बिजय हितान

पुस्तक प्रकाशन गर्नु चलचित्र निर्माण गर्नु जस्तै एक विशाल परियोजना रहेछ । प्रत्येक परियोजनाका आ-आफ्ना पृष्ठभुमि हुन्छन् । लाहुरेको रेलिमाई लेखनमा पनि मेरा आफ्नै संघर्षपुर्ण पुर्व तैयारीका कथाहरु छन् । लाहुरेको रेलिमाइ मास्टर मित्रसेन थापामगरको जीवनीमा आधारित एक ऐतिहासिक युद्ध उपन्यास हो भन्न रुचाउँछु । उपन्यासका मुख्य पात्र मित्रसेन बहुप्रतिभाका धनी व्यक्तित्व थिए । विषेशगरि यो उपन्यासमा उनका गीत, संगीत, नाटक र समाजिक देनले उनलाई चिनाउँछ । गीत संगीतका पारखी भएकाले उनि ‘मास्टर’ कहलिएका हुन। जसरी नारायण गोपाललाई ‘मुटुमाथि ढुँगाराखी हाँस्नु पर्‍या छ…’ ले चिनाउँछ त्यसरी नै मित्रसेनलाइ ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको…. ’ गीतले अमर बनाएको छ । ‘लाहुरेको रेलिमाई’ एक कालजयी झ्याउरे गीत हो । त्यसर्थ यसै गीतलाई मेरो उपन्यासको शिर्षक दिएको हुँ ।

पेशाले मित्रसेन भारतीय गोर्खा लाहुरे थिए । प्रथम विश्व युद्धमा संलग्न भएर युरोप अनि मेसोपोटामिया (सिरिया र इराक) मा लडन पुगेका थिए । उनका सांगितिक, साहित्यिक, सामाजिक तथा पारिवारिक आयामसँग नेपाली समाज परिचित छैन । आफै पनि एक लाहुरे र एक लेखक भएको नाताले नेपाली साहित्यको केन्द्रमा युद्ध साहित्य लेखनको चर्चा र यसको अवस्था अनि यसका मनोवैज्ञानिक पाटाहरु पनि चर्चा हुन जरुरी छ भन्ने लागेर उहाँको जीवन भोगाईको सन्दर्भहरुलाई लेख्ने जमोर्को गरेको हुँ । सेनाबाट निवृत भैसकेपछि उनी साहित्य कला संगीतप्रति पुर्ण समर्पण रहे । उनको जीवनको यस पक्षका बारेमा धेरै लेखि सकिएका छन । तर उनको लाहुरे जीवन र विश्व युद्धमा संलग्नताका बारेमा लेखिएको कतै पाइदैन । उनको फौजी जीवन कष्टकर, वेदनापुर्ण, र साहसिक कथाहरुले भरिपुर्ण थियो भन्ने मलाई लाग्यो र यसलाई आम पाठकसामु ल्याउन आवश्यक देखेर यो उपन्यास लेखेको हुँ ।

अर्को कुरा नेपाली वांङमयमा युद्ध साहित्य लेखन नविनतम विषय हो । दोस्रो विश्व युद्ध र त्यस यताका युद्धलाई लिएर फाट्फुट पुस्तक प्रकाशन गरिएको पाइन्छ । तर प्रथम विश्व युद्ध र वीर गोर्खालीका गाथामा केन्द्रित साहित्य त्यति नलेखिएको परिपेक्षमा मैले यो उपन्यास लेख्ने धृष्टता गरेको हुँ ।

मित्रसेनको जीवनमा दुइ पाटा प्रष्ट देखिन्छन- सैनिक छँदाको र निवृत भैसकेपछिको अवस्था । यसर्थ उपन्यासलाई मुख्यत दुइ भागमा वर्गीकृत गरेको छु । प्रथममा मित्रसेनको सैनिक जीवन, तात्कालीन गोर्खा पल्टनहरु र प्रथम विश्व युद्धमा उनको संलगनतालाई आख्यानको रुप दिएको छु । उपन्यासको दोस्रो भागले सैनिकसेवा पश्चात निवृत भैसकेपछिको जीवनलाइ समेटेको छ । पल्टन छोडेपछि उनी पुर्णरुपमा संगीत, साहित्य र सामाजिक सेवामा समर्पित थिए । यसै सिलसिलामा भारत र नेपालका ठाउँहरुमा भ्रमण गर्दै उनले विभिन्न व्यक्तिहरुलाइ भेटेको पाइन्छ । यी क्रियाकलाप माथि दर्जनौं पुस्तक तथा लेखहरु प्रकाशन भैसकेका छन् । सेवानिवृति भैसकेपछिको जीवनमा केन्द्रित रहेर उनको व्यक्तित्व र कृतित्वमा विध्यावारिधी गरिएको छ । मैले तिनै घटना परिघटनालाई आख्यानको रुप दिएर उपन्यासमा उतारेको हुँ । जीवनको उत्तरार्धतिर उनले ‘मित्रको डायरी’ लेखेका थिए । यसैलाई आधार मानेर मैले उपन्यासलाई एक डायरी ढाँचामा प्रस्तुत गरेको छु ।

