रमेश के.सी.
विश्वभर साम्यवादी सत्ता लुप्तभईरहेको र मार्क्सवाद समकालिन पुँजीवादको आलोचना गर्न प्राज्ञिक क्षेत्रमा सिमीत हुँदै गएको छ । यस सन्दर्भमा नेपालका चिर चरिचीत समाजशास्त्री चेतन्य मिश्रको पुस्तक “लोकतन्त्र र आजको मार्क्सवाद” ले नयाँ बहस सिर्जना गरेको छ । के मार्क्सवाद सान्दर्भिक छ ? के सम्पुर्ण समाज मार्क्सवादी हुन सक्छ ? नेपालको अविकासको रोग मार्क्सवादले निको पार्छ ? केहि अन्तराष्ट्रिय साम्यवाद र केहि घरेलु साम्यवादी आन्दोलनलाई केन्द्रमा राखेर लिइएका अन्तर्वाता र लेखहरुको संगालो यो पुस्तकको महत्व यस कारणले पनि छ कि वर्तमानमा नेपालमा मार्क्सवादी लेनिनवादी र माओवादीहरुको निर्वाचित सरकार छ । विश्वभरमात्र होइन छिमेकी भारतको हालैको निर्वाचनमा नराम्ररी पराजय भएका कम्युनिष्टहरुको सन्दर्भमा नेपाली साम्यवादीहरुको सत्तारोहण उनिहरुको लागि उत्साह जनक नै छ । तर के उनिहरु मार्क्सवाद अनुसार शासन गरिरहेका छन ? उदारवादीहरु मार्क्सवादी साम्यवादी शासन प्रणाली जगैदेखि अधिनायकवादी भएको बताउँछन । तर सन ९० को उथलपुथल पछि नेकपा एमालेका तत्कालिन नेता मदन भण्डारीको बहुदलीय जनवाद मार्फत फुकुयामावादी बामपन्थि बनेका एमालेहरु निर्वाचनमा नै रमाए । सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरे । वर्गको होइन सम्पुर्ण जनताको राजनीति गरे ।

तर सन ९० भन्दा अघिका साम्यवादी सत्ताहरु सोभीयत संघ र पूर्वि यूरोपबाट तासको पत्ता ढले झै ढलेपछि साम्यवादीहरुमा उदार दर्शनप्रति सकारात्मक भाव उत्पन्न भयो । त्यहिभाव नेकपा एमालेमा पनि देखियो । मार्क्सवादलाई मानव समाजको अन्तिम बैज्ञानिक दर्शन र विश्व श्रमजीवीको जीवन दर्शन बनाउने उनिहरुको उद्देश्य असफल भैसकेको छ । वर्गको राजनीतिमा जोड दिने उनिहरु समाजबाट वर्ग उन्मुलन भई सवै अन्तरविरोधहरुको अन्त्यसंगै पृथ्वी मानव जातिको भुस्वर्ग हुने दाबी पनि असफल भयो । उता उदारवादीहरुको प्रजातन्त्र र बजार अर्थतन्त्रको अन्तिम विजय भनिएको इतिहासको अन्त्य पनि वर्तमान विश्वमा असफल सावित भएको छ । लाग्छ विश्वका जनता दुवै खाले अन्त्यवादमा विश्वास गर्दैनन । नेपालको साम्यवादी आन्दोलनको जग सन १९१७ को अक्टोबर क्रान्ति र १९४९ को चिनियाँ क्रान्तिबाट प्रभावित युवाहरुले बसालेका हुन । साम्यवादको एउटा मात्र हाँगा थिएन । शीतयुद्धकालभरी सोभीयत र चीनको धुरीमा नेपाली साम्यवादीहरु विभाजित भए ।

चीनको माओ विचारधाराबाट प्रभावितहरुले नेपालमा १० वर्षे विद्रोह गरे । जुन दश २०६२/२०६३ को जनआन्दोलनसँगै टुँगीयो । जस्ले नेपालमा १५० वर्षको राजतन्त्रको उन्मुलन गर्दै राष्ट्रलाई संघिय लोकतान्त्रिक गणतन्त्र तर्फ उन्मुख गरायो । यिनै घटनाक्रमहरुको समाजशास्त्री मिश्रले गहन र मिहिन अध्ययन गरेका छन । नेपालमा पुँजीवादले पारेको प्रभाव, लोकतन्त्रको वैचारीकी, लेनीनले गलत बुझेका मार्क्स, र मार्क्स नभएको वर्तमान समाजको सघन विश्लेषण गरिएको छ । शायद यसैले होला पुस्तकको नाम लोकतन्त्र र आजको मार्क्सवाद राखिएको छ। समाजमा क्रान्तिमात्र हुदैन इभोल्युसन पनि हुन्छ । नेपाली समाज पृथ्वी नारायण शाहले राष्ट्रको रुपमा निर्माण गरेदेखि इभोल्यूसन आफ्नै ढंङ्गले भैरहको छ ।

