न्यूयोर्क। मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको यस आप्रवासी आदिवासी महिलाहरुको हकहित प्रति केन्द्रित अन्तरक्रियाका अतिथि वक्तामा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकार नामक संस्थाकी अर्गानाइजिङ एन्ड प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री रहेका थिए । नेपाली अमेरिकन पहिलो महिला न्यूयोर्क सीटी कोर्टको न्यायधीश नियुक्त हुनुभएकोमा रीना गुरुङलाई फिप्नाको तर्फबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि दिएको थियो ।

फिप्नाका अध्यक्ष राज कुमार बिष्टको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको मडरेटर महासचिव टोमा लामाले गरेकी थिइन भने स्वागत मन्तव्य कोषाध्यक्ष तुल बहादुर तामाङको रहेकोे थियो ।
अतिथि वक्ता न्यायाधीश रीना गुरुङले आप्रवासी महिलाहरुको संरक्षणमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको भूमिका र विशेष आप्रवासी आदिवासी महिलाहरुको अधिकारको विषयमा प्रकाश पारेकी थिइन। उनले बोल्ने क्रममा `अरु देशमा जस्तै अमेरिकामा पनि कतिपय नियम कानूनहरु कागजमा राम्रो भए तापनि कार्यान्वयनमा आएको छैन। यो समस्या अन्य देश जस्तै अमेरिका पनि अछुतो छैन´  भनिन् ।  उनले अगाडि थपिन  `यहाँ अमेरिकामा पनि आप्रवासी महिलाहरुको लागि कानूनमा हकअधिकार सुरक्षित भए पनि कतिपय कुराहरु व्यवहारमा लागु भएको छैन । बाहिरबाट आएका आप्रवासी महिलाहरुले यहाँ अमेरिकामा स्थापित हुनको लागि यहाँको महिला भन्दा दश गुना बढी मेहेनत गर्नु पर्दछ।´


यस्तो अवस्थामा आप्रवासी महिलाहरु स्वयं पुर्व तयारीका साथ सजग भएर काम गर्नुपर्नेमा उनले जोड दिइन । 
अर्का वक्ता अतिथि मानव अधिकारकर्मी नर्वदा क्षेत्रीले स्वास्थ्य सेवा र अन्य सामाजिक सेवाहरुमा पहुँच नहुने आप्रवासी महिला तथा आदिवासी महिलाहरुले सामना गर्ने फरक खालका चुनौतिहरुको बारेमा चर्चा गरेकी थिइन । उनले अमेरिकामा आएपछि लामो समय महिला अधिकारको क्षेत्रमा काम गरेको अनुभव बताइन्।  `अधिकांश महिलाहरु भरखरमा अमेरिकामा आउँदा अलि बढी संर्घष गर्नुपर्ने हुन्छ´ र `कतिपय सेवा सुविधाहरु अमेरिकाको सरकारले सुनिश्चत गरेको भएतापनि जनचेतनाको कमी तथा जानकारी नहुनाले सेवा सुविधाबाट आप्रवासी महिलाहरु बञ्चित हुन्छन् ´ उनले बताइन् ।


रोजगारी तथा कामको लागि कतिपय महिलाहरुले भाषा तथा कामको दक्षताको कमीले पनि अमेरिका आएको शुरुवाती दिनमा आप्रवासी महिलाले बढी संघर्ष यथार्थलाई उनले औंल्याएइन। यावत समस्यालाई केही हदसम्म भए पनि कम गर्नको लागि अधिकार संस्थाले आप्रवासी महिलाहरुलाई यहाको यथार्थताबारे सुसूचित   गर्ने र अमेरिकामा उपलब्ध  रोजगारीको लागि चाहिने सीपमुलक तालिम दिने तथा अँग्रेजी भाषाको कक्षाहरु संचालन गर्ने जस्ता कार्यहरु गर्दै आएको उनले बताइन।
समान अधिकारका हिसाबले आम महिलाहरुले भोग्नु पर्ने चुनौतिहरु एउटै भए पनि आप्रवासी महिलाहरुले भने थप  फरक खालका चुनौतिहरुको पनि सामना गर्नु परिरहेको उनले बताइन् ।

मुल वक्ताहरुले बोलिसकेपछि प्रश्न उत्तर सेसन राखिएको थियो जसमा उपस्थित सहभागीहरुले आफ्नो  जिज्ञासा र  प्रश्न राखेका थिए ।

प्यानलका मोडरेटर महासचिव टोमा लामाले अन्तमा सन् २०२३ अन्तर्राष्ट्रिय नारी दिवसको  एउटा नारालाई परिचीत गराएकी थिइन । नारा थियो- डिजिटल: इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्विलिटी ( लैङगिक समानताका लागि नवाचार र प्रविधि)।
अबका दिनहरूमा लैङ्गिक समानतालाई एनोभेसन र प्रबिधिको तहमा पनि लानु पर्ने सन्देश दिन यो नारालाई अगाडि सारिएको कुरा स्मरण गराउदै महासचिव लामाले सबैलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिइन।

फिप्नाका अध्यक्ष राज कुमार बिष्टले कार्यक्रमको विसर्जन गर्दै सबै वक्ता तथा सहभागीलाई धन्यवाद दिएका थिए । उनले  महिला हकहित,अधिकारको पक्ष र विविध बिषयमा भएको वैचारिक बहस र विचार आदानप्रदानले  लैङ्गिक समानता टेवा पुग्ने आशा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया