हिलिहाङ-३, कुर्लुम्बा, पाँचथर स्थायी ठेगाना भएका कवि मनु योङहाङ शिक्षण पेशामा आवद्व हुनुहुन्छ । एम एस्सी,एलएलबी, एमफिल गर्नु भएका कवि पिएचडी स्कलर हुनुहुन्छ । नेपाली साहित्यमा बिशेषगरि कविता क्षेत्रमा आफ्नो उपस्थिति वजनदार रुपमा बनाएका यी कविको पछिल्लो कविताकृति `सेक्मुरी फुल ´ निक्कै चर्चामा रहेको छ । उहाँका कविताहरुले मुन्धुमी चिन्तनलाई निक्कै मिहिनरुपमा प्रयोगमा ल्याईरहेको छ । अनुसन्धनात्मक ऐतिहासिक यथार्थवादी आख्यान लेखनमा रूची राख्नु उहाँको अर्को सौख हो। प्रस्तुत छ साताको तीन कविता ।
एक थुंगा बुकीको फूल
आइतबार, बिदाको दिन आज
सुस्ताएको छु म एकैक्षण तोङदेनमून पार्कमा
जहाँ वरिपरि छारष्टिएका छन् मानिसहरुका हुल ।
र छेवैमा फ्याकिएको छ एउटा घुर्मैलो सेतो फूल,
अनायसै उठाएँ त्यो फूललाई मैले
सुगन्ध उहि,कान्ति उहि, खर्कको स्वप्निल पल…
छचल्किए स्मृतिमा यादहरुको तुल
हातमा छ एक थुङ्गा बुकीको फूल ।
यो परदेशमा,मर्सिडिजमा चढेर
प्लेटफर्ममा प्रतिक्षारत मेट्रो रेलमा बसेर
फेसबुकमा आफैलाई रमाएको पल ,
सम्झिएँ गाँउघरको बाटोमाझ
ठिही तुषारोले चिप्लने बारीको पाटोमाझ
पत्थर टेक्ने पाइतालामा हात्तीछाप चप्पल लगाएको पल,
चुईक्क,चुईकाउदै डेढमनको भारी ढाकरमा बोकेर
रहर र सपनालाई दिनभर खकनमा जोखेर
एक घान भुटेको मकैको भरमा रात भगाएको पल,
जुवा, जोतारो र हलो ठिक्क पारेर
तिल्के र सिंधुरे हलगोरु नारेर
सानो परिवार पाल्न मेलोमा मामालाई सगाएको पल,
त्यो चिउरीबोटेमा पौडी खेल्दाको बालापन मगमगाएको पल,
टक्टकाए मैले परदेशी माटोको धुल
हातमा छ एक थुङ्गा बुकीको फूल ।
आयो, उहिले धागोले बाँधेको चिठ्ठीमा बाजेलाई
मलायामा खुकुरी र राइफल सँगै गुमाएको खवर ।
पाइयो, पहिले आकाशवाणीबाट बालाई
फोकल्यान्डमा बम र बारुदसँगै हराएको समाचार ।
थाहा छैन, अहिले कसरी भन्नु मैले आफैलाई
समुद्रपारी, परदेशमा काम र मेसिनसँगै समयको के भर ।
त्यसैले
हेर्न खोजें तर- देखिन मैले यहाँ मेरो नेपाली गाँउघर सुदुर
सुन्न खोजें तर- सुनिन मैले यहाँ पालाम,बालन र रोदीको सुर
चाख्न खोजें तर- भेटिन मैले यहाँ ढिंडो, सामाबोक पपन्दा र पाङ्दुर,
छैन आमा यहाँ, पहिरनमा तागा मेख्ली घलेक ,सारी र चौबन्दी
पाइन दिदि यहाँ, गहनामा ढुङ्ग्री ,बुलाकी, नौगेडी, चन्द्रहार र सिरबन्दी
भेटिन फूपू यहाँ, संस्कृतिमा विनायो, मूर्चुङ्गा, च्याब्रुङको साथमा बसेकी लोकन्दी
अनि नै त यो परदेशमा
मेरै तगारोको बीरे आग्लो सराइमा सर्लक्क
म कन्चनजंघाको लालित्यमा हिलिहाङको नाशो देखिरहन्छु ।
आफ्नै जाँतोमा मकै पिध्दा,ढिकीमा धान कुट्दा भक्रक्क
म मेरै बुद्धम शरणम् गच्छामीको मुल मन्त्र लेखिरहन्छु ।
र मदानीको घार्र घुर्र तान चर्खाको थोलीमा खत्रक्क
यलम्वर र जनकको महानता भएको माटोमा टेकिरहन्छु ।
नजर जो स्वदेशकै !
कलम जुन स्वदेशकै !!
माटो जो स्वदेशकै !!!
दुख्यो छाती उठ्यो मेरो मुटुमा शुल
हातमा छ एकथुङ्गा बुकीको फूल ।
“टिनिन्न” फोन आयो अचानक
“सेवारो आमा” फर्काए जवाफ
“शुभ जन्मदिन छोरा” आमाको आशिर्वाद
सकिन भन्न मैले “धन्यवाद”
अनायसै फुट्यो आँखामा आँशुको मूल
समाएछु हातमा एक थुङ्गा बुकीको फूल ।
ठूल्दाइ
नेशुमको फूंगुवा खोलाको झरना झरिरहयो।
संक्रान्तिमा हर हिउंँदमा तुषारो परिरहयो।
चौतारीछेउको भालुबांँसे झैं
तगारोको आग्लो यताउता सरीरहयो।
हावाको झोक्कामा नसुनिएका तिम्रा पौरखहरु!
