-मधुराज केरुङ

१. साँस्कृतिक पुनर्जागरण अभियानको औपचारिक सुरुआत

याक्थुङ समुदायमा साँस्कृतिक पुर्नजागरण अभियान (Cultural Renaissance Campaign ) को औपचारिक सुरुआत २०७७ देखि पान्थर जिल्लाबाट भएको हो । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश कार्य समिति, पान्थर जिल्ला कार्य समिति, याक्थुङ भाषा विकास संस्था ( लिल्डा ), याक्थुङ प्रज्ञा प्रतिष्ठान लगायतका संस्थाहरुको संयुक्त आयोजनामा तीन दिनसम्म साँस्कृतिक बहस-विमर्श भएको थियो । किरात याक्थुङ चुम्लुङ पान्थरको चुम्लुङहिममा विभिन्न क्षेत्रका एक्सपोर्टहरु भाषाविद, संस्कृतिविद, समाजशास्त्री, राजनीति शास्त्री, मानवशास्त्री, समाजशास्त्री, त्तुत्तुतुम्याहाङ, युवा, महिला, विधार्थी, भूपु सैनिक, एवम याक्थुङ समुदायका अगुवाहरुको लामो छलफलबाट “सह-अस्तित्व र सामाजिक सद्भाव कायम गरौं, साँस्कृतिक पुनर्जागरण अभियान सफल पारौं” भन्ने नाराका साथ अन्तत: ६० पृष्ठको लामो प्रारुप तयार पारिएको थियो ।

यसभन्दा अगाडि पनि याक्थुङ समुदायमा सुषुप्त रुपमा सानातिना अभियानहरु नचलेका होइनन् । तथापी संस्थागत रुपमा यस अभियानलाई व्यवस्थित तवरले थालनी गरिएको यो नै पहिलो हो । साँस्कृतिक पुनर्जागरण अभियानलाई याक्थुङ समुदायमा व्यापक रुपले कार्यान्वयन गर्न पान्थर जिल्लामा पहिलो पटक १०० जनाको विभिन्न विभागीय समितिहरुको निर्माण गरिएको थियो । यस कार्यक्रमलाई लिम्बुवानको गाउँ गाउँसम्म सञ्चालन गर्ने ध्येयले सञ्चालन गर्न थालियो । इलाम, झापा, मोरङ, सुनसरी जिल्लाको लागि संयुक्त रुपमा दमकको किरात भवनमा सञ्चालन गरिएको थियो । त्यसपछि धनकुटा, तेह्रथुम, र संखुवासभा जिल्लाको लागि तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो र ताप्लेजुङ जिल्लाको लागि लिटल बुद्ध बोर्डिङ स्कुलमा अभियान सञ्चालन गरिएको थियो । उपर्युक्त कार्यक्रमहरु सञ्चालन गर्दा विभिन्न क्षेत्रका बुद्धीजीविहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । सहभागिहरुले दिएका महत्वपूर्ण राय र सुझावहरु पनि समावेश गर्दे लगियो । यस साँस्कृतिक पुनर्जागरण अभियान लिम्बुवानभरी नै सञ्चालन हुन थाल्यो । अन्य जिल्लाको तुलनामा पान्थर जिल्लामा अलिक प्रभावकारी रुपमा सञ्चालन भयो ।

२. साँस्कृतिक पुनर्जागरण अभियानको लक्ष्य र उदेश्य

यस साँस्कृतिक पुनर्जागरण अभियानको प्रारुप निर्माण गर्दा विभिन्न लक्ष्य र उदेश्यहरु तय गरिएको थियो । उक्त लक्ष्य र उदेश्यहरु जस्ताको तस्तै यहाँ उदृत गरिएको छ ।
क) ध्येय (Mission,Goal)

क ) ऐतिहासिक तथा मौलिक भूगोलका नामहरु पुनः स्थापित गर्ने ।
ख) मुन्धुम ज्ञान प्रणाली (School of Thought) तुम्याहाङ-न्याय प्रणालीलाई प्रयोगमा ल्याउन र विश्वविद्यालय स्थापना गर्न पहल गर्ने ।
ग) स्थानीय रैथाने समुदायको भाषा तथा संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्ने ।
घ) भूमि र प्राकृतिक स्रोत साधनमाथि पहुँच स्थापित गर्ने ।
ङ) परम्परागत ज्ञान, सीप र प्रविधिमा आधारित पेशा व्यावसायको प्रबर्द्धन गर्ने ।
च) माथि उल्लिखित सबै बुँदाहरुलाई आदिवासी अधिकारसँग जोडेर लैजाने ।
छ) आदिवासी संस्कृति तथा वातावरण मैत्री पूर्वाधार विकासमा जोड दिने ।
ज) याक्थुङ स्वायत्त क्षेत्र कायम गर्ने ।

