– मुनाराज शेर्मा

गायक तथा संगीतकार अनिल फागोले मेसेज गरेका थिए दार्जीलिङ जानूपर्छ भनेर । हुन्छ समय मिलाउनु होला, मैले उत्तर दिएको थिएँ । नभन्दै हामी कविहरु सुदिप पाख्रीन, चन्द्र गुरुङ, बलिभद्र कोइराला , सुन्दर कुरुप , प्रकाश थामसुहाङ, म र मौरी वर्षा, जोसित मेरो दोस्रोपल्ट भेट भएको थियो, ताजेङ्लुङ प्रस्थान गर्यौं।
लिम्बुवान र सिक्किमको कन्फ्लिक्टमा वार्ता भईरहने
ढुङ्गा (कथ्यमा ; सम्वाद ढुङ्गा; ताजेङ्गलुङ ) थियो । पछि ब्रीटिसले त्यो नाम लेख्य अङ्ग्रेजीमा dargeeling दार्जीलिङ लेख्यो। – “वीर नेम्बाङ”

ब्यानर सामाजिक संजालमा देखिने बितिक्कै भाले साहित्य भनेर धुवाँदार टिप्पणीले माहौल तताएको थियो। अरु धेरै मेरो जिक्रीलाई सामेल गर्ने धोको नभएको होइन तर दार्जिलिङ जस्तो महङ्गो सहरमा कार्यक्रम गर्नु आयोजकको आफ्नै बाध्यता थियो नै त्यसैले मिलेन। लैङ्गिक समावेशीको विषय आयोजकको आफ्नो विषय थियो। त्यसमा हाम्रो सल्लाह बाहेक हुनसक्ने केही थिएन। तथापि आयोजकले बिगत बर्षमा लैङगिक समावेशिताको काम गरेको स्पष्टीकरण दिएको थियो र आगामी दिनमा त्यसलाई पूरा गर्ने बाचा पनि गर्यो। नाटक र सिनेमाको सेसनमा त्यो मुद्दा समेत उठाइएको थियो।

नब्बे बर्षको इतिहास बोकेको गोर्खा दुख निवारक संघमा कार्यक्रम भएको थियो। नब्बे बर्ष अघि त्यस्तो कलात्मक भव्य थिएटर हल दार्जीलिङमा थियो। सम्झदा नि गर्वको महशुस हुन्छ। कति नाटक मन्चन भयो कति कलाकार जन्म्यो नेपाली साहित्य र कलाको लागि। अटल बहादुर नाटक सर्व प्रथम मन्चन भएको हल हो यो।

कवि बासु पुलामीले समावेशी साहित्यबारे लामो लिखित दस्तावेज पढेर सिद्धान्तको चर्चा गरेका थिए।
नेपाली राजनीतिमा समावेशी बिचार २०७२ को संविधानले अङ्गिकार गरेको बिषय हो। तर दार्जीलिङमा समावेशी साहित्य सन 2014 बाट शुरु गरेको एक लेखन आन्दोलन हो। यो नेपाली राजनीतिको समावेशी भन्दा पृथक रुपमा बुझेका छन् दार्जीलिङ्गेले। खासमा त्यता चलेको आयामेली लीला लेखन बिचलन किनाराकृत लेखन र हस्तक्षेपी सिद्धान्तको टक्करमा बैचारिकि समावेशिताको रुपमा निर्माण गरिएको बुझियो।

