कलाकार रमण गुरुङ हङकङमा बसेर कलाको क्षेत्रमा सकृय नाम मध्ये एक हो । आफ्ना चित्रहरुमा सधैँ प्रकृतिसँग नजिक उहाँका कलाहरुले मानिसको संवेदनाहरुलाई अत्यन्तै गहिरोगरि प्रस्तुत गरेको हुन्छ । आमा धनमाया गुरुङ र बुबा नर शिं बहादुर  गुरुङको चार छोराहरुमध्ये कान्छा सन्तानको रुपमा २०२७ सालमा भोजपुरको ट्याम्के मैंयु २ छिनामखु  काँङ काँङमा उनको जन्म भएको हो । नेपाल छदा ललित कला क्याम्पसमा अध्ययनरत उनले चित्रकलामै स्नातक गर्नु भएको छ । बिशेषगरि साहित्य लेखन र चित्रकलामा सकृय हाल हङकङ साहित्यीक साझा शृङ्खलाको बर्तमान अध्यक्ष हुनुहुन्छ । नेपाली कला, भाषा, साहित्य र सँस्कृतिको माध्यमबाट संसारभरि छरिएर बसेको नेपाली माँझ एकता हुनु आजको समयमा अवसर र चुनौती दुबै हो भन्ने मान्यता राख्नुहुने कलाकार गुरुङ साहित्य लेखनमा त्यतिकै रुची राख्नुहुन्छ प्रस्तुत छ हङहङ खबरले कला साहित्यमा केन्द्रीत रहेर गरेको कुराकानी :

तपाई कवि बढी कि चित्रकार ?

रूचिको विधाले म चित्रकार हुँ कुँची समात्छु त्यतिले मात्र पुग्दैन भावको डुङगामा सुन्दर कल्पनाको आवाज आईदिन्छ त्यो बेला म शान्त मनले विराट साहित्यको उज्यालो कलम समाउँछु । म आफूलाई कवि बढी नभनेर चित्रकार नै भन्न चाहान्छु ।

सम्झी ल्याउदा जीवन के रहेछ ?
कति महत्वपूर्ण प्रश्न गर्नु भयो कवि ज्यु धन्यवाद छ यो प्रश्नको लागि हजुरलाई । जीवन एउटा अनुभवहरूको संगालोसंगै संघर्ष रहेछ मलाई जीवन हिलोमा मुस्कुराउने कमलको फूल जस्तै लाग्दछ ।

लेखन र चित्रकारिता अनि हङकङ जस्तो संसारकै व्यस्त शहरको बसाई कसरी तालमेल मिलाईरहनु भएको छ ? यो व्यस्तताबीच लेखन र चित्रकारितालाई समानान्तररुपमा अगाडि बढाउनुको समस्याहरु के कस्ता छन् ?

हङकङ विश्वमै अति व्यस्त र आधुनिकताले सजिएको सुन्दर शहर हुनुको साथै व्यापारीक केन्द्र हो । जे होस् हङकङ स्वर्णिम र प्रिय लाग्दछ मलाई । स्वर्गको एक टुक्रा खसेजस्तो भान हुन्छ । यसर्थ विश्वको रंगीन मानवसागरलाई चुम्बकले फलामलाई ताने जसरी तान्न सफल छ । हामी भूगोलको जुनसुकै कुनामा भएता पनि पहिलो कुरा वास्ताबिकतालाई मध्य नजर गर्दै बाँच्नु हो रहेछ । बाँची सकेपछि मात्रै हामीले रूचाएका विधामा नाँच्न सकिदो रहेछ । यसर्थ जहाँ सम्म यहाँको प्रश्न छ मेरा लेखन र चित्रकारिता व्यस्तताको वावजुद तालमेलका कुरा आखिर हामीहरूलाई जति धेरै समय भएता पनि तालमेल मिलाइएन भने त्यो समय त्यसै खेर गैरहेको हुन्छ । तसर्थ समयको महत्वलाई बुझेर हामी अघि बढ्नु पर्दछ । मेरा लागि चित्रकारिताको निम्ति महत्वपूर्ण समय भनेको बिदाको दिन हो । त्यसो त काममा आउने जाने क्रममा रमाइलो अनुभव र अनुभूतिका साथ ट्रेन, बस, बोटबाट यात्रा गर्दा पनि केही समय हुन्छ यसको अलवा आराम गर्नु अगावै सुनसान शान्त रात्रीकालिन समयमा पनि म मेरा लेखन र चित्रकारिता लागि केही समय दिने गरेको छु । हङकङ यति व्यस्त छ भनेर साध्य छैन । लन्चको केही समयलाई पनि सदुपयोग गर्दै म आफूलाई रंग र कुँचीसँगै खेल्दछु ।

