कवि मनप्रसाद सुब्बा भारतीय नेपाली लेखनका एक जबरजस्त व्यक्तित्व हो जसका कविताहरुले नेपाल भारत र बिश्वका अन्य भाषाहरुमा आफ्नै स्वरूपमा सम्वाद गर्ने हिम्मत गर्छ । उहाँका लेखनीले नेपाली कविताको बैचारिकीपनलाई स्पष्ट बोल्ने हिम्मत गर्छ । ज्याद्रोरुप र शालीनता उहाँका कविताहरुको आभारभूत शक्ती हो । लेखनकै कारण पाठकहरुमाझ आफ्नो अलग्गै पहिचान बनाउन सफल कवि सुब्बा यो समयको एक शक्तीशाली लेखक हुन् । प्रस्तुत छ साताको तीन कविता

मेरो आकाश

म जन्मँदा
मेरा दुई चिम्म आँखामा चेपेर ल्याएको आकाश
मैले आँखा उघार्न थालेपछि
टाँगिंदै गयो मास्तिर, अझ मास्तिर
त्यहाँदेखि पनि धेरै पर तिर क्षितिजसम्म
तर जति नै माथि र पर पर टाँचगएर बसे पनि

यो आकाश
मेरो आँखाभन्दा टाढा कीहल्यै गएन
म जन्मँदा-
मेरा कस्सिएको मुट्ठीमा मुट्ठ्याएर ल्याएको आकाश
मैले मुट्ठी खोल्न थालेपछि फुकिँदै गयो
म टुकु टुकु ताते गर्ने भइन्जेल त
मेरो आकाश फैलेर कहाँ पुगेको थियो
यौटा नौलो गुम्बज
पहाडका तरेलीहरूमाथि हिमाल माथि

तर फुत्किदै गएर आँक्किनसक्नु फैलिए ता पनि
यो आकाश
मेरो हातले सुम्सुम्याउनै नसकिने गरी
टाढा कहहल्यै भएर

म कहिले जन्मेको हो ?
मलाई नसोध मलाई थाहा छैन
सोध बरू यो आकाशलाई
उसैलाई थाहा छ म कति पुगे ।

तर तिमी त-
मेरो यो आकाशलाई टुक्रा टुक्रा पारेर
तिम्रो डिपार्टमेन्टल स्टोरको सौदा पोको पारेर
थैलाहरू पो बनाउन खोजीरहेछौ त हँ ?

एक धुपौरो रातो अङ्गार
उफ्र
उफ्र
उफ्र
निद्रामा हिँड्ने सडकहरू थर्काउँदै
निदाएका खुट्टाहरू बिम्झिने गरी
उफ्र
हाम्रो साझा आकाङ्क्षा यो माटोमा
ठडिएको छ अग्लो मलिबाँसको लिङ्गो
धरतीले हात थापेर थान सजाएको छ
धुपौरोबाट तितेपातीको धुवाँ उठिरहेछ उँभो
ए भुइँफुट्टा जण्ड झाँक्री

ढाँटलाई बकाउने आँटको गजोले ढ्याङ्ग्रो ठटाउँदै उफ्र
यति गर्नलाई
गुरूपूर्णेको तिथि पर्नुपर्छ भन्ने छैन
पूर्णेको जून त कैद छ धृतराष्ट्रको आँखामा
औंसी नहल्ली बसेको छ गान्धारीहरूको आँखामाथि कालो पट्टीमा
अब एक धुपौरो नयाँ सोचको रातो झरिलो अङ्गारमा
सुक्खा खोर्सानी डढाऊ
राँको बाल अनि
उफ्रिँदै नाच
नाच्दै उफ्र
धम् धम् धम्
धम् धम् धम्
पाताललोकको देउतालाई विवेक बेच्ने छौँडाहरू भागुन्
लट्टा परेको कालो झाँक्रो फिँजाएर भालेको डाक अघि नै
हाम्रो घरको गर्भ तुहाइदिने बोक्सीहरू भागुन्