यीनै इभोल्युसनलाई मार्क्सवादको फ्रेमबाट मिश्रले सैद्धान्तिकरण गरेका छन । नेपाल सामन्तवादबाट पुँजीवादतर्फ उन्मुख समाज हो । यो अन्धविश्वासी र अवैज्ञानिक पनि छ तर पुँजीवादका झील्काहरु देखिएको नेपाली समाजको विकास पूँजीवाद तर्फ नै हुने हो । स्वयं मार्क्सले सामन्तवाद भन्दा पुँजीवाद प्रगतीशील व्यवस्था भनेका थिए । तर समाजशास्त्री मिश्र समाजिक लोकतन्त्रको वकालत गर्दछन । जुन न्यायमूलक समावेशी, प्रजातान्त्रीक र समतामुलक हुन्छ । यदि यो उद्देश्य नेपालका सत्तासीन साम्यवादीहरुले पुरा गरे भने धन्यवाद दिनैपर्ने हुन्छ । तर दुईवर्षको सत्ता संचालनले त्यस्तो छाँट देखाएको छैन मार्क्सवादप्रति उनिहरुले आदर्श त देखाउँछन तर उनिहिरु वर्तमान विश्वव्यवस्था भित्रै नवउदारवादी अर्थसंरचना भित्रबाट संचालित छन । राष्ट्रिय राजनीतिमा नव सामन्तवाद कमीसन र भ्रष्टाचारको संरक्षक बनेर देखिरहेका छन ।

राष्ट्रवादी देखिएको वर्तमान नेकपाको नेतृत्व लोकप्रियतावाद र कतिपय गैरप्रजातान्त्रीक कार्यहरुको अगुवादेखा परेको छ । के यस्तोमा लोकतन्त्र फस्टाउछ ? दशक पछि जनताको यस्तो अपेक्षा थिएन । त्यसैले आजको मार्क्सवादलाई वर्तमान सरकारको क्रियाकलापले खण्डन गर्दछ । विश्वमा नवउदारवादी पुँजीवाद मात्र होइन कि टेक कम्पनीहरु मार्फत आएको जासुसी पुँजीवादको जगजगी भएको बेला वर्तमान सरकार नाम मात्रको मार्कसवादी बनेको छ । माक्सवादको कुरा गर्ने हो भने आजसम्मको मानव अनुभवले के देखाएको छ भने जीवन, समाज र प्रकृतिको फेनोमेनाहरु एउटै वादभित्र कहिल्यै अटाउदैन । त्यो समय सापेक्ष मात्र हुन्छ । यसर्थ समाजशास्त्री मिश्रले यहि परिवर्तनकारी चक्रलाई बुझे र शास्त्रीय मार्क्सवाद नभनी आजको मार्क्सवाद भनेका हुन । अक्सफोर्ड विश्वविद्यालयका प्रध्यापक तथा “दि राइज एण्ड फल अफ कम्यूनिज्म” का लेखक आर्चि ब्राउनले नेपालमा साम्यवादीहरुप्रति जनताको आकर्षणको मुख्य कारण गरिबी भएको कुरा सो पुस्तकमा बताएका छ्न ।

गरीबी विभेद, शोषण र दमनले गर्दा नेपालका जनता साम्यवादीप्रति आकर्षित हुनुले मात्रै होइन कि ति कुराहरुको अन्त्यले साम्यवादी राजनीतिको औचित्य पुष्टी हुन्छ । तर नेपाली समाजका यि चरित्रहरु देखिने भविष्य सम्म अन्त्य होला जस्तो छैन । यसर्थ साम्यवादी राजनीति पनि नेपालमा परिक्षण कालमा रहेको स्पष्ट हुन्छ । २०४६ सालको परिवर्तनपछि आधा दर्जन साम्यवादीहरु देशको प्रधानमन्त्री भए तर जनताले भनेजस्तो परिवर्तन भएन । अझैपनि दलित मजदुर किसान, जनजाती र सीमान्तकृत जनता न्याय पाउन सकेको अनुभुत गर्दैनन । यस्ले आजको मार्क्सवाद भने पनि नेपाली साम्यवादीहरु दिशाहीन र सिद्धान्तलाई लागु गर्न नसक्ने अवस्था पुगेका छन भन्ने थाहा हुन्छ ।

