भानु बोखिमको रुमानी साँझ नामक कथा संग्रह प्रकाशित छ । अंग्रेजी साहित्य पढेका बोखिम पेशाले पत्रकार हुन् । उनी विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रममामा आवद्ध भएका छन् । हाल, कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ऐनामा आवद्ध उनले गैह्र सरकारी सँस्थाद्धारा उत्पादित रेडियो कार्यक्रमको लागि धेरै नाटक लेखेका छन् । साहित्यमा विशेषगरी आख्यानमा रुची राख्ने बोखिम लेखन पात्र र स्थानको मिहिन चित्रण गर्ने खालको हुन्छ । उनी अखबारी लेखनमा पनि उत्तिकै सक्रिय छन् । प्रस्तुत छ हङकङ खबरले आख्यान लेखनको सेरोफेरोमा रहेर गरेको कुराकानी ।

हाल के मा व्यस्त हुनुहुन्छ ?

नियमित कामहरु नै हो । अहिले कोरोना महामारीको कारण घरमै बसेर अफिसको काम गर्नु परेको छ । दिनको सयम अफिसको काममा ब्यस्त हुन्छ । भर्खरै एउटा उपन्यास लेखेर सकेको छु । सायद, महामारी साम्य भयो भने यो उपन्यासले बजारमा आउने अवसर पाउँछ होला ।

बिषेशगरि तपाईंको कथाहरुले सामाजिक न्यायमा जोड दिईएको पाईन्छ नेपालको बर्तमान सामाजिक परिवेशलाई कसरी हेर्नुहुन्छ ?

म लेख्दै गर्दा सामाजिक न्यायकै लागि भनेर लेख्दिन । तर मानिसको पीडा र दु :खहरु देखिनुपर्छ भन्छु । देखिनको लागि लेखिनुपर्छ । मैले लेखेका कुरा कोरा कल्पना भन्दा पनि समाजमा आँखाले देखेका घटनालाई आधार बनाउने गर्छु ।

यसरी नियाल्दै गर्दा सामाजिक परिवेश द्धन्द्धरत देख्छु । बिविध जातजातिमा विभक्त हाम्रो समाजले लामो समयसम्म सामाजिक स्तरिकरणलाई मानेर बस्यो । तर अब मानिस जातको कारण कोही सानो ठुलो छैन भन्ने धारणा बढेर गएको छ ।

तर समाज स्तरिकरणको खुड्किलोमा उपल्लो तहमा रहेका कतिले यो कुरा स्वीकार्न मानेका छैनन् । तसर्थ अहिले द्धन्द्ध चलिरहेको छ । आशा छ यो द्धन्द्धलाई हामी सकरात्मक परिणामको निम्ति डोर्याउन सक्छौ ।

साहित्य लेखनमा युवापुस्ता माझ छुटेका कुराहरु के के हुन् जस्तो लाग्छ ? अथवा युवा लेखकहरुले अबको दिनमा कसरी आफुलाई अगाडि बढाउनुपर्छ ?

युवा पुस्ता धेरै हदसम्म स्वप्नदर्शी हुन्छ । उसले अंगालेको कुनैपनि क्षेत्रबाट सकेसम्म नाम र दाम मिलोस् भन्ने चाहना राख्छ । यो अस्वभाविक पनि हैन । यहि प्रवृति साहित्यमा लाग्ने कति युवामा देखिन्छ ।

यो सोच वा प्रवृति आफैमा खराब त हैन । तर यसले युवा लेखक समाजका गहन भन्दा हलुका वस्तु उठाउनुमा प्रेरित भइरहेका छन् । साथै अधिकांस लेखक जो युवामात्र होइन मा भद्रता होइन घमन्ड बढी देख्छु । घमन्ड आफैमा पर्खाल हो जस्तो लाग्छ । यो पर्खालले धेरैसंग सरसंगत गर्न रोक्छ ।

कतिको कुरै सुन्न चाहदैन । सरंसंगत रोकिनु भनेको वा अरुको कुरा नसुन्नु भनेको बुझाइ र ज्ञानको दायरालाई पनि सिमित पार्दै लग्नु हो । तर अबको युवा लेखकले आफुलाई सबैको कुरा सुन्ने र सबैसंग घुलमिल गराएर लग्नुपर्छ ।

हामी कहाँ पछिल्लो समय सिमान्तकृत स्वरहरु शक्तिशाली रुपमा आईरहेको छ तपाईंको यसप्रति के दुष्टिकोण रहेको छ । अबको दिनमा नेपाली साहित्यको केन्द्रमा यी बिषयमाथी कसरी बहस हुन जरुरी छ ?

