नरेन्द्र गुरुङ (अरेन्द्र)


ङहि ह्युलरि मुबा…. आगुई ह्युलरि मुवा तमु मै तानलाई खि ल्होसारै आँसिमाला….
गुरुङ जातिहरुको महान पर्व नयाँ बर्ष ल्हो फेरिने दिन लाई  ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । ल्होसारबारे  बिभाजित मत भएता पनि पुष पन्ध्रलाई भने विशेष रुपमा हेरिन्छ । परदेशमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि आफ्नो अनुकुलतामा यसलाई मनाउने गरेको  पाइन्छ ।

यो साल गुरुङ (तमु) जातिको क्यालेन्डर अनुसार २६०६ औ बाघ बर्ग (त्वों ल्हो) परेको छ । हङकङमा  बसोबास गर्ने नेपालीहरु मध्ये  कर्मथलो बनाएर बसेका गुरुङ जातिको संख्या पनि उल्लेख्य छ।
गुरुङ जातिसंग संबंधित ठुला गुरुङ संस्थाहरु,गाउँ, टोल लगायत धर्म अनि आफ्नै दाजुभाइ खलक स- सानो संस्थाहरु समेत  गरेर दुई दर्जन जति गुरुङ संस्था हङकङमा अस्तित्वमा छ्न। धेरै साल देखि संयुक्त ल्होसार/ल्होछार मनाउन धेरै पटक पहल गरिएता पनि अहिलेसम्म सफल हुन सकेको छैन । कोभिड १९ को कारण गत साल मनाउन नपाएको ल्होसार यो पटकको बाघ बर्ग, त्वों ल्होसार/ल्होछार आफ्नै आफ्नै तरिकाले धुमधामले मनाउन गइरहेको स्थिति छ । सबैले आफ्नो कार्यक्रमको घोषणा गरिसकेका छन।


यहि डिसेम्बर महिनाको २६ तारिख आइतबार आज देखि लगातार जनवरी महिना भरी बिबिक्यु खाने ठुला पार्कहरु कोरोनाको कारण बन्द भएको कारण हङकङमा रहेका रेस्टुरेन्टहरु सबै पुरै बुकिङ भइ सकेको अवस्था छ । मानौ हङकङ नै ल्होसारमय भएको छ । महिनौ  भरी ल्होसार मनाउन पाउदा फुर्सद हुने छुट्टी पाउनेहरुलाई रमाइलै नै हुन्छ तर बल्ल बल्ल पाएको एक दिनको छुट्टि बिबिक्यु खाएर सक्दा चाहिँ कता कता समय र आर्थिक रूपमा पनि हामी सबैलाई पिरोलिएका कुरा यदा कदा सुन्नमा आईरहने हुदा कोरोनाको कहर साकिए पछि संयुक्त ल्होसार/ल्होछार एकै थलोमा मनाउन पाउने आशा लिएको छु ।
आज आइतबार डिसेम्बर २६ तारिख तमु समाज हङकङले बिहान ११ बजे मंकि हिलमा छेलो प्रतियोगिता गरेर ,लामागुरु,चिवा पच्यु र घ्याब्रीहरुको पुजापाठ सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित दिनको १ बजे देखि ईन्डिया क्लब जोर्डनमा ल्होसारको शुरूवात गर्दैछ । बिबिक्यु स्पोटहरु बन्द भएपनि बिबिक्यु समेत खान मिल्ने विभिन्न रमाइलो  खेलकुद अनि निशुल्क  स्वास्थ्य चेकप कार्यक्रम पनि सोही स्थानमा तमु समाजले राखेको छ।