यसरी ‘लाहुरेको रेलिमाई’ ले मित्रसेन भर्ती भएर लाहुरे हुदै प्रथम विश्व युद्ध लडन गएको र अवकास पश्चात एक साधारण नागरिक जीवन बाँच्दै मृत्यु सम्मको काललाई समेटेको छ । उपन्यासमा समावेस स्थान, परिवेश, पात्र, काल, घटना प्राय सत्य र वास्तविक हुन । अनुपातका दुष्टिकोणले यो उपन्यास ८० प्रतिसत वास्तविक र २० प्रतिसत काल्पनीक होला भन्ने लागेको छ ।

यो मेरो प्रथम उपन्यास भएर पनि होला ऐतिहासिक उपन्यास लेख्नु त्यति सहज नरहेको महसुस गरेको थिएँ । पहिलो प्रयासमै पहाडै उचाल्न गैरहेको छु कि जस्तो भान भएको थियो । लेखन आरम्भ त गरेँ तर बेलाबखतमा अन्योल र अत्यासमा परेर बीचमै छोड्दिन पर्छ कि भन्ने सोच नआएको पनि होइन । तर लेखनको मेलो सार्दैजाँदा विस्तारै इच्छाशक्ती बढदै गयो र पहाडै उचालेर हिंड्ने शक्ति पनि प्राप्त हुन थाल्यो । ऐतिहासिक घटनामा आधारित आख्यान लेख्न थालनी गर्दा कोठाभित्र बसेर कल्पनामा लेखेको जस्तो नहुदो रहेछ । लेखनको अवधारणा बनाएपछि अध्ययन, अनुसन्धान र भ्रमणमा ६ बर्ष खर्चेछु ।

लामो समयदेखि मास्टर मित्रसेन स्मृति प्रतिष्ठानसंग सहकार्य गर्दै मित्रसेनलाइ नेपाली साहित्य र समाजमा चिनाउन अभियानकै रुपमा लागेको हुँ । यसमा लागेर हिंडदै गर्दा मित्रसेनको बारेमा धेरै कुराको ज्ञान लिन सकें। उपन्यास लेखनमा प्रेरणा र सुचनाका मूल स्रोत मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका तात्कालीन अध्यक्ष त्रिलोकसिंङ थापामगर हुनुहुन्छ । पुस्तकको रुपमा बिभिन्न सन्दर्भ सामग्री प्राय उहाँले नै उपलब्ध गराइदिनु भएको हो । मेरो भाग्सु धर्मशाला भ्रमणको चाँजोपाँजो पनि उहाँले नै मिलाइ दिनुभएको थियो ।

बेलायती सेनामा गोर्खा भर्ती परम्परा सन २०१५ मा दुइसय बर्ष पुगेको थियो । यसै अवसरलाई पारेर वेलायत, भारत र नेपालमा दुइ सतबार्षिकी उत्सव बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएका थिए । त्यसै बर्ष मैले यस उपन्यास लेखनको बीउ रोपेको हुँ । त्यहाँदेखि वेलायती तथा नेपाली लेखक र इतिहासकारले लेखेका सम्वन्धित १८ वटा पुस्तकहरु अध्ययन गर्न सुरु गरें । त्रिलोक सिंह थापामगरद्वारा लिखित मास्टर मित्रसेन र उनका सिर्जना, प्रदिप थापामगरको मित्रसेन र उनका देन, डा खगेन्द्र शर्माको नेपाली संगीतका भानुभक्त्त मास्टर मित्रसेन, प्रा डा खगेन्द्रप्रसाद लुईटेलको बरालको आँशु,मास्टर मित्रसेन स्वयंको बरालको आँसु (तिनै भाग) र मगन पथिकको मित्रको डायरी जस्ता नेपाली भाषाका पुस्तक अध्यन गरें । त्यसैगरी द इन्डियन कोर इन फ्रान्स, द खुकुरी ब्रेभ, मेसोपोटामिया क्याम्पेन, द ग्रेट वार हेन्डबुक, सिपोइ इन ट्रन्चेस, द ब्रिटिश आर्मी १९१४-१९१८ लगायत अरु थुप्रै अँग्रेजी भाषाका पुस्तकहरु अध्यन गरेछु ।

