– महेशविक्रम शाह

भान्छामा खाना तयार थियो तर रिचर्ड आइपुगेको थिएन । ऊ यूट्युबमा नेपाली भिजुअल गीतहरु हेर्दै रिचर्डलाई कुरिरहेकी थिई । उसको जिउ थकाइले लखतरान भएको थियो । बाल्टिमोर सिटी सेन्टरको फास्टफुडमा सधैं घण्टौं उभिएर काम गर्नुपर्दा कम्मर र खुट्टा भाँचिएलान झैँ हुन्थे । आफ्नो जीविकाका लागि एकछिन विश्राम नलिई काम गर्नु उसको वाध्यता थियो र यसैसँग उसको आवश्यकता पनि जोडिएको थियो ।

यो काम पनि उसले सजिलै पाएकी थिइन । बाल्टिमोरमा काम गरेर गुजारा गरिरहेका नेपालीहरुका कोठाचोटा महिनौं चहारेपछि बल्ल एक जना साथीको सहयोगमा उसले काम पाएकी थिई । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण अमेरिकामा ज्यालादारी काम पाउन पनि मुस्किल भइसकेको थियो । ऊ महत्वाकांक्षी थिई र छोटो समयमै उसले लामो फडको मारिसकेकी थिई ।

कसैले ढोकामा ‘नक’ गरेझैँ लाग्यो । उठेर उसले ढोका खोली, त्यहाँ कोही थिएन । तर सामुन्नेको फ्ल्याटको ढोकाबाहिर ओभरकोट लगाएको पुरूष ऊतिर पिठ्युँ फर्काएर उभिएको थियो ।

‘अर्को फ्ल्याटको मान्छे रहेछ । रिचर्ड अझैँ आएन ।’ उसलाई भोक लागिसकेको थियो । खाना खाएर सुत्न मन नलागेको होइन उसलाई, तर रिचर्डको क्रोधित अनुहार र क्रूर व्यवहार सम्झेपछि उसका हातपाउ गल्न थाल्छन । ऊ रिचर्ड आएपछि मात्र खाना खाने मन बनाउँछे ।

ऊ फेरि सोफामा लम्पसार परी र टिभीको पर्दामा यूट्युबमा सर्च गरेर नेपाली कार्यक्रम हेर्न थाली । उसलाई नेपालमा आफ्नै घरमा बसेर टिभी हेरिरहे झैँ अनुभूति भयो ।

उसले टिभीको पर्दामा देखिएका हिमाल, पहाड, पाखापखेरा, जङ्गल, हरिया चौर, रङ्गीबिरङ्गी फूलहरू, नदीनाला हेर्दै आफ्नो गाउँघर र परिवारलाई सम्झी । स्मृतिहरु ताजा भएर मानसपटलमा आए । आँखाका च्यापबाट आँसु रसाउन थाल्यो । उसले रिमोट थिचेर टिभी बन्द गरी र आँखा चिम्लदै सोफामा लम्पसार परी । नेपालको सम्झनाले उसको शारीरिक थकान बिर्साइदिएको थियो तर मनभित्रको पीडा भने आलो घाउमा नुन खुर्सानी छर्केझैँ ह्वात्तै बढेको थियो ।

मोबाइल बज्यो । उसले हत्तपत्त कलरको नाम हेरी । नेपालबाट आएको कल भन्ने थाहा पाएपछि हडबडाउँदै हत्केलाले आँसु पुछी । बोतल मुखमा लगाएर घटघट पानी पिई । फोन उठाएर ‘हेलो’ भनी ।

“छोरी, कस्तो छ तिमीलाई ?” काठमाडौंबाट उसका बुबा बोलिरहेका थिए ।

“ठीक छ बुबा ।हजुरलाई ?” उसले सोधी ।

“हामी सबै सन्चै छौं छोरी । हाम्रो कुनै पिर नगर्नु । आफ्नो ख्याल राख्नु । लौ, आमासँग कुरा गर ।”

“हेलो, छोरी…. ।” आमाको आवाज सुनी उसले ।

“मुमा दर्शन…. ।”

“हाम्री छोरी अमेरिकामा छे भन्ने कुराले नै हामी गदगद छौं छोरी…. । सबै जना छोरी हुनु त तपाईंकी जस्ती भन्छन ।” आमाको आह्लादित स्वर गुन्ज्यो कानमा ।

