हाल कोरियामा रहेर कविता लेखीरहेकी कवि सुष्मा रानाहँमा आफ्नो पुस्ताबीच एक स्थापित नाम हो । उनका कवितामा समाजिक न्याय र पहिचानको बिषय शसक्तरुपमा आएको हुन्छ । स्वतन्त्रता र आत्मासम्मान उनको कविताको प्रमुख बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता

बाग्दातामा अल्झेको रुङ्री

चलिरहेकाछन उसरी नै अझैसम्म बतासहरू
हो,म यसरीनै जिउदो हुँ
तर
पूर्ण छ जस्तो लाग्दैन यो समय
अपूर्ण छ भनौं पनि कसरी ?

सपनाहरूको गन्तव्यमा
थाहै नपाई छोरी अर्काको भएपछि
काखबाट सरेर
चुला र मनमा मात्र बाँकी रहेको साइनो आपाले
त्यही साइनो पनि
बाग्दाता दिएर पठाउने विचार गरेछन ।
आपा ! तिम्रो हृदयमा अझै पनि उस्तै छु म
यो नागरिकताजस्तो बाग्दाता
आफ्नो देशभन्दा
अर्को देश मन पराउँने मान्छेहरूका लागि
आफ्नो जन्मदाता भन्दा अर्को प्रेममा लठ्याउनेलाई महान मान्नेहरूका लागि
बनाइएको एक नियम मात्र हो ।

देश छोडेर जान्छु भन्नेको पहिचान
फाल्नै परयो देशले
घर छाडेर जान्छु भन्नेको पहिचान
फाल्नै परयो चुलाले
आपा ! म जन्मेकै देशमा बस्न चाहन्छु,
म जन्मेकै चुलामा मर्न चाहन्छु ।
नागरिकता त्यागेर हिडेको छोरोले
पराई देशमा बाँच्न सकेन भने ?
बाग्दाता लिएर हिंडेकी छोरीले
पराई घर रिझाउन सकिन भने ?
कहाँ जाने उनीहरू ?
छोरीलाई फर्केर आउने चुला चाहिएजस्तै
छोरोलाई पनि फर्की आउने देश चाहिन्छ ।

मलाई थाहा छ–
घरमाथि झ्याम्मिएको मेरीलाबोची
घरमुनि अग्लिएको मिचिलिम्माची
वाबूची, नछुङची, रमिपमीची
सबैले छोरीलाई बाग्दता दिइहाल्नुपर्छ भनिरहेका छन ।
तिम्रो चुलाबाट निस्केकी छोरीलाई
तिम्रो मायाले अल्झाइ नराख भनिरहेका छन
तर आमा !
अझै पनि म तिम्रो मुटुमा
उही छोरी उसरी नै बाँचिरहेकी छु ।

म सुनिरहेछु–
सपनामा बारम्बार भन्छन पितृहरूले
‘तँ बाग्दाता नालिई मरिस भने भडिकनेछ तेरो रुङ्री
तँ उसको हुँदिनस,जोसँग तेरो मुटु गाँसिएको छ अहिले

ए ! बन्द गर त्यो रेडियो
कसले बजाइरहेछ गीत–
‘तारी देऊ ए माझी दाइ माइतिको पाप लाग्ला
तारी नदेऊ ए माझी दाइ मायालुको पाप लाग्ला’
सम्बन्धलाई टुक्राउने नदीजस्तै यो संस्कार
म परिवर्तन गर्न चाहन्छु,

मसँग बाँच्ने अर्को मुटुले
मसँगै बस्नेछ मेरो चुलामा एकजुनी
उसँगै जोडिएको मेरो मुटुले
उसँगै बस्नेछु उसको चुलामा एकजुनी
एकै ठाउँमा सातै जुनी कटाउनू कसले भन्यो हँ ?

रुङ्री-सातो
मेरीलाबोची-मेरीको पात
मिचिलिम्मा-धामी बसाउदा चाहिने तितेपातिजस्तै रूख
वाबू-चिण्डो
नछुङधा-मी
रमिपमी-सरसमाज

युगको अन्त्यपछि

कागहरु कराईरहेछ बासको झाङमा…

नदीमा बाढी आएको रमिता छ
गाउँमा पहिरोले पुरिएकाहरुको
बलत्कार,हत्या,छुवाछुतको समाचारहरू
अखबारहरुको हेडलाईनमा छन
सडकमा भोकहरुले नाराबाजी लगाईरहेकै छन।

कागहरु कराईहेछन बासको झाङमा…
पुरानो युगको अन्त्य हुनुअघिको सङकेत
उनिहरुलेनै सुझाइरहेकाछन।

त्यसपछि त
हामी उडनेछौं पखेटा फिँजाएर
आफ्नै भाषा बोल्नेछौं स्वतन्त्र
आदिम लयमा गाउनेछौं आफ्नै गीत
मधेसदेखी,पहाडहुँदै हिमालसम्म हिँडनेछौं
गन्तव्य चोमोलुङ्मासम्म पुग्नलाई
झोलामा हुनेछन
हाम्रै तानमा बुनेका कपास र रेसमी धागोका
केहिथान लत्ताकपडाहरु
आफ्नै तीन चुलामा पाकेको खाजाहरू

कागहरू कराइरहेकाछन बासको झाङमा।

नझर्ने आँसु

तिमीले ममा के देख्छौ र डुबिन्जेल हेरिरहन्छौ ?
भन त ए एक कप्टेरो जून !

किनारा नपुगी फर्किने छालहरु नछल्किएकै जाती
मनभित्रै बाँध हालेर नभईदिए डुबान
कति हल्का हुन्थ्योहोला बरु यो छाती !

हाँस्नेहरुलेनै जितेको हो यो संसार
तब न सतर्क अभिनय गरिरहेको छु-
जिन्दगीको रङ्गगमञ्चमा
आफ्नैहरुको आसपास ।

बर्षा याममा कुहिरोले ढाकेको घाम
घरिघरि जबरजस्ती झुल्किए झै नझुल्किनू
ए,रात लुकिजाने आशाका छायाँहरु
मलाई काफी छ यिनै अध्यारो र मौनताको साथ ।

आकाश फाटेकोबेला
कसले सुनिदेला धरतीमा मेरो वेदना ?
आखिर सधैं बिजाउने सिरानी रुझ्नु नयाँ भएन
मनले भारी बिसाए न म हल्का हुने हो
तिमीले ममा के देख्छौ र डुबिन्जेल हेरिरहन्छौ ?
भन त ए एक कप्टेरो जून !
ए नझर्ने आँसु
अब त तिमीले झर्नै पर्छ।

नोट :

बाग्दाता=बाचा।प्रतिवद्वता।राई जातिमा छोरीलाई कुटुम्बघर दिँदा कुटुम्बहरुलाई गराउने प्रतिवद्वताको रीत।
रुङ्री=सातो
मेरीलाभो=मेरीको पात।कटुस प्रजातिको रुख।धामीहरुले प्रयोग गर्ने सेउली।
मिचिलिम्मा=धामी बसाउदा चाहिने तितेपातिजस्तै बोट।
वाबु=चिण्डो
नछुङ=धामी
रमिपमी=सरसमाज
स्पष्टीकरण: मुन्दुमको रिसिया(मन्त्र)गाउँदा ‘चि’ भनेर आदरार्थी भावको रूपमा पनि प्रयोग गरिन्छ।

तपाईको प्रतिक्रिया