपालले रोक्यो ।
‘‘धेर… नखाम् दाजु ।’’ भुपाल हात जोडेर मंगलबहादुरलाई नमस्कार गरयो ।
मंगलबहादुरको तल्लो ओठले माथिल्लो ओठ चेपेको थियोे । उसले निधार खुम्चाउँदै भुपालको हात तान्यो ।
‘‘छार न मुला । लोकोल…’’ घाँटीको खसखस ठिक गर्न उसले ‘आह’ आवाज निकाल्दै स्वास फ्याल्यो । ‘‘लोकेल हो । बिस्यक गर्दैन के । काँ काथ…मान्डु जस्तो एसिद्… हुन्छ त । मुला । तो स्वाट्टै पार् । (डकार्छ।) पार्हाल् ।’’
‘‘अन्तिम है दायु यो चैँ ।’’ भुपालले खाएको मंगलबहादुरले गम्भीर भएर एकोहोरो हेरिरह्यो ।
‘‘मुला पचाउन छाडेसस्, तैँले चैँ । म त मदा पनि खाँदै मर्ने हो ।’’ उसले आफ्नो अगाडी रहेको रक्सी स्वाट्ट पारयो ।
‘‘दाजु, अनि ! उपुभोक्ता समितिको अध…क्षे चैँ को भयो नी ।’’
‘‘हँ ?!’’
‘‘उप्.. उपोक्ताको अधसे के ।’’
‘‘तेहि…बिजे त होला नी । हाभाउ हेर्दै था‘भैहाल्छ नी ।नभा भोल् । भोल्नै था’ भैहाल्छ ।’’ बोतलमा रहेको रक्सी गिलासमा हाल्यो । ‘‘तेस्को शेरमा लेओ छ भन्र सुन्दै थिएँ । अब् हालिमुआली गर्ने यस्तैहर्त हो ।स्काभेट्र तेस्कै हाल्दो हो ।देख्नस्… अघि….?’’ लगत्तै आँखाभौँ सानो गर्दै भुपालले भरततिर चुच्चो मुखको इशारा गर्दै चुप लाग्न संकेत गरयो ।मंगलबहादुरले बुढी औँलाले सोरेर नाक पुछ्यो र भुपाललाई हेरिरह्यो । भुपाल धेरै नै मातिसकेको थियो । उसले कसैलाई सुनाउन खोजे जस्तरी बोल्यो, ‘‘ह्यो दाउले के भनोँ चैँ नभन् । तर्र हेर्दै जा, यो गौँ सैँ यस्त्री नै सकिने छाँटकाँट देख्दैछु म चैँ ।’’मंगलबहादुरले छाँटकाँट भन्दा उसका आँखा एकपटकलाई ठूला भए ।
¤ ¤ ¤
‘‘पापा, आजबाट त हाम्रो स्कुलमा म्याथ सर पनि नहुनु हुने भो ।’’ कपिको एउटा पाना च्यातेर दिदैँ खुशीले भनी ।उसका किताबहरु भुइभरि छरिएका थिए । रातको समय बलिरहेको बत्ति मुनि, ऊ भुइमा आधि छाति र टाउको मात्र उठाएर आफ्नो गणितका हिसाबहरु गरिरहेकि थिई ।
‘‘के भो र ?’’ रविमानले काँटीमा झुन्डाएर राखेको सर्टको बलपेन झिक्यो ।
‘‘उता सुन पा तिर पढाउने रे ।’’
‘‘सु न पा ।’’ गहिरो आवाजमा उसले छोरीलाई सच्याउँदै बोल्यो । ‘‘सु न पा, काँ रे जाने ?’’
‘‘खै ? सुन पा भन्थ्यो ।’’ उसले फेरी दोहोराई । तर योपटक उसले छोरीलाई सम्झाएन बरु बुझ्यो । ‘‘सबै जना रुएर, हामी त हाँस्ता हाँस्ता… ।’’ आफ्नो कपालको केशको सानो मुठालाई दाहिने हातको सहारामा निधारबाट हटाउँदै उसले सुनाइ । उसले एकपटक छोरीतिर हेरयो । उनको देब्रे हातले बलपेन समातिरहेका देख्यो ।साना औँलाहरु, हातभन्दा बलपेन अलि ठूलो लाग्थ्यो ।
‘‘चन्द्रकला आन्टीले खाजा दिदैँछ?’’
‘‘अँ ।’’ पाना पल्टाएको आवाजसँगै उ नफर्की बोली ।
‘‘खाली चटपटे मात्र खाँदैछस् कि !’’
‘‘अनि अरु केहि त हुँदैन ।’’ ऊ लेख्न मै व्यस्त थिई ।
‘‘चटपटे भने पछि त ।भोलीबाट मकै,भट्मास घरबाट लानु । खाली चटपटे, चाउचाउ… ।’’ रविमान भोली चाहिने सौदाको बिल बनाउन थाल्यो । ‘‘आमालाई भन् त्यहाँ ठीक पारिदिन्छ ।’’ खाजाको कुराले खुशी कताकता अमिलो भई । उसले आफ्नो हातलाई रोकी । ‘‘त्यहाँ आमालाई के के चाहिने हो सोध सोध ।’’
¤ ¤ ¤
पहिलोचोटी आठ वर्ष अघि स्काभेटरले साढे तीन मिटरको बाटो बनाउँदा पन्छाएको ढुङ्गा र रुख हेरेर राई माइलाले दुध संस्थामा छक्क मानेको थियो । ‘‘आम्मामामा चेन, त्यसको हात एस्सो गरेपछि त जुरुक्कै हौ ।’’ हातको इशारामा उसले भनेको थियो । ‘‘बनाकै हो खैरेहर्ले ।’’
मा.वि स्कुल मात्र भएको मझुवा डाँडा कृषिसडक पुगेपछि बजार बन्यो । स्कुल व्यवस्थापन समितिले समेत बजार विस्तारको लागि आफ्ना जग्गाहरुको विक्रि वितरण गरयो । बजारमा बस्ने मानिसहरुको चाप बढ्यो । कृषि सडक बनेको साल गाउँका केटाकेटीहरुको सबैभन्दा मनपर्ने खेलौना स्काभेटर भएको थियो । प्रायः केटाकेटी हुने सबैको घरमा साना ठूला स्काभेटर थियो ।
नभन्दै वैशाखको मसान्तबाटबाट फेरी,विजयको अध्यक्षतामा बनेको उपभोक्ता समितिले बाटो बढाउन थाल्यो । साढे तीन मिटरको बाटो धमाधम नौ मिटर बनाउने अभियान सुरु भयो ।मंगलबहादुर लगायतका केहिले विज्ञप्ती निकालेर यसको विरोध गरे । तर काम अगाडी बढि नै रह्यो ।
¤ ¤ ¤
‘‘अब त हामी हुने हो सिंहदरबार ।’’ विजयले स्काभेटरलाई डिलबाट हेर्दै आङ्ग तान्दै भन्यो । ‘‘अब रवि भाइको जग्गाको भाउ चैँ बढ्ने भयो ।’’ उसका बारीहरु भत्किदै थिए । पुरिदै थिए । अन्तरे खायलको नामोनिशान थिएन ।माया माथिबाट निरस मुहार बनाएर हेरिरहेकी थिइन् ।
‘‘माया ।’’ रविमानले मायालाई बोलायो । माया र रविका आँखा जुधे ।‘‘खुशी आयो ?’’ । माया मुस्कुराइन् । तर उनको मुस्कान एकदम बिरामी जस्तो देखिन्थ्यो । उसले छैनको भावमा टाउको हल्लाई । ‘‘विजय दाजु चिया खाम् ?’’
स्काभेटर ध्यानपुर्वक हेरिरहेको विजयले एकैचोटी मायातिर हेरयो । ‘‘चिनी अलि कम है ।’’फर्किएर उसले रविमानतिर आँखा जुधाएपछि मुस्कुरायो । हेर्दाहेर्दै मायाले आफ्नो माइतबाट ल्याएर रोपेको ओखरको बोट माटोको थुप्रोमा पुरियो । स्काभेटरको चर्को आवाजमा विजयले गुनासो गरयो, ‘‘विक्रम चैँ लास्टै अल्टर रछ हौ रवि भाइ । भन्नु चैँ नभन की । गाउँको विकास भको खासै हेर्न नचाहने क्या । गुट अर्को भयो भन्दैमा पार्टीकै नेतृत्वको निर्णय उल्टाउन खोज्ने हो त?’’
