नरजित राई

१८ अप्रिल २०२३। म करिब ४५ बर्ष पछि दोस्रो पटक खोटाङ जिल्लामा अवस्थित जन्मगाउँ कोक्रुवामा पुग्दै थिएँ। हामी टेम्के डाँडाको पदयात्रा पछि पान्धारेको एउटा होटलमा बास बसेका थियौं। हाम्रो गन्तव्य स्थान जन्मघर कोक्रुवा गाउँको रहेको थियो।

मेरो मन, दिमाग जन्मघरको माटोलाई टेक्न आतुर थियोे। हामी तावा खोलाको उत्पत्ति स्थल र तावा भञ्ज्याङको सौन्दर्यतामा अघाउन्जेल रमाउदै, बिस्तारै पैदल यात्रा गरि कोक्रुवासम्म पुग्ने योजना थियो। मलाई आपा आमाले पान्धारे बजार भर्नका लागि डोर्‍याउदै हिडाइएका बाटोहरुमा पुनः हिड्नु थियो। तावा खोलाको स्वच्छ कलकल पानी संग खेल्दै बाल्यकालमा पौडी खेलेको दृश्यहरुलाई सम्झने इच्छा र आकांक्षा थियो। मैले कखरा सिकेको खिदिमा स्कुललाई छोएर ढोग्नु थियो। आफू सिगाने हुँदै स्कुलको वरिपरि दगुरेको,कपिको पन्नाको हवाइजहाज बनाएर उडाएको,साथीहरुसंग हाँस्दै, कराउँदै, रमाउँदै, लुकामारी खेलेको स्कुलको मैदानलाइ टेक्नु थियो। स्वर्गीय तिम्मा तिप्पाको घर आगनमा पुगि, घुर्काउँदै नास्पती खाएको बोटलाई पनि छुनु थियो। तर यी इच्छा, चाहना र आकांक्षाहरु सपना जस्तै केहि छिन स्मृतिमा आएर बिलाएर गए जस्तै भयो।

भतिजको घर

हामी पदयात्रा गर्दै कोक्रुवासम्म पुग्न नसक्ने कुरामा निश्चित भयौं। टेम्के डाँडाको लामो उकालो ओरालो हिंडाइले सबै गलेर थकित भएका थियौं। हामीले पान्धारेबाट जिप रिजर्भ गरेर जन्मस्थल कोक्रुवा जाने सल्लाह गरियो। अहिले मोटर दगुर्ने बाटोहरु गाउँ – गाउँमा बनि सकेकाले सजिलो थियोे। पान्धारेमा भोजपुर बजार जाने रुटको जिपलाई कोक्रुवा गाउँसम्मको लागि शिवले बेलुकीपख जिप रिजर्भ गरिन। हामीले बिहान ७:०० बजे भन्दा अगाडी नै कोक्रुवा तिर प्रस्थान गर्नु पर्ने थियो। हामी हतार गर्दागर्दै ७:०० बजे मात्र जिपमा चढ्यौं। हाम्रो तावा भञ्ज्याङ्लाई टेक्ने समय चट भइ सकेको थियो। गुरुजीले ८:०० बजे भन्दा अगाडी नै पान्धारेबाट भोजपुरका लागि जिपलाइ लाइनमा (क्वु) राख्नु पर्ने रहेछ। तैपनि गुरुजीले कतै मानी पो हाल्छ कि ??


– यसो तावा भञ्ज्याङ्गलाइ ५ मिनेट टेकेर जाउ न हाउ  गुरुजी?
– हुन्न हजुर। तपाईंहरुले नै ढिलो गर्नु भयो। मलाई पनि ढिलो हुने भो। माफ पाउँ हजुर।

