रविनकुमार नाल्वो हङकङ निवासी व्यवसायी हुन् । पूर्वी नेपालको ताप्लेजुङमा जन्मिएका नाल्वो अधिकांश समय हङकङमै बस्छन् । उनी समाजसेवामा पनि रुचि राख्छन् र कला तथा साहित्यको प्रवर्द्धनमा समेत सक्रिय छन् । उनले निर्माण गरेको चलचित्र ‘सुगुप’ नेपाल सहित विभिन्न देशमा प्रदर्शन भइसकेको छ । अहिले नाल्वोले वृत्तचित्र निर्माण गरेका छन् । त्यही सेरोफेरोमा रहेर नाल्वोसँग गरिएको कुराकानी प्रस्तुत छ ।

तपाईँले पहिले चलचित्र बनाउनुभयो, तर यसपटक वृत्तचित्र बनाउनुभएको छ। किन?
यो सत्य हो कि मैले पहिले चलचित्र बनाएको थिएँ र अहिले वृत्तचित्र ‘मुक्कुमलुङहरु: आदिवासीको आस्थामा आक्रमण’ बनाएको छु। तर दुवैको उद्देश्य एक किसिमले सचेतनासँग जोडिएको छ। वृत्तचित्रमा निर्माताको रूपमा म मात्र नभई अरू साथीहरू पनि हुनुहुन्छ। यसअघि मैले निर्माण गरेको चलचित्र ‘सुगुप’ हो, जुन लिम्बु समुदायको परम्परा, संस्कृति र विश्वास पद्धतिमा आधारित छ। मैले हाम्रो लिम्बु समुदायको परम्परा हाम्रै समुदाय तथा अन्य समुदायलाई जानकारी गराउन यो चलचित्र निर्माण गरेको हुँ । किनभने धेरैजसो हाम्रो समुदायका मानिसहरू आप्रवासनको क्रममा थाकथलोबाट टाढा पुग्दा आफ्नो रीतिथिति बुझ्ने मौका पाएका छैनन्। तर थाकथलोबाट टाढा बसेर पनि ‘सुगुप’ चलचित्र हेर्दा उनीहरूले आफ्नो रीति र संस्कृतिलाई बुझ्ने मौका पाए। साथै अन्य समुदायलाई पनि लिम्बु संस्कृतिबारे जान्ने अवसर मिल्यो। अहिले बनाएको वृत्तचित्रले हाम्रो आदिवासी, विशेष गरी लिम्बु समुदायको प्रतिरोधको आवाज बुलन्द बनाउन बनाइएको हो।

अहिले बनाएको वृत्तचित्र कस्तो छ?

शैलीको हिसाबले यो एक ‘एक्स्पोजिटरी’ डकुमेन्ट्री हो। विषयवस्तुको दृष्टिले आदिवासीमाथि भएको दमन र प्रतिरोधको कथा हो। मुख्यत: यसले अहिले मुक्कुमलुङमा निर्माण भइरहेका केवलकार र त्यसको विरोधको कथालाई समेट्छ। तर हामीले यसमा खुवालुङ र विजयपुरका सन्दर्भ पनि समावेश गरेका छौँ, ताकि मुक्कुमलुङमा भएको आक्रमण पहिलो र एक्लो होइन, पहिले अन्य ठाउँमा पनि यस्तै प्रयासहरू भएका थिए भनेर देखाउन सकियोस्।

यो वृत्तचित्र किन बनाउनु भयो ?

हाल विकासको नाममा मुक्कुमलुङमा निर्माण भइरहेको केवलकार विकास होइन, यो हाम्रो आस्थाको धरोहर र सभ्यतामाथिको आक्रमण हो। त्यसैले यसको विरुद्ध प्रतिरोध जारी छ। आन्दोलनको क्रममा धेरै व्यक्ति घाइते भएका छन्, तर सरकारले सुनुवाइ गरेको छैन। सरकार र ठूला राजनीतिक दलहरू खासगरी ठूला व्यापारीहरूको हितमा केन्द्रित छन्। यहाँको दमन अत्यन्तै क्रुर छ र यसले हाम्रो सांस्कृतिक सम्पदा र इकोसिस्टममा नकारात्मक प्रभाव पार्ने खतरा छ। त्यसैले सरकारले गरेको दमन र त्यसले पार्ने प्रभाव सबैलाई बुझाउन जरुरी छ । र त्यही कुरा बुझाउनको लागि यो वृत्तचित्र निर्माण गरिएको हो।