ख ) उदेश्य (Objective )

– अपभ्रंसित र परिवर्तित रैथाने स्थान नामहरुको अध्ययन अनुसन्धान गरी ति नामहरु पुनःस्थापित गर्न एडभोकेसी (पैरवी) गर्ने ।
-शैक्षिक संस्था, सामुदायिक संघ संस्था लगायतका नामहरु स्थानीय भाषामा रुपान्तरण गर्ने गराउने
– बालबालिका, शैक्षिक संस्था, सामुदायिक संंघ संस्था, गल्ली, चोक, होटल, पसल, क्लब, आदिको मातृभाषा, संस्कृतिमा आधारित नाम राख्न अभिप्रेरित गर्ने
– याक्थुङ भाषालाई स्थानीय र प्रदेश सरकारको कामकाजी भाषाको रुपमा मान्यता दिलाउने ।
– याक्थुङ वाङमयलाई व्यापक अभ्यासमा ल्याउने ।
– तुम्याहाङ न्याय प्रणालीलाई पुनः स्थापित गरी अभ्यासमा ल्याउने ।
– समुदाय स्तरमा याक्थुङ भाषाको प्रयोगलाई व्यापकता दिई सम्पर्क भाषाको रुपमा स्थापित गर्ने ।
– उच्च तहसम्म मातृभाषा शिक्षा (विषय र माध्यम) को व्यवस्था गर्न गराउन पहल गर्ने ।
– मन्धुम शिक्षालाई मार्ग दर्शनको रुपमा स्थापित गर्ने ।
– मौलिक संस्कार, संस्कृतिको अनुसरण र पुस्तान्तरण गर्ने गराउने ।
– रैथाने समुदायको भूमि, अध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, धार्मिक, समाधि स्थल, लगायत प्राकृतिक स्रोत साधनको रक्षा र पहुँच स्थापित गर्ने ।
साँस्कृतिक तथा पर्या–पर्यटन प्रबर्द्धनमा जोड दिने
– परम्परागत ज्ञान, सीप, कला र प्रविधिमा आधारित पेशा व्यवसायलाई आधुनिकिकरण, व्यवसायिकरण गरी प्रबर्द्धन गर्न समुदाय र सरकारलाई अभिप्रेरित गर्ने ।
– सामाजिक, साँस्कृतिक तथा आर्थिक विकासका लागि याक्थुङ स्वायत्त क्षेत्र स्थापना गर्ने आदि ।

३. साँस्कृतिक पुनर्जागरण अभियानले लिएको गति

साँस्कृतिक पुनर्जागरण अभियानको प्रारुप तयार भएपछि यसलाई प्रभावकारी रुपमा क्रियान्वयन गर्न थालियो । माथि उल्लेख गरिएका लक्ष्य र उदेश्यलाई पूरा गर्न याक्थुङ समुदायमा अभियान तीव्र गतिले अगाडि बढ्यो । धेरै याक्थुङहरुले आफ्नै मातृभाषामा छोराछोरीको नाम राख्न थाले । सामाजिक सञ्जाल फेसबुकमा पनि आफ्नो उपनामको रुपमा याक्थुङ नाम राख्न थाले ।

आफ्नो मातृभाषा बोल्न र आफ्ना बालबच्चाहरुलाई आफ्नै भाषामा बोलाउन थाले । आफ्नो मौलिक संस्कार र संस्कृतिहरु अवलम्बन गर्न प्रेरित भए । आफ्ना घरछेउका देविथानहरुलाई मौलिक माङहिम नाम राख्न थाले । आफ्ना पसल, होटल, क्लब र संस्थाका नामहरु पनि आफ्नै भाषामा राख्न थाले । गाउँ ठाउँमा अप्रभंसित भएका नामहरुलाई सच्याउन थाले । यसकै प्रभावस्वरुप पान्थरको फालेलुङ गाउँपालिकाले थक्लेबुङ नामलाई सच्याएरु आफ्नो मौलिक नाम थकेपुङ राख्यो ।

