पछिल्लो समयमा कविता वाचनशैली र कवितामा फरक बिम्बका साथ कविता लेखिरहेका धनकुटामा जन्मिएका कवि उत्तम तुम्सा लिम्बु पाठकहरुमाझ लोकप्रिय छन् ।
करिब डेढ दशकदेखि निरन्तर कविता लेखनमा सक्रिय दर्जनौँ राष्ट्रिय सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका लिम्बुको २०७३ सालमा ‘क्यालिग्राफी’ नामक कविता संग्रह प्रकाशित भएको छ । विभिन्न सञ्चार माध्यमहरुमा उनका कविताहरु प्रकाशन हुँदै आएका लिम्बू अहिलेका हटकेक कवि हुन् । प्रस्तुत छ साताको तीन कविता ।
पहिचान नखुलेको एउटा लास
हेर्दा कुनै
छलकपट नभएजस्तो
देख्दा कुनै
महत्वकांक्षी तृष्णा नभएजस्तो
को हो ऊ?
कुन दुखी थियो ऊ ?
मध्यरातमा
यो सहरको कतैतिर
किन गर्यो उसले आत्महत्या ?
या कसले गर्यो उसको हत्या?
आफ्नै देशमा
अनागरिक हुनुको पिडाले निस्सासिएर
नागरिकता खोज्दै राजधानी आइपुगेको
कुनै देहातको थारु थियो कि ?
पसिनाको मोल खोज्न
शासकको निवास अगाडि
धर्ना बस्न आइपुगेको
कुनै मजदुर/किसान मुसहर ?
को हो ऊ,
कुन दुखी थियो ऊ ?
पहिचानको
आन्दोलनमा आन्दोलनरत
सत्ताको लाठी चार्जबाट
सख्त घाइते
कुनै आदिवासी थियो कि ?
ठग म्यानपावरको
फन्दामा परेर साहुको पीरले
गाउँ फर्किन नसकिरहेको
कुनै बेराजगार युवा ?
वा थिइन्
यो सहरकै कुनै परम पवित्र आम्रपाली ?
को हो ऊ?
कुन दुखी थियो ऊ ?
हेर्दा कुनै
छलकपट नभएजस्तो
देख्दा कुनै
महत्वकांक्षी तृष्णा नभएजस्तो
मध्यरातमा
यो सहरको कतैतिर
किन गर्यो उसले आत्महत्या ?
अब म ब्लाष्ट हुनेछु
म नै हुँ
कुनै महाप्रलयहरुले पनि
भत्काउन नसक्ने
सार्वभौम शक्ति सम्पन्न
सेमुक्ति फोमाङ
म नै हुँ
कुनै बम बुलेटहरुले पनि
ध्वंस गर्न नसक्ने
अजर अमर मुक्कुमलुङ
म नै हुँ
स्वरुप बदलेको
यस समयको सावा युक्पुङ्गेम्बा
किन
मेरो आस्थाको आङमाथि
भाला चलाई रहेछ कोहि ?
किन कसैको
मनमौजी चलिरहेछ मेरो सभ्यतामाथि ?
यो निरंकुश शासकको गोली
किन चलिरहेछ मेरै छातीमाथि ?
ढालेर मेरो माङ्गेना
किन यस्तो अक्षम्य गल्ति गरिरहेछ यिनीहरु ?
म त चाहन्न थेँ
मेरो कारणले कसैको बिनास होस्
म त चाहन्न थेँ
मेरो कारणले कसैलाई दुखोस्
यद्यपि
टेकेर मेरै काखमाथि
किन लात हानिरहेछन् यिनीहरु
मेरो विश्वासको चोत्लुङमा ?
यसकारण
अब मलाई असह्य भईसक्यो
ए म जस्तै मेरा
सुसुबेन लालाबेनहरु हो
खोज, हेर र ठम्याऊ
खोई मलाई देखाऊ
खै कहाँ छ
सत्ताको एकलकाँटे टाउको?
खै कहाँ छ
सरकारको क्रुर कन्चट ?
खै कहाँ छ
स्वघोषित सम्राटको साँघुरो छाती ?
यावत ज्यादतीको प्रतिरोध गर्न
अब म यो समयको गर्भबाट
अनेक अनेक स्वरुपमा जन्मिनेछु
खोज, हेर र ठम्याऊ
खोई मलाई देखाऊ
यसपटक
यो अत्यचारको विरुद्ध
दमनकारी सत्ताको टाउकोमा
अब म ब्लाष्ट हुन्छु ।
म
म पनि चाहन्थें
यो देशको सेतो क्यानभासमा
कुनै बेदाग चित्र भएर बाँच्न
म पनि चाहन्थेँ
यो समयको निलो नदीमा
निर्मल पानी भएर बग्न
तर कहाँ हुन्छ ?
सोचेँ सम्झेजस्तो
फूल देख्नेहरुले
फूल नै देखे फूलझैं कोमल थिएँ म
पत्थर सम्झिनेहरुले
पत्थर सम्झिए ढुङ्गा झैँ कठोर भएँ म
यसरी
म एउटै जुनीमा
अनेक भएर बाचेँ
खै !
कसको इशारामा हासेँ
यो कस्तो तालमा नाचेँ ?
म पनि चाहन्थें
यो देशको सेतो क्यानभासमा
कुनै बेदाग चित्र भएर बाँच्न
म पनि चाहन्थेँ
यो समयको निलो नदीमा
निर्मल पानी भएर बग्न ।