बिशेष हङकङलाई मिनी नेपाल भनेर पनि चिनिन्छ । साहित्य र संगीतको क्षेत्रमा हङकङमा बसोबास गर्ने नेपाली समुदायले युर्याएको योगदानको बिषयलाई लिएर नेपाली मिडियाहरुमा त्यति चर्चा परिचर्चा हुदैन जसरी दार्जिलिङको बिषयमा हुन्छ तपाईंको यसमा के बुझाई छ ?

हो सबैले हङकङलाई मिनी नेपालको रूपमा चिन्छ । यसो हुनुलाई हाम्रा भूतपूर्व बिट्रिस गोर्खाली दाजु भाइहरूको ठूलो योगदान रहेको छ । तर साहित्य र संगीतको बिषयमा भन्नु पर्दा तपाईले भने झैं हङकङमा बसोबास गर्ने नेपाली समुदायले पुर्याएको योगदानको बिषयलाई लिएर नेपाली मिडियाहरुमा त्यति चर्चा परिचर्चा भएको पाइन्न जसरी दार्जिलिंगको हुन्छ यस सम्बन्धमा जहाँ सम्म यहाँको प्रश्नको परिचर्चा चर्चाको कुरा छ मैले भन्नु पर्दा दार्जिलिगसँग हङकङलाई दाँज्न मिल्दैन जस्तो लाग्दछ किनकि दार्जिलिङमा नेपाली भाषामा अध्ययन हुन्छ तर हङकङमा क्यानटोनिज भाषा प्रयोग हुन्छ। यसर्थ बढी चर्चा हुनुलाई प्रमुख कारण भाषा नै हो भन्ने मेरो विचार रहेको छ ।

नेपाली कलाकार र हङकङमा रहेको कलाकारबीच कस्तो समन्वय छ ?
नेपाली कलाकार र हङकङमा रहेको कलाकारबीच खासै म त्यस्तो समन्वय भएको देख्दिन ।

तपाईंको चित्रहरु हेर्दा मानवीय अन्तरमनोदशालाई संकेत गर्न खोजे जस्तो लाग्छ आफैले आफ्नो चित्रहरुको बारेमा भन्नुपर्दा के भन्नुहुन्छ ?

प्रकृति मेरा लागि प्रिय विषयवस्तु हुन । जहाँ हामीहरूले अनेकौं कुराहरूको अनुभव र अनुभूति गरेका हुन्छौं । मेरा धेरै जसो चित्रहरुमा तिनै प्रकृतिका बिम्वहरु भेट्न र मनन गर्न सकिन्छ । त्यसै कारणले म आफूलाई प्रकृतिवादी भन्न रुचाउँदछु । कलाकारहरु स्वाभावैले कल्पनाशील हुन्छन । मैले चित्र रचना गर्दा तिनै प्रकृतिको काखमा बसेर नै म आफ्नो चित्रहरू सिर्जना गर्दछु । यसका अलावा मैले बन्द शान्त कोठाभित्र सपनी विपनी ,चेतन र अर्द्धचेतन मनको उपज ,रंग ,रेखाहरु र कुँचीको माध्यमबाट सिर्जनशील बनी म आफुलाई चलाउँदछु । मेरा कैयन चित्रहरु मूर्त ,अमूर्त र अर्द्धमूर्तमा पनि पाउँदछु । जहाँ अनेकौ विम्बहरुको फ्युजन (fusion) भएको हुन्छ । मलाई यथार्थसँगै अनौठो लाग्ने जुन कुरा कोही कसैले नगरेको अर्थात म पृथक चाहन्छु । यसर्थ कतिपय मेरा चित्रहरु यति अजिव र सजिव बन्न पुग्दछ जसको म आफैलाई पनि अभिव्यक्त गर्न कठिन हुने गर्दछ । चित्रहरू सिर्जना गर्दा तत्काल मेरा मनमा उठान भएका तरंगित भावलाई चित्रण गर्ने म प्रयत्न गर्दछु । कुनै सिर्जनाहरू यहाँले भन्नु भए जस्तै मानवीय मनोदशालाई पनि दृष्टिबोध नगरेको होला भन्न सकिन्न । आखिर मेरा चित्र रचनाहरु जे जस्ता भएता पनि तिनै प्रकृतिको विम्बहरु त हुन् । तसर्थ फेरि पनि भन्दछु प्रकृति मेरा लागि अति नै प्रगाढ प्रिय विषय वस्तुहरु हुन् जसबाट म विमुख हुन सक्दिन ।