नेपाली समावेशी राजनैतिक मुद्दा हो। जहाँ महिलाको निर्णायक तहमा उपस्थिति खोजिएको छ। भौगोलिक, जातिय, क्षेत्रीय, दलित, लोपोन्मुख, सीमान्तकृत सबै क्षेत्रको उपस्थितिको प्रत्याभूति गर्ने गरि कुनै पनि समितिको निर्माण, राज्यको सेवा सुबिधामा आरक्षणको व्यवस्था समावेशीताले खोज्छ। नेपाली साहित्यमा खास गरेर सिमान्तमा रहेका सांस्कृतिक ,भाषिक, ऐतिहासिक करेक्सन, लैङ्गिक्ता, तेस्रो लैङ्गिक, दलितमाथिको दलन ,विकासको पछौटेपन आदि विविध पक्षमाथि साहित्यले केन्द्रिय थिम बनाएर पहिचान लेखनलाई अगाडि ल्याएको छ।
कार्यक्रममा समकालीन सन्दर्भ र समावेशी कवितामाथि बहस भयो। सुन्दर कुरुप , प्रकाश थाम्सुहाङले नेपाली कवितामाथि धारणा राखे। ज्ञानेन्द्र यक्सोले समावेशीको औचित्यपूर्ण विचार प्रस्तुत गरे।
आजको कविताको सन्दर्भ समाज लेखन नै हो। समाजबाट भागेर कविता अन्त जान सक्दैन। विविधता माथि कलात्मक प्रस्तुति, बिद्रोहको चेतना, समाजको करेक्सन र भविष्यको कल्पना कविताले समाजलाई अर्पण गर्ने हो। वर्तमानमा कविताले वैश्विक चेतनाका साथै सिमान्त चेतनालाई ज्यादा मुखरित गरिरहेको छ। यो काव्यिक चेतना हरिजन्टल चेतना हो जसले समानन्तरीय लेखन र उठानलाई बोकेको छ ।

समकालीन आख्यानमाथिको बहसमा वक्ताहरुले हरिजन्टल र भर्टिकल चेतनाको पक्षलाई वकालत गरे। भर्टिकल पक्षमा सर्वाधिक राज्य निर्देशित प्रख्यातिको टुप्पामा रहेको कृतिलाई मानक मानिन्छ जसलाई लेखकहरु प्रभाव भन्छन्। जसले बीच र पुछारको चेतनालाई बाल दिदैन। तर हरिजन्टल चेतना त्यो दशकको मुख्य घटना कालक्रममा प्रस्फुटन भएका बहुल चेतनाको समग्र प्रस्तुती हो। जो त्यो समयको प्रभाव हो।साहित्य राजनैतिक प्रभाव भन्दा बाहिर हुँदैन । दार्जीलिङ ८६ को आन्दोलनपछि पोष्ट कन्फ्लिक्ट लेखिरहेको छ। एउटा लेखनलाई दार्जिलिङले समग्ररुपमा स्वीकार गरेको छैन। अरु लेखन मागिरहेको छ।
नेपाली आख्यानको समकालिनतालाई लिंदा, जनआन्दोलनपछिको लोकतान्त्रिक बैचारिकिलाई बोकेर लेखिरहेको पोष्ट इन्सर्जेन्सी वा पोष्ट जनयुद्धको लेखनलाई मान्नु पर्छ जसले समग्र अद्यावधिक अलिखित दमित चेतानाको सौर्न्दर्य शास्त्रलाई एकमुष्ट पर्दाफास गर्यो। अहिले आज रमिता छ, शरणार्थी, उलार, पलपसा क्याफे, हेत्छाकुप्पा हुँदै पाइताला, लेखककी स्वास्नी, ऐना, नथिया, इति, महाभारा आदिसम्म आइपुगेको छ।
कतिलाई लाग्छ प्रख्याति उच्चता हो। प्रख्याति किन हुन्छ ? मुल प्रश्न होइन। प्रख्याति बिना पनि असल बिचार बाँचेकै हुन्छ। मुल प्रश्न अन्य बैचारिकिहरुलाई किन पछि पारियो भन्ने हो। अस्वीकार्य किन हाबी छ ? खास सोच्नु पर्ने हो हामीले।शताब्दि दबिएको हरेक चेतनालाई भटमासको टुसा जस्तो अङ्कुराउन खाली ठाउँ छोड्नु हाम्रो उदारता हो। जो उदार लोकतान्त्रिक पद्धति हो , स्विकार्नु पर्छ।