गाउँले मित्रहरूसंग

गुरुजी मरि गए मान्दै मानेनन। हामीले घुम्नु र हेर्नु नै पर्ने मुख्य ठाउँहरुलाइ छुटायौं। मैले बाल्य मस्तिष्कले मात्र देखेको रमणीय तावा भज्याङ पहिले र अहिलेमा कति परिवर्तन भयो होला। मलाई त्यो ठाउँमा पुग्न र घुम्न नपाएकोमा निकै बिस्मात र थकथकि पनि भयो । हामीले यात्रामा परिस्थिति र बाध्यता अनुरुप हिड्नु र चल्नु पर्ने भएकाले मनलाइ शान्त पारेँ। पान्धारे देखि दिक्तेल पुग्ने कच्ची सडक भए पनि खाल्डाखुल्डीहरु त्यति थिएन। गुरुजिले  बाटो फराकिलो र सिधा पनि भएकाले जिपलाइ रफ्तारमा दौडाइ रहेका थिए। बिहानी पखको चिसो हावाले झ्यालमा आएर चिहाउदै छुदै भाग्थ्यो। स्याल्मे डाँडाको टुप्पोलाइ सेता बादलको टुक्राले वरिपरि घेरि रहेको थियो। म मावला चिप्रीङ जाँदा सेल्मे मुलडाँडाको बाटोमा आमाको हात समाएर गफिदै हिडेको अतितलाइ सम्झिएँ।


हामी भतिज ध्यान बहादुर राईको घर मुन्तिर जिपबाट उत्रियौं। मैले बाल्यकालमा काफल टिपेर खाएको रुख अझै  रहेछ। हामी बाटो माथि रहेको भतिजको भत्किन लागेको निर्जन घरमा पुग्यौं। मैले आगन छेउको बारीमा  रहेको ठुलो मेलको रुखलाई खोजें। तर त्यो उहिले नै खरानी भइ बिलाइ सकेछ। हामी लटरम्म फलेका अमिलो स्वादको मेललाइ टिपेर मुख बिगार्दै खान्थौं। मैले ती बितेका रमाइलो दिनहरुलाइ भतिजहरुको घर आगनमा उभिएर सम्झिएँ।

सौरेमा आफन्तहरुसंग


आमाले प्रत्येक दिन गाग्रीमा पानी बोकेर खुवाउनु भएको पधेरालाइ सम्झिएँ। हामी पधेंराको अवस्था कस्तो भएछ भनि हेर्न गयौं। पधेंरा र सिमसार समेत सुकेर नाम निसानै थिएन।  मैले आमालाई पछ्याउँदै कैयौं पटक पधेंरा र घर गरेको थिएँ। मेरी आमाले पधेंराको कलकल स्वच्छ पानीलाई गाग्रोमा भर्नु भइ घर पुग्न उकालो हिड्नु हुन्थ्यो। आमाको पाइतालाले टेकेको जमिन,पधेंरा उकाली,ओराली,घरबारी, कान्ला र आपाआमाको अनुहारलाइ  झल्यास्स सम्झिएर भाबुक भएँ। यो ठाउँमा आमाआपाले धेरै दुख गर्नु भएको थियो। यस्तो दुखबाट पार पाउन बाबाले बेंसीको खेत बेची तराईमा जमीन किन्नु भएको थियो। अहिले त सबै बारीहरु बाँझो रहेछ। त्यो समयको हरियाली बारीहरु,अहिले त उजाड नै भएछ।


हामी आहालडाँडा,चिहान डाँडा नजिकैको टारमा गयौं। त्यहाँ बाजेसंग गाइ बस्तुहरु चराउदै, कयौं पटक रमाउदै दगुरेको थिएँ। अहिले टारहरुमा गाडी कुद्ने बाटो र कोक्रुवा बासीहरुले भलिबल खेल्ने मैदान स्काभेटर नै लगाएर सम्याएँछ। तल जङ्गलै भरि कटुसहरु सेताम्य फुलेर सुगन्धित सुबास हावामा फैल्याइ रहेछ। मैले  शिव,सन्तोष, विष्णु दाइलाइ वरिपरि देखिएका किवा,मखमले,बोरा,खिदिमा,हातिसुँढे, गैरिगाउँ,सौरे गाउँहरुलाइ औलाले देखाउदै चिनाए। मैले कैयौं पटक उकाली ओराली गर्दा हिंडेको गोरेटो बाटो अझसम्म पनि रहेको देख्दा मेरा पाइतालाका डोबहरुलाइ खोजें।

