नेपाली साहित्यको क्षेत्रमा कविता राई गाउँलेको आफ्नै पहिचान , योगदान र स्थान छ । उहाँको लेखनीले सधैं भुईमान्छेको वाकलत गरिरहेका हुन्छन् । हामीले उहाँसग नेपाली साहित्यमा महिला लेखनको अवस्था र चुनौतीको बिषयमा केन्द्रीत भएर गरिएको कुराकानी ।
नयाँ कृति केही तयारी गर्दैहुनुहुन्छ ?
फाटकमा घाम कविता सङ्ग्रह लिएर आएको केही महिना मात्र बित्दैछ , सङ्ग्रहको लागि मुक्तकका संख्या पुगिसके पनि अहिले नै कुनै नयाँ कृति निकालिहाल्ने सोचमा छुइन ।
नेपाली साहित्यमा महिला लेखकहरूको लेखन बैचारिक रुपमा कहाँ छ? र तपाईं आफैंलाई चाहिँ कहाँ पाउनुहुन्छ ?
अग्र स्थानमा छ तर नेपाली साहित्यमा पनि लैंगिक विभेद आजसम्म पनि यथावत रहेकोले गर्दा महिला लेखकहरूको लेखकीय शक्तिलाई स्वीकार गरेर पनि मनन गरिन्न । पछिल्लो समयमा नेपाली महिला लेखकहरूले प्रकाशित गरेका फरक फरक बिधाको कृतिहरूले आम पाठकहरूलाई प्रभावित मात्र गरेका छैनन् लेखकले उठान गरेका बिचारहरूको धारले पाठकमाझ बहसको विषय पनि बनाइदिएकोछ । र म पनि आफूलाई यहि पंक्तिहरूमा लामबद्द पाउँछु ।
तपाईंको विचारमा एक महिला लेखकको चुनौतीहरू के के हुन् ?
महिला लेखकहरूको सबैभन्दा पहिलो चुनौती भनेको नै समयको पावन्दी हो । र दोस्रो लेख्ने स्वतन्त्रता जुन आफूले भोगिरहेको पारिवारिक पृष्ठभुमीमा निर्भर रहन्छ । अहिलेको स्थितिलाई हेर्ने हो भने देशको अस्थिर राजनीतिको प्रभाव र यसले सृजना गरिरहेका असुरक्षित वातावरण , तीब्र गतिले फड्को मारिरहेको डिजिटल युग अनि पुरुष लेखकहरूको हल्लामय हस्तक्षेप …,यी सब चुनौतीहरूको बाबजुद पनि महिला लेखकहरू अफ्नो लेखनमा अझ धारिलो बन्दै निरन्तर लागिरहेका छन ।
तपाईंको लेखनले समाजको विसंगतिहरूलाई कतिको चिर्न सकेकोछ जस्तो लागेकोछ?
कवितामा धेरै नै कोशिश गरेकीछु तर कविता सिमित मान्छेहरूले मात्र पढ्ने भएकोले गर्दा यति उति नै भन्न सकिन्न यद्यपि कविताको मुखबाट निस्किसकेको आवाज कहि न कहि गएर त सुनिनेछ पक्का ।
नेपाली साहित्य लेखन अन्तर्राष्ट्रिय स्तरमा कहाँनेर छ र हामीले उठाउनु पर्ने बिषयहरू के के हुन् ?
नेपाली साहित्य लेखनको स्तर उच्च भएपनि अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो साहित्य बिस्तार हुनलाई पहिलो समस्या अनुवादको कमिले नै हो। जस्तो नेपालबाट अन्य देशमा पुगेका हाम्रा कृतिहरू नेपाली या नेपालीभाषीहरूले मात्र पढिरहेकाछन ।अन्य देशकाले हाम्रा साहित्य प्रति चासो राख्ने आधारहरू हामीले नै तयार पार्न सकिरहेका छैनौ । यहाँ सहित्यिक संस्थाहरू र सरकारको पक्षबाट पनि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनहरूको आयोजना एकदमै न्यून हुने गरेकोछ । साहित्यिक नेटवर्कको कमजोरीले पनि हाम्रो लेखनको सिमितताले सिमाना नाघ्न नसकेको महसुस हुन्छ।