लामो समयसम्म विजेताको इतिहास र उसले तय गरेको मानकमा जीवन बाँच्ने प्रचलन रह्यो । तर यो मान्यता विश्वब्यापी रुपमै भत्किदै गएको छ । कथा त हार्नेको पनि त हुन्छ । किनभने उसले पनि जीवन बाँचेको छ । उसको पनि सपना र चाहना छन् ।उसको जीवनशैली, सँस्कार र अभ्यासमा पनि उपयोगी दर्शन थियो । यो अर्थमा सिमान्तकृतको स्वर सुनिनुपर्छ । किनभने यी स्वरबाट समग्र समाजलाई काम लाग्ने विचार, ज्ञानहरु बाहिर आउँछन् । किनभने ब्यक्ति हार्न सक्छ तर हारेको ब्यक्तिमा पनि धेरै जीवनपयोगी चिजहरु हुन सक्छन् ।

त्यसैले अबका दिनमा यो देशका विभिन्न जातजातिका कथा, सँस्कार र अभ्यास पनि नेपाली साहित्यका विषयवस्तु हुन् भनेर बहस हुनुपर्छ । ताकि खास समुदाय वा जातिमा आधारित साहित्य चाहि नेपाली र बाँकि चाहि सामुदायिक र जातिय तथा क्षेत्रिय भनेर हेरिनुहुदैन ।

पाठकहरुको दृष्टि त एक सर्जकलाई हेर्ने आफ्नो ठाउँमा छदैछ तर लेखक आफैले चाहिँ कुन कुन बिषयमाथी आफुलाई सच्चाएर जानुपर्ला ?

मलाई के लाग्छ भने, लेखक मात्र हैन, जुन सुकै पेशामा आवद्ध भएकाले सबभन्दा पहिले आफु मानव हुँ र अरुलाई पनि मान्छेको दर्जा दिन्छु भनेर सोच्नुपर्छ जस्तो लाग्छ ।

अब एउटा लेखकमा राम्रो लेख्ने शिप भएर मात्र हुदैन । उसले अन्य मानिसलाई जाति, क्षेत्र र लिंगको आधारमा कति फराकिलो सोच राख्छ भनेर हेर्ने दिनहरु पनि आएको छ । अन्यथा त्यो लेखक कुनैपनि बेला ढोंगीको अवतारमा देखिन सक्छ ।

र कुनैपनि क्षेत्रका ढोंगीलाई अब पत्याउने दिन सकिदै गएका छन् । तसर्थ लेखकले आफ्नो लेखन शिल्प सुधार्ने र ज्ञानको दायरा फराकिलो बनाउने काम त गर्नुपर्छ नै । साथै, मानवता, समानता र सभ्यपनको कुरालाई पनि एक लेखकले बरोबर ध्यानदिनु पर्छ ।

यो समय विविधतायुक्त स्वरको उपिस्थिति बढ्दै गईरहेको सन्दर्भमा नेपाली कथा लेखन बिधाले अबको दिनमा बोक्नुपर्ने सन्देश के हो ?

म ठ्याक्क सन्देश यहि हुनुपर्छ त भन्दिन । तर लामो समय जुन समुदायलाई आधार मानेर साहित्य सृजना गरियो, त्यसको इतर पक्षलाई समेटर कथाहरु लेखिनु पर्छ । त्यसो गर्दा फरक दर्शन, अभ्यास र सँस्कृतिको कुराहरु आउँछन् । यसले पाठकलाई फरक ज्ञान दिन्छ । साथै यसले हाम्रो विविधायुक्त समाजलाई सही ढंगले बुझ्ने मौका दिन्छ ।

समाजलाई सहि ढंगले बुझियो भने,हाम्रो दृष्टिकोण पनि त्यही अनुरुप निर्माण हुन्छन् । नत्र त हामी धेरै अर्को समुदाय अनि अर्को भुगोल र क्षेत्रप्रति पुर्वाग्राह पालेर बसेका छौ । तर हामीले अर्को समुदाय वा क्षेत्रको सबल पक्षचाहि बुझ्नु आवश्यक छ ।

कथाले बिचार बोक्नुपर्छ कि पर्दैन यसरी हेर्दा आफ्ना कथा र कथाका पात्रहरुलाई कहाँ देख्नुहुन्छ ?