प्रथमत: कृति अब्बल हुनु पर्यो। कुनै समयमा अब्बल कृति पनि बाहिर नआउन सक्छ। मिडिया हाउसले गतिलो प्रचार गर्नु पर्यो। प्रचार गर्दैमा कृति राम्रो हुन्छ भन्ने छैन। समालोचना ठिक हुनुपर्यो। पकेटका समालोचकले जे पनि ठिक भनिदिन सक्छन् । उचित बिचार बोकेको समय सान्दर्भिक मुद्दा केन्द्रित हुनुपर्यो। प्राय केन्द्रिय एकात्मक राज्यसत्ताको पक्षपोषण गर्छन् जुन आजको मुल सन्दर्भ त्यो मात्र कदापि होइन। खास कुरो निश्चेत गर्न घुमाउरो पाराले नियोजित प्रचारबाजीमा पर्नु भएन। राज्य र अन्तर्राष्ट्रिय एजेन्सीहरुको इन्ट्रेष्ट अदेखा हुन्छ र लेखकमाथि राजनीति गर्छन् । जसलाई हामी हिट भन्छौं तर उनीहरुको चाख अन्यत्र हुन्छ। त्यो सामान्य पाठकले बुझ्दैन। किन एउटा सामान्य आख्यानको पुस्तक दिन दुई गुना रात चौ गुना अन्तर्राष्ट्रियकरण हुन्छ ? यसमा प्रश्न गर्न सकिन्छ।
समकालीनताको विविध क्षेत्रहरू छन् । जस्तो कि आयामेली कवितामा- बैरागी काइँलाको कविताहरु,मेरो आमाले आत्महत्या गरेको देश।
लिला लेखनमा- सरणार्थी,अरामायण,अश्वत्थामा,
सिर्जनशील अराजकतामा- हेत्छाकुप्पा, दमिनी भिर, लाटो पहाड ,करङको हिरासत।

उत्तरवर्ती सोचमा – काव्यिक चेतना मात्र माङ्फुङ्को कायाकल्प, लिम्बुनी गाउँ।
रङ्गवादमा- भिरैभिरको रङ्ग, बाडुली र सुदुर सम्झना, मैले बोल्दा देशको नक्सा हल्लिन्छ,रातो बाघ।
नारीवादमा- इति,सुम्निमा, द्रौपदी, पोथि बास्नु हुन्न, म स्त्री अर्थात आइमाई, थाङ्ग्रा, लेखककी स्वास्नी , कठपुतला, छोरीले जन्माएका आमाहरु।
सांस्कृतिक प्रतिवादीमा – पहिचान लेखन, बिसे नगर्चिको बयान, भाले बास्ने बिहान, इतर कविता, चिबेचरा, पालामको मुर्छन्ना, शब्दहरुको याक्सा, पृथ्वीको आविष्कार , गोयाङ्को सुगन्ध, दाहिने बाटो, यारी, नथिया, कदम, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे।
उत्तर आधुनिकतामा – सुकरातको डायरी, कठपुतला
दलित सौर्न्दर्य शास्त्र र

उत्पिडन तर्फ – गहुँगोरो अफ्रिका , मैदारो, कामी, कान्छो सार्की ,थाङ्ग्रा, नथिया ।
भयवाद – आदिवासी, फियरिजम।
मधेसी सौर्न्दर्य र उत्पिडन – अब्बा, भुइँया
थारु सांस्कृतिक सौर्न्दर्य र उत्पिडन – सुनरे सियाराम, सखी ।
हिमाली संस्कृति र पीडा, तामाङ सांस्कृतिक सौर्न्दर्य र उत्पिडन- उर्गेनको घोडा, सल्लिपिर, राजधानी मास्तिरको राजधानी , याम्बुनेर, मासिन्या ।
उत्तर बहत्तरको भुकम्प – बिर्सिएको मृत्यु, कम्पन।
वैदेशिक रोजगारी,प्रवासी पीडा सौर्न्दर्य र उत्पिडन- मलाया एक्स्प्रेस, खबुज, रेमिटल्यान्ड, पुरुष, यादहरुको सन्दुक, यो मेसिनको सहर हो, तोदा, मुदिर, छुटेको समय।
युद्ध साहित्य- जयमाया आफुमात्र लिखापानी आईपुगि, खुकुरीको धारमा, तेप्लायु।
उत्तर जनयुद्ध सौर्न्दर्य र पीडा- पल्पसा क्याफे,खलङ्गामा हमला, छापामारको छोरो, छापामार युवतिको डायरी, फात्सुङ, फुलाङ्गे।

