काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको उनले बताए ।

मन्त्री नेम्बाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने, ‘नेपाल सरकार, भौतिकपूर्वाधार तथायातायातमन्त्रालय र मेरो व्यक्तिगततर्फबाटजापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु ।’

उनले नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदुत मासामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गरे ।

त्यस्तै जापानी राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताए ।

राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षतिपुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

विपी राजमार्गको पुनर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भयो ।

पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया