नर प्रसाद लुम्फुङवा लिम्बु

२०७९ सालको जेठ २५ गतेदेखि असार ५ गते अर्थात सन २०२२ सालको जुन ८ तारीख देखि १९ तारीखसम्म  धरान चुम्लुङ हिम हरेक दिन अपरान्हदेखि साँझसम्म च्याब्रुङ (लिम्बु भाषामा के) को आवाजले गुञ्जायमान भएको थियो । दिउँसो १ बजे देखि बेलुकी ५ बजेसम्म त्यो एरिया तिर पुग्ने जो कोहीलाई धरान-१५ चुम्लुङ मार्ग स्थित चुम्लुङ हिम बल्ल चुम्लुङ हिमजस्तो भएको भान हुन्थ्यो । प्रांगणमा पुग्दा करिब ३५ जना युवा युवतीहरु के–लाङ (च्याब्रुङ नाच) सिकीरहेका र नाचिरहेका देखिन्थे ।

photo by subendra jabegu
च्याब्रुङ प्रशिक्षणको झलक


चुम्लुङ हिममा नियमित के–लाङ (च्याब्रुङ नाच), लिम्बु भाषा लिपी, मुन्धुम, हाक्पारे साम्लो, या-लाङ आदिबारे प्रशिक्षणको व्यवस्था गर्ने र विविध विषयगत मुद्दामा वहस तथा अन्तरक्रिया हुनुपर्छ भन्ने मान्यता राख्ने भएकोले यस पटकको च्याब्रुङको आवाजले मेरो मन उद्वेलित भएर आयो । त्यसपछि विगतमा आफु संलग्न भएको धरानको च्याब्रुङको अवस्था र परिवेश सम्झन पुग्छु।


धरानमा एउटा समय यस्तो थियो जतिबेला केलाङ अर्थात च्याब्रुङ नाच्नेहरु खोज्दा मुश्किलले १० जनासम्म भेटिन्थे। धरानको वार्ड नम्बर १९, १० , ८ र भरौलीबाट समेत गरेर जम्मा ६ जना केलाङ नाच्नेहरु जम्मा गर्न म र वरिष्ठ पत्रकार हर्ष सुब्बा दाई सफल भएका थियौं । र पहिलो पटक च्याब्रुङ नाचलाई प्रदर्शन गर्न काठमाडौं लगेका थियौं ।

माङ हिम मन्दिर ,धरान -१९ , चौकिबारी


प्रसंग वि.सं. २०४७ सालको हो । मुलुकमा भर्खरै प्रजातन्त्रको पुनर्बहाली भएको थियो । वि.सं. २०४६ साल भदौमा स्थापना भएको किरात याक्थुङ चुम्लुङले २०४७ साल असार महिनामा ‘मुन्धुम स्वर्णिम साँझ पहिलो’ आयोजना गर्दै थियो । मुन्धुम स्वर्णिम साँझमा च्याब्रुङ प्रस्तुती भएन भने अधुरो हुने आयोजक किरात याक्थुङ चुम्लुङ सांस्कृतिक समितिको ठहर भयो जुन समितिको नेतृत्व त्यसबेला फिल्म निर्देशक प्रताप सुब्बा र गायक तथा संगीतकार दिनेश सुब्बाले गरेका थिए ।


काठमाडौंमा केहि च्याब्रुङ नाच्नेहरु त पुगेका थिए तर च्याब्रुङ पुगेको थिएन । अब धरानबाट लानुपर्ने भयो र म आफै च्याब्रुङको खोजीमा लागें।
धरान देशी लाईन निवासी बि.बी. सुब्बा (लावती) एकजना च्याब्रुङ नाच्न जान्ने पात्र थिए तर नाच्ने साथी नपाएपछि तीसको दशकमा नाच्न छाडिसकेका थिए । सुब्बाले च्याब्रुङ संबंधी त्यतिबेलै किताब लेखेका थिए भन्ने सुनेको हुँ तर अहिलेसम्म भेटन सकेको छुइन। यदि उक्त पुस्तक कसैसँग छ भने कृपया उनकै नाउँमा डिजीटलाईज पिडीएफ कपि बनाउनको लागि पहल गरौं भन्छु ।