हङकङ आएपछि तुलनात्मक रुपमा भन्नुपर्दा तपाईंको चित्रकारिता फस्टायो कि मुर्झायो ?

पहिलो कुरा , वास्तवमा हङकङ एक विश्व ब्यापारिक केन्द्र हो । यहाँ विश्वैबाट मानिसहरु आवत जावत गर्ने गर्दछन् । बेलाबखतमा विश्व विख्यात कलाकारहरुको कलाकृति मात्र नभएर स्थानीय कलाकारहरुको सुन्दर कला कृतिहरुको प्रदर्शनी भैरहेकै हुन्छ । जसले हामी जस्ता अघि बढ्न चाहने कलाकारहरुलाई ऊर्जा दिन्छ । कलामा केही गर्ने नवीन उर्जा मिल्दछ । यो हाम्रो अमूल्य जीवनमा दुःख सुःखका आ-आफ्नो पाटो र बाटोहरु होला आखिर जे जस्तो भएता पनि हामी हाम्रो लक्ष्यमा पुग्न सकारात्मक भई संघर्ष गर्दै अघि बढ्नु पर्ने रहेछ भन्ने मैले बोध गरेको छु। म कलाकार हुँ म चित्रहरु मात्रै बनाएर अघि बढ्छु भन्दा कतिलाई यो साथ मिल्दो रहेछ त कतिलाई यो अपुग पनि हुने रहेछ । जेहोस् मैले आफनो चित्रकारीताको बारेमा भन्नु पर्दा फष्टाएको रूपमा हेरेको छु। यति मात्रै हो मैले पूर्णरुपमा यसलाई समय दिनु सकिरहेको छुइन । मात्रै रोजी रोटी पछि बचेको समयलाई भरपुर कलाकारीतामा समय दिने गरेको छु । जबसम्म मैले दर्शकहरु बीच मेरा चित्रकला प्रदर्शनी गर्न असमर्थ हुन्छु तबसम्म मैले मेरा कृतिहरुको बारेमा प्रतिकृया सुझाबहरु प्राप्त गर्न सक्दिन । यसर्थ न नाम न थर यो प्रदेशको ठाँउ भएता पनि निकट भविष्यमा एउटा चित्र प्रदर्शनी गर्ने सोंचका साथ लागि परिरहेको छु।

हङकङमा रहेर लेखीरहेका लेखन र चित्रकारिताको बिषयलाई भन्नुपर्दा कस्तो अवस्था छ ? आशालाग्दो वा निराशाजनक ?

वास्तवमा निराशामा हामीले केही पनि गर्न सक्दैनौ यसर्थ हामी जहिले पनि आशावादी भएर अघि बढ्नु पर्दछ भन्ने कुरालाई म आत्मसात गर्दछु । लेखन र चित्रकारिता एउटा महत्वपूर्ण सिर्जनशील विषयहरू हुन । हङकङ विकास भएर अघि बढेको संवृद्धिले चुमेको देश हो त्यसकारण म निराशा हैन राम्रो गर्नेको लागि आशाको दिप प्रज्वल्लित भएको देख्दछु ।

यो समय तपाईं महत्त्वपूर्ण सस्थाको जिम्मेवार पदमा हुनुहुन्छ भविष्यमा नेपाल र हङकङलाई जोड्ने के कस्ता रणनीति छन् तपाईसँग ?