थुप्रै स्थानीय तहको पालिका, वडा कार्यालय र विद्यालयहरुमा पनि मातृभाषाको बोर्डहरु प्रयोग गर्न थाले । छोटै समयमा आन्दोलनले छलाङ मारयो । मुक्कुमलुङ आन्दोलन, तिम्बुङ वरकको आन्दोलन, मिलुङ झरनाको आन्दोलन, आदि साँस्कृतिक पुनर्जागरण आन्दोलनका प्रतिनिधिमूलक आन्दोलनहरु हुन् ।

शनै: शनै: यस आन्दोलन याक्थुङ समुदायको गाउँ–गाउँ, घर–घर र याक्सा–याक्सासम्म पुग्दैछ । आन्दोनको रणनीतिहरु समयसापेक्ष रुपमा अगाडि बढ्दैछ । याक्थुङ समुदायको विभिन्न आयामहरुमा जबर्जस्त प्रभाव पार्दे लगिरहेको छ । यस आन्दोलनको प्रभावस्वरुप विभिन्न ठाउँहरुमा बाटाघाटाका नामहरु आफ्नै भाषामा राख्ने र बिग्रिएका नामहरु सच्याउने र दाबी गर्ने अभियान अन्तर्गत भर्खरै मात्र ताप्लेजुङको मदन भण्डारी लोकमार्गलाई काङसोरे–बाजहाङ लोकमार्ग घोषणा गरेर थप आन्दोलनलाई उचाई दिने काम गरिएको छ ।

४. काङसोरे–बाजहाङ लोकमार्ग घोषणा
गएको महिना असार २१ गतेका दिन ताप्लेजुङ दोभानमा बहान्दे, दोभान, साँघु, गुफापोखरी, हुँदै बसन्तपुरसम्म जाने मदन भण्डारी लोकमार्गलाई काङसोरे–बाजहाङ लोकमार्ग घोषणा गरिएको छ । ताप्लेजुङ जिल्लाका पहिचान पक्षधर साथीहरुको आयोजनामा किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, आङबुहाङ सेवा समाज र पहिचान पक्षधर विभिन्न पार्टीका नेतृत्व पंक्तिहरुको बाक्लो उपस्थितिमा बोर्डहरु खडा गरेर काङसोरे–बाजहाङ लोकमार्ग घोषणा गरिएको छ ।

काङसोरे को हुन् ?

काङ्सोरे(https://en.m.wikipedia.org/wiki/Kangso_Rey) लिम्बुवानी सेनापति हुन् । गोर्खा–लिम्बुवान युद्ध भएको बेला पटक–पटक उनले युद्धको कमाण्डर सम्हालेका थिए । अहिले सेनापति काङसोरेलाई खेवाहाङ भनेर कसैले दाबी गरिरहेका छन् भने कसैले वनेम फागो हुन् भनेर दलिल पेश गरिरहेका छन् । जे होस् काङसोरे राप, ताप र प्रताप भएका वीर लिम्बुवानी योद्धा थिए । धेरैले लिम्बुहरुको देवता नेरेरे नेहाङमा देवता उनको आङमा चढेको थियो र देवशक्ति पाएका थिए भन्ने गर्छन् । गोर्खालीहरुसँग पटक–पटक भएको युद्धमा दुश्मनहरुलाई धुलो चटाएका थिए । उनी आफ्नो भाषा र माटोका लागि समर्पित अजेय भूमिपुत्र थिए ।

गोर्खालीहरुसँगको संखुवादोभानमा भएको युद्धमा गोर्खाली सेनापति रघु राना र लिम्बुवानी सेनापति काङसोरे बीच सिङगल–सिङगल युद्ध लड्ने सम्झौता भएपछि युद्ध लड्दा काङसोरेले तरवारले छप्काएर रघु रानालाई मारेका थिए । त्यसपछि षडयन्त्रकारी गोर्खाली सेनाहरुले हत्तपत्त बालुवामुनी लुकाएर राखेका आफ्ना हातहतियारहरु निकालेर सेनापति काङसोरेको षडयन्त्रपूर्वक हत्या गरेका थिए ।

काङसोरे लगायत लिम्बुवानी सेनाहरुको हत्या गर्न थालेपछि लिम्बुवानी सेनाहरु आक्रोशित भएर घमासान युद्ध लडे र अन्ततः गोर्खालीहरुलाई त्यहाँबाट धपाएका थिए । आजतक पनि संखुवाखोला दोभानमा सेनापति काङसोरेको चिहान देख्न पाइन्छ ।

– बाजहाङ लिम्बू को हुन् ?