¤ ¤ ¤
ऊ नयाँ बाटोमा उभियो । उसको सबैभन्दा बढि उत्पादन हुने गह्रा सडक बनिसकेको थियो । छोरीलाई पेवा मानिदिएको बारी थिएन । आफ्नो सबैभन्दा लामो गह्रा थिएन । सबैभन्दा छोटो गह्रा पनि थिएन । उसको बारी अब कति पनि थिएन । आफु सामुन्ने आफुले वर्षौँदेखि चढ्ने गरेको गोरेटो बाटो थिएन । बस नौ मिटरको अजंगको सडक थियो जो उसको जग्गाको लगभग दुइ तिहाई फैलिएको थियो ।सीमामा उभिएको दुधिलो जस्तै ऊपनि रुख बनेको थियो । उसले एकपटक घरलाई नियाल्यो ।
बाटो पहिलोचोटी आएको समय ऊ एकदमै उत्साहित भएको थियो । त्यसो त किन ऊ मात्र, गाउँ नै हर्षित बनेको थियो । बाटो बिग्रन्छ की भनेरअन्तरे खायल छेवैको खोल्सामा आफ्नै खर्चले पाइप ल्याएर कुलो कटाएको थियो ।अब उसको पुरानो पाइप नयाँ बनेको बाटोको पानी कटाउन लागि पर्याप्त थिएन ।आलो माटोमा पुरिएको आफ्नो कोदोबारी हेर्दा हेर्दै बाइकको आवाज सुनिन थाल्यो । तर उसले नजर सोझ्याएन । गाउँका सबैले वीरसिंको बाइकको आवाज पहिचान गर्न सक्थ्यो । वीरसिँको पिए नरेनले उसको छेउमा ल्याएर बाइक रोकायो, उसले हेर्ने बल नै गरेन । र, नरेन पछाडी बसेकोवीरसिंले पनि अचम्म मानेन ।
‘‘लु केटा तँ पनि भाग्यमनी रछस् । बाटो तेरो घरअगाडीबाट गयो ।अब तेरो जग्गाको भाउ हेर् कस्तरी बढ्छ ।’’ ऊ लगातार आफ्नै बारीलाई हेरिरहेको थियो । वीरसिं बाइकबाट अझै उत्रिएको थिएन । ऊभित्रको चिसो तर वीरसिंले महशुस गर्नसक्थ्यो । ‘‘अब यहाँ ढुस् लगाओ । माटो बग्दैन । हुर्केपछि घाँस पनि हुन्छ । अब डिपिआरको काम गरेपछि सबैजनालाई ढुक्क ।’’ अलि परबाट माया घाँसको भारी बोकेर नयाँ अनि लामो गोरेटोबाट गोठतिर गइन् ।
¤ ¤ ¤
गाउँभरिका अलैँचीहरु यो साल सुकेका थिए । ‘‘तिमेर्का सलक्पुरे, झार्लाङ्ग, सिक्किमे केहि पनि थाम्दैन हौ ।’’ गाउँमा अलैँची नरोप्ने एकमात्र राई माइलाले बाटो छेउको अलैँची हेर्दै भने । ‘‘जसै गरेपनि उत्तिसको सेप चाहिन्छ के त्यल्लेलाई । भनेको मान्दैनौ तिमेरु । त्यसको प्रेम भनेकै उत्तिसको छहारी हो ।’’
‘‘अनि बाबै तिम्रो छहारीले चैँ कति मन अलैँची फलाइयो हौ जमानामा ?’’ भुपालले थप्यो ।
‘‘जाँ… ।’’ एक लहर हाँसोको फोहरा उर्लियो । ‘‘तिमीहरु जस्तो हो अलैँचीमा देब्रे हात मच्चाउँदै हिँड्ने ?’’ हाँसोको आर्को लहर पनि छुट्यो ।
‘‘हाम्रो त दाहिने हौ बाबै ।’’ भुपालहरु फेरी छिल्लिए । ‘‘देब्रे त काउकुती लागेर नसकिदोँ रछ नी ।’’ हाँसो अझ ज्यादा बढ्यो ।
‘‘अनि त्यहि हातले भात खान्छस् ?’’ राई माइला बाहेक सबैजना हाँसिरहेका थिए ।
‘‘ओ बाङ्गा ।’’ कसैले टाढाबाट आवाज दिदैँ थियो । सबैजनाले आवाज आएतिर हेरे ।
‘‘हओ, ठुले खाड्नी हौ ?’’रविमानलाई सबजनाले चिने ।
‘‘बजारतिर हौ ।’’
‘‘अनि दाजु, हामी पनि जान्थ्यौँ त हाओ ।’’ भुपाल चिच्यायो ।
‘‘अलि काम छ हौ भाइ । भरे माथि बजारतिर भेटुम् न है ।’’