कथाले बिचार बोक्नैपर्छ भन्दिन । तर विचार बोकेर पनि केही बिग्रीदैन । विचार बोकेको कथा कुनै राजनीतिज्ञले लेखेको लेख वा निवन्ध जस्तोचाहि हुनुहुदैन ।

मैले विचारलाई आधार मानेर एउटा कथा लेखे – हिउ परेको दिन । यो कथा मार्क्सवादको कसीमा रहेर लेखेको हो । प्रेमको सन्दर्भ देखाएर तल्लो वर्गले माथिल्लो वर्गसंग वा आफुमाथि अधिपत्य जमाउन खोज्ने माथि साठगाठ गर्नु हुदैन भन्ने यसको सन्देश थियो ।

तर मलाई नै थाहा छैन कि कथा मार्फत सन्देश कति स्पष्ट पार्ने सकेँ । मेरो अन्य कथामा पनि सिमान्तकृत र दुर्गममा बस्नेहरुको कथा समेटेको छु । म आफै दुर्गम ठाउँ ताप्लेजुङमा जन्मिएको हुँ । साथै, कामको क्रममा मैले यो देशको अन्य दुर्गम ठाउँमा पुगे अनि त्यहाँको पीडादायी जीवन देखे । यात्राका क्रममा देखिएका कति मान्छेहरु कुनै न कुनै रुपमा मेरा कथामा पात्रको रुपमा आएकापनि छन् ।

साहित्यमा लेखकहरुको उपस्थितिलाई कसरी बुझ्न जरुरी छ ?

यसमा मेरो बडो सामान्य बुझाई छ । पत्रकार विजय कुमार पाण्डेसंग एक समय काम गरे । त्यो बेला वहाँ भन्नुहुन्थ्यो – दुनियामा मान्छे त्यो बेला खुशी हुन्छ जुन बेला उसले आफुलाई अभिव्यक्त गराउँछ । फरक यति हो कि मानिसको आनिबानी, शिप, शैली र दक्षता अनुसार फरक फरक तरिकाले अभिव्यक्त गराउँछन् । यो काम नेताले भाषण गरेर गर्ला, कविले कविता लेखेर गर्ला, इञ्जिनीयर त्यहि तरिकाले गर्ला । त्यसैले साहित्य एउटा प्लेटफर्म हो जुन ठाउँमा लेखकले आफुलाई अभिब्यक्त गराएका हुन् ।

निश्चय नै, अभिव्यक्त हुदा आफ्नो सोच, चिन्तन, स्वार्थ पोखिने हुन् । कसैले दर्शन, सिद्धान्तको लेप लगाएर ठुलो कुरा गर्छ भने केवल त्यो ढोंग हो । तर कतिपय क्षेत्र यस्ता हुन्छन्, जहाँ ब्यक्तिको उपस्थितिले समाजलाई योगदान मिल्छ, जस्तो कि साहित्य ।

आजको दिनमा आदिवासी साहित्य नेपाली साहित्यको केन्द्रमा कहाँनेर छ ?

मैले यसको गहिरो अध्ययन वा कुनै औपचारिक अध्ययन गरेको छैन । तर मेरो सामान्य बुझाई र अवलोकनमा आदिवासी साहित्य केन्द्रदेखि अझै धेरै पर छ । तर खुशीको कुरो आदिवासीको विषयवस्तुमा लेखिन थालेका छन् । आदिवासी इतरका लेखकले पनि यस्ता बिषयमा कलम चाल्नु अझ खुशीको कुरो हो ।

तपाईंलाई यस्तो लाग्दैन ? लेखक एकातिर तर पाठकको रुचि अर्कोतिर ? जस्तोकी हामी यो बर्षको सर्वाधिक बिक्री भएको किताब भन्छौ तर त्यो किताबको बिक्री दर हेर्ने हो भने त्यस्तो हुन्न जसरी प्रमुख अखबारमा आईरहेका हुन्छन् , यसमा तपाईको दुष्टिकोण के छ ?