लिम्बुवानबाट पहिलो चोटि गएका टोलिले राजधानी काठमाडौमा च्याब्रुङ नाच्दै


धरान १९ माङहिममा संगठित भएका धरान १९, १० र ८ का केही च्याब्रुङ नाच्नेहरु तीस र चालीसको दशकको शुरुतिर अस्तित्वमा थिए तर उनीहरु काठमाडौंसम्मै पुगेर नाच्नलाई पाका भईसकेका थिए भने केही चालीसको दशकको मध्यतिर महायात्रामा निस्की सकेका थिए ।
अब धरानभरी २०४७ सालको बर्खा याममा च्याब्रुङ नाच्ने उमेदवारको खोजीमा म लागेँ। १० जना जति मुस्किलले फेला पारयौं। तर बर्खा याम भएकाले कसैको के समस्या त कसैको आफ्नो च्याब्रुङ नभएको समस्या आए । अन्ततः मेरा पिता लालबहादुर लुम्फुङवाको नेतृत्वमा जगतबहादुर इस्पो, छक बहादुर लुम्फुङवा, शेरबहादुर इस्पो, स्व.लालहाङ वनेम, स्व. राजबहादुर एभेङ (च्याब्रुङ हेर्ने, स्याहार्ने तर स्टेजमा ननाच्ने), सहितको ६ जनाको समूह च्याब्रुङ भिरेर काठमाडौंका लागि बाटो तताए जसमा च्याब्रुङ हेर्ने ,स्याहार्ने समेत समाबेश थिए ।

कोशी बसको छतमा डबल त्रिपालले छोपेर लगिएको  च्याब्रुङ काठमाडौमा अवतरण भयो । म र वरिष्ठ पत्रकार हर्ष सुब्बा दाई अफिसियल थियौं । नेपाल प्रज्ञा प्रतिष्ठान नजिक होस भनेर बागबजारको बस स्टैण्ड छेउमा एउटै कोठामा लहरै सुत्ने गरी आवासको व्यवस्था गरिएको थियो । धोवीधारा स्थित अधिवक्ता कैलाश मादेनले सञ्चालन गरेको ब्रुनाइ गेष्ट हाउसमा दोश्रो चोटी जाँदा बसेको थिएँ म ।

लेखकका साथमा वरिष्ठ पत्रकार हर्ष सुब्बा २०४८ मा काठमाडौंमा “मुन्धुम स्वर्णिम सांझ दोस्रो” मा जाँदा त्यतिबेला आदिवासी जनजातिहरुले संविधान निर्माणको प्रक्रियाको समयमा धर्म निरपेक्ष हुनुपर्छ भन्ने मागको लागि भएको र्‍यालीमा सहभागी हुन टुँडिखेल खुल्ला मन्चमा ।
लालबहादुर लुम्फुङ्वा (अगाडि), अमृतबहादुर तुम्बाहाङ्फे (पछाडी) पानथर फेदेनमा वि.सं. २०५२ सालमा के लाङ नाच्दै ।


मुन्धुम स्वर्णिम साँझमा च्याब्रुङ नाच देखेर त्यसबेला दर्शक दिर्घामा बसेका पाको उमेरका महिला तथा पुरुष दर्शकहरु रोएका थिए । पछि कुरा गर्दा थाहा भयो जीवनमा सोचेका पनि थिएनन कि लिम्बुवानदेखि टाढा पुगिसकेका उनीहरुले आफ्नै जीवनकालमा त्यसरी च्याब्रुङ नाच पनि देख्न र हेर्न पाउँछन भनेर ।
त्यसपछिका दिनहरूमा  लालबहादुर लुम्फुङवाको समूह व्यक्तिगत विवाह, नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम, आदिवासी जनजाति  महासंघको कार्यक्रम र किरात याक्थुङ चुम्लुङको मुन्धुम स्वर्णिम साँझ दोश्रो गरेर पटक पटक च्याब्रुङ नाच्न काठमाडौं गएका थिए ।

गोरुको छालाले बनेको च्याब्रुङ टयाक्सीले बोक्न नमानेपछि च्याब्रुङ बोकेर काठमाडौंको सडकै सडक हिंडदा अन्य मान्छेहरुले ‘यो के बोकेको ? यसले के गर्छ ? कहाँ बनेको ? कसले बनाएको ?’ भनेर समेत सोधेको बाबा लालबहादुर अहिले सम्झनुहुन्छ । वहाँहरु कै टिमले काठमाडौं मै च्याब्रुङ हुनुपर्ने सुझाव दिएपछि काठमाडौंमा पनि च्याब्रुङ भित्रियो र वहाँहरुको काठमाडौं जाने क्रम पनि टुटेको थियो ।
मुन्धुम स्वर्णिम साँझको एकजना सक्रिय कलाकार तथा  निर्देशक कुल प्रसाद लिम्बु – जसले येबा नृत्यदेखि घाँटु, स्याबुर नृत्यसम्म नाचेर प्रतिभा प्रदर्शन गरेका थिए- ले एक भेटमा मलाई भनेका थिए  “तपाईंको बुबाले जत्तिको राम्रो कुसरक्पा नाच्ने र अन्य नाच पनि स्केलमा नाच्ने अर्को मान्छे अहिलेसम्म भेटेकै छैन।”

