चालिसको दशकमा नेपाली नाटक लेखनमा शक्तीशाली रुपमा उदाएकी शारदा सुब्बा नाटक स्क्रीप्ट लेखन बिधामा राम्रो लेख्ने स्क्रीप्ट राइटरहरु मध्ये एक हो । खासगरी आफ्नो नाटकहरुमा महिला पात्रहरुलाई शक्तीशाली रुपमा प्रस्तुत गर्दे आएकी शारदा सुब्बाको देउरालीमा एक थुँगा फुल (२०४१ )नभेटिएको बाटो (२०४२ )नीलो पीडा (२०४७ )दुखेका मान्छेहरु (२०४७) समानान्तर (२०४८ ) मञ्चन भइकेका छन् । यसैगरि अधोषित नीलो पीडा (२०५५ )यशोधरा (२०६३) गरि दुई नाट्यकृति प्रकाशित छ । उनले लेखेको स्क्रीप्ट अन्तहिन निर्देशक राजेन्द्र सलभ र सह निर्देशक नवीन सुब्बा रहेको टेली चलचित्र चालिसकै दशकमा चर्चीत थियो जसमा सुर्यमाला र सरोज खनालले अभिनय गरेका थिए । प्रस्तुत छ लेखन यात्राका स्मृति र नाटक बिधामा रहेका चुनौती अनि अवस्थाको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।
नयाँ के गर्दै हुनहुन्छ ?
यो समयमा खासै केहि नयाँ श्रृजना गर्न सकिरहेको छैन । यो समयमा चारैतिर मृत्युले उत्सव मनाइरहेको देख्नु पर्दा , सुन्नुपर्दा र भोग्नुपर्दा श्रृजनशील हुन नै सकिरहेको छैन । नयाँ कामहरु केहि छैन , किताबहरु पढेर बसिरहेछु ।
नेपाली नाटक लेखनमा चालीसको दशकमा शक्तिशाली रुपमा उदाउनु भयो यसोधरा जस्तो जिवन्त दार्शनिक अनि तर्कपुर्ण नाटक लेख्नु भयो स्रोताहरुले मन पराउदा पराउदै फेरि चुपचाप बस्नुभयो कारण के होला ?
नाटक मेरो प्यासन (passion) हो । कुनै समय म नाटक लेख्न पाइन भने पढ्न वा हेर्न पाइन भने मर्छु होला भन्ने सोच्दथे । ४० को दशकमा साह्रेै दु ख गरेर नाटक लेखन र प्रदर्शनहरु गरिन्थ्यो हरेक नाटकहरुमा म कुनै न कुनै रुपमा सम्लग्न हुन्थेँ। विस्तारै नाटक लेखनमा धेरै प्रतिभाहरु उदाउन थाले , समूहहरु गठन भएर नाटकले व्यवसायिक रुपमा स्थापित हुन खोज्दै थियो र यही समयमा मैले केहि नाटकहरु लेखेँ तर नाटक लेखेर मात्र नहुने विधा हो , प्रदर्शन हुन पनि उत्तिकै जरुरी छ ।
यहि समयमा नाटक कै निम्ति भनेर जन्मिएका केहि समूहहरु बीचमा नेपालीले लेखेको नेपाली नाटकहरु भन्दा विदेशी नाटकको अनुवाद गरेर प्रदर्शन गर्ने होड नै चल्न थाल्यो । यसैलाई बौद्धिकता ठान्ने , यसरी विदेशी नाटकको दाँजोमा नोपलीपन भएको नाटकहरुको स्तर हुदैन , हेर्न मज्जा आउदैन, नयाँपन हुदैन भन्ने किसीमको मानसिकतालाई स्थापितै गरिदियो । यस्तो परिस्थितीबाट म पनि धेरै नजिकबाट गुज्रिएकी छु ।
यो भंगालोले मलाई एकातिर डुबाउदै थियो भने अर्को तिर मेरो पारिवारीक र पेशागत ब्यस्तताले पनि मैले नाटकलाई समय दिन सकिन । म नाटक लेख्नलाई गहिरो अध्ययन,विचार विमर्श गरेर मात्र लेख्न पर्छ भन्ने मान्छे हुँ । मैले यशोधरा लेख्नु भन्दा पहिला करिब ५ बर्ष यस सम्बन्धी अध्ययन अनुसन्धान र धेरैसँग विचार विमर्श गरेको थिएँ । अहिले पनि एक लिम्बू मिथकमाथि नाटक लेख्नलाई लिम्बू लोककथाहरु, मुन्धुम र केहि किताबहरुको अध्ययन गरिरहेको छु । शायद अर्को बर्ष यस सम्बन्धी नाटक तयार हुन्छ होला भन्ने कुरामा म बिस्वस्त छु।
तपाईं त लामो समयदेखि वकालत क्षेत्र र महिला अघिकारको क्षेत्रमा कार्यरत कार्यरत हुनुहुन्छ । नेपाली महिला आन्दोलनले उठाएको मुद्दाहरुमा जनजाती महिला कहाँ छन ?
