रमेश के.सी.
अमेरिकी राणनीतिकार रोबर्ट काप्लानले विश्व राजनीतिमा भुगोल फेरि उन्नाईसौ शताब्दीमा जस्तै गरेर फर्किएको आकलन गरेका छन । “रिभेन्ज अफ जीयोग्राफी” आलेखमा विश्व भूराजनीतिको आकलन गर्दै उनले एसियामा विश्व शक्तिहरुको प्रतिस्पर्धा शुरु भएको बताएका छन ।

यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । नेपाल, चीन र भारत दुई उदाउँदा महाशक्तिहरु बीच रहेको मुलुक हो । यी शक्तिहरुको प्रतिस्पर्धा नेपालको आन्तरिक, वैदेशिक राजनीतिमा मात्र होइन कि सम्पूर्ण राष्ट्रको अवयवहरुमा पर्ने गर्छ ।

यसै क्रममा पत्रकार संजय उपाध्याको “ब्याकफायर इन नेपाल हाउ इन्डिया लस्ट द प्लट टु चाईना” भन्ने पुस्तकले यही भूराजनीतिको आन्तरिक कथा भनेको छ । विशेष गरेर २०६२–०६३ को जन आन्दोलन, राजतन्त्रको उन्मुलन, धर्म निरपेक्षताको घोषणा र संघीयताको लागु भएसँगैको नयाँ नेपालको परिवेशलाई उजागर गर्दछ ।

के भारतद्वारा पहल गरिएको १२ बुँदे सम्झौता उपलब्धीमुलक रहयो ? नेपालको आन्तरिक राजनीति मीलाउने भारतको मनसाय योजना अनुरुप रहयो ? माओवादी विद्रोहको औचित्य अहिले स्थापीत हुन्छ कि हुदैन ? नेपाल योजनामा भारत–चीनले के के गरे ? अमेरिका युरोपको मनसाय के थियो ? आदि इत्यादी विषयहरुमा परख गरिएको यो पुस्तक नेपाल मामलामा जानकारी राख्ने सबैलाई रोचक लाग्दछ ।

२०४६ सालको परिवर्तन पश्चात नेपाल संवैधानिक राजतन्त्र र संसदीय व्यवस्थाको मार्गमा उन्मुख थियो तर यो परिवर्तनको ६ वर्ष पछि माओवादी जनयुद्धको शुरुवात भयो । १७ हजारले ज्यान गुमाएको यो १० वर्षे विद्रोहलाई टुंगोमा पुरयाउने कार्यमा भारतले कडा मीहीनेत गरेको भारतका पूर्व पराराष्ट्र सचिव एवं नेपालका लागि राजदुत श्याम शरणले स्विकारेको उल्लेख गरेका छन ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले नेपालका माओवादीलाई शान्ति सम्झौतामा ल्याउन भारतको भुमिका रहेको अलजजीरा टेलिभीजनमा बताएका थिए । के भारतको नेपालमा प्रजातन्त्र प्रवर्द्धन योजना सफल भयो त ? शान्ति सम्झौता पछिका वर्षहरुमा उत्तरी छिमेकी चीनले खेलेको भुमिकाका विषयमा उनले सविस्तार बताएका छन् ।

चीनको नेपाल नीति राष्ट्रिय स्वार्थ र लामो योजनामा आधारित रहेको लेखकको ठम्याई छ । २४० वर्ष लामो इतिहास भएको राजतन्त्रको उन्मुलन आन्दोलनको अन्तिम चरणमा गर्न माओवादीको दवावमा सबै दलहरु सहमत भए पनि यो कुरा विवादास्पद र रहस्यमय नै छ ।

भारतसँगको धार्मिक र साँस्कृतिक सम्बन्धमा बाँधिएको तात्कालिन नेपालको हिन्दु राजतन्त्रले बेलाबेला भारतको विरुद्ध चीनीया कार्ड खेल्ने गरेको उनले बताएका छन । त्यस्तै कार्ड राजा ज्ञानेन्द्रले ढाका सार्क सम्मेलनमा चीनलाई सार्कको सदस्यमा ल्याउनु पर्ने भनी खेलेका थिए । जसबाट भारत चिढियो । उनले भारतको राजनीतिक नेतृत्व र गुप्तचर विभाग रअ राजाप्रति कठोर भए पनि सेना र आन्तरिक खुफिया नरहेको खुलासा गरेका छन् ।

