कवि  नारायण सापकोटा वर्तमान समयमा लेखीरहेका एक शसक्त समकालीन नेपाली कवि हुनुहुन्छ । उहाँको कविताले सत्य, प्रकृति र मानव जीवनको चक्रलाई निरन्तर  प्रश्न गरिरहेको हुन्छ । प्रकृतिलाई निकै गहिरोगरि अनुभूत गरिएका यी कविताहरु मान्छेको अनुभवको सुन्दर  अभिव्यक्ति हो । प्रस्तुत छ साताको तीन कविता ।

नदी र समय

नदी के हो ?
जीवन के हो ?
नदी र जीवनको के सम्बन्ध छ ?
बुझ्दैन
नदी किनारको एक्लो मान्छे

जीवन नदी हो
तर
समयको कालखण्डमा
विभाजित जीवनको भ्रममा रुमलिदै
नदीको किनारै किनार
चिप्लिसकेछ वर्तमान
आदिम सभ्यताको जिउदो इतिहास
पढेको छैन उसले
इतिहास सँगै मिथक बन्दैछ
समय
गति प्रगतिको उडान भर्छ
ऊ जीवनमा तिर्खा मेट्न
अञ्जुलीभरि पानी उठाउछ
नदीमा छाल बढेर आउँदा
चट्टानमा बज्रिन्छ ऊ
भेल वाडी आउदा
भेलमै मडारिन्छ ऊ
थाहा छैन उसलाई
सुसेला हाल्दै
नदीको संगीत सँगै
जीवनको गीत गाइरहेकोछ ।

आगो र घर

आगो सल्काउनेहरु
आगो सल्काए पछि
निभाउन सकिएन भने
आगोले चिन्दैन कहिल्यै
को आफन्त , को पराई
को नजिक , को टाढा
कुन घर
कुन जंगल
आगो आगै हो
रमिता हेरेर रमाउदा रमाउदै
कुनै समय जलाउँछ  आफ्नै घर
अनी बन्छ खरानीको पहाड
पश्चताप सँगै खरानीको पहाड पन्छाएर
फेरी आफैंले
निर्माण  गर्नु पर्नेछ  घर ।

स्मृतिका धुमिल पानाहरु

आमाले रातोमाटाले दैलो पोतेपछि
घामको पहिलो झुल्को पोखिन्थ्यो मझेरीमा
बाले गोठ र करेसाबारीमा सपना रोप्थे

मुस्कुराउथे
सयपत्री र मखमलीहरु
उफ्रिन्थे
बाछाबाछी र पाठापाठीहरु
लटरम्म फल्थे
नास्पाती र आरुबखडाहरु
टारीमा लहलह झुल्थे
धानका बालाहरु ।

बाटोभरी रमाउँदै
पुस्तक च्यापेर विद्यालय जान्थे नानीहरु 
दलीनमा गुँड बनाउन
गिलो माटो बोकिरहन्थे गौंथलीहरु
धुरीमा घुर्थे परेवाहरु
बगैचाबाट
शीतल हावा चलिरहन्थ्यो गाउँभरी ।

बा डोकोनाम्लो बोकेर उकालो लाग्थे
डाँडामाथी एक जुवा घाम बाँकी रहँदा
चौतारीमा भारी बिसाएर सुस्केरा हाल्थे 
दौराको फेरले पसिना  पुछ्थे
कलकल बग्ने खोलाको चिसो पानी
अञ्जुलीेभरी उठाएर प्यास मेटाउथे
पोल्टाभरि टिपेर ल्याएका हुन्थे
काफल र ऐँसेलुहरु
नानीहरु र आमाको मुहारमा
लालीगुराँस फुल्थ्यो ।

जवान छोराको पसिना
मरुभूमिको देशमा बगेसँगै
उजाडियो फुलमायाको सिउँदो
ढलेर गयो  नास्पातीको रुख
ओइल्याएर झर्न थाले फूलहरु
शून्य भए बस्तीहरु

मिथक बन्दै छ सुन्दर सभ्यता

निरन्तर घुमिरहने घडीका सुइहरुलाई
रोक्न सकेनन् बाले
त्यसैले,
जीवनको शिखरबाट क्षितिज हेर्दै
पल्टाइरहेका छन्
स्मृतिका धुमिल पानाहरु ।

तपाईको प्रतिक्रिया