बालिका बान्तावा

फेसबुकमा लामाे चिनजान र माया बसेपछिकाे आज उसंग पहिलाे भेट । हिजो रातभरि निदाउन सकिन । शुरूमा के भनेर बाेल्ने हाेला ? कसरी बाेल्ने हाेला ? फाेटाे जस्तै हाेला कि नहाेला ? कसरी चिन्ने हाेला ? साेच्दा साेच्दै बिहानी सुर्यकाे किरण मेराे काेठा भरि फैलीसकेछ । हतार हतार उठेर नुहाई धुवाई गरि सेताे कुर्ती र निलाे जिन्स पेन्ट लगाएर क्याफेतिर लाग्छु जहाँ हाम्राे भेटने सल्लाह थियाे । लगभग दस पन्द्रह मिनेट पछि उ निलाे सर्ट र कालाे हाफ पेन्टमा आईपुग्छ । पहिलाे भेट भएकोले नमस्ते गरेर बस्ने आग्रह गर्छु।
उसले कुर्सीमा बस्दै भन्यो “अँ के खाना अर्डर गरौं ? कालाे कफि मगाउ है ?”
“नाई ! तिम्रो लागि मगाउ । मलाई त कालाे केही मन पर्दैन । खाने, लाउने सबै मेरो त सेतै हुन्छ । म त दुधकाे कफी खान्छु ।” मैले अगाडि भने “अँ एउटा कुरा भनिहाल्छु। तिमी पनि सेतै कपडाहरू लगाउ ल । मलाई मन पर्छ । एउटा कुरा थाहा छ ? सेताे कपडा लगाउनेकाे मन पनि सेताे र सफा हुन्छ नि । जस्ताे कि म।”
शुरू मै मेसेन्जर च्याटमा मैले सधैं गरे झैं लामाे गनथन गरेँ।
” ए हो ? त्यसो भए मेराे मन त कोइला भन्दा कालाे हाेला होइन त ? ” उसले यसो भन्दा हामी दुबै खित्का छाडेर हास्यौं एकछिन ।
घामको झुल्का पोखिएको यो बिहान आज अर्कै छ। कालो कफी,सेतो कफी र भेनिला केक टेबलमा आयो । लामाे गफगाफ भयो। र आजकाे दिन यहीँबाट छुटिने सल्लाह भयाे।

उसलाई भेटेपछि दिनभरि उसैकाे बारेमा साेच्न थालेँ । मान्छे त साेझाे नै हाे र जेन्टल पनि । कता कता झन झन भित्र माया बढेर आयाे। भाेलिपल्टसम्म पनि उसकाे म्यासेज नआए पछि मैले नै म्यासेज गरेँ।

” हेल्लाे आकाश के गर्दैछाै ? मलाई त सम्झिदैनाैं कि के हाे ?”

लगभग दुई घण्टा जति बितेपछि उत्तर आयाे।

“सम्झिरहेछु नि । अनि तिमी के गर्दैछाै ? ”

“तिमीलाई नै सम्झिरहेछु। किन हाे भेट भएबाट त झनै तिम्राे माया लाग्न थाल्याे। मेराे मन मस्तिष्कभरि तिमी मात्र आईदिन्छाै।” मैले मनको कुरा रोक्न सकिन।

” उसाे भए भरे पनि भेटाै न यहि कहि कतै ? हुन्न ? ”

मैले चाहेकाे कुरा उसले गर्यो । खुशीले गदगद हुँदै `ओके ´ कतिखेर भनेछु थाहै भएन।
दशैंकाे बिदा पनि चलिरहे थियोे । चाँडाे चाँडाे खाना खाएर म निस्कने तरखरमा लागेँ । साँझ झमक्क परे पनि जुनेली रात हुनाले जूनकाे प्रकाश भुई भरि छरिएकाे थियाे । त्यहिं नजिकैको एउटा हरियाे चाैरमा गएर बस्याैं । उ माेवाईल मै ब्यस्त थियाे । “अलि वर आउ न।” उसलाई तान्दै भने ” हेर आकाश ! हाम्राे नाम पनि कति मिलेकाे हगी ? तिमी आकाश म लादिप्मा । हाम्राे नाम जस्तै म सधैं सधैं तिम्राे साथमा तिम्राे छातीमा मुस्कुराई रहन चाहन्छु जुनि जुनी ।”

“अँ भईहाल्छ नि ।” उसकाे सिधा जवाफ आउँछ ।

“कुरा जति सबै छाेरी मान्छेले मात्र बाेल्नु पर्ने ? छोरा मान्छेलाई मायाको कुरा गर्न आउदैन ?” म भन्छु।
केही जवाफ नआएपछि फेरि भन्छु-
“कि मलाई माया गर्दैनाै ?” म ठुस्किएर अलि पर सरे झैं गर्छु।

“लादिप्मा माया नगर्ने भए तिमीले जहाँ बाेलाए म त्यहिं आउछु र ? ”

“हुन त हाे । हेर ! माया भनेकाे शरीर हैन,मन हाे , आत्मा हाे । तिम्राे शरीर मात्र मसंग छ । तिम्रो मन अरु कतै छ झैं लाग्छ । तिमीलाई मैले बुझ्न नसकेर हाे की ? किन किन तिम्राे मनभित्र , तिमीभित्र म आफुलाई पाउन सकिरहेकी छुईन । तर मलाई नियालेर हेर त ? मेराे आँखामा, मेराे मनमा तिमी नै तिमी छाै ।”

“सबै कुरा व्यक्त गर्नै पर्छ भन्ने छैन । माैनताभित्र पनि त प्रेम हुनसक्छ नि लादिप्मा ।” उसले आफ्नै किसिमको तर्क पेश गरयो।