“हजुर मुमा…., सबै हजुरहरुको आशीर्वादले हो ।” उसले मनभित्रको पीडा दबाउँदै भनी ।

ढोकामा ‘नक’ गरेको आवाज आयो । उसका आँखामा भय देखियो ।

“अब हामी पनि यो जुनीमा अमेरिका देख्न पाउने भयौं छोरी…. ।” आमाको गर्विलो स्वर सुनेर झस्की ऊ ।

“आमा, ऐले म काममा छु । भोलितिर म आफै फोन गर्छु है…. दर्शन…. ।” उसले सम्पर्क विच्छेद गरी ।

उसले ढोका खोली । रिचर्ड खडा थियो— अमेरिकी हब्सी । कालो वर्णको, लम्बाचौडा जिउडाल, हेर्दैमा बुल फाइटको साँढे जस्तो ।

“… … यु टुक टु मच टाइम टु ओपन द डोर । ह्वाट्स अप गोइङ अन हियर ?” अपशब्द बोल्दै रिचर्ड गला फारेर चिच्च्यायो । शिरदेखि पैतालासम्म थरथर काँपिरहेकी उसले त्रसित आँखाले रिचर्डलाई हेर्दै भनी— “नथिङ एल्स डियर । आई वाज जस्ट वेटिङ फर यु ।”

उसले रिचर्डलाई अँगालो हाली र माया गर्ने कोसिस गरी । रिचर्ड वास्तै नगरी सोफामा गएर ढल्यो ।

“मेरो जुत्ता खोल ।” उसले आदेश दियो ।

उसले जुत्ता र मोजा खोलेर ‘सु र्‍याक’ मा राखी ।

“ह्विस्कीको बोतल ल्याएर राख, पेग बना र आइस पनि राख ।”

उसले त्यसै गरी र आफ्ना लागि पनि एक पेग तयार गरी ।

ऊ हाँस्यो— “यु सिम्स टु बि एन अमेरिकन वुमन ।”

ऊ पनि हाँसी । रिचर्ड हाँसेको देखेर उसलाई आनन्द लाग्यो ।

“लेटस चियर्स !”

दुवैले ह्विस्कीको गिलास मुखमा लगाए । रिचर्ड पेगमाथि पेग चढाइरहेको थियो । ऊ रिचर्डलाई ‘धेरै रक्सी नधोक’ भन्न सक्तिनथी । रक्सीको पेगमाथि पेग चढाइरहेको रिचर्डको अनुहार हेरेर बसिरहन्थी ऊ ।

“भोलि न्यु योर्कमा रेस्लिङ हेर्न जानु छ… । मलाई तीन सय डलर चाहिन्छ ।” राता आँखाले घुर्दै उसले भन्यो ।

“तीन सय डलर… कहाँबाट पाउनु यति धेरै रकम ?” ऊ विचलित देखिई । उसको अनुहारमा चिन्ताका रेखाहरु सलबलाए ।

“यु बिच…. ।” रिचर्डले जोडले ह्विस्कीको गिलास टेबलमा बजार्‍यो । गिलास त फुटेन तर उसको मन काँचझैँ चरक्क चर्कियो ।

“म तेरो लोग्ने हुँ, लोग्ने…. बुझिस ? म तेरो ब्वाइफ्रेन्ड होइन ।” उसले गिलासमा ह्विस्की खन्याउँदै भन्यो ।

“तिमी कसरी मेरो लोग्ने हौ ? खोइ त बिहेको कागजातमा हस्ताक्षर गरेको ? एक वर्ष हुन लागिसक्यो हामी लोग्नेस्वास्नी भएर सँगै बस्न थालेको । सधैं भोलि हस्ताक्षर गर्छु भन्छौ, कहिल्यै गर्ने होइन ।” उसको अनुहार भावपूर्ण भयो । आँखाबाट बरबरी आँसु झार्दै ऊ रून थाली ।