पर्यावरण लेखन- इति, तङ्सिङ, थकित पृथ्वी, स्वच्छन्द सुशेली, हंस।

दुर्व्यसनी पीडा- इति, इतिहासको पुनर्लेखन।

बिनिर्माण -योगमाया, अश्वत्थामा, चिरहरण।
स्वैरकल्पना, भावनाको उडान- पागल बस्ती, काठमाडौ फिबर, पाइताला, ज्ञ, ढुंगाको प्रेम।
प्रगतिशिलता- प्रेतकल्प, हजार माइलको यात्रा, वृषव बध, जुनकिरिको संगीत, खुट्टामा श्रीपेच, प्रश्नहरुको कारखाना।
नारी उत्पिडन- सेतो धर्ती ।
समसामयिकता,मानवतावादी , कलावादी – भाले बास्ने बिहान, ल्याम्पोष्टबाट खसेको जुन, जीवनको छेउबाट, च्याउको जङ्गल , हुरिमा नाचिरहेको इश्वर,पहाड मसँगै यात्रा गर्छ, सगरमाथाको गहिराई, जब गोदावरी फुलेन, जब एउटा मान्छे हराउँछ ।
आदिआदि । अरु यहाँ नलेखिएका समेत आख्यान र काव्यको बैचारिकि ,सिद्धान्त, प्रवृत्ति, शैली शिल्प लेखनलाई नै अहिले समकालीन काव्य र आख्यानको समकालिनता र सन्दर्भ मान्नु पर्ने हुन्छ सायद। कविता र आख्यान दुबैमा काव्यकारिता कलात्मक भाषा सरल लयात्मक भाषिक प्रयोग अहिलेको आख्यान र काव्यले अङ्गिकार गरेको भाषिक शिल्प हो।कन्टेन्टको हिसाबले मुद्दामा केन्द्रित लेखनलाई बढि आत्मसात गरिएको पाइएको छ। भावको गम्भीरता, सघनता बिषयको प्रमाणिकता स्पष्टता मन छुने प्रस्तुति वर्तमान
काव्यकारिताको अर्को सबल पक्ष हो। नयाँ विम्ब मिथिकल उठान इष्यु बेस मुद्दा नविन ईश्वरको स्थापना, सीमान्तकृत आवाजको केन्द्रिकृत स्थापन , सांस्कृतिक चिन्तन इतिहासमा प्रश्न र करेक्सन छोपिएको स्वरको स्थापन , लैङ्गिक भौगोलिक क्षेत्रको सम्बोधन समेत नविन काव्य र आख्यानको मौलिकता र विषेशता हो। बहुल पात्र ,बहुल विचार, बहुल आख्यान समेत आख्यानिक लेखन समकालीनता हो। यी सब हरिजन्टल दृष्टिकोणले वर्तमानमा अङ्गिकार गरिएको समकालीन आख्यान र काव्यकारिताको लेख्दै गरिएको अवस्था हो। कारण हामी उदार लोकतान्त्रिक परिवेशमा छौँ । यो भर्टिकल एकात्मक राज्य सत्ताको अनुदार समय होइन। जो एकात्मक राज्यले निर्देशित सिद्धान्त र बैचारिकिमा मात्र त्यो एकल निर्णय घोषित गर्छ।
जहाँसम्म गम्भीर र पपुलर लेखनको कुरा छ। त्यो निश्चित भन्न सकिने कुरा होइन। युवाहरूलाई सरल प्रेम साहित्य जो समवेदनशील होस ज्यादा मन पर्छ। तर गहिरो पठन भएकाहरुले गम्भीर लेखन पनि स्वीकार्छन्। गम्भीर साहित्य अध्ययन गर्ने थोरै श्रोता हुन्छन् । त्यसै पनि नेपाली साहित्यको बिक्री कमजोर नै छ। सघन मुद्दा ,जटिल भाषा शैली, जटिल दार्शनिकता, बहुल पात्र र बहुल लामो कथा सायद गम्भीर आख्यान बन्छ। सुललित भाषा र टची लाइन सलल बग्ने कथाले पाठकलाई तान्छ। कथा गुजुल्टो परेपछि यो पाठकको रोजाइबाट पछि हट्छ।
काव्यमा पर्फमेन्सको कुरा समेत वर्तमानको समकालीनता हो जो पपुलर हुन आवश्यक विशेषता मध्ये एक मानिन्छ। तर टेक्स जति अरु चीज अब्बल होइन। काव्यमा बिम्ब र बिचारको सघनता जटिल अमुर्त भाषिक शिल्प भएमा पाठकको क्षमता भन्दा बाहिर हुन्छ। जो गम्भीर छ तर पपुलर नहुन सक्छ। बैरागी काइलाको कविताहरुलाई यो नियमले छेक्दैन। कारण ती कविताहरु कोर्समा छन् र कविताका शिर्ष बिन्दुमा छन्। कविताले जीवनको निरपेक्ष अर्थ उक्काउने प्रयास गर्यो। जीवनको गहिराई खोज्यो। एकोहोरो हिडिरहेको काव्य जगतलाई यु-टर्न गर्यो। उनका कविता नपढी नहुने स्थितिमा नेपाली कवि छन्। केही साहित्य गम्भीर र प्रख्यात दुबै छन्। उनी पनि त्यसमा एक हुन। पपुलारिटी र गम्भीरताको कुरामा कुनै पाठकले जीवनमा प्रकाश कोविदको अर्को जन्म वा सुबिनको समर लभ मात्र पढेको छ र प्रभावित भएको छ भने त्यो नै सर्वाधिक चिज होला । त्यसकारण यो अध्ययन पहुँच लगाव चेतना आदिको पक्ष होला। तर जो अनन्त अध्ययन गर्छ उसले निर्माण गर्ने कुरा हो यो गम्भीरता ।