वृत्तचित्रको नाम ‘मुक्कुमलुङहरु’ किन राख्नुभयो, ‘मुक्कुमलुङ’ नभई?
नाम हामीले प्रतीकात्मक रूपमा राखेका हौँ। मुक्कुमलुङमा अहिले आक्रमण र दमन भइरहेको छ, तर यो आक्रमण र दमनको सामना गर्ने आदिवासी सभ्यता र आस्थाको थलो मुक्कुमलुङ मात्र होइन, अरू ठाउँहरू पनि छन्। खुवालुङ र विजयपुरको कुरा पनि हामीले यस वृत्तचित्रमा समेटेका छौँ। त्यसैले मुक्कुमलुङको कथा केवल मुक्कुमलुङको मात्र होइन, मुक्कुलुङ जस्तै आदिवासी आस्थाको धरोहर र केन्द्रको रुपमा रहेका अन्य स्थानहरुको पनि कथा हो । त्यसैले मुक्कुमुलुङ जस्तै अन्य सभ्यताको थलोहरुको प्रतिनिधित्व गराउन यसको शीर्षक ‘मुक्कुमलुङहरु’ राखिएको हो।

वृत्तचित्र निर्माणको काम कति चुनौतीपूर्ण रह्यो?
चुनौती धेरै रह्यो। हामीबीच पनि विभिन्न विचार र अवधारणा थिए — कसरी बनाउने? कस्तो बनाउने? के के कुरा समेट्ने? यस्ता प्रश्नहरू थिए। धेरै पटक छलफल गरी साझा धारणा बनायौँ, तर सरोकारवालाहरूबाट सुझाव र चासो निरन्तर आइरह्यो। एउटा तयार गरिएको खाकामा उनीहरूको चासो राख्न धेरै मेहनत गर्नुपर्‍यो। अर्को कुरा, निर्माण कार्य राज्यसँग जुध्दै गर्नु परेको थियो। किनभने राज्य प्रशासन केवलकार निर्माण कम्पनीको पक्षमा थियो। उनीहरूले विभिन्न बाधा र दमन गर्‍यो। डकुमेन्ट्री छायांकन गर्न गएका हाम्रो टोलीमाथि त आक्रमण पनि गरियो।

यसले मुक्कुमलुङ आन्दोलनलाई कसरी सहयोग गर्छ?

आन्दोलन सशक्त हुनको लागि नैतिक समर्थन आवश्यक हुन्छ। साथै आर्थिक सहयोग पनि चाहिन्छ, किनभने आन्दोलनमा सहभागीहरूलाई कम्तिमा खाना र चिया त खुवाउनु पर्छ। यो वृत्तचित्रको प्रदर्शनबाट यी दुवै कुरामा सहयोग पुग्ने आशा छ। पहिलो कुरा, यो वृत्तचित्र हेरेर सबैले मुक्कुमलुङ क्षेत्रमा भइरहेको दमनको बारेमा बुझ्नेछन्। बुझेपछि उनीहरूको सहानुभूति केवलकार खारेजी समूहप्रति हुनेछ। यस्तो नैतिक समर्थनले आन्दोलनरत पक्षलाई बल मिल्छ। दोस्रो, वृत्तचित्र प्रदर्शनबाट आएको निश्चित प्रतिशत रकम हामी आन्दोलनलाई प्रदान गर्छौँ।

नेपालमा प्रदर्शन भर्खरै सकिएको छ, अबको योजना के छ?
हो, नेपालमा पहिलो प्रदर्शन भर्खरै सफलतापूर्वक सम्पन्न भयो। अब फेब्रुअरी ८ मा हङकङमा प्रदर्शन गर्ने योजना छ। साथै नेपालका विभिन्न स्थानहरू, लिम्बु र राई समुदाय रहेका ठाउँहरू तथा अन्य देशहरूमा पनि प्रदर्शन गर्ने तयारी छ।

 

तपाईको प्रतिक्रिया