“यु एसियन वुमन आर भेरी सेन्टिमेन्टल…. ।” ऊ अट्टहास गर्दै हाँस्यो । उसको व्यवहारबाट प्रतीत हुन्थ्यो— आफ्नी स्वास्नीको भावना र वेदनासँग उसलाई कुनै सरोकार छैन । रिचर्ड पेगमाथि पेग थपिरहेको थियो । ऊ भने अमेरिकाको स्वतन्त्र परिवेशमा आएर पिँजडामा कैद हुन पुगेको आफ्नो जीवनलाई सम्झेर द्रवित भइरहेकी थिई । धेरै ठाउँमा ठक्कर खाएपछि उसले आफूसँगै फास्टफुडमा स्विपरको काम गर्ने रिचर्डसँग सम्बन्ध बढाएर विवाहको सम्झौता गरेकी थिई ।

यो सम्झौता निश्चित समझदारीमा आधारित थियो । ऊसँग विवाह गरेबापत रिचर्डलाई उसले एक वर्षसम्म पाल्नुपर्ने थियो र विवाहको कागजातमा हस्ताक्षर गरिसकेपछि पाँच हजार अमेरिकी डलर दिनुपर्ने थियो । कानुनी रुपमा रिचर्डकी स्वास्नी भइसकेपछि ऊ अमेरिकाको स्थायी बासिन्दाको प्रमाणपत्र पाउँथी । त्यसपछि ऊ राम्रो कमाइ हुने काम पाउन सक्थी र उसका बग्रेल्ती सपनाहरु पूरा हुन सक्थे । पछि ऊ रिचर्डलाई ‘डिभोर्स’ दिएर स्वतन्त्र हुन सक्थी ।

“के सोचिरहेकी ? ‘यसले कहिले कागजातमा हस्ताक्षर गर्ला र अर्को दिन लात हानेर घरबाट बाहिर निकालूँला’ भन्ने त सोचिरहेकी होलिस नि…. ।” रिचर्ड मुस्कुरायो ।

“आई एम नट फुल लाइक दयाट ।”

ऊ केही बोलिन । च्युँडोमा हात राखेर झोक्राइरही ।

“खाना खाने होइन ?” उसले बोली सकेसम्म नरम बनाउने कोसिस गर्दै भनी ।

कुनै जबाफ नदिई रिचर्ड रेस्ट रूमभित्र पस्यो । ट्वाइलेटमा उसले पिसाब फेरेको आवाज उसका कानमा पर्‍यो । अब ऊ के गर्न चाहन्छ ? उसलाई राम्ररी थाहा छ । उसलाई दिगमिग लागेर आयो ।

बाहिर आउँदा रिचर्ड नाङ्गै थियो । ऊ मुस्कुराउँदै सोफामा लम्पसार पर्‍यो । हातमा टिभीको रिमोट कन्ट्रोल लियो र यूट्युबको पोर्न साइटमा गएर ‘ओके’ थिच्यो । स्क्रिनमा विश्वविख्यात मोडल इभा हिल्टन आफ्नो ब्वाइफ्रेन्डसँग यौनक्रिया गरिरहेको दृश्य आयो ।

“यु सुड डु लाइक दयाट।” रिचर्डले ऊतिर हेर्दै भन्यो ।

ऊ उठी र उसको काखमा गएर बसी । रिचर्डले एकएक गरी उसका सम्पूर्ण कपडाहरू फुकाल्यो । ऊ सर्वाङ्ग नाङ्गी भई ।

“तँ मोटी हुन थालिस । इभा हिल्टन जस्तै पातली हु, अनि बल्ल विवाहको कागजमा हस्ताक्षर गर्छु ।” ऊ खितखितायो ।

रिचर्डको शरीरलाई चुम्दै ऊ पनि टिभीमा देखिएकी इभा हिल्टन बन्न थाली ।

“रिचर्ड, मेरो हनी, तिमी मैले भनेको केही पनि मान्दैनौ ।” ऊ बोली ।

“मैले तिम्रो कुन कुरा मानिनँ डियर ?” रिचर्डको मदहोस स्वर गुन्ज्यो ।

“मलाई खुसी देख्न चाहन्नौ तिमी ?” रिचर्डको मीठो स्वर सुनेर ऊ खुसी भई ।

“यसो नभन न डार्लिङ ।” ऊ बोल्यो ।

“कागजमा हस्ताक्षर गरिदेऊ न मेरो हनी ! किन मलाई तडपाउँछौ ? म तिमीलाई छोडेर कहीँ जान्नँ । म काम गरेर तिमीलाई पाल्छु । म सधैं यसरी नै तिम्रो सेवा गरुँला ।” उसको स्वरमा मिठास, बोलीमा व्यग्रता र शब्दहरुमा आग्रह थियो ।

