पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा भोलि २७ गते सोमबार मतदान हुने तय भएको थियो ।

मुख्यमन्त्री गुरुङले केही बेरअघिमात्र प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुख पौडेलले हालसम्म मुख्यमन्त्री गुरुङको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले गरेका कामका लागि धन्यवाद दिएकी छन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी छन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि सरकारले बैशाख १ को मध्यरातिबाटै चालु हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो । अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाएका थिए । अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालीन स्थगीत गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो । उनले राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया