व्यक्तित्व –
पुष्प बस्नेत नेपालमा सुशासन, क्षमता विकास, जनसङ्ख्या तथा प्रजनन स्वास्थ्य, र लैङ्गिक तथा सामाजिक समावेशीकरणका क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिँदै आउनु भएकाे एक अनुभवी तथा भरोसायोग्य विज्ञ हुनुहुन्छ । दुई दशकभन्दा बढी समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै उहाँले नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ। हाल उहाँ क्षमता विकास र सुशासनको क्षेत्रमा स्वतन्त्र परामर्शदाताका रूपमा क्रियाशील हुनुहुन्छ ।
शैक्षिक पृष्ठभूमिको दृष्टिले पुष्प बस्नेतले सन् २००२ मा थाइल्याण्डको महिडोल विश्वविद्यालयबाट जनसङ्ख्या तथा प्रजनन स्वास्थ्य अनुसन्धानमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ भने १९९३ मा त्रिभुवन विश्वविद्यालयबाट जनसङ्ख्या अध्ययनमा स्नातकोत्तर र सन् १९८९ मा भौतिकशास्त्र, रसायनशास्त्र तथा गणितमा स्नातक अध्ययन पूरा गर्नुभएको छ। विज्ञान र सामाजिक विज्ञान दुवै क्षेत्रमा प्राप्त शैक्षिक ज्ञानले उहाँलाई तथ्यमा आधारित योजना निर्माण र नीतिगत विश्लेषणमा सक्षम बनाएको छ। २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ उहाँसग । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA), संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (USAID), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्नुका साथै नेपाल सरकारका विभिन्न निकाय, विशेषगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग नजिकबाट सहकार्य गर्नु भएको छ। संघीय शासन प्रणाली कार्यान्वयनको संवेदनशील चरणमा उहाँको अनुभव र योगदान विशेष अर्थपूर्ण मानिन्छ।
उहाँको करियरको महत्वपूर्ण उपलब्धिमध्ये एक हो Provincial and Local Governance Support Programme (PLGSP) अन्तर्गत बागमती प्रदेशमा Provincial Programme Implementation Unit (PPIU) र Provincial Centre for Good Governance (PCGG) को स्थापना तथा सुदृढीकरणमा नेतृत्वदायी भूमिका सुशासन तथा कानुनी विज्ञ तथा टिम लिडरका रूपमा उहाँले प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना तर्जुमा, सरोकारवालासँग व्यापक परामर्श, प्रदेश सरकार र संघीय मन्त्रालयबीच समझदारी पत्र समन्वय, तथा प्रादेशिक समन्वय समितिको गठनमा महत्वपूर्ण योगदान दिनुभएको छ। यस प्रक्रियामार्फत संघीय, प्रादेशिक र स्थानीय तहबीच नीति र कार्यान्वयनको सेतु निर्माण गर्न उहाँ सफल हुनु भएको छ।
PLGSP अन्तर्गत उहाँले लैङ्गिक तथा सामाजिक समावेशीकरण (GESI) लाई केवल अवधारणाको रूपमा नभई व्यवहारिक कार्यान्वयनमा उतार्न विशेष जोड दिनुभयो। महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायहरूको पहुँच र सहभागिता सुनिश्चित गर्ने गरी कार्यक्रमहरू डिजाइन र कार्यान्वयन गर्नु उहाँको कार्यशैलीको प्रमुख विशेषता हो।
यसअघि उहाँ Local Governance and Community Development Programme (LGCDP) अन्तर्गत क्षेत्रीय तथा प्रादेशिक तहमा विभिन्न जिम्मेवारीमा रहनुभयो। क्षेत्रीय सुशासन तथा क्षमता विकास विज्ञदेखि प्रादेशिक संयोजकसम्मको भूमिकामा रहँदै उहाँले योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन, वित्तीय तथा मानव संसाधन व्यवस्थापनमा नेतृत्व गर्नुभयो । स्थानीय शासन प्रणाली सुदृढीकरण, जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि, तथा समावेशी विकासको अवधारणालाई संस्थागत गर्ने कार्यमा उहाँको योगदान उल्लेखनीय रह्यो।
अन्तर्राष्ट्रिय सहयोग प्राप्त स्वास्थ्य तथा सामाजिक विकास परियोजनामा पनि पुष्प बस्नेतको अनुभव उत्तिकै गहिरो छ। USAID र FHI 360 समर्थित ‘Saath-Saath Project’ मा वरिष्ठ कार्यक्रम अधिकृतका रूपमा उहाँले करिब १८.७ मिलियन युरो बराबरको परियोजना व्यवस्थापन गर्नुभयो। HIV/AIDS तथा प्रजनन स्वास्थ्यमा केन्द्रित उक्त परियोजनाअन्तर्गत पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लामा सरकारी निकाय, गैरसरकारी संस्था, सामुदायिक संस्थासँग सहकार्य गर्दै प्रभावकारी हस्तक्षेपहरू कार्यान्वयन गर्नु प्रमाणमा आधारित योजना निर्माण, स्थानीय संस्थाको क्षमता विकास र समुदायस्तरको सहभागिता सुनिश्चित गर्नु उहाँको कार्यको केन्द्रमा रह्यो ।
UNFPA अन्तर्गत सञ्चालन भएको Population and Reproductive Health Integrated (PARHI) Project मा विकास संयोजक तथा जनसङ्ख्या तथा विकास अधिकृतका रूपमा उहाँले जिल्ला कार्यान्वयन योजना तयार पार्न, स्थानीय सरकारसँग समन्वय गर्न र कार्यक्रम व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। यसअघि Nepal Demographic and Health Survey (NDHS) र PARHI Baseline Survey जस्ता राष्ट्रिय महत्वका सर्वेक्षणमा अनुसन्धान अधिकृतका रूपमा उहाँले तथ्याङ्क सङ्कलन, तालिम, फिल्ड सुपरिवेक्षण तथा विश्लेषणमा नेतृत्व गर्नुभएको छ।
सरकारी सेवामा रहँदा पनि उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालय अन्तर्गत सहायक जनसङ्ख्या विज्ञका रूपमा राष्ट्रिय जनसङ्ख्या नीति, प्रक्षेपण तथा निर्देशिका निर्माणमा योगदान दिनुभएको छ। यसले उहाँलाई नीतिगत सोच र कार्यान्वयनबीचको सम्बन्ध बुझ्न थप सक्षम बनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि पुष्प बस्नेत सक्रिय रहनुभएको छ। अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा आयोजित विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यशालामा सहभागिता जनाउँदै उहाँले नेपालका अनुभव र सिकाइहरू विश्वसामु प्रस्तुत गर्नुभएको छ।
समग्रमा भन्नुपर्दा, पुष्प बस्नेत सुशासन, क्षमता विकास, जनसङ्ख्या तथा स्वास्थ्य, र लैङ्गिक तथा सामाजिक न्यायका क्षेत्रमा गहिरो ज्ञान, दीर्घ अनुभव र व्यवहारिक नेतृत्व क्षमता भएकाे एक सशक्त व्यक्तित्व हुनुहुन्छ। संघीय नेपालको सुदृढ शासन प्रणाली निर्माणमा उहाँको योगदान आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ।