“हे….हे….हे…. ।” रिचर्ड हाँस्यो । दुवै हातले उसलाई जुरूक्क उचालेर ऊ बेड रूमभित्र छिर्‍यो ।

टिभीको स्क्रिनमा ‘पज’ मोडमा इभा हिल्टनको हाँसेको अनुहार देखियो ।

सुरूमा बेड रूमभित्रबाट ऊ कराएको सानो आवाज आयो । त्यसपछि ऊ बेस्सरी चिच्च्याउन थाली । उसको चिच्च्याहट बढदै गयो र अन्तमा ह्वाँह्वाँ रोएको नारीस्वर टिभीमा देखिएकी इभा हिल्टनको छेउसम्म पुग्यो ।

“ए सुँगुर्नी, खोइ मलाई चिया ?” रिचर्ड बेड रूमबाट चिच्च्याइरहेको थियो । ऊ वास बेसिनमा जुठा भाँडा धोइरहेकी थिई । उसले जुठा भाँडा त्यत्तिकै छोडी । ओभनमा पानी उमालेर चिया बनाई र हतारहतार ठूलो कपमा कालो चिया लिएर बेड रूमभित्र गई ।

उसलाई निद्राले अझैँ छोडेको थिएन । उसका आँखा अनिदा थिए । राति २ बजे सुतेर ५ बजे उठेकी ऊ घरको काममा जुटिसकेकी थिई । उसको कमाइमा रजाइँ गरिरहेको रिचर्ड कुनै पनि काममा उसको हात बढाउँदैनथ्यो । पीआर पाउने आशाले ऊ पनि रिचर्डका हरेक माग पूरा गर्न र यातना सहन विवश थिई ।

उसले फेरि बेड रूममा गएर रिचर्डलाई हेरी । चियाको कप रित्तो थियो तर ऊ फेरि घुर्न थालिसकेको थियो । उसले दुवैका लागि ब्रेकफास्ट तयार गरी र आफूले खाई । रिचर्डको ब्रेकफास्टका लागि डाइनिङ टेबलमा ब्रेड, अमलेट, ससेज, जुस, दूध, विन्स, फ्राई गरेको आलु र टमाटर राखिदिई । रिचर्डका लागि लन्च पनि तयार गरी र रेफ्रिजेरेटरमा राखिदिई । उसले लुगा फेरी, अनुहारमा हल्का मेकअप गरी । उसले रिचर्डलाई हेरी । उसको नजिकै गई र गालामा म्वाइँ खाँदै भनी— “म अफिस गएँ है हनी…. !” जानुभन्दा पहिले सिराननिर रिचर्डले मागेअनुसार तीन सय डलर राख्न भुलिन उसले । उसको माग पूरा नगर्नुको परिणाम थाहा थियो उसलाई ।

ऊ ढोका बन्द गर्न लागेकै थिई, रिचर्डको आवाज उसका कानमा पर्‍यो— “आज साँझ मेरो साथी ज्याक पनि आउँछ । डिनर र ड्रिङ्क्सको व्यवस्था गर्नू ! हामी दुवै रेस्लिङ हेरेर सँगै फर्किन्छौं ।”

उसले ड्याम्म ढोका लगाई र रून्चे अनुहार लगाउँदै सिटी सेन्टर जाने मेट्रो स्टेसनभित्र छिरी ।

रिचर्डले आदेश दिएअनुसार साँझ डिनर र ड्रिङ्क्स तयार थियो । ऊ एक घण्टा छिटो बिदा लिएर फ्ल्याटमा आई । रिचर्ड खुसी होस भनेर उसले एटीएमबाट पैसा निकालेर रिचर्डलाई मन पर्ने ह्विस्की, स्न्याक्स र डिनरका लागि सामानहरु लिएर आएकी थिई । धेरैजसो खानेकुरा रेस्टुराँबाटै प्याक गरी ल्याएकी थिई ।

साँझ ८ बजेतिर रिचर्ड आफ्नो साथी ज्याकसँग टुप्लुक्क आइपुग्यो । ज्याक यसभन्दा पहिले कहिल्यै यस फ्ल्याटमा आएको थिएन । उसले दुवै जनाको हार्दिक स्वागत गरी । रिचर्डले चारैतिर नजर दौडायो । हिजो–अस्तिभन्दा आज घर सफा र सुन्दर देखिएको थियो । डाइनिङ टेबलमा उसलाई मन पर्ने ज्याक ड्यानियल्स ह्विस्कीको बोतल र खाने कुराहरु प्याक गरी राखिएका थिए । ऊ मनमनै खुसी भयो तर उसले प्रकट रुपमा आफ्नो खुसी देखाउन चाहेन ।

तीनै जना सोफामा बसे । उसले सबैलाई ह्विस्कीका पेग बनाई । उसलाई थाहा थियो— यस कुरामा रिचर्डलाई साथ दिनुपर्छ, नत्र ऊ रिसाउँछ । हुन त उसलाई पनि रिचर्डसँग ह्विस्की पिउँदापिउँदा लत नै बसिसकेको थियो ।

रिचर्ड र ज्याक पेगमाथि पेग चढाउँदै ह्विस्की पिइरहेका थिए । ऊ तिनीहरुका लागि स्न्याक्स सर्भ गरिरहेकी थिई ।

रिचर्डले उसलाई तानेर आफ्नो काखमा राख्यो र आफ्नो गिलास उसको ओठमा लगाइदियो । उसले अनिच्छापूर्वक उसको जुठो रक्सी घुटुक्क निली । रिचर्डले उसलाई अँगालो हाल्दै चुम्यो ।

“आज तँ कति राम्री देखिएकी….!” ऊ बोल्यो ।

“देखिएकी हैन यार, राम्री…. साँच्चिकै राम्री…. ।” ज्याकले उसको हात स्पर्श गर्दै भन्यो ।

रिचर्डले पहिलो पटक आफूलाई ‘राम्री’ देखेकोमा ऊ दङ्ग परी । उसले पनि रिचर्डलाई अँगालो हाली र ओठमा म्वाइँ खाई ।

ह्विस्कीसँगसँगै तिनीहरुले रेस्टुराँबाट ल्याएका खानेकुराहरु खाए । खानेकुरा सिद्धिए पनि ह्विस्कीका गिलासहरु भने रित्तिएनन । रिचर्ड र ज्याक रेस्लिङकै बारेमा कुरा गरिरहेका थिए । उनीहरु अमेरिकी रेस्लर जोन सिनाका फ्यान थिए । आजको गेममा सिनाले सबैलाई चित खुवाएर च्याम्पियनसिप बेल्ट पाएकोमा तिनीहरु हर्षित थिए ।

रातको गाढापनसँगै रक्सीको मात पनि चढ्दै गयो ।

“अब हामी फिल्म हेरौं है…. ।” रिचर्डले भन्यो ।

“कुन फिल्म ?”

“पोर्न…. नयाँ छ । इट इज सो एक्साइटिङ एन्ड थ्रिलिङ ।” रिचर्ड बोल्यो ।

“तिमीहरु हेर, म सुत्छु ।” उसले भनी । ज्याकको अगाडि नै पोर्न फिल्म हेर्ने प्रस्ताव गरेकोमा उसको मनमा आशङकाको तुवाँलो मडराइरहेको थियो ।

“ज्याक आज यतै बस्छ । नखरा नपार, खुरूक्क यहाँ बस ।” रिचर्डले आँखा तर्दै भन्यो ।

उसले ज्याकलाई हेरी । ऊ गिद्धले सिनो हेरेझैँ उसको सारा शरीरमा आफ्ना नजर गाडिरहेको थियो ।

उसलाई थाहा थियो— ऊ रिचर्डको आदेश लत्याउन सक्तिन ।

टिभीको स्क्रिनमा पोर्न फिल्मका दृश्यहरु सुरू भए । ऊ उँधोमुन्टो लगाएर बसिरही । रिचर्ड र ज्याक भने फोहर शब्द बोल्दै पोर्न फिल्मका हरेक दृश्यबारे कमेन्ट गर्न थाले ।