‘‘साँची एमआरपी आयो रे है दाजु ।’’
‘‘ए…! भरै सल्लाह गरुम् न ल ।’’
बगानका बगान अलैँचीहरु पारी गाउँका डाँडाहरुमा खैरो देखिन्थे । अनि त्यसैको छेउभित्ता नयाँ सडकले उधिनेका माटोका थुप्रोहरु देखिन्थे । मझुवा, तल्लो गाउँ, वरडाँडा सिँचाई गर्ने कुलो छेउघरेको घरछेउ घुम्तीमा भत्किसकेको थियो । उत्तिस, चिलाउने, मलातो, इस्कुस, अम्लिसोका जराहरु बाटो छेउ पसारिएका थिए ।
¤ ¤ ¤
जेठको दोस्रो सातातिर बाटो विस्तारको काम मझुवा पुगेर रोकियो । मंगलबहादुर लगायतको सानो समुहले मझुवा बजार संघर्ष समिति बनाएर विरोध गरेको केहि दिनमा विजयले पनि विरोध बढि भएको र आफ्नो जनधनको सुरक्षाको ग्यारेन्टी नभएर काम रोकेको भनेर बताउन थाल्यो । तर छुटाइएको पेश्की र सम्पुर्ण बजेट बढाउन लगाएको तर पालिका नमानेको हल्ला पनि सुनिन्थ्यो ।असारसम्म पनि काम अगाडी बढेन । त्यहि महिना मंगलबहादुरसम्मिलित संघर्ष समितिले वीरसिं र उपभोक्ता समितिलाई भ्रष्टचार विरुद्ध मुद्धा लगायो ।गाउँ अचानक चर्चामा आयो ।
¤ ¤ ¤
एकाबिहानै ट्वाइलेट गएको माया आत्तिएर आएपछि रविमानलाई निन्द्राले छाड्यो ।
‘‘पापा बाहिर आउनु त ।’’ ढोकाबाट आत्तिँदै उनले रविमानलाई बोलाइन् । उनको आत्तिएको मुहार देखेपछि ऊ आफ्नो ट्राउजर लगाएर बाहिर निस्कियो । केहि हराएको थियो । आफ्नो सानो गुलाबी छाता ओडेर खुशी केहि एकोहोरो हेरिरहेकी थिई । घर तल्तिरको बाटो छेउको भित्ता पहिरो बनिसकेको थियो । विक्रम, राई माइला पहिरो छेउ उभिएर पहिरोको गहिराईलाई हेरिरहेका थिए । पहिरोले उसको ट्वाइलेट तानिसकेको थियो । उसले एकपटक मायातिर हेरयो । राई माइलाहरु उसको आँखाको लाचारी पढ्न सक्थ्यो ।
‘‘बारी पनि सप्पै पहिरो नै पहिरो भको छ ।’’ अचानक, कसले बोलेको उसले महशुष गर्न छाड्यो । ऊ केहि बोलेन बस निकै परको क्षितिजतिर हेरेर टोलायो ।
¤ ¤ ¤
भ्रष्टचारको आरोपपछि वीरसिं पत्रिका अनि सोसियल मिडियामा भाइरल भएको थियो ।शेयर भएको पोस्टमा गाली, बचाव सबै खालका प्रतिक्रियाहरु थिए । राष्ट्रिय दैनिकका नाम चलेका पत्रकारले एकदिन उसलाई फोन गरे ।उसको जवाफ थियो ।
‘‘यो अरु केहि हैन, वहाँ अर्को दलको मान्छे हो त्यहि भएर भइरहेको विकासलाई देख्न नसक्नु भको हो ।सर्वदलिय बैठकमा पनि वहाँलाई बोलाको हो । उठेर जानुभो ।उपभोक्ता समितिमा वहाँलाई नअटाएपछि वहाँ राजनिति गर्न थाल्नुभको हो । वहाँको घर सदरमुकाममा छ । गाउँमा मान्छेहरु अबको लागि ठाउँमा आउँछन्, केन्द्रमा हुन्छन् भनेर वहाँलाई लागेको चिन्ता हो । अब तपाईँहरु मिडियावालाले यस्ता कुराहरुलाई चिर्नुपरयो । यस्तो अहिले पनि त्यहि केन्द्रिकृत मानसिकताको शासन गरेर हुन्छ ? देशको संविधानलाई वहाँ नमान्ने ? जनताको भावनालाई नमान्ने ? वहाँ जस्तो राष्ट्रियता विरोधी को छ ?’’

तपाईको प्रतिक्रिया