क्रान्ति सुब्बा

तालिबानले सेप्टेम्बर ७ तारीख मुल्लाह हसन आकुन्दलाई आफ्नो अंतरिम सरकारको प्रधानमन्त्री घोषणा गरेको छ। मिलिटेन्ट इस्लामिस्ट ग्रुपले राजधानी काबुल र तमाम प्रायः  अफगानिस्तान भुमि कब्जा गरेको दुई हप्ता पछि यो सरकारको घोषणा भएको हो।

को हुन त मुल्लाह हसन आकुन्द

दक्षिण अफगानिस्तानको कांधार अथवा कंदहार प्रान्तको जारी जिल्लामा जन्मिएका हसन आकुन्द तालिबान बीच  लोकप्रिय  भए पनि तुलनात्मक हिसाबले  उनलाई त्यति कै रहस्यमय व्यक्तित्व रूपमा हेरिन्छ  । कांधार प्रान्तमा नै तालिबानको पनि जन्म भएको हो। सन १९९० को दशकमा  अफगानिस्तानमा उग्रवादी  शसस्त्र  समुहले जरा गाडे संगै उनको प्रभाव बढेर गएको हो। उनी पश्तुन, पख्तुन या पठान खलगका हुन। यिनको जन्म मिति हाल सम्म यकिन हुन सकेको छैन तर यिनको जन्म १९४५ देखि १९५८ बीचमा भएको मानिन्छ । पाकिस्तानमा पढेका यिनी अक्सर लो प्रोफाइलमा रहेका लिडर हुन

कतिपय  तालिबान लिडरहरु   १९८० को दशकमा भएको सोभियत – अफगान युद्धमा सामेल भए तर उनी त्यसबेला संलग्न भएनन। जस्तै तालिबानका संस्थापक मुल्लाह मुहम्मद ओमार र उनका सहायकहरुले मुजाहिदिनसंग मिलेर सोभियत विरुद्ध युद्ध लडे तर आकुन्दले लडेनन। सोभियत संघको विरुद्धमा लड्ने अफगान योद्धाहरुको एउटा फराकिलो नेटवर्क हो मुजाहिदिन।

इस्लाम संबंधी केहि पुस्तक पनि लेखेका छ्न यिनले। तालिबानभित्र यीनको धार्मिक व्यक्तित्व हाबी छ। यिनी तालिबानको शुरा परिषदका प्रमुख  पनि हुन। ईस्लामिक धर्मशास्त्रमा दीक्षा लिएका व्यक्तिलाई मात्र सम्मान स्वरुप परिषदमा चयन गरिन्छ। यो परिषद एउटा यस्तो परम्परागत निर्णायक मण्डल हो जहाँ धार्मिक पण्डित र मुल्लाको मात्र संलग्नता रहन्छ।

बामियानको बिशाल ढुंगे पहरालाई खोपेर बनाइएको बुद्धका दुई थान बडेमानको मुर्ति नष्ट पार्ने योजनाका योजनाकार मध्ये एक हुन अखुन्द जसलाई तालिबानले सन २००१ मा ध्वस्त तुल्याएका थिए।

आरम्भमा यी प्रतिमा भत्काउने कुनै मनसाय थिएन ओमारको। तर यसको संरक्षण गर्ने नाममा उठेको रकम युनेस्कोले संकलन गर्ने तर संयुक्त राष्ट्र संघले अफगानिस्तानलाई मानवीय कार्यको लागि कुनै सहयोग गरेन। त्यसबेला ओमारले परिषदको परामर्श लिने काम गरे। र आकुन्द रहेको परिषदले छैटौं शताब्दीमा निर्मित उक्त शालिकलाई भत्काउने आदेश दिएको थियो ।

सन १९९० दशकमा गठित तालिबान सरकारमा उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका थिए । परराष्ट्रमन्त्री मन्त्री हुँदा सन्काहा शैलीको व्यक्तिको रूपमा पनि उनले आफुलाइ चिनाए। यति सम्म कि सन १९९८ को मार्च महिनामा युएन बिकास बोर्डसंग बसेको  एउटा कुटनैतिक मिटिङमा आकुन्दले एक जना संयुक्त राष्ट्र संघका अधिकारी माथि चियाको कपले आक्रमण गरे। अर्का एकजना युएन स्टाफमाथि टेबुल हुत्याउन खोजे। यो घटनाका कारण सिंगो  मानवीय उद्वार कार्यक्रम नै बन्द गरेर  युएन मार्च  २३ तारीख १९९८ मा कांधारबाट हिडेको थियोे ।
सैनिक छबि नभए पनि  तालिबानकालमा उनी कांधारका गभर्नर देखि उप प्रधानमन्त्री  सम्म भएका थिए । यद्यपि उनको महत्त्व भने तालिबान समुहको धार्मिक अस्तित्वलाई  विकास गर्नमा बढी केन्द्रित थियो । मुल्ला ओमर जस्तै यिनी पनि एक कट्टर ईस्लामिक विचारधारा पढाउने देउबन्दी स्कुलका उत्पादन हुन।