त्यसैगरि बेलायतमा रेहेका गोर्खाली सम्वद्ध संग्राहलय, युद्ध स्मारक, र समाधी स्थलहरुको अध्यन भ्रमण गर्न सुरु गरें । वेलायतको ब्राइटनस्थित रोयल पेभिलियन र छत्रि समाधिस्थल, प्रथम विश्वयुद्धको कुरुक्षेत्र मानिने उत्तरी फ्रान्स र बेल्जियममा पर्ने फ्लान्डर्स फिल्डको भ्रमणमा निस्किएँ । साथै भारतको हिमाञ्चल प्रदेशमा अवस्थित मास्टर मित्रसेनको जन्मभुमि भाग्सु धर्मशाला पनि पुगें । मित्रसेनको घरलाई अहिले संग्रालयमा परिणत गरिएको छ । तिनले प्रयोग गरेका हार्मोनिका र तवला जस्ता सांगितीक वाजागाजा साथै गीत, भजन, नाटक, र लेखका दर्जनौं हस्तलिखित पाण्डुलिपि त्यहाँ सुरक्षितसाथ प्रदर्शनीमा राखिएको छ । त्यसैगरि गोर्खा भूपु सैनिक संगठन (जसलाई अहिले हिमाञ्चल पंजाव गोर्खा एसोसियसन भनिन्छ) को गोर्खा भवन र त्यसका पदाधिकारीहरुलाई भेटेर ऐतिहासिक सुचना संकलन गर्ने अवसर मिलेको थियो । उता प्रथम विश्वयुद्धमा हजारौं गोर्खाली लडिरहेको बेलामा यता निवृत भएका सैनिकहरुले यो संगठन सन १९१६ मा स्थापना गरेका थिए । युद्धरत गोर्खाली र तीनको परिवारको कल्याणको लागि यो संस्थाको स्थापना गरिएको थियो ।

अहिले यस्ता भूपु सैनिक संगठन सयौं छन तर हिमाञ्चल पंजाव गोर्खा एसोसियसन संभवत सबैभन्दा पुरानो संगठन हुनसक्छ । भाग्सु धर्मशालामा मित्रसेन साहित्य संगीत सभाको स्थापना गरिएको छ । यसले मित्रसेनको जन्म (२९ डिसेम्वर) र मृत्यु (९ अप्रिल) का दिन पारेर सांगीतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गर्छ। यसै संस्थाका सदस्यहरुसँग पनि मेरो भेटघाट भयो । सोहि बसाइमा मित्रसेनकी बुहारी देवकन्या र नाति अरविन्दसँग पनि मेरो छलफल चलेको थियो। मित्रसेनको जीवनीमा आधारित उपन्यास लेख्छु भन्दा उहाँहरु खुशी हुनु भएको थियो । दुर्भाग्यवस देवकन्या बितिसक्नु भएको छ र लाहुरेको रेलिमाई उहाँले पढन नपाउने हुनुभयो । प्रथम विश्व युद्ध मेसोपोटामियामा पनि लडिएको थियो । यो स्थान मात्रै भ्रमण गर्ने अनुकुलता मिलेन ।

यिनै यस्तै यस्तै संघर्षहरु पार गर्दै लामो समय लाहुरेको रेलिमाई मेरो कलम र कापीको गर्भमा रहेर जन्मेको हो । प्रथम पाण्डुलिपि तैयार भैसकेपछि केहि साहित्यकार मित्रहरुलाई देखाएर यसको परिमार्जनमा अनि प्रकाशक खोजेर प्रकाशन गर्नै लाग्यो थप २ बर्ष । त्यसपछि आफैलाई मित्रसेनको जीवनीमा विध्यावारिधी सम्पन्न गरे झैँ अनुभुत भएको थियो । किताब कस्तो भयो यस बिषयमा मेरो केही भन्नु छैन सबै पाठक कै हातमा छ ।

तपाईको प्रतिक्रिया