पर्वतमा जन्मिएका कवि अमृत आफ्नो पुस्तामाझँ एक प्रेमील कवि हुन । उनका कविताहरुले पाठकलाई मीठो शितलता अनुभव गराउँछ र चिन्तनको संसारमा निक्कै परसम्म धकेल्छ । उनका कविताहरु चुपचाप उभिरहेका पहाडहरुझैँ लाग्छन । नेपाली साहित्यको कविता फाँटमा उनका कविताहरु शान्त र शालिन शब्दहरुको उपस्थिति हो जसले पाठकको मनमस्तिष्कलाई मीठो शितलता प्रदान गर्नेछ प्रस्तुत छ साताको तीन कविता।


फेरि अँध्यारोमा

तिमी आउनुअघि
म अँध्यारोमै थिएँ
तिमी गएपछि पनि
म अँध्यारोमै छु
आउने-जानेहरू
उज्यालोको कठपुतली बोकेर आउँछन
भाडाँकुटी खेलाउँछन
ललिपप बाँडछ्न
मुख गुलियो बनाइदिन्छन
जे लैजानुपर्ने हो
जे खोस्नुपर्ने हो
जे प्राप्तिका लागि हो
सबै हडप्छन
पुनश्च: अँध्यारो छरेर फर्कन्छन


युद्धको बदलामा: मुस्कान

युद्ध त यस्तो होस
जस्तो कि,
मनले मनलाई जितेर
बदलामा सबै गुमाओस
जीवनको कस्तुरी भुलेर
लडिरहने पैताला जस्तो होस

जित्नै पर्ने युद्धमा
बरु हार होस
बदलामा मुस्कान होस


अलमल मान्छे

चेतनाविहीन इश्वर
धर्मको घोडा चढेर
रमाइरहेछ पत्थरमाथि
अक्षेता र फुलहरुसंग

अस्थिर मनको सागरमाथि
चलाइरहेछ कोहि
जीवनको नजानिदो गन्तव्य

आत्माको चंचल खोजसंग
भडकीरहेछ जीवको ममता

पार पाउन तर्दैछ
एउटा भोको पेट
मिराजहरूको सहरमा

हरेक बाटोका मुर्तिहरुले
भगवान बनी गिज्याइरहेको बेला
उनलाई न जीवनको गणना छ
न भगवानको पूजा

तरल यादहरुमा
न कोही आफ्नो न कोही पराया
न कुनै सन्तुष्टिको एक फेरो श्वास
न कुनै प्रलयको भय
मात्रै
छटपटिएको भोकले
चाहेको छ
एक गाँस तृप्ती
चेतनाविहिन ईश्वर भने
उसैगरी
धर्मको घोडा चडेर
रमाइरहेछ पत्थरमाथि
अक्षेता फूलहरूसंग

तपाईको प्रतिक्रिया