प्रकाशन हाउसको कुरा जहाँसम्म छ, यो निकै उदेक लाग्दो छ। तथापि वर्तमानमा रमाइलो र रोचक पनि छ।यति धेरै कर्पोरेट हाउस हुनु सुखद पनि हो।प्रकाशन गृहले रोयल्टी प्रदान गरेर कुनै लेखक होलटाइमर पनि बनेका छन् ।
प्रकाशन गृहले पत्याएका लेखक कविको कृति निकै तामझामका साथ आश्चर्यजनक रुपले प्रकाशन प्रचार र बिक्री समेत हुन्छ। नपत्याएकाहरुको हकमा यो भाग्य प्राप्त हुने छैन । उनीहरुको भनाई पूर्ण सत्य नहुन पनि सक्छ। यो सत्य उजागर असल पाठकले निर्माण गर्छ। प्रकाशक जे बिक्छ त्यो छाप्छ। लेखक जे सोच्छ जे अनुभुत गर्छ त्यो लेख्छ। यो फरक छ दुबैमा। प्रकाशकले चाहे जस्तो लेख्ने लेखकहरु थोरै छन्। जस्तो नगरकोटी , उनी डिजाइनर हुन भन्छ मिडिया हाउस जो रोमाञ्चकता लेख्छ। यिनी मुद्दा कन्टेन्टका वेपर्बाह हुन् ।त्यसमा रुचि छैन उनलाई। यिनी पपुलिष्ट फिक्सन राइटर हुन् गम्भिरे होइनन्।
अर्को, पुरस्कार जो छ त्यसले बिक्रीको ग्राफ बढाउने हुँदा कर्पोरेट हाउस पुरस्कार केन्द्रित लेखाउने छाप्ने गराउँछ। जसले मुद्दा बाङ्गीएर कमजोर बन्छ फण्डा उराल्छ। फण्डाले बिक्री चै बढाउँछ। हामी धेरै कर्पोरेट हाउसले नपत्याएका लेखक कवि हौं। कुनै बेला नपत्याइएको लेखकको पनि भरमार बिक्छ नै।