“तर….तर आकाश म भगवान पनि त हैन जाे तिम्राे मनकाे कुरा बुझ्न सकुँ, देख्न सकुँ। त्यसैले कतिपय प्रेमहरू व्यक्त गर्न जरूरी छ । के तिमी मेराे लागि आफुलाई त्यति पनि परिवर्तन गर्न सक्दैनाै आकाश ? ”

“छाेरी मान्छेसँग बाेलेर सकिन्न । म तिमीलाई माया गर्छु। बस…” उ धेर बाेल्दैन।

थाहै नपाई रात छिप्पीसकेछ । छुटिन मन नहुँदा नहुँदै पनि हामी छुटिएर आ-आफ्नाे घर तर्फ लाग्याैं।

बीच बीचमा मैले म्यासेज र कल गरिरहें । म्यासेज पठाएको धेरै पछि मात्र उसकाे एक दुई थान उत्तर आउँथ्याे । कहिलेकाहीँ साेच्छु माया गर्दैनाै भन्दा माया गर्छु भन्छ । तर खै याे कस्ताे माया हाे ? छाेरी मान्छेलाई जस्ताे छटपटी हुदैन कि के हाे छाेरा मान्छेहरूलाई?

धेरै दिनपछि मैले फाेन गरेर भने “आकाश भेट नभएकाे पनि धेरै दिन भयाे । फेरि मलाई सबै भन्दा धेरै मन पर्ने माैसम पनि यहि हाे। धान र काेदाेकाे बालाहरू लहलह झुलिरहेकाे, सयपत्री , मखमलीकाे काेपिला र फूलहरू फक्रिरहेकाे , अनि याे न जाडाे न गर्मी चिसाे चिसाे सिरेटाे। कतै घुम्न गएर खुल्ला आकाश मुनि बसाैं न है…..”

मेराे आग्रहलाई उसले चुपचाप मान्यो र बिहानै बाईक लिएर निस्कियाैं धरान भेडेटारकाे उकालाे । नाम्जे बजार कटेपछि एउटा पहाडकाे सानाे थुम्काेमा बस्ने निधाे गरियाे। उसकाे बसाईको तरिका उही थियो । एक अपरिचित जस्ताे पर बसेर आफ्नै माेवाईलमा व्यस्त हुन थाल्याे । मैले झाेलाबाट पानी र केही चिप्सहरू निकालेर उसलाई झस्काएँ । “आकाश माेवाईल त एकान्तकाे साथी हाे। अहिले त तिम्राे साथमा म छु नि । हामी दुई घुम्न आएकाे नै के अर्थ रहयाे र ?”
उसले भुईमा माेवाईल राख्दै मुसुक्क हाँसेर चिप्स खान थाल्याे ।
फेरि एकैछिनमा उही सन्नाटा छायो । उसलाई फर्केर हेरेको त माेवाईल मै व्यस्त । “आकाश…. आकाश ….” दुइपल्ट बाेलाएपछि बल्ल उसकाे आवाज निस्कियाे।
” हुँ ! भनन सुनिरहेकाेछु नि।” भन्ने आवाज मात्र आयाे । उसकाे अनुहार म तिर फर्किएन ।

हुन त मान्छेका आ आफ्नै आदत हाेला । उ पनि त मानिस हाे । उभित्रकाे मानवताले एकदिन त बुझ्ला । साेच्दै मन बुझाउदैथेँ। चिसाे हावाकाे एक झाेक्काले मेराे केश राशी छुएर गयो ।

म चाहन्थे उसकाे सुकाेमल हातहरूले मेराे केशराशी खेलाउदै निधारमा चुम्दै भनाेस “लादिप्मा म शारिरिक खुशी दिन सकुँला या नसकुँला तर मानसिक खुशी भने पक्कै दिनेछु ” हुन त मान्छेका आ आफ्नै आदत हाेला । उ पनि त मानिस हाे। उभित्रकाे मानवताले एकदिन त बुझ्ला । साेच्दै मन बुझाउदैथेँ। फेरि पनि अर्कोपटक चिसाे हावाकाे एक झाेक्काले मेराे केश राशी छुएर बहयाे। बतास पनि आज अनौठोगरि चलीरहेछ ।

म चाहन्थे उसकाे सुकाेमल हातहरूले मेराे केशराशी खेलाउदै निधारमा चुम्दै भनाेस “लादिप्मा म शारिरिक खुशी दिन सकुँला या नसकुँला तर मानसिक खुशी, माया र साथ सदैव तिमीलाई दिनेछु।” गहिराे कल्पनामा डुबेरै भए पनि खुशीका आँशुहरू के पाेखिन लागेथ्याे
“ओउ लादिप्मा ! अब त जाउँ ! यहाँ त जाडाे हुन थाल्याे। पर बसिरहेकाे आकाशकाे आवाजले म झस्किएँ । बाटाे भरि भरि मन खेलिरहयाे । अहिले उसकाे शरीर मसंग छ। के उसकाे मन पनि मसंगै हाेला ? व्यक्त र अव्यक्त दुबै प्रेम हाे भने हामी नारीहरू किन व्यक्त प्रेम चाहन्छाै ? किन व्यक्त प्रेममा मात्र खुशी खाेज्छाै ?

उसकाे कम्मरमा च्याप्प समात्छु ।
” आकाश…..”
“हुँ भनन ।”
“के तिमी मलाई साच्चै माया गर्छाै ?”

“ल के भनेकाे ? माया गर्छु भनिरहेछु त ! हनुमान जस्ताे छाती चिरेर देखाउन पो सक्दिन न त …”

माेटर साईकल आफ्नै गतिमा गुडीरहेछ ओरालै ओरालाे…………।

लादिप्मा – बान्तवा भाषामा जून

तपाईको प्रतिक्रिया