सन २००१ मा अफगानिस्तानबाट तालिबान सत्ता ढलेपछी आकुन्द पनि पाकिस्तान निर्वासित भए र उतैबाट उनले तालिबनलाई रेहबार ए शुरा काउन्सिलको प्रमुख भएर संचालन   गर्न थाले । सन २००० र २०१० को दशक भरि उनले पाकिस्तानबाट नै तालिबानलाइ अध्यात्मिक र धार्मिक रूपमा दिशानिर्देश गरिरहे । अमेरिका र अमेरिकाको आडमा चलेको तत्कालीन अफगान सरकार विरुद्ध तालिबानले  गरेको  कुनै पनि विद्रोह कुन मानेमा जायज छ भन्ने औचित्यलाई साबित गर्नु उनको मुल भुमिका थियो ।

अहिले तालिबानभित्र दुई पंक्ति  छ – सैन्य र राजनैतिक विंङ्ग। सैन्य बिभागले विभिन्न सैनिक कार्वाही गर्दछ भने कट्टर देवबन्दीबादी  इस्लाम शिक्षा पाएका रुढीबादी कुलीन वर्गले राजनीतिलाई सम्हाल्दछ्न। मुल्ला आकुन्दको रुझान तालिबानको धार्मिक पंक्ति संग रहेको छ।

आकुन्दको नियुक्तिबाट तालिबानको संदेश

अकुन्दको नियुक्ति पछाडि शक्ति संघर्ष भएको भान हुन्छ। तालिबानको जन्म भएपछि मुल्ला अबदुल घानि बरादर तालिबानका शिर्ष लिडर ओमारको डेपुटी रहेर काम गरेका थिए । ओमारको मृत्यु पछि उनी नै तालिबानको डि फ्याक्टो नेता बने। र संभावित राज्य प्रमुखमा बरादरलाई चयन गरिने आँकलन धेरै विज्ञले गरेका थिए । अन्तर्राष्ट्रिय समुदायले पनि तालिबानका मुख्य वार्ताकारका रूपमा रहेका बरादर नै आउने अपेक्षा राखेका थिए । तर शक्तिशाली हक्कानी नेटवर्कसंग बरादरको राजनीतिक द्वन्द विद्यमान छ। हक्कानी नेटवर्क एउटा परिवारमा आधारित ईस्लामिक समुह हो जुन समूहले केहि समय अगाडिबाट तालिबानको कुटनैतिक बिभाग अनौपचारिक रूपमा सम्हाल्दै आएको छ। र हक्कानी नेटवर्कको पकड स्थानीय तहका समुहसंग मजबुत छ।

तालिबान भित्रको अति उग्र समुह हो हक्कानी । बरादरले  हालै  महिलालाई अधिकार  दिने कुरा गरेका थिए , अन्तर्राष्ट्रिय समुदायसंग मिलेर काम गर्ने भनेका थिए  र पुर्व सरकारका सदस्यलाई आम माफी प्रदान गर्ने अभिव्यक्ति दिएका थिए । तर उनका यी भनाइहरु हक्कानी नेटवर्कको विचारधारासंग ठाडै बाझ्दछ।

बरादर समर्थक र हक्कानी नेटवर्क बीचको आपसी समझदारीबाट अकुन्दको उदय भएको प्रतीत हुन्छ । उनको नियुक्ति निकै ढिलो गरि हुनु र सरकारको घोषणालाई बारम्बार सारिनुले  तालिबान भित्र आन्तरिक फुट र द्वन्द छ भन्ने कुरालाई जनाउदछ। परिणामस्वरूप  अंतरिम सरकारको घोषणा हुँदा   बरादरको नाम उप प्रधानमन्त्रीको रूपमा आयो। र हक्कानी नेटवर्कबाट २ जना कार्यकर्ता सरकारमा सम्मेलित भए।