पुर्वीय भेगबाट आएर हङकङ बसोबास गरेका गुरुङहरुको संस्था प्रदेश नम्बर १ गुरुङ समाज हङकङले स्थान र समयको कारण २७ डिसेम्बर भोलि ब्लु ओसेन रेस्टुरेन्टमा साँझ ५ बजे देखी ल्होसार कार्यक्रम तथा भेटघाट कार्यक्रम सहित मनाउदै छन भने गुरुङहरुको पुरानो संस्था तमु ट्यो हुलाले पनि बिशेष कार्यक्रमहरु सहित स्थानको कारण ब्लु ओसेन रेस्टुरेन्टमै १ जनवरी २०२२ का दिन साँझ ४ बजे देखि ल्होछार कार्यक्रमको आयोजना गर्दैछ । त्यस्तै गुरुङहरु कै धार्मिक संस्था तमु प्येल्हु संघले कोभिड १९ को कारण २०२२ जनवरी १ तारिख बिहान १० बजे देखी बेलुका १० बजे सम्म युनलङ स्थित तमुहरुको पबित्र मन्दिर क्होईबोधीमा नै मनाउने बिहान खेगीहरु पच्यु चिवा क्ल्हेप्री ज्युहरु बाट छ्योपा त्हे र थासो त्हे गर्ने र दिनको ११:३० बजे देखी रुपा लगाउने कार्यक्रम  हुनेछ।

सामाजिक दुरी लाई कायम राख्दै आवश्यक सुरक्षा सामग्रीहरु प्रयोग साथै त्यही अनुसारले ब्यबस्था मिलाउने समेत जानकारी गराइएको छ । त्यस्तै क्होईबोधी आउने जाने क्रममा सहयोग गरिदिन रुपा लगाउन खाजा पानी खान सबैलाई पालो दिन समेत आग्रह गरेको छ ।
सो दिन कसैलाई ल्हो जाने र आउनेमा आफ्नो ग्रह कटाउन चहानु हुन्छ भने तमु प्ये ल्हुमा सम्पर्क गरि अग्रिम बुकिङ गर्न सूचनामा जनाएको छ। ग्रह शान्ति गर्न २९ डिसेम्बर बेलुका शुभ साईत अनि १ जनवरी २०२२ मा गरिने त्हे हरुमा यहाँहरुको नाममा ग्रह कटाईंदिने गुरुङहरुको धार्मिक गुरु खेगी ,पच्यु र चिवाबाट गरिनेछ, ।
त्यस्तै दाजुभाइ खलक ,गाउँ तथा जिल्ला स्तरीय संस्थाहरुले पनि आ-आफ्नो कार्यक्रम चेलीबेटी खुवाउने जनवरी महिना भरिनै राखेका छन । सदा मंकि हिलमा मनाउदा, हुनेले दिल खोलेर खर्च गर्ने, नहुनेले सहभागी जनाउदा पनि हुने यो पर्व  कोरोनाको कारण  रेस्टुरेन्टको सानो ठाउँमा खुम्चिन पुगेको छ। मान्छेको टाउको गनेर पैसा लिने हुँदा सहभागितामा कमि आउला कि   भनेको त गत साल ल्होसार मनाउन नपाएर होला तमु समाजको ल्होसारको लागि २ सय जनाले ३ लाख हङकङ डलर सहयोग गरेको देख्दा यस पटक बृहत नै होला जस्तो लागेको छ ।


सबैले खुसी भएर, ब्यक्तिगत रिसिविलाई, ब्यापारिक झगडालाई थाति राखेर आउने दिनहरुमा गुरुङ जातिको उत्थानमा गुरुङहरुको हकहितमा आउने पिढिहरुलाइ राम्रो शिक्षा हौसला दिन, गुरुङको भाषा धर्म रितितिथि  संस्कार , पुर्खौली पहिचानको लागि गुरुङ्गहरु सबै जुटेर तमु प्रतिष्ठान भवन बनाउन अभिप्रेरित यो खि ल्होसारले सतबुद्धी प्रदान गरोस भनी कुलदेउता सिमिभुमी,सिल्दो नाल्दो,नाग देउता, जलदेवी, कालीदेवी,देवी देउरालीले दियोस भनि सबैको कार्यक्रम सफलताको कामना सहितका  तमुहरुको महान पर्व त्वों ल्होसार तथा नयाँ बर्ष सन २०२२ सालको उपलक्ष्यमा समस्त आफन्त जन चिरपरिचित मित्रहरु सबैमा सुस्वास्थ, दिर्घायु र समुन्नतीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु ।  छ्याजलो तानलाई।
खसिइ मुब तोल्होसारै अशिमलाँ मु । जय तमु एकता! जय तमु समाजहरु !!

तपाईको प्रतिक्रिया