हिरादेबी लामा

आमा शब्द नै कति ओजिलो छ। एकछिन सबथोक छोडेर यो शब्दमा घोत्लिनुस त मन यसै यसै भरीएर आउँछ। गह्रौ भएरआउँछ। जरुवामा पानी रसाएझैँ रसाउँछन आँखाहरु। एकैपटक धेरै संवेदनाहरु सल्बलाउँछन छातीभित्र । कतै खुशीको ज्वारभाटा उठेको हो कि जस्तो ! कतै सुदुर सम्झना बल्झिएको होकि जस्तो! कतै नेपथ्यमा बसेर हाम्रो हरेक क्षण नियाली रहने आमाप्रतिको विम्व सल्बलाएको होकि ! त्यो चित्र सजिव भएको होकि भन्ने भान हुन्छ । एउटा नोस्टाल्जियाले छोप्छ सर्लक्कै।

आज पनि म मेरी आमाको नजिक छैन। मेरा औंलाहरु किबोर्डमा यस बेला दौडिदै गर्दा आमा परदेशमा हुनुहुन्छ। म घरदेशमा छु। हामी बीचको भौतिक दुरी जति टाढाको छ,त्यती कम दुरी आत्मीयताको छ। प्रेमको छ। स्नेहको छ। मसँग आमासँगको मिठा सम्झनाहरु छन्। नमिठा सम्झनाहरु छन्। सम्झन लायक, बिर्सन लायक सबै सबै छन्।

बिबाह गर्दा जम्मा चौध बर्षकि हुनुहुन्थ्यो रे मेरी आमा । तीन दाजुहरु पछि जन्मीएकी मेरी आमा । अभाव र अप्ठ्याराहरुको अक्करे भिरमा फुलेको एउटा पहाडी फुल। एउटा भुइँफुल। एउटा जंगली फुल । मेरी आमा चौध बर्षको उमेरमा बाल बिबाह गरी बाईस जनाको संयुक्त परीवारमा घर गरिखान पठाइनु भएकी । मेरीआमाको खेल्ने साथी जेठो ठुलोबुबा आमाको जेठाजुको पहिलो सन्तान हुनुहुन्थ्यो रे।

म अनुमान लगाउन सक्छु, बतासको झोंका महसुस गर्ने, सिमलको भुवा जस्तो यताउता मन भौतरीने, चंचलता ओठमा खिल्खिलाउने समयमै मेरी आमा परीबन्धमा परीसक्नु भएको थिएछ । स्वप्निल आँखाहरुमा जिम्मेवारीले लगाम लगाइसकेको रहेछ।

आमा सत्र बर्षको हुनुहुँदा म जन्मिएकि हुँ रे। अहिले म आफैं मिड ट्वान्टीतिर छु। कहिलेकाहीँ म पुराना फोटो एल्बमहरुमा घन्टौं बरालिन्छु। तस्बिरमा आमाको अनुहारको भावहरु कौतुहलतापुर्बक नियाल्छु। यतिबेला आमा यस्तो सोच्दै पो हुनुहुन्थ्यो कि भनी कल्पना गर्छु । म एक्लै फिस्स मुस्कुराउँछु।यसरी फोटो एल्बम चहारीरहदाँ मेरा आँखाहरु जहिल्यै आमाको एउटा फोटोमा गएर टक्क अल्झिन्छ ।

गुलाबी रङ्गको कुर्ता सलवार। अग्लो सर्लक परेको ज्यान। दुई चुल्ठो बाटेको बाक्लो लामो, कालो कपाल। मुस्कुराएको होकि ! लजाएको होकि ! जस्तोअनुहारको भावभङ्गी। म जन्मिनु अघिकै होला त्यो तस्बिर। समयसँगै मधुरो हुँदै गएको त्यो तस्बिरमा म मेरी आमाको जिन्दगीको गाढा रङ्ग देख्छु। सायद त्यो तस्बिर खिछे पछिको पछिल्लो समयहरुमा मेरी आमाको जिन्दगीमा बिरलै मुस्कुराहटहरुले ठाँउ पाए होलान् ।

मुलघरमा आमाहरुको अंशबन्डा हुँदै गरेको दिन म जन्मिएको थिएँ रे, मुसलधारे वर्षातसँङ्गै । त्यो भागबन्डा भैरहेको दिन सायद म आमाको भागमा प्रसव पिडाले दिने सकस भएर थपिन आइपुगेको थिएँ। मुसलधारे वर्षातसँगै आँसु बन्न आइपुगेको थिएँ ।