३३ जना चयन भएका क्याबिनेट मन्त्रीमा बहुमत पस्तुन जातिको रहेकोछ। अफगानिस्तान एउटा बहुजातीय राज्य हो जहाँ ४२% पश्तुन ,२७% ताजिक र ३१% अल्पसंख्यक रहेकाछ्न जस भित्र हजारा र उजबेक जाति पनि पर्दछ्न।

एकातिर सरकारको यो प्रारुप कति टिक्ने हो त्यो त हेर्नै बाँकी छ भने अर्कोतिर  तालिबानको अन्तर मन्थनले नियुक्त गरेको आकुन्दको नेतृत्व,  एककृत तालिबानको प्रतिनिधित्व गर्न कति सक्षम हुन्छ परिक्षाको विषय भएको छ।

आकुन्दको नियुक्तिबाट  अफगानिस्तानले के अपेक्षा गर्ने

आकुन्द एक रुढीबादी धार्मिक विद्वान हुन । महिला, जातीय र धार्मिक अल्पसंख्यकलाई अधिकार  दिने कुरामा उनी अनुद्वार देखिन्छन ।

सन १९९० को दशकमा उनले तयार पारेको आदेशलाई नै तालिबानले अनुशरण गरेको थियो । महिलालाई शिक्षादीक्षा नदिने , लैंगिक भेदभावलाई कडा तुल्याउने र धार्मिक भेषभुषालाइ लगाउनै पर्ने जस्ता नियमहरु उनको उर्दी अन्तर्गत रहेका थिए । र अब उनको नेतृत्वको सरकारले पुर्ववर्ती अभ्यासलाई  कुन हदसम्म लागु गर्छ हेर्नु पर्ने विषय छ।

त्यसो त सेप्टेम्बर ५ तारीख नै तालिबानले महिला युनिभर्सिटीका विद्यार्थीलाई अबया ( शिर देखि पाउसम्म ढाक्ने लुगा ) लगाउने आदेश जारी गरिसकेको छ। अबया भनेको बुर्का जस्तै पहिरन हो तर अबयाको रंग कालो हुने गर्दछ। बास्तबमा अबया अफगानिस्तानको मौलिक पहिरन होइन। यो साउदी अरेबिया , युनाइटेड अरब इमिरेट्स र कतारको ड्रेससंग धेरै हदसम्म मिल्दछ।

महिला विद्यार्थीलाई अबया लाउने अर्डर दिनुले अफगानिस्तानलाई वृहत्तर ईस्लामिक आन्दोलनको एउटा हिस्सा बनाउन खोजिएको संकेत मिल्दछ। सन १९९० को दशकमा शासनमा रहेकोे बेला  नै यी राष्ट्रवादी तालिबानले आफ्नै किसिमको एकलकाँटे इस्लामी शासन पद्धति अफगानिस्तानमा अभ्यास गरेका थिए ।

२० वर्षपछिको अफगानिस्तान अर्कै भैसकेको छ। तथापि तालिबानले २० वर्ष अघि जबर्जस्ती अपधस्त तुल्याइएको तालिबानी सरकारको निरंतरता अहिलेको सरकारलाई बनाउने सपना देखेका हुन सक्छ्न। देशको अर्थतन्त्रलाई धान्ने कुनै बलियो आन्तरिक स्रोत छैन। भएको अफिमलाई पनि  उत्पादन नगर्ने भनिसकेको छ तालिबानले।  अर्थको अभाव र खडेरी शुरु भैसकेको छ। अफगानिस्तानमा मानवीय संकट सिर्जना हुने चरम संभावना छ। यु एन अफिसले सेप्टेम्बर ७ तारीख नै अफगानिस्तानमा खाद्य तथा अन्य संकट शुरु भैसकेको जानकारी दिएको छ। अगस्ट १७ तारीखबाट  नै अमेरिकाले अफगानिस्तानको सेन्ट्रल बैंकको फन्डमा तालिबान जाने बाटो बन्द गरिदिएको छ।

तालिबानलाइ थाहा छ उनिहरुलाइ अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ। तर पश्चिमा संग सहयोगको हात फैल्याउने कुरा तालिबानको वसमा छैन।

आकुन्दलाइ बदलिएको अफगानिस्तानलाई व्यवस्थापन गर्न त्यति सजिलो छैन। स्वतन्त्रतामा जिउन वर्षौं देखि अभ्यस्त अफगानीहरु अब त्यसको विपरीत कसरी जिउने कसरत गर्न सक्लान ?

तपाईको प्रतिक्रिया