रिचर्डले उसलाई तानेर काखमा राख्यो र उसका कपडा एकएक गरी खोल्दै गयो । कपडा खोल्नमा रिचर्डलाई ज्याक पनि सहयोग गरिरहेको थियो ।

“यो के गरेको रिचर्ड ? हे भगवान…. यो के गर्दै छौ तिमी ? म तिम्री स्वास्नी हुँ, रन्डी होइन ।” ऊ मुख छोपेर रून थाली ।

रिचर्ड ऊ रोएको देखेर हाँस्यो ।

“नरोऊ बेबी नरोऊ…. । म तिम्रो लागि भोलि कति ठूलो काम गरिदिँदै छु । म बिहेको कागजमा हस्ताक्षर गर्नेछु । हाम्रो कोर्ट म्यारिज हुनेछ । केही दिनमा तिमी पीआर पाउँनेछ्यौ । अनि केही दिनपछि नै हाम्रो डिभोर्स पनि हुनेछ ।” रिचर्डले खित्का छोडदै भन्यो ।

“म तिम्रा लागि केही दिनको लोग्ने बन्न तयार छु । तिमी आज एक दिनका लागि रन्डी बन्न सक्तिनौ बेबी ?” रिचर्ड आफ्ना खस्रा हातहरुले उसको नाङ्गो शरीरलाई दरफर्‍याउन थाल्यो ।

“यो मेरो साथी ज्याक र ममा केही फरक छैन बेबी…. । यसको घरमा म पनि पाहुना भएर गएको छु । यसकी पनि तिमी जस्तै स्वास्नी थिई तर ऊ तिमीझैँ रून्चे थिइन, उदार मनकी आइमाई थिई । उसले दिल खोलेर मेरो स्वागत गरेकी थिई । ओहो… त्यो रात सम्झँदा ऐले पनि मेरो शरीरभित्र मुसो मार्न दौडिरहेको बिरालाको तीव्र उत्तेजना महसुस हुन्छ ।” रिचर्डले आफ्ना लुगा फुकाल्दै भन्यो ।

उसका कुरा सुनेर ज्याक मक्ख परेर हाँस्यो । सायद उसले पनि उक्त रातको स्मरण गर्‍यो ।

रिचर्ड र ज्याक सर्वाङ्ग नाङ्गा थिए । तिनीहरुका बीचमा अर्ध मुर्छित अवस्थामा रहेकी नाङ्गी ऊ थिई ।

ती दुवै संयुक्त रुपमा उसको नाङ्गो देहसँग इच्छाअनुसार खेल्न थाले । ऊ यन्त्र मानव झैँ तिनीहरुको इच्छा र आदेशअनुसार चल्न थाली ।

०००

उसले आफ्ना आँखा खोली । ऊ सोफामा नाङ्गै पस्रिरहेकी थिई । रिचर्ड र ज्याक कोठामा थिएनन । टिभी खुला थियो । स्क्रिनमा दुइटा रक्तपिपासु बाघहरु एउटा पोथी हरिणलाई लखेटी लखेटी मारिरहेका थिए । अचानक उसको मोबाइलको घण्टी बज्यो । ऊ जुरूक्क उठन खोजी तर उसको शरीरका अङ्ग प्रत्यङ्ग दुखिरहेको थियो । उसका हातखुट्टामा शक्ति थिएन तैपनि ऊ बलजफती उठी । उसले ब्यागबाट मोबाइल झिकी र शुष्क स्वरमा बोली— “हेलो ।”

“मम्मी, सन्चै हुनुहुन्छ ? म अगिदेखि फोन गरेको गर्‍यै छु, उठाउनु भएन ।”

“हो र छोरा…. । म सुतेकी थिए“ ।”

“मलाई कहिले अमेरिका बोलाउनुहुन्छ मम्मी ? यस पटकको दसैंमा त बोलाउनोस् है । अब म तपाईं बिना एक्लै बस्न सक्तिनँ मम्मी…. ।”

त्यसपछि उसको छोराले के बोल्यो, उसले केही सुन्न सकिन । उसको हातबाट मोबाइल भुइँमा खस्यो र ब्याट्री उछिट्टिएर सोफामुनि पुग्यो । ऊ काटेको रुखसरी सोफामाथि डङ्ग्रङ्ग ढली ।

तपाईको प्रतिक्रिया