तमोरको सुसाईमा नगुन्जिएका तिम्रा बहादुरीहरु!
कहिले चौदण्डी गढी
कहिले फकताङलुङमा वर्णित तिम्रा इतिहासहरु!
तीनजुरेको लालिगुराँसहरूले छेकीदिंदा अस्ताउँदो घाम।
सबैले बोलाउछन् ठूल्दाइ, भन लुङ्गा!के हो तिम्रो नाम?
एकाबिहानै
झोलामा बोकेर भुटेको भटमास र मकै
धरान झर्दा
लाबरबोटे र सांगुरीगढीमा बितायौ रात भोकै,
मच्चायौ
युवराज गाउँ राजधानीमा
हलचल पूर्वको ज्योति छर्दै
तिमीले इतिहास लेख्यौ-तर पढेनन् तिम्रा सन्ततिहरुले।
तिमीले सङ्गीत भर्यौ-तर गाएनन् तिम्रा सत्सङ्गी छिमेकीहरुले।
तिमीले ज्ञानको आभा छर्यौ-तर बुझेनन् बेईमानीहरुले।
के पो लाग्छ र ?
राम्रो सुन्ने
कान थुनेपछि
विवेक हेर्ने
आँखा छोपेपछि
सत्य बोल्ने
ओठ रोकेपछि,
तर समय हिंडी रह्यो,
समयसंगै तिम्रो ज्ञानको झिल्को धिपधिप बलिरह्यो
बर्षौ अघि रोपेको विवेकको फल फलिरह्यो
यथार्थता बुझ्ने सबैको हृदय देखिको सलाम।
सबैले बोलाउछन् ठूल्दाइ ,भन लुङ्गा! के हो तिम्रो नाम?
सहकार्यमा मैले
तिम्रो सि:लाम साप्लामा याद आउँछ
तिमीसँगै गुन्गुनाएका पालामहरू।
तिम्रो तागा र मेख्लीमा
झल्को आउँछ
तिमीसंगै नाचेका केलाङहरु,यालाङहरु।
तिम्रो विनायो र मुर्चुङ्गामा
झन्कार आउँछ
मुजुरा बजेका संगिनी र वालनहरु।
किनकी,आज परदेशमा
तिम्रो मुन्धुममा म आधुनिक नेपाल देख्छु।
तिम्रो हाकपारे र ख्यालीमा
मेरो मातृभुमिको नखोजिएको इतिहास लेख्छु।
कसैले मिच्न खोजेमा
काङसोरे र भक्ति थापा भएर सिमाना छेक्छु।
नभनेर,नसुनेर,के भो त!अझै गर्नुहोस राम्रो काम
सबैले बोलाउछन् ठूल्दाइ, भन लुङ्गा!के हो तिम्रो नाम ?
आमा अब भेट हुन्छ हुन्न !
आमा विरामी , प्रियको फोन आयो
हठात खबरले मनमा हलचल ल्यायो
सम्झिएँ परदेशबाट आफ्नो गाउँ
चस्कियो मनको अभ्यन्तरमा चुस्स घाउ
कताकता अनायासै अध्यारो छायो
थाहा छैन उडान हुने बिदेशमा अब डेट हुन्छ हुन्न
फर्कन पाईएन चाडै आमा अब भेट हुन्छ हुन्न ।
त्यो ग्लेसियरको भिडन्तमा
सम्झाउनु भएको थियो नि आमा
त्यो कारगीलमा ग्रिनेड पड्केर म घाइते हुँदा
ढाढस दिनु भएको नि आमा
पहिले लद्दाख,
अहिले गलवान, कोही इराक,
कोही कारगील
म काश्मिरमा आफ्नै गाउँ देख्छु
म इराकमा आफ्नै ठाउँ देख्छु
सिरिया र आइ एस
तोराबोरा र तालिबान
कम्पनीको कानुनमा मानवताको रेट हुन्छ हुन्न
फर्कन पाईएन चाडै आमा अब भेट हुन्छ हुन्न
उफ !
कारखानामा
मेशीनले चुडिएको हात सगैं डम्बरे दाइको प्रयासमा
कठै ! भवनबाट झरि भाँच्चिएको मेरुदण्डमा घस्रने डाइबरे दाइको साहसमा
हाय ! दुर्घटनामा काटिएको खुट्टामा काब्राबोटे काकाको बैशाखी अभ्यासमा
सबै म जस्तै परदेशी नेपालीहरु थुप्रै छन्
दिवास्वप्नहरु मुदिरबाट बलात्कृत अबलाहरुको
रोगले थलिएकाहरुको
शोकले गिजोलिएकाहरुको
दलालले ठगिएकाहरुको
कफिनमा बन्द निश्वास सपनाहरुको
सबै उस्तै उस्तै फर्कन बाध्य नेपालीहरु
त्यो दोब्बर भाडा असुल्ने विचौलियाको पेट हुन्छ हुन्न
आमा , फर्कन पाईएन चाडै अब भेट हुन्छ हुन्न।