आहलडाँडामा गाइबस्तुहरुले पिउने पानी पोखरीको अब त रुप मात्रै रहेछ। चिहान डाँडा,कोलडाँडा वरिपरि बनमाराको उरुङ झाडी भएछ। हामी बारीहरु घुम्दै हेर्दै जन्म घरको आगनमा पुग्यौं। हाम्रो ३ तले घर,आगन र मतानको कुनै निसाना नै थिएन। पहिल्यै कसैले भत्काएर जमिनमा मिलाइ दिएछ। हाम्रो घरको सबै डाँडा,भाटा,झ्याल,ढोकाहरु कसैले लगेर दह्रो घर बनाइ सकेछ। बारिका डिलमा लहरै रोपिएको उखुहरु,आरु बखडा, चुथ्रो र स्याउपतिका रुखहरु माटोमा नै हराएछन। मलाई भाँचिएका नास्पतिका बोटले भने अझै पर्खी नै रहेछ। मेरो बाजे,बोजु,आमा आपाले घर मुन्तिर खिना, करेला, इस्कूस,जिम्बु,सागसब्जी रोप्नलाइ बनाएको करेसा बारी, सडकमा बदलिएछ। 

हाम्रो घरको आगन अगाडी हावा खोलाको पानीलाई कुलो बनाएर ल्याइएको धारा पनि हराएछ। बोजुले खाडीको कपडा बुन्दा तान बनाउने ठाउँ पनि भत्किएछ। हाम्रो घर मुन्तिरको पट्टेर जङ्गललाइ फाँडेर,ढालेर नया बाटोहरु नै बनेछ। उत्तिस र ढाल्ने कटुसका र अन्य जातको रुखहरु धेरै पातलिएछ। घर पछाडीको पुरानो मुलबाटो र गुराँसको रुख अझै रहेछ। मैले सहयात्रीहरुलाइ घर भएको ठाउँको आगनमा नै उभिएर, बिगतमा घर वरिपरिको चौकुनाबारे अवगत गराएँ। मैले घर बिहिन आगनमा उभिएर अतितलाइ सम्झदा मन, मुटु दुखेर भक्कानियो। मेरो आँखाबाट अनायास दुई थोपा आँशु आगनमा खसेछ। मैले गला अवरुद्ध भएर केही बोल्न सकिन। मैले बोल्दै गरेको भिडियो शिवले खिचि रहेकि थिइन तर रोएको देखेर खिच्ने काम बन्द गरिछिन। यो भावुकता जन्मघर प्रतिको गहिरो हार्दिक माया र ममताको प्रतिक थियो।


म यहि माटो, जङ्गल, बाटो, गह्रा, कान्ला, आगनमा दगुर्दै, खेल्दै, उफ्रीन्दै हुर्किएको थिएँ। मैले ध्यान भतिजलाइ बिगतमा उ संग खेलेको, डुलेको, हाँसेको क्षणलाई स्मरण गराएँ। दाइ, ध्यान, म्याम भतिजहरु निकै पछि मात्र कोक्रुवाबाट तराईमा झरेका थिए। मेरा बाल्यसखी भन्नू नै भतिज ध्यान बहादुर राई  र म्याम बहादुर राई  थिए।


आमाआपाले गरि खाओस भनेर सम्पुर्ण घर बारीहरु गाउँले दाइ जङ्ग बहादुर राइलाइ जिम्मा दिई तराई झर्नु भएको थियो। आपाले तराईमा खेती किने देखि नै जङ्ग दाजुले खेती गर्न सहयोग गर्नु भएको थियो। जङ्ग दाइले केही बर्ष त बारीहरु खनजोत गर्नु भएको रहेछ। तर  बुढेसकालमा जिन्दगीको प्रवेश, छोराछोरीहरु आ-आफ्नो भविष्य खोज्न हिँडि सकेका र गाउँघरमा काम गर्ने मानिसहरुको अभावले कमाइ गर्न नसक्ने भइ जग्गाहरु सबै बाँझो छोडी दिनु भएछ। म क्रोक्रुवा आइ सकेको सूचना पाउनु भएकोले होला, आहलडाँडा नजिकै पर्खी रहनु भएको थियोे। मैले जङ्ग दाईलाई भेट्दा खुसी भएँ। वहाँ निकै बूढो पनि हुनु भएछ। पहिले-पहिले  खेतीको बेला प्रत्येक बर्ष तराईमा आउनु भइ  सहयोग गर्नु हुन्थ्यो। वहाँ तराई नझरेको पनि निकै बर्ष भएछ। मैले जङ्ग दाईलाइ घर बिहिन आगनमा उभिएर शिर उभ्याउने काम पनि गरे। वहाँ शायद खुसी हुनु नै भयो होला।