सानै उमेरमा बिहे हुनु । आमा बन्नुले मेरी आमालाई कति नाजुक बनायो होला। कति निरीह बनायो होला भनेर म अहिले अनुमान मात्रै गर्न सक्छु। आमा भन्नुहुन्थ्यो – म सानो सानो कुराहरूमा रुन्थे रे । सानै उमेरको भएर अरु जेठानी देउरानीहरुले जस्तो गह्रौं भारी बोक्न सक्दिन थिएँ रे । धेरै काम गर्न सक्दिन थिएँ रे ।

जेठाजुहरु कोहि लाहुरे कोहि सरकारी जागिरे । तेरो बुबाको केही थिएन। केटाकेटी उमेरको थियो। मैले त पढ्न पनि पाइन। सानो सानो आवश्यकता पुर्ती गर्न पनि म माइत जान्थेँ भन्थिन ।

मैले यो संसारलाई बोध गर्न थाले देखि नै हो, आमालाई पनि हेर्ने, सुन्ने र बुझ्ने चेस्टा गरेको।

अँध्यारा भोगाइहरुले होला मेरि आमाको आँखामा उज्यालोको भोक चम्किरहेको देख्थेँ म । खुम्चिदाँ खुम्चिदाँ कुँजिन लागेका गोडाहरु एउटा लामो दौडमा स्वतन्त्र निस्किन खोजिरहेका जस्तो लाग्थ्यो। संस्कारको नाममा पितृसत्तात्मक समाजले थुनेको आवाज यो समाजलाई चुनौती दिनेगरि चिच्याउँदै बाहिर निस्किन छटपटाइरहेको जस्तो लाग्थ्यो।

म तीन चारबर्षको हुँदा बा आमाले दुखको उकाली ओरालीहरुलाई भञ्ज्याङ्हरुमा बिसाएर, दूधकोशिको बगरै बगर हिंडेर कोशी तर्नुभएको। सुख र सहजताको समथर फाँट पछ्याएर खोटाङबाट तराई झर्नुभएको। त्यतिन्जेल म मावली हजुरबुबा हजुरआमा संग बस्थेँ। मेरो ठुलो भाइ जन्मिसकेको थियो। पछि तराईमा घर बनिसकेपछि म मावली हजुरबुवाको पछि लागेर घर फर्किएको थिएँ। मलाई नयाँ ठाँउ, नयाँ परीवेश एकदम अनौठो र बिरानो लागेथ्यो। बस्ती एकदम पातलो थियो। खेल्ने साथीहरू थिएन । जताततै खुल्ला मैदान तर मन भने बाँधिएको जस्तो।

तराई झरीसके पछी आमाले खेप्नुपरेको दुख, अप्ठ्यारो, अन्याय, हिंसा सबै सबै नजिकबाट देखेको हो मैले। यति हुँदा पनि मेरीआमाले हार मानेको मैले कहिल्यै देखेको छैन।

तराई झरेपछी कान्छो भाइ जन्मियो। बुवा वैदेशिक रोजगारीको लागि परदेश लाग्नुभो । त्यसपछिको कठिन र कठोर दिनहरुमा मैले आमालाई सबैभन्दा नजिकबाट नियालेकोछु। निरीह भएर नियालेकोछु। घरलाई चाहिने खाँबोको लागि आमाले जङ्गलबाट बोकि ल्याउनु भएको रुखले पिल्सिएको काँधको छाला देखेर म आफू कहिले ठुलो हुन्छु होला भन्ने लाग्थ्यो।आमाको दुख ओकेल्ने सुस्केराले मेरो बेचैनी बढ्थ्यो। ठुलो मान्छे हुने हुटहुटी हुन्थ्यो।

खेत जोत्ने खेताला नभेटिदा आमा आफैं हलोजुवा नारेर चक्कर लागुन्जेल खेत जोत्नुहुन्थ्यो। मकै छर्ने सिजनमा आमाको हलो पछिपछि म घोप्टो परेर एकोहोरो बीउ खसाल्थेँ।बीउ छरी सकेर मेलोबाट निस्किने बेला मलाई चक्कर लाग्थ्यो।आमाको हातमा हलोको अनउले फोकाहरू उठाएर फुटिसकेका हुन्थे। तर अहिले म बुझ्छु आमाले हलो र जुवासङ्गै जिन्दगीका अनेकौं समस्याहरुलाई नारेर हाम्रो जिन्दगी सिंचित गरीरहनु भएको रहेछ। उर्वर बनाउनु भएकोरहेछ।

पछि आमा आफैं वैदेशिक रोजगारीमा जानुपर्ने अबस्था बन्यो।आमालाई पढ्न लेख्न आउदैन थियो। आफुले पढ्न लेख्न नपाएको भएर होला आमाभित्र हामीलाई सकेसम्म राम्रो पढाउने हुटहुटी थियो। त्यही हुटहुटिले डोर्‍याएर हुनुपर्छ पुस माघको शितलहरमा पनि आमा मलाई पिठ्युँमा बोकेर अर्को गाउँसम्म ट्युसन पढाउन लैजानु हुन्थ्यो। लिनआउनुहुन्थ्यो। परदेशी बुवालाई चिट्ठी लेख्ने र आएको चिट्ठी पढ्ने सक्षमता मैले दुई तीन कक्षामा हुँदै बिकास गरीसकेको थिएँ। यसमा आमाको मलाई आफैं पढ्न र लेख्न सक्षम बनाउने दृढताले धेरै भुमिका खेलेको थियो।

आमा परदेशिनु अघि हामीले आमालाई नेपाली र अङ्ग्रेजीमा आफ्नो नाम अनि ठेगाना लेख्न सक्ने बनायौँ। आमा खुशी हुनुहुन्थ्यो। उत्साहित हुनुहुन्थ्यो। मानौँ त्यती सिक्नुले उहाँको पखेटा लाग्दै थियो। स्वतन्त्र उडान भर्ने सपना पूरा हुँदै थियो ।आमासँगै जाने गाउँकै साथीहरू थिए। घरबाट धेरै टाढा दुई घन्टाको बजार पुगेर हतासिँदै फर्किने आमा, सात समुन्द्र पारी जान लाग्दा पनि अनुहारमा छुट्टै उत्साहको धर्साहरु कोरिएको देखेथेँ मैले।

सायद आमाले पहिलो पटक फराकिलो सपनाहरु देख्ने आड पाउनुभएको थियो । एउटा आजादी महसुस गर्नुभएको थियो।जिम्मेवारी बोक्दै गर्दा केही उत्साह र सपना सहित बाँच्ने अभिलाषा साँच्नु भएको थियो । र यसरी म कक्षा छ मा पढ्दै गर्दा आमालाई जिन्दगीले नयाँ सफरमा निकाल्यो। समयले मलाई आफ्नै भरोसा बन्न सिकायो।

आमा हामीलाई चिट्ठी लेखि रहनुहुन्थ्यो। चिट्ठीमा फोटोहरु आउँथे । आमालाई फोटोमा झनै राम्री देखेर हामी दङ्ग पर्थ्यौँ।भाइहरु मेरै अघि पछि हुन्थे । जता गए पनि पछ्याउने।हामीसँगै सँगै खेल्यौं, हुर्क्यौ साथीहरू जस्तो भयौं।

आज एक दशक भन्दा बढी समय भैसकेको छ। यो बीचमा धेरै उतार चढावहरु भए। तर सबैभन्दा सुन्दर कुरा मेरी आमाले बाँचीरह्नु भएको समयले कोल्टे फेरेकोछ। आमाको जिन्दगी गतिशील भएर कुदिरहेकोछ।

अहिले मैले स्नातकोत्तर सकिसकेकोछु। जागिर गर्छु। करीअर बनाउने दौडमा छु। भाइहरु स्नातक अन्तिम बर्षतिर छन्। बा आमा खुशीहुनुहुन्छ । अहिले पनि आमा उस्तै उर्जाशिल हुनुहुन्छ।

आमा आफना सपनाहरू मलाई सुनाउनुहुन्छ।रहरहरु पूरा गरेँ भन्नुहुन्छ। जिन्दगीमाआइपर्ने चुनौतीहरुलाई हिम्मतले जित्नुपर्छ भन्नुहुन्छ ।

सधैं मलाई भनिरहनु हुने आमालाई म भन्न चाहन्छु, आमा तिमी मेरो लागि वाइल्ड फ्ल्वार हौ, यो बाँकी जिन्दगी तिमी जसरी चाहन्छौँ, जिउँनु, मुस्कुराउनु , आफ्नै मर्जिमा असुलेर बाँच्नु, युगौँयुगको क्षतिपूर्ति, जसले तपाईंलाई सपनाहरू देख्न अंकुस लगाइरह्यो।

धेरै माया।

तपाईको प्रतिक्रिया