६२-६३ को परिवर्तन नेपालका २००७ साल र ०४६ सालको परिवर्तन जस्तै भारतको उत्प्रेरणामा आएको स्पष्ट छ । तर अमेरिकीे सामाज्यवाद भन्दा अगाडि भारतीय विस्तारवादको विरोध गर्ने माओवादीलाई मूल धारामा ल्याएर के उपलब्धी हाँसील गरयो त ? लेखाजोखा उनले गरेकाछ्न।

भारतीय माओवादी जस्तै नेपालका माओवादीको क्रान्तिको सफलताले त्यहाँ नकारात्मक सन्देश जाने थियो । तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिहले भारतको माओवादी आन्दोलन राष्ट्रका लागि सबैभन्दा ठूलो सुरक्षा चुनौती भएको बताइसकेका थिए । भारतीय माओवादीको दमन गर्ने भारतीय संस्थापन पक्ष भने नेपालका माओवादी सँग सहकार्य गर्न पुगे ।

यसको पेचीलो भूराजनीतिलाई उनले सविस्तार व्याख्या गरेका छन । प्रसिद्ध भारतीय पत्रकार एम.जे. अकबरले भनेका छन् कि तात्कालिन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफ नेपालको प्रधानमन्त्री भए पनि उनी भारत परस्त हुनपर्छ । यसले केहि हदसम्म नेपालको भूराजनीतिक बाध्यता र जटिलतालाई इंगित गर्दछ ।

के भारतनीसृत परिवर्तनहरु दिन नेपालमा दिगो भएन ? सात सालपछि किन ०१७ सालमा महेन्द्रले कदम चाले ? ०४६सालको प्रजातान्त्रीक परिवर्तन पश्चात माओवादी जनयुद्ध शुरु भयो ? २०६२-०६३ को परिवर्तन पश्चात किन भारत नेपाल गुमेको महसुस गर्दैछ ?

नेपाल विज्ञ अमेरिकी राजनीति शास्त्री लियो रोजले नेपाल जहिले पनि बाँच्नुको रणनीतिमा रहेको भन्ने पुस्तक लेखेका छन । नेपालको कुटनीतिको प्राचीनकालदेखि आधुनिक कालसम्मको फेरिहस्त दिने उक्त पुस्तकका आशयहरु अहिलेपनि समसामयीक र सान्दर्भिक छन ।

के.पि.ओलीको नेतृत्वमा बनेको सरकारमा आन्तरिक किचलोले स्थान पाउँदा किन वर्तमान चीनीया राजदुत सक्रिय भईन । र के चीन नेपालको माइक्रो म्यानेज्मेन्टमा लागेको हो त ?

नयाँ संविधानको घोषणा पश्चात भारतले गरेको नाकाबन्दी प्रत्युपादक रहयो । त्यसलाई भारतका विपक्षीहरुले नेपाल चीनको पोल्टामा गएको भनी टिप्पणी गरे । नेपाललाई मिलाउने भारतीय राजनीति किन अमेरिकाको प्रजातन्त्र विस्तारको राजनीति जस्तै असफल हुँदै गएको छ ? भीयतनाम, इराक र अफगानीस्तानमा किन अमेरिकाले भने जस्तो समाज सीर्जना गर्न सकेन ?