धेरै महत्वपूर्ण प्रश्न गर्नु भयो खासगरि विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुलाई भाषा कला र साहित्यको माध्यमबाट आउने दिनहरुमा जोड्ने कोशीस रहने छु । मेरै कार्यकालमा केही नयाँ काम गर्न सके मलाई पनि आत्मसन्तुष्टि मिल्नेछ र कला साहित्यको क्षेत्रमा एउटा सेतु र सुवासिलो फूलको रूपमा मैले केही गर्न सके हुन्थ्यो भन्ने सोंच नभएको भने पक्कै हैन ।

अन्तमा केही भन्नु हुन्छ कि ?

साहित्य लेखन चित्रकारीता जस्तो सिर्जनाको पाटो र यसको बाटाहरूका बारेमा वृहत रूपमा भलाकुसारी भयो । सिर्जनाका अनेकौ पाटा र बाटाहरू छन् र साहित्य र कला त्यस्तो ज्ञान गंगा पनि हो जहाँ ज्ञानको प्यासी घडाहरू जति भरेता पनि गंगा कहिल्यै रितिन्न । मात्रै आफूलाई सकरात्मक सोंच र खोजका साथ सृजनशील मनको मुस्कानहरू मुस्कुराऊँनु जरूरत पर्दछ । वास्तवमा यो जगत् नै सृर्जनामय छ हामीले ध्यानि भावको विकास गर्दै रचनात्मक बन्दै हामी हाम्रा जीवनमा आई परेका समस्याहरूलाई सामना गर्दै रचनात्मकरूपमा प्रेमभावले अघि बढ्नु पर्दछ । परिश्रम , मिहिनेत, धर्यता, लगाव,नविन सोच , खोज , ज्ञान र ध्यान सबै कुराहरूको मिश्रित सुगन्ध हामीले सिर्जना गरेका कुराहरूमा मिठो रूपमा आभाष दिन सक्नु पर्दछ ।जसले गर्दा जोकसैलाई थप ऊर्जा दिन सकोस् यही कुराहरू नै हाम्रो समाज र देशलाई योगदान पनि हुनेछ जस्तो मलाई लाग्दछ । अन्ततोगत्वा लेखन होस या चित्र मेरा अन्तर शान्ति मनका उपज हुन जस्तो मलाई लाग्दछ । भनिन्छ कलाकारहरू राष्ट्रका निधि हुन । हाम्रो भिन्न कला ,भेष भुषा ,भाषा साहित्य , सँस्कृतिहरू देशको धडकन हो भोलीको दिनमा बन्ने इतिहासका धरोहरहरु हुन् राष्ट्रलाई सँधै उच्च र विश्वमा सुगन्धित रूपमा परिचित गराउन सक्ने महत्वपुर्ण सेतु हो । उदाहरणको रूपमा अरनिको कलाकारलाई लिन सकिन्छ । सर्जकले विध्वंस हैन निर्माण गर्दछ भन्दै यहाँलाई पुन धन्यवाद एवं खुशीको आभार प्रकटका साथ हामी यो भूगोलको जुन कुनामा भएता पनि हामी सबै बहुल भाषा भाषी प्रिय नेपाली मन मुटुहरूमा उन्नति,प्रगति र सफलता चुम्न सकोस् फूलको आँखामा फूलै संसार बन्न सकोस् । देशमा भएका सम्पदाका आँचलहरूलाई नविन सोंच र खोजका साथ कलात्मक आँखाले विकास, संरक्षण संबर्धन गर्दै सिर्जनशिल बन्न सकौं । हाम्रा मन मस्तिष्कहरूमा अहंम ,दम्भ ,रिस रागलाई स्थान नदिएर विशाल हृदयसंगै दया ,माया ,करूणा र प्रेमभावलाई मुस्कुराउन दिऔं । यसैमा हामी सबैको जय होला । पवित्र कर्मले ,उज्यालो प्रकाशमय मनले भावनात्मक र रचनात्मक बन्दै एक जुट हुँदै अघि बढौं यही मनोकामनाका साथ अन्तमा पनि केही मेरा साहित्यिक मनको स्पर्श राख्दै यो सुन्दर संवादलाई यही विट मार्दछु ।

तपाईको प्रतिक्रिया