अहिले नेपाली नाटकले सिमान्तको आवाजलाई बुलन्द गरेर मानिसहरुको मनमा राज गरिरहेको छ। केन्द्रिय चिन्तनमा मन्चित नाटकको प्रतिस्थापनमा सिमान्तिय सौर्न्दर्य लिएर सिनेमाको झल्को साथ उभिएको छ । नेपाली नाटक चोरको स्वरदेखि खुवालुङले यो विराट रुप प्रस्तुत गरेको हाम्रो नजर सामु छ। दार्जीलिङमा नाटक सुस्ताए पनि नेपालमा नाटकको बाढिनै छ। दार्जिलिङ्गले आफ्नो बर्गतले ब्युझाउँन सक्छ। प्रयाससाथ लागि पर्नु पर्ने हुन्छ। अहिलेको नेपाली नाटक ज्यादा नीजि बर्गतमा उभिएको नाटक हो। भनिएको जस्तो राज्यबाट पूर्ण सहयोगमा निर्माण भएको हुँदै होइन। यसमा कलाकारको अपनत्व र खास उद्देश्यले काम गरेको छ । त्यो आफ्नो स्वत्वको स्थापनाको लागि हो।

समावेशी साहित्य सम्मिलन २०२२ मा नेपाल र भारतीय डेढ दर्जन बढी कविहरुको बुलन्द कविता प्रस्तुतिले नेपाली कविताको समकालीन अवस्थालाई बुझ्ने मौका मिल्यो।कविताको चेतना स्तर, बिम्ब शैली , क्राफ्ट भाषिक शिल्प बैचारिक तौल उति फरक नभएको महसुस भयो। जातिय मुक्ति र विभेदरहित समाजको लागि हामी दुबै तर्फ तेतिकै संवेदनशील छौँ प्रमाणित भयो। सायद हामी नजिकै छौँ। एउटै समयमा छौं। हाम्रो भोगाईहरु मिल्छ । तथापि आख्यानको मामलामा हामी फरक छौँ । हाम्रो समकालीन बुझाई उता अद्यावधिक केन्द्रीय तर हामी त सिमान्तियमा प्रवेश गरिसकेका छौँ । नेपाली सुगम सङ्गीत र लोक नृत्यले निकै आनन्दित तुल्यायो। अनिल फागोलाई बधाई ।

दार्जिलिङको चौरास्ता । सन १८८०

चौरस्ताको घरिघरिको चौबल यात्रा रात्रीकालिन समयमा ज्ञानेन्द्र यक्सो र चन्द्र गुरुङले आफुलाई चौरस्तामा हराएको कथाले निकै सनसनी फैलायो। काइँलाको नोस्टाल्जिक मोहबत गल्ली मोहम्बतले व्यबसाय परिवर्तन गरेको नमिठो तथ्यले निकै नमज्जा लाग्यो। गोर्खा दुख निवारक सम्मेलन हलको ९० बर्षे ऐतिहासिकता कलात्मकता र भव्यता सदा ताजा रहनेछ। दार्जिलिङलाई उर्जा लगन र जोसको मात्र खाँचो छ नाटक ब्युँझाउन अरु के चाहिँन्छ र? आफै जुट्दै जाने हो त्यो गरोस् भन्छु म। छोटो सिनेमा बनी रहेको रहेछ। खुशी लाग्यो। मौरी वर्षाको फोटोग्राफी गजबको ,मान्छे उस्तै रौसे।पेट चि छिटै घटोस्। स्टलको किताब नि निकै बिक्यो। पठन संस्कृति छ नि त्यहाँ । दार्जिलिङ पो त! कलेजको विद्यार्थीहरुको टन्नै उपस्थितिको प्रशंसा नगरि रहन सकिन्न।तेइमाथि महिलाहरुको ज्यादा सहभागीता।

दुई दिन नै भव्य सिटिङ भयो। आयोजकहरु सब पिएचडी स्कलर, कलेजका प्राध्यापक एकसे एक सुन्दै गजब!गर्व लाग्छ भारतीय नेपाली दाजुभाइप्रति। हाम्रो भेट भई नै रहनेछ ।पशुपति नाकामा कविता राई गाउँलेको सेल्टर छ। अनन्त सदभाव मित्रता प्रेमले भरिएको काव्यिक चेकपोस्ट हो त्यो । जहाँबाट नेपाली काव्य आख्यान वारिपारी गर्छ। कविहरु बस्ने सूचना आदानप्रदान गर्ने मुख्य ट्रान्जिट पोइन्ट हो जो हामीलाई सदा झैँ कविको अमुल्य सहयोग प्राप्त भयो। कवि कविता गाउँलेप्रति ऋणि छौँ ।

तपाईको प्रतिक्रिया