मैले मेरो कृति “मनका नदीहरुबाट” कोक्रुवा सम्बन्धि कविताहरु बाचन गरि उपस्थित सबैलाई सुनाएँ। जिन्दगी आज हो कि भोलि सम्झनाका लागि भिडियो पनि बनाएँ। घर माथीको डाँडामा कटुसहरु सेताम्य फुलेका थिए। मैले जस्तो कटुसका दानाहरु अब त कसैले पनि टिप्दैन होला। हाम्रो घरको मुलबाटो अगाडी लाली गुराँसका एउटा रुख झपक्कै फुलेको रहेछ। बाल्यकालमा गुराँसका राताम्य फुललाइ टिपेर रस चुसी चुसी खाएको सम्झिएँ। म आउने थाहा पाएर गुराँसले पनि फुलेर स्वागत गरे झैं लाग्यो। भान्जा सन्तोषले गुराँसको फुललाइ देखेर टिप्दै निकै रमाको देखेँ। हाम्रो घर नजिकैको छिमेकी खड्का दाइको मानव बिहिन घर खण्डहर भएको देख्दा निरास भएँ।

जंगबहादुर दाइसंग

हामी माथिल्लो कोक्रुवा तिर लाग्यौं। हामी ध्यान भतिज मार्फत कसैको घरमा जाँदै थियौं। म सानैमा तराई झरेकाले गाउँ घरका आफन्तहरुलाइ चिन्दिन थिएँ। मैले बाल्यकालको एकजना साथीलाइ बाटोमा अचानक भेटेँ। मलाई नाम सहित प्रष्ट चिनेकोमा अचम्म भएँ । हामी बिसाउने गन्तव्य घरमा पुग्यौं। हामी बीच एकापसमा चिनजान र परिचय गर्दा तिप्पाको छोरा मुलुक राई साइनोमा भाइ पर्नु भयो। हामीलाई बिहानको मेजमानी त्यही नै प्रबन्ध भएको रहेछ। हामी एकरात मुलुक भाईको घरमा नै बास बस्ने भइयो।


हामी मुलघर सौरे गाउँ घुम्न जाने निश्चित भयौं । हामी शिव देबि राई, सन्तोष राई , विष्णु कुमार राई, मुलुक भाइ, दुइजना बुहारीहरु, नातिनी सौरे गाउँ घुम्न गोरेटो बाटो हुँदै ओरालो लाग्यौं। हामी गाडी दगुर्ने कच्ची बाटो हुँदै वरिपरि देखिएका गाउँघरका मनोरम दृश्यहरुलाई हेर्दै, रमाउदै बिस्तारै हिडि रहयौं। हामी नाचिमा खोलाको फड्के साँघु तरेर हात्तिसुँढे,गैरिगाउँ हुँदै सौरे पुग्यौं। हाम्रो सन्तानहरुको मुल थलो सौरे भन्ने  नै सुनेको थिएँ।

हामी हिड्दा हिड्दै सौरे स्कुल पुग्यौं। मैले आपालाई सौरे स्कुल आउँदा मनमा लागेका बाल्य जिज्ञासाहरु सोधि-सोधी दिक्क बनाई गफिदै हिँडेको बिगतलाइ सम्झिएँ। मैले  सौरे स्कुललाई नै पहिलो पटक स्कुल यस्तो हुन्छ भनेर देखेको / चिनेको थिएँ। हामी हिड्ने बाटो वरपर काँडे ऐंसेलु पहेँलपुर पाकेर सबैलाई लोभ्याइ रहेका थिए। शिव,सन्तोष ,बुहारीहरुले ऐँसेलुका पहेँला दाना टिपेर चखाए। मैले बाजेसंग गोठालोमा ऐँसेलु टिपेर रमाउदै खाएको सम्झना पनि गरेँ। मैले स्वर्गीय दाजु मुगाधन राई र चौका बहादुर राईको मुलबाटोमा स्थापित सालिकमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ। हामीले सौरेमा रहनु भएका नजिकका आफन्तहरुसंग घर घरमा पुगि चिनापर्चि गरि भलाकुसरि गरियो। त्यहाँ चिया कफीले होइन आराखा (रक्सी)ले नै पाहुनालाई सत्कार गर्ने किराँती चलन अझै जिवित नै रहेछ। त्यहा शिवले गाउँ र गाउँलेहरुको टिकटकहरु बनाई  सबैलाई खुसी बनाएकी थिइन।