भारतको नेपाल नीतिको कमजोर पक्ष नेपालको आन्तरिक मामलामा हस्तक्षेप हो भनी भन्नेहरु पनि छन । बेलायती उपनिवेशबाट मुक्त भारतले सन १९४७ देखि यता नेपाल व्यवस्थापनमा यथोचित सफलता हाँसील गर्न नसकेको साचो हो।

चीनका लागि नेपाल तीब्बत मामीला पेचीलो प्रश्न हो । करिब १२ हजार तिब्बती शरणार्थीहरु भएको नेपालमा पश्चिमाहरु चीनलाई घेर्ने रणनीति अन्तर्गत यो मुद्दा नेपालमा जिवित राख्न चाहन्छन । खम्पा विद्रोह जो नेपालको मुस्ताङ जिल्लाबाट अमेरिकी गुप्तचर संस्था सीआइएको सहयोगमा विगतमा भएको थियो, त्यो चीनीयाँहरुको स्मृतिमा ताजै छ । यसर्थ तिब्बती प्रश्नमा नेपाल हदैसम्मको संवेदनशील होओस भन्ने चाहना छ चीनको ।

के.पी.ओली दोस्रो पल्ट प्रधानमन्त्री भएपछि सन् २०१९ मा चीनीया राष्ट्रपति सी जिनपीङ्गको नेपाल भ्रमण २३ वर्षपछि भयो । यो भ्रमणका दौरान चीनले नेपाल चीन सम्बन्ध रणनीतिक भएको बतायो । चीनको बेल्ट एण्ड रोड अभियानमा नेपालले सहभागीता जनाएको छ भने भारतले सहभागीता जनाएको छैन ।

त्यसपछि नेपाल चीन सम्बन्धले नयाँ आयाम पाउन थाल्यो । सी विचारधारामा सत्तारुढ दलका नेता प्रशिक्षीत भए । नेकपाको विभाजन पछि चीनीयाँ कम्युनिष्ट पार्टीको प्रतिनिधी मण्डल उनीहरुलाई मीलाउन काठमाडौ उत्रियो ।

राजतन्त्रका बेला चीनले नेपालका राजालाई स्थायी मीत्र ठान्दथ्यो । तर राजतन्त्र नरहेपछि नेकपालाई त्यस्तै मीत्र बनाउन लागिपरेको सन्देश गएको छ । अमेरिकी परियोजना एमसीसी पारित गर्ने विषयमा नेकपा भित्रै मतभेद देखियो । इण्डो प्यासीफीक रणनीतिमा नेपाल संलग्न भएको कुरा प्रकाशमा आयो । यसै बीच कालापानी र लीपुलेकको भुभागका विषयमा नेपालले नक्सा संसदबाट पारित गरेपछि भारतसँग नक्सा युद्ध नै देखियो । यसर्थ अहिले संसद विघटन पछि पुनस्थापना भएको समय अवधिबीच भारतीय उच्च अधिकारीहरुले नेपालको भ्रमण गरे ।

नेपाल अब अमेरिका , चीन र भारतको रणनीतिक राडारमा प्रवेश गरीसकेको छ । यसबाट सहज व्यवस्थापन गरेर निकास निकाल्नुपर्ने छ । नेपालको रणनीतिक चातुर्य चेपुवाबाट उम्कनु हुनेछ । यीनै रणनीतिक चेपुवा र आन्तरकि राजनीतिको उथल पुथललाई लेखक उपाध्याले लेखेका छ्न ।

सन् ६० सम्म यस हिमालय क्षेत्रमा ४ वटा चार वटा राजतन्त्र थिए । ती भुटान, सिक्किम ,तीब्बत र नेपाल हुन । ती मध्ये तिब्बत सन् १९५९ मा चीनले कब्जा गरयो, सिक्किम भारतमा जनमत संग्रह मार्फत विलय भयो र भुटान सन् १९४९ को संझौता मार्फत भारतको अधिनस्थ राष्ट्र बन्यो भने नेपाल राजतन्त्रको उनमुलन संगै गणतन्त्रमा प्रवेश गरयो । हिमाली क्षेत्रका यी साना राष्ट्रहरुको कथा हिमालय महाखेलले भरीएको छ । यहि महाखेलको एउटा विवरण हो यो पुस्तक ।

किताब : ब्याकफायर इन नेपाल
लेखक : संजय उपाध्याय
प्रकाशक : भीटास्टा
मूल्य : ४९५ भारु
पेज : २७५

तपाईको प्रतिक्रिया