काठमाडौं । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले श्रीमानको मृत्युपछि बिधुवा भएर बाँचिरहेका महिलाहरूको जीवन अहिले पनि कष्टकर रहेको बताएकी छन् ।

श्रीमानको मृत्युको दोषी श्रीमतीलाई ठानेर श्रीमानको चितामा श्रीमतीलाई जिउँदै जलाउने सती प्रथा हटेको सय वर्ष बितिसक्दा पनि भावनात्मक रुपमा अहिले पनि लाखौं श्रीमतीहरू श्रीमानको मृत्युको भागेदार भइरहेको पराजुलीले बताइन् ।

‘महामारीमा एकल महिलाको सशक्तिकरण तथा संरक्षणमा प्राथमिकता’ भन्ने मूल नाराका साथ ११ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा मानवअधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर)ले जूममार्फत गरेको कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष पराजुलीले यस्तो बताएकी हुन् ।

जीवनसाथीको मृत्यु सबैका लागि अनपेक्षित नै हुने भन्दै अध्यक्ष पराजुलीले जस्तोसुकै पीडा हुने भए पनि सँगसँगै मर्न नसकिने र नमिल्ने भएकाले श्रीमानको मृत्युपछि भावनात्मक रुपमा एक्लै छु भन्ने नसोच्न सबै महिलाहरूलाई आग्रह गरिन् ।

मन्तव्यका क्रममा अध्यक्ष पराजुलीले एकल महिलाहरूलाई ढाडस दिँदै एउटा दृष्टान्त सुनाइन्, ‘कुनै एक परिवारको एउटा पुरुष वैदेशिक रोजागारीमा जान्छ, उसका दुई तीनजना छोरीछोरी हुन्छन्। ती छोराछोरीको लालनपालन श्रीमतीले गरिरहेकी हुन्छिन् । त्यस्तै अर्को घरमा पनि दुई तीन जना छोराछोरी छन्, त्यो घरकी महिला (आमा) पनि वैदेशिक रोजागारीमा छन् । अब यी दुई परिवारलाई तुलना गरेर हेर्नुस् त, कुन परिवार व्यवस्थित हुन्छ, स्वस्थ हुन्छ, कुन घरका केटाकेटी माया ममतामा हुर्किरहेका छन् ?’ जुन घरमा बाबु नभएर पनि आमा छन्, ती बच्चाहरू अभावका बीच पनि व्यवस्थित तरिकाले हुर्किने गरेको भन्दै सन्तानको रक्षा र भविष्यका लागि पनि महिलाले जिम्मेवारी भुल्न नसक्ने उनले स्मरण गराइन् ।

समाजको उपेक्षा, आर्थिक अभाव र हरेक विपन्नताका बीच बिधुवा महिलाहरूले आफ्ना बालबच्चाहरूलाई तितरबितर हुन दिएका छैनन् भन्दै पराजुलीले विशेष शक्ति, विशेष उर्जा र विशेष क्षमतासँगै आफूसँगै आफ्ना लालाबालाहरूको छहारी बन्नुपर्ने दायित्व निर्वाह गरिरहेका एकल महिलाहरूको प्रशंसा गरिन् ।

अचानोको पिर बन्चरोलाई थाहा नहुने भन्दै अध्यक्ष पराजुलीले आफ्ना अनि प्यारा जीवनसाथी गुमाएका महिलाहरूलाई सोकलाई शक्तिमा बदलेर जीवन बाँच्न पनि आग्रह गरिन् ।

समूहका संस्थापक अध्यक्ष लिली थापाले यो दिवस मनाउने भन्दा पनि स्मरण गराउने दिनको रुपमा रहेको भन्दै कोभिडका कारण मात्रै यो एक वर्षमा नेपालमा करिब चार हजार महिला बिधुवा हुनुपरेको बताइन् ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहका अध्यक्ष कुन्दा शर्माले विश्वका सबै विधुवा महिलाहरूको मानव अधिकारको संरक्षण गर्न यो दिवस मनाउन थालिएको जानकारी दिइन् ।

डब्लूएचआरका कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले कोरोना महामारीले विश्व नै आक्रान्त भएको बेला एकल महिलाहरू भने ‘कोभिड हिरो’का रुपमा समुदाय र राष्ट्रलाई नै सहयोग गरिरहेको बताइन् ।

विश्वमा अहिले २ अर्ब ५८ करोड महिला बिधुवा महिला रहेको भन्दै विपतका कारण विधवा हुने महिलाको संख्या बढ्दै गइरहेको श्रेष्ठले बताइन् ।

डब्लूएचआर कानुन विभागका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले अहिले कोभिड लागेर श्रीमानको मृत्यु भए त्यसको दोष श्रीमतीलाई ठान्ने गरिएका कारण विधुवा महिलाहरू पीडामा रहेको बताइन् ।

रायमाझीले नेपाल सरकारले एकल महिलाको अधिकार सुनिश्चितताका लागि गरेका प्रयासहरू निकै सह्रानीय रहेको भन्दै सरकारलाई धन्यवाद दिइन् ।

कार्यक्रमा कोभिडका कारण श्रीमान् गुमाएका महिलाहरूले श्रीमान् कोरोना संक्रमित भई मृत्यु भएपछि परिवार, अस्पताल र समाजबाट खेपेको अभाव, असहयोग र उपेक्षा बारे दुखेसो पोखेका थिए ।

यस वर्षको अन्तर्राष्ट्रिय एकल महिला दिवसको नारा ‘अदृश्य महिला, अदृश्य समस्या’ रहेको छ ।

तपाईको प्रतिक्रिया