धरानमा तीसको दशकमा सिमित संख्यामा च्याब्रुङ नाच्नेहरु थिए । स्व. बिबि सुब्बा(लावती), स्व.कर्ण बहादुर ताप्मादेन, स्व.दिलबहादुर मादेम्बा आदि पहिलो पुस्ताका हुन भने लालबहादुर लुम्फुङवाको समूह दोश्रो पुस्ताको हो । धरानमा च्याब्रुङको महत्व बढनुमा किरात याक्थुङ चुम्लुङको वि.सं. २०४९ सालमा धरानमै भएको दोश्रो राष्ट्रिय महाधिवेशनको महत्वपूर्ण योगदान छ । कियाचुको दोश्रो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा च्याब्रुङको बजार परिक्रमा रयाली थियो । उक्त रयालीमा धरानमा ३० थान च्याब्रुङ सडकमा निस्केका थिए । रयालीमा ननिस्कीनेहरु थकथकाएका थिए । त्यसपछि पहाड घरमा थन्केर बसेको च्याब्रुङहरु झिकाईने लहर चल्यो । धेरै थान नयाँ च्याब्रुङहरु पनि उत्पादन भएका थिए ।


यसरी धरानमा ५० को दशकको शुरुवातदेखि च्याब्रुङ नाच्नेहरुको सप्तकोशी नै बग्यो । यसमा याक्थुङ कलाकार संघको स्थापना र संघले च्याब्रुङ नृत्यमा गरेको योगदान बिर्सीने हो भने धरानमा च्याब्रुङको इतिहास अपुरो हुन्छ । च्याब्रुङ र च्याब्रुङ नर्तकको अनगिन्ती समुहहरु धरानमा जन्मन थाले।  क्लबगत, थुमगत, थरगत समुहको उदय भयो। यसरी कुनै समय पाउन कठिन हुने च्याब्रुङ धरानमा सयौं संख्यामा निस्किने अवसर जन्म्यो ।


च्याब्रुङ नाचको लागि नाच्न इच्छुक नयाँ उमेदवारको लागि निरन्तर अवसर सिर्जना हुनुपर्ने रहेछ । स्वाभावैले पाकाहरु नाच्न नसक्ने हुन्छन । घर धन्दा सम्हाल्ने दायित्व बढेमा पनि नर्तकहरु निस्कृय हुन्छन । कोही रोजीरोटी र छोराछोरीको भविष्यको लागि भन्दै हङकङ, युके, कोरिया, जापान, अष्ट्रेलिया , अमेरिका पुग्छन । कोही थाक्छन । त्यसैले लिम्बुको विहेमा आफै च्याब्रुङ सिक्छन भनेर नहुने रहेछ ।


यही तथ्यलाई आत्मसात गरेर यस पटक धरानमा किरात याक्थुङ चुम्लुङको सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङबाङको व्यक्तिगत लगानी र प्रायोजन र लिम्बु विद्यार्थी मञ्च सुनसरी जिल्ला शाखाको आयोजनामा २०७९ साल जेठ २५ देखि असार ५ गते चुम्लुङ हिममा भव्य रुपमा के–लाङ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। लिबि मञ्चले आयोजना गरेको प्रशिक्षण भएकोले निसन्देह विद्यार्थीको सहभागीता लोभलाग्दो थियो नै तर  सहभागीहरुले खाजामा चिउरा, दालमोट र पानी पिएको दृष्य तेतिकै टिठलाग्दो थियो ।


स्याबास ! विद्यार्थी भाई वहिनीहरु हो ! तपाईंहरुकै उमेरमा मैले पनि जानी नजानी लिम्बु याक्थुङहरुलाई संगठित गर्नुपर्छ, भाषा लिपी, संस्कृति इतिहासको जगेर्ना गर्नुपर्छ भनेर चना च्युरा खाएर लिम्बुवानको धेरै गाउँ खुट्टैले हिंडेकोछु ।


अस्तित्व नामेट नहोस भनेर हण्डर सहँदै भोकै तिर्खै मेरा  पिडीका धेरै लिम्बुहरु हिँडेका थिए ,छन। मेरो पिडी अघिकाले पनि गर्नसम्म दुःख गरेका छन । तपाईंहरुले च्युरा, दालमोट र पानी हाँसी हाँसी जिस्कीँदै खाएको पिएको देख्दा तपाईंहरुले पनि इतिहास रचेको अनुभुती भयो । गर्वले छाती चौडा भयो । हर्षले आँखा चिसो भयो । अनि त हामी डा.कमल तिगेला, जय सम्बाहाम्फे, हेमन्त खजुम र प्रदिप नेयोङले पनि एक दिन भएपनि तपाईंहरु सँगसँगै चिउरा, दालमोट खायौं । समापन समारोहमा सहभागी हुने ठूलो रहर थियो । तर ताप्लेजुङमा पहिचान र अस्तित्व कै लडाईं लडने सहयोद्धाहरुलाई भेटन, सुन्न र आगामी के कसरी अगाडी बढने भन्ने योजना बुन्न जानैपर्ने भयो र सहभागी हुने रहरलाई चुपचाप दबाउनु परयो ।