मैले लामो समयदेखि महिलाको अधिकार र आन्दोलनलाई नजिकबाट देख्ने, पढ्ने मौका पाएको छु । आजको कतिपय महिला अधिकारहरु आन्दोलनद्धारा स्थापित गराउन सफल भएका पनि छन् ,कतिपय कुराहरु कानूनमा भएर पनि कार्यान्वयन हुन सकिरहेका छैनन् , कति महिला आफैले थाहा पाउन सकिरहेका छैनन् । तर अधिकार कानूनमा पाएर मात्र पुर्ण हुदैनन् , व्यवहारमा अधिकार पाएको ,न्याय पाएको महसुस हुन जरुरी छ । जबसम्म निर्णय गर्ने स्थानमा महिला पुग्दैनन् महिला अधिकारका कुरा र महिलामैत्री कुराहरु आदर्शका लागि मात्र हुन्छन् ।
अर्कोतिर आदिवासी जनजाती महिलाका सवालहरु मूलधारका महिलाका भन्दा फरक छन् भन्ने कूराको महसूस राज्यले गर्न सकिरहेकै छैन । महिलालाई कानूनले नै पहिचानबिहीन राखेको अवस्था छ , त्यसैले आज महिलाहरुको सवाललाई एकै दृष्टिकोण , एउटै आवश्यकता र एउटै नीति तथा कार्यक्रमहरुमा समावेश गरेर हेर्नुहुन्न । उनीहरुका साँस्कृतिक, सामाजीक, आर्थिकदेखि भाषीक रुपमा फरक सवालहरु छन् , उनीहरुको सवाललाई राज्यद्धारा फरक ढंगले सम्बोधन हुन जरुरी छ ।
नाटक लेखनमा तपाईंले किन यसोधरालाई नै रोज्नुभयो ?
जैलेदेखि मैले बुद्धका जीवनी पढे त्यहि बेलादेखि मलाई यशोधराका बारेमा बुझ्ने धेरै उत्सुकता थियो । बुद्धको महानताका बारेमा पढेँ तर यशोधराको त्यागलाई कहि कसैले उल्लेख गरेको देखिन । मलाई लाग्छ यशोधराको त्याग, सहयोग तथा समर्पण बिना सिद्धार्थ गौतम बुद्ध हुनै सक्दैन,बुद्धत्व प्राप्त हुनै सक्दैन थिए । । यशोधराले युवराज गौतमलाई आफ्ना बैंशालु उमेरका सबै चाहनाहरुलाई मर्न दिन्न भनेकी भए के युवराज सिद्धार्थ गौतम बुद्ध हन्थ्यो होला र ? यशोधरा सर्वकालिन कथा हो । हिजोकी यशोधरासँग जीवनका लागी जति गुनासाहरु असन्तुष्टीहरु छन् आज पनि उस्तै छन् । अझ आधुनिकताका नाममा महिलाले दासता भोगीरहेकी छे, यौनिकता माथि उपहास भोगीरहेकि छे, मनोरंजनका साधनका रुपमा प्रयोग भइरहेकी छे , यी सबै कुराहरु सहेर पनि आदर्शताको फ्रेम भित्र अँट्न परिरहेको छ महिला ,जसरी हिजो यशोधरालाई अँट्न परेको थियो । मलाई लाग्छ यशोधरा यी सबै कुराहरुको विम्ब हो, त्यसैले अझै धेरै दृष्टिकोणबाट यशोधरा लेखिनु पर्दछ ।
नेपाली महिलाहरुको सत्ता र शक्तिसंगको खास असहमति के हो ? नेपाली साहित्यले महिला र उसको सघर्षलाई कसरी विश्लेषण गर्न सकिन्छ ?
