मिना श्रेष्ठ

इतिहासका पानाहरु छोपिदै गर्दा ,राजनीति सांगठनिक परिस्थिति बदलिएर पृष्ठभुमिको मुल्यंकन धमिलो हुँदै गर्दा फेरि पनि आज माघ १९ आएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले कु गरेको दिन धेरै कष्टकर बनाइएको थियो जनजीवन । जीवन कष्टकर बिताएका थियौं । मोबाइलहरु कटिएका थिए । रेडियोमा संचार माध्यममा समाचारहरु निषेधित थिए । गिरफ्तार ,धरपकड थियो । मैले पनि आफू गिरफ्तार भएर शशस्त्र प्रहरी बल पकलीमा नजरबन्द राखिएका ति अप्ठ्यारा बन्दी दिनहरुलाई सम्झना  गरेँ यो वर्ष पनि  ।

जुलुसमा मिना श्रेष्ठ ,लक्ष्मी गौतम , मन्जु भण्डारी
प्रहरी ज्यादती

हामीलाई पक्राउ गर्ने सम्भावना छ है भन्ने जानकारी भएको दिनदेखि दिनभर सडक र जुलुसमा रहे पनि साँझ आफ्नै  घरमा खाना खान्थ्यौं र वास बस्न अन्तै जान्थ्यौं । गिरफ्तार हुने दिन आन्दोलनको नियमित कार्यक्रमको निम्ति म घर तिरको  भित्री बाटो हुँदै कार्यक्रम स्थल इटहरीको पश्चिम लाइन पुगेकि थिएँ। सबैको हात   सिटि फुक्न तयार थियोे । सिटि बजाउन थालियो, हामी जुलुसको नेतृत्वमा थियौं, सिटि जूलूस इटहरी चोक परीक्रमा गर्दै हाटखोला पुग्दा प्रहरीले घेरा हाली मलाई पक्राउ गरयो। पक्राउ गर्दा एकतिर आफ्नो आन्दोलनकारी साथीहरूले अर्कोतिर महिला प्रहरीले तानेर दुई पटिकै हात चुडिन्छ कि जति कै दुखेको थियो ।

यसरी एकाबिहानै सिटि जुलुसबाट निकै ठुलो झडप सहित मलाई इटहरीको हाटखोलाबाट गिरफ्तार गरेर  प्रहरी कार्यालयमा लगियो। त्यहाँ पुग्दा म भन्दा अघि मन्जु भन्डारीलाइ पक्राउ गरेर ल्याइएको रहेछ । हामी दुई भएर इलाका प्रहरी कार्यालय इटहरीको आगन मै नारा लगाउन थाल्यौं। बाहिर बाटोमा भने हाम्रो रीहाइको नारा लागीरहेको थियो। रीहाइको सट्टा  हामीलाई शसस्त्र प्रहरी बल पकली कार्यलयमा लगीयो।

चर्को ध्वनिको नाराले स्वर भासियो। आवाज थिएन । स्वर पुरै भासिएको थियो । पक्राउ पर्न अघि भएको प्रहरी संगको भिडन्तमा हात तनातान हुँदा मेरो दाहिने हातमा रगत जमेको थियो। हामी  बसेको बन्दी गृहमा भएका डाक्टरहरुले रगत जमेको स्थानमा आइसले सेकेर जमेको रगतलाई ठिक गर्ने कुरामा मात्र ध्यानाकर्षण भयो तर मेरो हातको नसा नै चेपिएको रहेछ ।

हामी आन्दोलनकारी महिला र पुरुषहरूलाई झन्डै चार मिनेट दुरीको घरमा राखिएको थियो। बिहान आठ बजे र दिउँसो तीन बजे हाम्रा आफन्त र पत्रकार मानव अधिकारकर्मीहरुसंग भेटने समय दिएको थियो । त्यो बिहानको आठ र दिउँसोको तीन बजेको समय कत्ति धेरै प्यारो र लोभ लाग्दो हुन्थ्यो । हामीलाई भेटन को आउने होला ? आज को आउने हो ? जस्तो हुटहुटी हुन्थ्यो । साह्रै आतिन्थो मन । मेरो छोरी सानी थी, दुधे छोरी मलाई भेटन खुशी हुँदै आउँथी। तर मेरो छेउमा हतियारधारी सुरक्षाकर्मी देखेर उसंग भएको म भेटदा हुने खुसीको बाढी आफैसंग थुनेर राख्थी । घर बाट हिडदा माँ लाई भेटन जाने भन्दै उफ्रदै आउँथी रे। तर आमा सुरक्षाकर्मीको घेराभित्र देखेर होला मैले काखमा लिँदा पनि उ गुथुक्क परेर आफ्ना कुराहरु नभनी बस्थी ।