कार्यक्रमको रोचक पक्ष के थियो भने प्रशिक्षक कुमार हुक्पा चोङबाङबाट च्याब्रुङ नाच्ने व्यवहारिक प्रशिक्षण मात्रै भएन , मुन्धुममा वर्णित के (च्याब्रुङ) सम्वन्धी रोचक मुन्धुम पनि सिकाईएको थियो । सहभागीले हरेक दिन के सम्वन्धी मुन्धुममा वर्णित पक्ष सुनाउनुपर्ने हुन्थ्यो । के कसरी बन्छ ? किन के बजाउनु परयो ? कसले सबैभन्दा पहिला के नाच्यो ? कुन रुखको किन के बनाउनु परयो । सिमलको रुख अहिले पनि किन एकातर्फी हाँगा हुँदैन ? भन्दै केसामी नाम्सामी मुन्धुम समेत सहभागी विद्यार्थीले भनेको सुन्दा मन गदगद भयो ।


यो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहम भूमिका निर्वाह गर्ने लिम्बु विद्यार्थी मञ्च सुनसरीका होनहार भाईहरु , लिवी मञ्च सुनसरीको अध्यक्ष हरी इवाहाङ र सचिव सन्जोक हुक्पा चोङबाङको महत्वपूर्ण योगदान रहयो । उनीहरुलाई सघाउने विद्यार्थीहरुको टीम नै थियो । प्रशिक्षणलाई सफल पार्न लिबी मञ्चका केन्द्रीय उप-महासचिव द्धय प्रदिप नेयोङ र सागर सरगम चेम्जोङको सहयोग पनि अविस्मरणीय रहयो । कार्यक्रम सफल पार्न सद्भाव  राखिदिने कियाचु धरान उपमहानगर समितिका सचिव जय सम्बाहाम्फेले पनि सघाएका थिए । अन्यको पनि सदभाव र प्रोत्साहन रहेको थियो नै ।

विगत दुई दशकभन्दा लामो धरान लगायत क्षेत्रमा च्याब्रुङ नाच्दै र सिकाउँदै आएका के–साम्बा (च्याब्रुङ गुरु) कुमार हुक्पा चोङबाङको योगदान अविस्मरणीय रहनेछ । के साम्बा मार्फत नव–युवा विद्यार्थीहरुलाई के–लाङ र यससँग सम्वन्धित मुन्धुमको महत्व जगाउन सफल भएको अपेक्षा गरिएको छ । कार्यक्रमको समापनमा धरान उपमहानगर पालिकाको नवनिर्वाचित उप–मेयर आइन्द्रविक्रम वेघा, धरान उपमहानगर पालिका वडा नम्बर १५ को अध्यक्ष नरेश इङवारम, किरात याक्थुङ चुम्लुङको संघीय उपमहासचिव डा.योगेन्द्र पालुङवा, संघीय सल्लाहकार द्धय चन्द्रमाया लिम्बु, दुर्गामाया लिम्बु र लिम्बु सांस्कृतिक परिषद सुनसरी अध्यक्ष यज्ञ लिम्बु उपस्थित भएर सहभागीलाई सहभागिताको प्रमाण–पत्र प्रदान गरिदिएर कार्यक्रमको गरिमालाई उच्च बनाईदिएका छन । कियाचु सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पा चोङबाङ जसले १२ दिनसम्म चुम्लुङ हिममा के बज्ने वातावरण बनाईदिएर चुम्लुङ हिमलाई साच्चिकै चुम्लुङ हिम जस्तै बनाईदिनुभएर अर्को इतिहास निर्माण गर्नुभयो । अन्यलाई पनि म अपिल गर्दछु-आउनुहोस चुम्लुङमा यस्तै के बज्ने, याराक्मा पालाम, हाक्पारा गाउने, बौद्धिक वहस र अन्तर्कृया हुने कृयाकलापको प्रायोजन गर्नुहोस र आफ्नो नाम उच्च राख्नुहोस । आखिर मरेर जाँदा लाउने लुगामा गोजी हुँदैन क्यारे ।
नोगेन । सेवारो । जय लिम्बुवान ।


नोट :केहि तस्वीरहरु सञ्जोक हुक्पा चोङबाङको फेसबुक वालबाट सौजन्य । 

लिम्बु युवा च्याब्रुङ नाच्दै सन १९६३ साल तिर

तपाईको प्रतिक्रिया