कर्दले घुङरिङ खिपेर फुर्का फुर्का सपनाको
कलश भरेर हिमालको पानीले झरिलो तितेपातीसित
थान सजाउँछु
थानअघि बस्छु सङ्कल्पलाई पलेंटीमा कसेर
चारैतिरबाट कानमा थुर्रिन्छ जण्ड झाँक्रीको विद्रोही ढ्याङग्रो
डङ्कट डङ्कट डङ्कट डङ्…
म त्यै लयमा काँसे थाल बजाउँछु –
हे लेप्मुहाङ ! पारुहाङ ! महाकाल बाबा !
यो पहाडको शिर ढलेको छ
आजु उठ्ने बल गर्दैछ है
हे परमेस्सोर !
शिर उठाउने शक्ति देऊ यसलाई
डङ्कट डङ्कट ….ठ्याङ ठ्याङ ठ्याङ …
धम् धम् धम्
धम् धम् धम्
झर्के थालमा सृष्टिको सङ्गीत बजाउँदै
म बिजुवा नाच्दै घुम्छु लिङ्गो वरिपरि
लिङ्गो र शिवलिङ्ग एकै देख्छु म बिजुवाको आँखाले
र देख्छु –
वीर्यहीन बुढो युग ढल्नै आँटेको
वीर्यवान हुनुको भायग्रा छलहरू छताछुल्ल पोखेर

अशिवलिङ्ग र मनप्रसाद सुब्बा

अचेल के भाको हँ
यो देशको लोग्नेमान्छेलाई ?

जीउभरि लिङ्गैलिङ्ग उमारेर
त्यसले अन्धाधुन्ध धावा बोलिरहेछ स्वास्नीमान्छेमाथि
स्वास्नीमान्छेहरूलाई खत्तम पार्ने
त्यसले
आफ्नो जीउभरि लिङ्गहरू जुरूरूरू उमारेको छ काँढासरि
त्यसको शरीरको रूगरूगे पाखामा
लिङ्गको खेती घिनलाग्दो सप्रेको छ
उम्रेका छन् लिंगहरू त्यसको निधारमा आँखामा नाकमा ओंठमा
चिउँडोमा छातीमा हत्केलामा अनि हत्केलापछिल्तिर
लिङ्गैलिङ्गको मान्छे भएको छ त्यो
तर त्यसलाई शिवलिङ्गको शिवत्वबारे केही थाहा छैन
उन्मत्त भैरव लिङ्गको उर्वर मिथक पनि त्यसले सुनेको छैन
सुनेको भए यत्ति अशिव हुने थिएन त्यो

त्यसले त स्वास्नीमान्छेको स्तनमा पनि
योनी मात्र देख्छ
स्वास्नीमान्छेको जीउभरि त्यसले
योनी योनी देख्छ
त्यसैले उमारेको छ त्यसले जीउभरि मैनकाँढा लिङ्गहरूको

त्यसले फ्रायडको मन देखेको छैन
वात्सायनको भावना त झनै देखेको छैन
नत्र यसरी जीउभरि लिङ्ग उमारेर
हेरिनसक्नु घिनलाग्दो हुने थिएन त्यो

त्यसले खजुराओको मन्दिरको मीठो यौन कविता
पढ्न जानेको छैन
नत्र यसरी टाउकोमा लिङ्गको सिङ् उमारेर
यति हिंस्रक हुने थिएन त्यो

यदि त्यसको यौटै मात्र कान पनि
लिङ्ग हुनबाट बाँचेको छ भने
ओ कवि !
त्यसलाई यौटा मीठो प्रेमकविता सुनाइदेऊ
लैला मजनुको कथा भनिदेऊ
ओ गायक !
त्यसलाई यौटा मधुर प्रेमकविता सुनाइदेऊ
कतै त्योभित्र अलिकति संवेदना तरङ्गिन्छ कि !

तपाईको प्रतिक्रिया