लेखक र पाठकको रुची र तादम्यता अलि जटिल कुरो छ । तर तपाइको प्रश्नको उत्तरमा भन्दाचाहि यो अलिअलि पत्रकारिताको पनि बेइज्जत हो । अनि अलिबढि प्रकाशकको बजारमा प्रभाव जमाउने रणनीति हो । प्रकाशकको रणनीतिमा लेखक त सहभागी हुने नै भयो । पत्रकार फिल्डमा गएर बुझ्दैन, कुनै सर्भे गर्दैन तर भन्छ कि यो पुस्तक सर्वाधिक रुचाइएको छ । यो पत्रकारिताको दुरपयोग हैन र र? यसले पाठकको रुचि र लेखकको दावी दुवैलाई वास्तविक ठहर्याउँदैन ।
साहित्यले सही अर्थमा बोक्नुपर्ने दर्शन के हो ?

म लेख्दा कुनै खास दर्शन र सिद्धान्त समातेर लेख्दिन । बस्, कुनै कुरा उठाउनु पर्छ भनेपछि लेख्छु । चाहे त्यो अखबारी लेखन होस् वा साहित्यिक लेखन । त्यसैले दर्शन नै नभनेपनि, लेखकले उत्पिडीत, उपेक्षित र किनारामा पारिएको कथा, ब्यथा र समस्या उठाउनु पर्छ जस्तो लाग्छ । अब कम्युनिष्टले भए यो कुरालाई मार्क्सवादसंग लगेर जोड्थे होला तर म त्यो पनि भन्दिन ।

लेखकले आफ्नो लेखनमा छोड्न नहुने खास कुरा के हो ?

सायद मेरो अघिल्लो उत्तरले नै यसको उत्तर दिइसकेको छ जस्तो लाग्छ । सबैको उदेश्य समाजलाई समृद्ध, समुन्नत र सभ्य बनाउने नै हो । यसको लागि मानिसको दुख, पीडा र समस्याको सम्बोधन हुनुपर्छ । सम्बोधन हुनको लागि यी कुराहरु बाहिर आउनुपर्छ । यी समस्याको कारक तत्व र यसमा कुन मनोविज्ञानले काम गरेको छ भन्ने कुरा लेखकले आफ्नो सृजना मार्फत बाहिर ल्याउनु पर्छ ।

एउटा न्यायीक र प्रगतिशील समाज निर्माणको निम्ति कथाको कस्तो भूमिका रहेको हुन्छ ? अन्तर्राष्ट्रिय तहमा लेखिदै गरेको कथाहरुबीच हाम्रो कथा लेखन कहाँ पाउनुहुन्छ ?

कथाले भुमिका खेल्न सक्छ । तर कथा कसरी लेखियो भन्ने कुरामा भर पर्छ । सन्देश दिने नाममा कथा नेताको भाषण जस्तो लेखियो वा कथा लेखनकै नियम पालन गरेर पात्रको समस्या वा जीवनलाई मिहीन ढंगले केलाइयो ? यो कुराले भुमिका निर्धारण गर्छ ।

म एन्टन चेखभको भान्का कथा सम्झिरहन्छु । एउटा गरिब बालकको मनोदशा राम्ररी चित्रण गरिएको छ । सायद, यो कथा एउटा गरिबले पढ्यो भने विद्रोहो होला । धनीले पढ्यो भने हामीबाट कतै अन्याय त भइरहेको छैन भनेर महशुस होला । यो कुरा महत्वपुर्ण हो । सिधै पाठ पढाउन खोज्ने कथाले चाहि काम गर्दैन । तर मैले नेपाली र अन्तराष्ट्रिय कथाहरुको तुलनात्मक अध्ययन गरेको छैन ।

अब आउने कृति आख्यान हुन्छ कि गैर आख्यान हुन्छ ?

आख्यान नै हुन्छ । यो माओवादी युद्धमा संलग्न एक युवतीले देखेका सपना र उसले भोगेका दुख पीडामा आधारित छ ।

तपाईको प्रतिक्रिया