उदारवादी भनीएको नेपाली कांग्रेस पनि क्षय सिद्धान्तविहीन र शक्तिकालागि राजनीति गर्नेहरुको दल बनेको छ । विगत ३० वर्ष शासन गरेको कांग्रेसले किन नेपाली समाजलाई परिवर्तन गर्न सकेन ?राजनीतिक परिवर्तन मात्र सबैथोक होइन सम्पुर्ण सामाजिक अवयवहरुको परिवर्तन मात्र साँचो परिवर्तन हो । अहिले हामी उत्तर विचारधाराको युगमा छौ । यो युग व्यवहारवादको युग हो । कुनै निश्चित विचार र आदर्शले मात्र समाजलाई हाक्न सक्दैन भन्ने कुरा माओले क्रान्ति गरेके देश चीनको उदयबाट प्रष्ट हुन्छ । उसले ल्याटीनअमेरिकी कर्पोरेटबाद, पूर्विएसीयाली एकाधिकारवाद र कल्याणकारी राज्यका उपायहरुलाई गुपचुप प्रयोग गरीरखोको छ । कम्युनिष्ट पार्टीको शासन भएतापनि उनिहरु मार्क्सवादी नभएका कुरा हङकङका पुर्व गभर्नर र अक्र्सफोर्ड विश्वविद्यालयका पुर्व चान्सलर क्रिस प्याटन बताउँछन । साँचो अर्थमा संसारमा अहिले कँही पनि मार्क्सवादी शासन छैन । वर्तमान विश्वलाई बुझन मार्क्सवाद अपर्याप्त हुन्छ । किनभने मार्क्स १९औँ शताब्दीका विश्व दृष्टिकोणका कैदी थिए । यसर्थ नेपालमा फुकुयामावादी बामपन्थीको बर्चस्व भयो भन्दैमा सबै कुरो मार्कसवादी फ्रेममा भई राखेको छ भन्ने हुदैन । निरंकुश राजतन्त्रलाई फ्याके पछि नेपालमा दलतन्त्र हावी भयो ।

विधीको शासन र पारदर्शीता भन्दा दलहरुको मनपरीतन्त्रले गर्दा कुशासनले दह्रो गरी जग गाडेर बसेको छ । असल शासकले आफ्नो समाजको आद्यस्वरुप चिनेको हुनुपर्छ अनिमात्र उस्ले परिवर्तन ल्याउन सक्छ । जस्तोकि सीगांपुरका ली क्वान युले चिनेका थिए । उनले तपाई के मा विश्वास गर्नु हुन्छ भनी सोध्दा भनेका थिए “म सामाजिक डार्विनवादी जसले प्रतिस्पर्धा गर्न सक्छ वा समाजको गतिमा मिल्न सक्छ त्यो मात्र सफल हुन्छ” ।यसर्थ जनतालाई प्रतिनिधि र फिट राख्न सक्नु नै नेतृत्वको गुण हो । हामी सिद्धान्तमा जेसुकै भनौ नेपाली जनताको उन्नती समृद्धि जे ले गर्न सक्छ त्यो नै उचित उपाय हो । साम्यवाद बिसौं शताब्दीको घटना हो । एक्काईसौ शताब्दीमा यसले आफुलाई सान्दर्भीक बनाउन सक्ने आधारहरु हुनुपर्छ यसर्थ एउटा कालखण्डको सत्य, राजनीति र समाजविज्ञानमा सधैभरी सत्य रहिरहदैन । पुँजीवादलाई वर्तमानमा निषेध गर्न नसकिने निष्कर्षमा पुगेका मिश्रका लागि पुस्तकभर मार्क्सवादको समकालिन सन्दर्भमा औचित्य पुष्टी गर्नमा रहेको छ । मार्क्सवादको विसौं शताब्दीको प्रयोग र सिद्धान्तमा असहमत चाहिदैन कम्युनिष्ट पार्टी भन्दै समाजिक प्रजातन्त्रको वकालत गर्छन उनी । हामीलाई लोक कल्याणकारी र क्षमतामूलक राज्यको खाचो भएको औल्याउँछन ।

१० वर्षे माओवादी विद्रोहको अर्थ राजनीति केलाउछन । नेपाली साम्यवादीहरुको रुपान्तरणको विवरण पनि दिन्छन तर उत्तरमानववाद, जासुसी पुँजीवाद र टेक्नो सभ्यता तर्फ उन्मुख विश्व समाजका समस्याहरुलाई मार्क्सवादले कसरी सम्बोधन गर्छ र दानवीय पुँजीवादका अन्त्यका उपायहरुबारे उनी स्पष्ट छैनन् । स्वयं अमेरिकाका प्रख्यात अर्थशास्त्रीहरु समकालिन पुँजीवादले असमानता, विभाजन र जातीवाद फैलाएको बताईरहेछन् । पुँजीवादसँग पनि सम्पूर्ण समाजको हल छैन तर यो जिउँदो जाग्दो यथार्थ हो । जसबाट भाग्न नहुने उनको तर्क छ तर मार्क्सवाद मात्र पनि सम्पुर्ण प्रश्नहरुको उत्तर होइन यसर्थ एउटा मार्क्सवादी अध्येताको आँखाबाट निकट इतिहासको विश्लेषण र भविष्यको केही खाकाहरुको जानकारी पाठकले पुस्तकबाट पाउछन ।

तपाईको प्रतिक्रिया