नेपाली महिलाहरुले सत्ता र शक्तिको न खेल बुझेका छन् न त्यसको मोह । हाम्रो पितृसत्ता मानसिकताले महिलालई सत्ताको त्यो मोह , त्यो खेल, त्यो परिवेश, त्यो सम्मान, त्यो भीड तिमीहरुका लागि होइन भनेर हुर्काएको छ । महिलाको यौनिकता र सत्तालाई जोडेर हेरिन्जेलसम्म महिलाहरुको सत्ता र शक्तिसँग असहमती रहिरहन्छ ।
नेपााली साहित्यमा महिला संघर्षका लेखिनुपर्ने मुद्धाहरु, विषयहरु धेरै छन् तर त्यत्ति गहिरिए विश्लेषणात्मक रुपमा कसैले सोचेको देखिदैन ,सबै सतही रुपमा बुझ्न खोज्छन् र हतारमा लेखि पठाउछन् । मलाई लाग्छ आजसम्म नोपली महिलाका संघर्षका कुराहरु जानकारी दिने रुपमा कथा बनाएर लेखिएकाहरु धेरै छन् तर खास कुरा अझै बिमर्श हुन बाँकी छ ।
मलाई लाग्छ नाटक लेखन विषय एकदमै धैर्य धारण गरेर, जीवनका साना साना भोगाइहरु संवाद मार्फत जीवन्त बनाउने विधा हो,अभिव्यक्ति हो ,यतिमात्र होइन मंचिय दृष्टिकोणले पनि यो विधा जटिल छ त्यसैले यो विधामा धेरै आउन चाहदैनन् । तर मलाई त जीवनका सबै कुराहरु संवाद मार्फत व्यक्त गर्न सकिने सजिलो माध्यम नै नाटक हो जस्तो लाग्छ । त्यसैले म लेख्ने विषयहरु खोज्दैछु , अध्ययन गर्दैछु ।
नाटक लेखनमा त्यसै त महिला लेखकको सहभागिता कम छ । तपाईं हस्ताक्षेपकारी रुपमा आउदा आउदै चुपचाप बस्नुको कारण के हो ?
नोपली नाटक विधामा लेख्ने मान्छेहरु कम छन् । अध्ययन गरेर अनुसन्धान गरेर गहिरो विषयमा लेख्नपर्ने विषयहरु धेरै छन् । तर धेरै दुख गरेर लेखे पनि आफ्नो समूह नभई नाटक प्रदर्शन हुन सक्दैन , लेखर मात्र हुन्न नाटक प्रदर्शन हुन जरुरी छ । प्रदर्शन भनेको हल्ला खल्ला हुन हो । किताबले हल्ला गर्दैन त्यसैले नाटक सबैसम्म पुग्दैन । अर्कोतिर समूह बनाएर नाटक आफै लेख्ने आफै प्रदर्शन गर्ने, अनुवाद नाटक प्रदर्शन गर्न सकेमा आफूलाई बौद्धिक ठान्ने जस्ता धेरै कुराहरु छन् ,जसले आजसम्म अरु विधा जस्तो नाटक विधालाई , साहित्यलाई उर्वर बन्न दिइरहेको छैन । विषयहरु धेरे भए पछी अवसरहरु यसै भैहाल्छ ।
नेपाली नाटक बिधामा महिलाका मुद्दाहरु कसरी समेटिएका छ्न ?
नेपाली नाटक विधामा नेपाली महिलाका कथाहरु केही समेटिने प्रयास भएको हो तर आजको समाज यति तिब्र रुपमा परिवर्तन भइरहेकोछ कि ती सबै कुराहरु नाटकमा आउन जरुरी छ । आधुनिकताले जन्माएमा पीडाहरु, देखावटीपनहरु,नाटकिय आपसी सम्बन्धहरु, यौनका कुराहरु सबै आउन जरुरी छ । आज नारीसँग सम्बन्ध जोडिने तत्वहरु समयले फरक पार्दै लगिरहे छ जसमा महिला जेलिदै जेलिदै गइरहेकी छे, यस्ता धेरै कुराहरु संवाद मार्फत मंचमा अभिव्यक्ति हुन सक्ने धेरै मुद्धाहरु छन् ।
अन्तमा भन्नु पर्ने केही कुरा छन् की ?
नेपालमा नाट्य बिधालाइ केहि समुह वा ब्यक्तिगत प्रयासले मात्र स्थापित गराउने जुन प्रयास भैरहेको छ त्यो सराहनीय भए पनि पर्याप्त हुन सक्दैन । जब सम्म राज्यले नाट्यबिधा माथि लगानी गर्दैन यो बिधा माथि उठनै सक्दैन ।
आर्को कुरा जबसम्म नेपाली नाटकहरु नेपाली गन्ध भएको आफ्नै सँस्कृति आफ्नै मौलिक कथाबस्तु र हामीले भोगिरहेको परिवेशका कथाहरुमाथि लेखिन्नन नेपाली नाटकलाई माया गर्ने र्दशक पाउन सकिन्न । अनुवाद भएको नाटकहरुले न त नेपाली नाटकको साख बढाउछ न विश्वमा नेपाली नाट्य बिधाको पहिचान नै स्थापित गराउन सक्छ। यस्ता नाटकहरुले मनोरञ्जनका लागि मात्र दर्शक भेला गर्छ ।
त्यसैले आन्तमा हाम्रा आफ्नै मौलिक कथा बोकेका नाटक लेखनलाइ प्रोत्साहन दिन जरुरी छ । आफ्नै साँस्कृतिक धरोहर बोकेका नाटकहरु प्रर्दशन गरौं । देखावटी बौद्धिकताका लागि नेपाली परिवेश नमिली नमिली नाटक हेर्ने सास्तिबाट नेपाली र्दशकलाई मुक्ती दिउँ । हामीसँग मौलिक कथामा लेखिनु पर्ने नाटकहरु धेरै छन् ।