हामीले प्रयोग गर्ने शौचालय  झन्डै सात मिनेटको दुरीमा थियो । नुहाउन उस्तै झन्झटिलो थियो। चौथो दिनदेखि मात्र हामी बस्ने छेउमा रहेको बाथरुहरु हामीलाई प्रयोगमा दिइएको थियो ।
पत्रकार मानव अधिकारकर्मीहरु हामीले भोगेका भोगाइहरुको जानकारी लिनु हुन्थ्यो । गिरफ्तार गरेर लगिएको तीन दिनसम्म हामीले खाना खान सकेको थिएनौं । भातको सीता हात मै बिझाउने किसिमको थियो । अहिलेसम्म यस्तो भात खाएको अनुभव थिएन मसंग। दालको नाममा पानी जस्तै झोल थियो , त्यो पनि सुंगुरको चारो बोक्ने भाँडोमा ल्याइन्थ्यो। अनि सब्जी पनि  उस्तै हुन्थ्यो।
यस्तो खानाको  जानकारी पत्रकारहरुलाइ दिएपछि  हामीलाई दिइने खानामा परीवर्तन भयो । फेरि  हामीलाई भेटन आउनु हुने अधिकांशले खानेकुरा पनि  धेरै नै ल्याइदिन थाल्नु भएको थियो । पछि त फलफूलहरु पनि धेरै  हुन थाल्यो हामीलाई र हाम्रो छेउमा रहने सुरक्षाकर्मी बहिनीहरुलाई पनि खान आग्रह गर्थ्यौं। ती बहिनिहरुसंग अहिले पनि कहिलेकाही भेट हुन्छ,प्यारो लाग्छ ।

तेह्र  दिनको बसाइपछी पार्टीको अदालती पहलले हामीलाई इनरुवा अदालतबाट रीहाइ गरीयो, पत्रकार, मानव अधिकारकर्मीहरुको रोहवरमा । हामी घर आयौं। इटहरी चोकमा ठुलो स्वागत गरीयो हामीलाई । म त के न गरेर आएको जस्तो स्वागत देख्दा लज्जित भएको थिएँ। देशको निम्ति लडाइँ लडिरहेको बेला बन्दी जीवन बसेर आएकोले गरिएको रहेछ । अहिले सम्झन्छु ! त्यो समय जे गरेँ देश र जनताको निम्ति गरेँ।

हातमा लागेको चोटले अहिलेसम्म पनि दुख दिने गर्दछ। भारी समानहरु उठाउन सक्दिन। दाहिने हातले सधैं नै साथ नदिदा कहिलेकाहीं पिडा हुन्छ । जनआन्दोलनको घाइतेको लिस्टबाट एक महिना काठमाडौमा फिजियोथेरापी गरे पनि हात उस्तै नै छ। यो दुखाइ संगै अनेकौं भोगाइहरु संसारको जुनसुकै स्थानमा पुगे पनि जहाँ रहे पनि बिर्सने छुइन देशको लागी खेपेको त्यो शाही कु । अब फेरि  नदोहोरीयोस ती दिनहरु । नेपाल र नेपालीले सधैं सुख भोगुन ।

सिटि जुलुस

२०६२ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले घोषणा गरेको नगर निर्वाचनमा इटहरी क्षेत्रबाट पक्राउ परेका व्यक्तिको  सुची

१) मन्जु भन्डारी (अनेरास्ववियु )

२) मिना श्रेष्ठ ( प्रजातान्त्रिक रास्ट्रीय युवा संघ )

३) लक्ष्मी गौतम ( अखिल नेपाल महिला संघ )

४) रमेशकुमार पोखरेल(नेपाल विद्यार्थी संघ)

५) नवराज नेपाल (अनेरास्ववियु )

६) ऋषिराज नेपाल (अनेरास्ववियु )

७) बिनोद तृताल(नेपाल विद्यार्थी संघ )

८) बिकास तृताल(नेपाल विद्यार्थी संघ )

९) युवराज घिमिरे (अनेरास्ववियु )

१०) हेमकर्ण पौडेल (नेपाल तरुण दल)

११) सुर्य बस्नेत (नेपाली काङ्ग्रेस )

१२) महेश बास्तोला (नेपाली काङ्ग्रेस )

१३) याम सुब्बा (नेकपा एमाले )

१४) डा बद्रीबिशाल पोख्रेल

१५) मिथिला पोख्रेल (नेकपा एमाले)

१६) राधा भट्टराई (नेकपा एमाले )

१७) मणिन्द्र भट्टराई (नेकपा एमाले )

१८) ध्रुब कोइराला (नेकपा एमाले)

१९) ठमनाथ लम्साल (नेकपा एमाले)

२०) रुक्मिणी कोइराला (नेकपा एमाले)

२१) कृष्ण बिनोद लम्साल(नेकपा एमाले)

२२) लक्ष्मी ओलि (अनेरास्ववियु )

शाही कदम विरुद्ध जनलहर

तपाईको प्रतिक्रिया