बाजहाङ लिम्बू आङबुहाङ थरका होनहार ब्यक्ति थिए । उनले आफ्नो किपट भूमि खोसिन लागेको र लिम्बू जातिको विरासतमाथि खतरा पैदा हुने देखेर त्यस विरुद्ध जेहाद छेंडेका थिए । आफ्नो भाषा, संस्कृति, माटो र इतिहासको संरक्षणको लागि मरिमेटेर लाग्ने बाजहाङ लिम्बुलाई उत्तिबेलाका क्रूर शाषक राणाहरुले ताप्लेजुङको फुङलिङमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए ।

५. कमरेड मदन भण्डारीमाथि अपमान होइन ।
नेपाली कम्युनिष्ट क्रान्तिका कोषेढुंगा मदन भण्डारीमाथि हाम्रो उत्तिकै श्रद्धा र सम्मान छ र रहिरहनेछ । हाम्रो आँखामा मदन भण्डारी महान नेता हुन् । उनले यस मुलुकका निम्ति धेरै योगदान गरेका छन् । यसमा कसैको विमति छैन । प्रसंगानुसार यस अघि नै ताप्लेजुङको बहान्दे, दोभान, साँघु, गुफा पोखरी हुँदै बसन्तपुर जाने बाटोलाई मदन भण्डारी लोकमार्ग नाम दिइएको थियो । गत असार २१ गतेदेखि यस लोकमार्गको नाम परिवर्तन गरेर काङसोरे–बाजहाङ लोकमार्ग नामांकन गरिएको छ । यस बारेमा अनेक कोणबाट विभिन्न सवाल र तर्कहरु आउन सक्छन् । तर, हाम्रो विचारमा कमरेड मदन भण्डारीलाई इतिहासमा पर्याप्त सम्मान गरिएको छ । उनको नाममा विभिन्न शैक्षिक संस्थाहरु, अस्पतालहरु, अध्ययन केन्द्रहरु, थुप्रै लोकमार्गहरु, खेलमैदानहरु नामाकरण गरिएका छन् । देशैभरी प्रतिमाहरु निर्माण गरिएका छन् । इतिहासका विभिन्न आयामहरुमा उनको स्मरण गरिएको छ । अब थप उनलाई चिनाइरहन केही कसर बाँकी छैन । तर काङसोरे र बाजहाङ लिम्बुलाई राज्यले कहिले र कत्तै पनि स्मरण गरेन । स्वजातिहरुले पनि अहिलेसम्म उनीहरुको योगदानको वास्तविक मूल्याङ्कन गर्न सकेका छैनन् । “हुनेलाई जहीँतहीँ नहुनेले कहीँ न कहीँ” भन्ने नेपाली उखान जस्तो भयो ।

यस लोकमार्गको नामाकरणले अलिकति भए पनि काङसोरे र बाजहाङलाई सम्मान गरेको छ । इतिहासको सानो कित्तामा अलिकति सम्झिने काम भएको छ । उत्पीडित समुदायले जबर्जस्त अपनत्वको महसुस गरेका छन् । थोरै भए पनि सह-अस्तित्वको भावनामा विकास भएको छ । अब यस काङसोरे–बाजहाङ लोकमार्गको बारेमा अनावश्यक कुतर्क गर्न र लेठो झिकिरहन जरुरत छैन ।

– कुराको बिट मार्दै गर्दा
साँस्कृतिक पुनर्जागरण अभियान (cultural renaissance campaign ) याक्थुङ समुदायमा प्रभावकारी रुपमा सञ्चालन भएको पाइन्छ । छोटो समयावधिभित्र नै आन्दोलनले गतिलो रुपमा छलाङ मारेको देखिन्छ । यस प्रकारको आन्दोलन आफैमा समाज सुदृढिकरणको एउटा महत्वपूर्ण पाटो हो ।

अब याक्थुङ समुदायलाई शिक्षा, स्वास्थ्य, भाषा, माटो र आफ्नो मौलिक संस्कार संस्कृतिको बारेमा सचेत गराउँदै लैजानुपर्छ । आन्तरिक तथा बाह्य उपनिबेशलाई मौलिक मुन्धुमी ज्ञान, सिप र चेतनाले प्रतिरोध नगरि सुखै छैन । यस प्रकारको अभियानले अन्ततः राष्ट्रियता मजबुद हुन्छ । मुलुकको सर्वोपरी हित गर्छ भन्ने कुरामा दुईमत छैन । अन्यान्य समुदायहरुले पनि यसरी नै अभियान सञ्चालन गरे धेरै राम्रो हुनेछ । सेवारो

तपाईको प्रतिक्रिया