आजको नेपाली काब्यक्षेत्रमा सुसङ्गत भाषाशील्प नवीन वैचारिक चिन्तन र आफ्नै मौलिक पहिचान बनाएका सशक्त काव्यिक हस्ताक्षर हुन् कवि अमरदीप सुनुवार । यस अघि नै पृथ्वीको श्वेतपत्र कविता संग्रह प्रकाशित गरिसकेका छन् । उनले रचना गरेका करिब डेढ दर्जन सुन्दर गीतहरु समेत रेकर्ड भइ सार्वजनिक भएका छन् । नेपालको निजामती सेवामा सेवारत उनी हाल अध्यागमन विभागमा निर्देशक पदमा कार्यरत रहेका छन्

पर्दाहरु

पर्दाहरुले
कहिले अर्कालाई छेक्छन्
कहिले आफैलाई छेक्छन्
कतियले छेक्छन्
क्षितिजिय दिव्य दृष्यहरु
र कतिपयले छेक्छन्
अविरल अविचलित आँखाहरु ।

लाग्छन् कतिपय पर्दाहरु
घरघरका झ्याल र ढोकाहरुमा
छेक्न प्राकृतिक उज्यालो
लाग्छन् कतिपय पर्दाहरु
सहरका सभाहलका मञ्चहरुमा
बढाउन सभाकै शोभा
लागिरहन्छन् कतिपय पर्दाहरु
थियटरका रङ्गमञ्चहरुमा
अनि आधुनिक सिनेमा हलको स्क्रिनहरुमा
सिर्जना गर्न कृत्रिम अन्धकारहरु
र देखाउन त्यहि कृत्रिम दृष्यहरु ।

पर्दाका बादलहरु
र बादलका पर्दाहरु
अदलि बदलि भइरहन्छन्
आकासलाई पनि छेक्न खोजिरहन्छन्
बदलिदै स्वरुप परिवर्तन गर्दै
आतङ्कित पार्न निरन्तर आइरहन्छन्
मान्छेको बार्दलि छेक्न खोजिरहन्छन्
कतिपयले आस्थाहरु छेक्न खोज्छन्
कतिपयले विश्वासहरु छेक्न खोज्छन्
कतिपयले त सपनाहरु छेक्न खोज्छन् ।

फगत पर्दाको पर्दाहरु
पर्दामा खेल्दा खेल्दै
पर्दैले छेक्दैमा छेकिजानेहरु
पर्दा तान्दा तान्दै
पर्दा लुकाउदैमा लुकिजानेहरु
पर्दाको संसार सकिएपछि
पर्दा विरुद्ध फिरादपत्र लेख्दैहुनेछन्
पर्दालाई प्रतिवादि बनाएर
पर्दाकै खिलाफमा जाहेरी दिदैहुनेछन् ।

ओ हिमाल तिमी त सेतै हुनुपर्छ !

अग्लो शीर
फराकिलो छाति र
स्थिर पाउले सुसज्जित
सेतो स्निग्ध पहिचानले
युगौयुगदेखि बाँच्दै आएकि
सृष्ट्रिको सूत्र हुँदै आएकि
ओ सेतो हिमाल
तिमी त सधै सेतो हुनुपर्छ ।

हिमाल तिम्रो
सनातनि सेतो पहिचानमाथि
तिम्रो मृदुल सेतै छातिमाथि
यदाकदा यामबेयाम तिमीमाथि
आरोहिको कालोजुत्ता बजारिन सक्छ
तिम्रो शौम्य सेतो शिरमाथि
कसैका रङ्गिन झण्डा फहराउन सक्छ
तिम्रो सेतो प्राकृतिक लयमाथि
यदाकदा आक्कलझुक्कल
कसैका अप्राकृतिक आक्रमण खेप्नुपर्छ
तिम्रो सेतो गरिमाको खिलाफमा
कसैले झुठका काला जाहेर दिन सक्छन्
तिम्रो सेतो सच्चाईप्रति
कसैले कपोलकल्पित कालो भ्रम छर्न सक्छन्
तिम्रो सेतो स्वाभिमानमाथि
यदाकदा सुरबेसुर कसैले
दागि सिकायत गर्न सक्छन्
यदाकदा होसबेहोस कसैले
आततायी आतङ्क पनि मच्चाउन सक्छन्
ओ सेतो हिमाल
तिमी त सधै सेतै हुनुपर्छ ।

हिमाल तिमी त
निरन्तर आफू पग्लिएर
पानी बन्दै पृथ्वी सिँचिरहेकि
अविरल आफू रित्तिएर
चराचर प्राणीको प्राण भर्दैरहेकि
अविचलित सेता पदचापहरु हिड्दै
ब्रम्माण्डकै खुसीको साहारा बन्दै
जलवायु परिवर्तलाई पनि जितिरहेकि
हिमाल भएर मानवता सिँकाईरहेकि
ओ सेतो हिमाल
तिमी त जन्मजन्मान्तर सेतै हुनुपर्छ
तिमी त युगयुगान्तर पनि सेतै हुनुपर्छ ।

सहरको साइरन

साइरन
सहरी कर्कश ध्वनी
सहरी सडकको सौन्दर्य
र सहरी सत्ताको सञ्जीवनी
सहरभन्दा धेरै टाढाको
सुदुर गाँउले आफै बुझ्नुपर्छ
सहरको सधै साइरन हुन्छ
साइरनको आफ्नै सहर हुन्छ ।

शुभारम्भ समारोहका लागि
हुइकिरहेको शासकको सवारी
आपतकालिन सेवामा
हतारहतार दौडिरहरेका दमकल
अस्पतालको आकस्मिक उपचार कक्षमा
बिरामि लैजादै गरेका एम्बुलेन्स
टोलबासीले आपतकालिन सहयोगका लागि
आफैले जोडेको आपतकालिन साइरन
जेसुकैबाट
जुनसुकैबाट
र जतासुकैबाट
सहरमा साइरन बज्नसक्छ ।

मान्नुस् सहरमा
बेताल बजिरहन सक्छ साइरन
सुनसान मध्यरातका प्रहरहरुमा
बेसुर सुसाइरहन सक्छ साइरन
मध्यदिनको असरल्ल भिडभाडमा
कराइरहन सक्छ साइरन
एकाबिहानै चिरबिर शुभमुहुर्तमा
र चिच्याइरहन सक्छ साइरन
सूर्यास्तको गोधुलि साँझमा ।
सहरमा सतर्क रहनुपर्छ
जतिबेला पनि
सत्ताले बजाँउनसक्छ दम्भको साइरन
जतिखेर पनि
शासकले स्विच थिच्नसक्छ
सहरी कुशासनको साइरन
साइरन मूलतꓽ
सत्ताको वरिपरि बजिरहन्छ
साइत बेसाइत चिच्याइरहन्छ
साइरन सम्भ्रान्तका वरिपरि घुमिरहन्छ
साइरन घेराभित्रको रक्षाकवज बनिरहन्छ ।

सहरको साइरन
स्वतन्त्र हैन स्वच्छन्द छ
अप्राकृतिक अराजक छ


 

तपाईको प्रतिक्रिया