सौरेको घर सामुन्ने लेखक


हामी सौरे घुम्न जानुको मुख्य उदेश्य मुल घरलाई हेर्नू थियो। त्यो घर छ छैन होला? यदी भए कस्तो अवस्थामा होला। मेरो मनमा घर प्रति खुल्दुली मच्चीएको थियो। हाम्रो बंशको इतिहास बोकेको पुरानो घरमा घुम्दै पुग्यौं। त्यो घरलाई अझै बंशजहरुले समय समयमा पुन: निर्माण गरि भत्कनुबाट जोगाएका रहेछन। मैले घरको आगनमा टेक्दा बाल्यस्मृतिका सम्झनाहरु छाल झैं दिमागभरि छचल्किए। त्यो घर आगनमा साकेला उभौली र उधौलिमा सबै आफन्तहरु भेला भइ साकेला शिलीका विभिन्न शिलिहरुमा हाँसी खुसी, नाच्दै साकेला चाडलाई बृहत रुपमा मनाउथे। म पनि आमाआपासंग त्यो घरमा धेरै पटक पुगेर घर, आगन वरिपरि दगुरेको, खेलेको, रोएको, हाँसेको थिएँ। मैले अतितलाइ आँखा चिम्लिएर स्मरण गर्दै सुखद अनुभुती प्राप्त गरेँ। मेरा पुर्खाहरु त्यही घरमा जन्मि, खेलि, हुर्किए र विभिन्न ठाउँहरुमा स्थानान्तरण भइ बंशहरुलाई फैलाएका थिए । हाम्रो बंशहरुको इतिहास बोकेको घर प्रति नतमस्तक भएँ।


पश्चिममा घाम डुब्न सुरसार गर्दै थियोे। हामी बाटोमा रमाउदै, गफिदै टिकटकको गीतहरुमा नाच्दै, भिडियो बनाउदै, बासस्थान कोक्रुवा फर्कियौं। हामी मुलुक भाईको घरमा पुग्दा कोक्रुवाका दाजुभाइहरु जम्मा भएका रहेछन। मलाई प्रायः कसैले चिन्दैनन। म पनि चिन्दिन तर एकापसमा साइनो गर्दै चिनजान भइयो।
हाम्रो जग्गामा बनाइएको भलिबल मैदानलाई फुटबल मैदानमा परिणत गर्ने अझै केही जग्गा उपलब्ध गराइ दिन प्रस्ताव राखेँ। अहिले त्यो मैदानमा साकेला उधौंली र उभौंलीमा वरिपरिको गाउँ गाउँबाट आएका मानिसहरु भेला भइ किरात राईहरुको महान चाड साकेला मनाइने रहेछ। त्यहाँ कुनै कुनै बेला अन्य कार्यक्रमहरु पनि आयोजना गरिने रहेछ। कोक्रुवाबासी क्लबको नाममा जग्गा पास गरि दिए, गाउँपालिकाबाट १-२ लाख मर्मतका लागि रकम निकासा हुने पनि रहेछ। क्रोक्रुवाबासीले गरेका हरेक राम्रा कार्यहरुमा सधैं सकारात्मक रहेको कुरा गरेँ। यदी आफ्नो प्रस्ताव अनुरुप क्लबले केही राम्राे कार्य गर्दिए, ब्यक्तिगतरुपमा थोरै आर्थिक सहयोग पनि गर्दिने वचन दिएँ।

कटुस फुलिरहेको

मैले पनि जन्मगाउँलाइ केही योगदान गर्न सके जन्मनुको सार्थकता हुने छ भन्ने सोचेको छु। मैले जन्मस्थललाई छुन , टेक्न र हेर्न पाउँदा वर्षौंपछिको सपनाहरू पुर्ण भएको अनुभुती गरें। मैले जन्मगाउँको माटोमा शिर निहुराएर आशीर्वाद पनि मागेँ। म भौतिक रुपमा सधैं सामिप्यमा रहन नसके पनि बाँचुन्जेल जन्मगाउँलाइ हृदय भित्र सजाइ रहने छु। रमाइलो गफहरु लम्बि रहँदा समय उकालो दगुरी रहेको थियो। बाँचिएछ भने भविष्यमा पुनः भेट्ने हार्दिक बाचा गर्दै गाउँलेहरुसंग छुट्टियौं। हाम्रो भोलिपल्टको यात्रा लामो भएकाले विश्राम गर्न बत्ती निभायौं।


२ अगस्ट २०२३ (१७ श्रावण २०८०)
तु क्वा वान,हङकङ

तपाईको प्रतिक्रिया