बिशेषगरि मानविय संवेदनशीलतालाई निकै गहिरिएर यी कविताहरुले बोलेका छन् । समानता , देशप्रेम र मानविय संवेदनाको मनोदशालाई मिहिनरुपमा राख्न सक्नु नै कविको शक्ति हो । नदिझैँ बगेक यी कविताहरु भोगाइको चित्रमय अभिव्यक्ति हुन् प्रस्तुत छ साताको तीन कविता ।
भोक, समय र मान्छे
भोक,
समय र मान्छेमा सामाजिक दुरी ?
ईश्वर !
तिम्रो सत्ता बेईमान छ
र त
सल्किरहन्छ भुसको आगोझैँ कलह र भ्रम
निरन्तर समुन्नत कलियुगमा पनि
कि होईन ?
भोकहरु जिउँदा छन्
कर्तुतहरु थुपार्ने बलियो तिम्रो कन्तुर छ – समय
पैरवी गर्ने ठुलै तप्काहरु निनारामा छन् – मान्छे
अनि भइरहेछ निरन्तर
घरेलु कारखानामा
भोक, समय र मान्छेमा सामाजिक दुरी ।
सालिक र मान्छे
एउटा अमूक सालिक
नेपथ्यमा गिज्याउँदै थियो -मान्छे
तिमी,
सालिक होईन
तिमी मान्छे बन्नुपर्छ
सालिक र मान्छे आवरणमा एकै भए पनि
विपर्यास छन्
शालिक थप्दै गयो
ममरेर पनि जिवित छु
तिमी बाँचेर पनि मृत छौं ।
देश बेचिएको रात
देश बेचिएको रात अबेरसम्म निदाएन्
बाका दुईओटा आँखा ।
सायद,
मुलुक उडेकै रात हुनुपर्छ
रातभरि चर्किरहे आमाका स्तनहरु ।
पक्कै जङ्गलमा बन्दुक पड्किएकै दिनदेखि होला
छोडे चराहरु गुँड फर्किन ।
पल्लाघरे ठाँला भन्दै थिए
देश बेचिएको रात हुन्छ यस्तै यस्तै ।